अन्य

दुलेगौंडाको शिरैमा भुजिकोट

नेपाल, जता हे-यो उतै रमाइलो। हिमाल, पहाड र तराई सबै ठाउँका आ–आफ्नै विशेषता छन्। प्राकृतिक, सांस्कृतिक र जैविक विविधताका हिसाबले नेपाल ईश्वरको अतुलनीय वरदान हो। विवेकी भएर पूर्वाधार विकास गरी राम्रो मार्केटिङ गर्न सके सिंगो नेपाल पर्यटन गाउँ बन्न सक्छ।

राज्य हाँक्नेहरू पर्यटनका ठूल्ठूला कुरा गरेर थाक्दैनन् तर उनीहरूले पर्यटनलाई प्राथमिकतामा राखेर योजना बनाएको देखिँदैन। जनस्तरमा भने आ–आफ्नो ढंगले पर्यटन विकासका काम हुँदै छन्। त्यस्तै पर्यटनमा बामे सर्दै गरेको भूगोल हो–शुक्ला गण्डकी।

शुक्लागण्डकी नगरपालिका तनहुँ जिल्लामा पर्दछ। साविकका ६ वटा गाविसहरू दुलेगौंडा, ढोरफिर्दी, खैरेनी, राईपुर, फिरफिरे र थप्रेकलाई मिलाएर सरकारले विसं २०७१ वैशाख २५ गते शुक्लागण्डकी नगरपालिका बनाएको। नगरको क्षेत्रफल १६५ वर्ग किमि। नगरक्षेत्र ४३० मिटरदेखि १४४६ मिटर उचाईमा फैलेको छ। मगर बाहुल्य नगरपालिका गुरुङ, नेवार, दलित, क्षेत्री, बाहुन, थकाली, राई, लिम्बू आदिको साझा फूलबारी हो। नगरको जनसंख्या ४९ हजार छ।

ढोरफिर्दी, खैरेनी र दुलेगौंडालाई स्पर्श गरेर सेती नदी बग्छिन्। यिनलाई शुक्ला गण्डकी भनिन्छ। शुक्लको अर्थ सेतो अर्थात् नदीको पानी सेतो भएकाले शुक्ला गण्डकी भनिएको। जुन नदी गाईघाटभन्दा  माथि त्रिशुलीमा गएर मिसिन्छिन्।

नगरपालिकाका भुजिकोट, ढोर बाराही, रक गार्डेन, मिलेनियम गुफा, च्यवनधाम आदि चर्चित गन्तव्य हुन्। तनहुँको दुलेगौंडादेखि स्याङ्जाको मनकामना जोड्ने ‘मिलेनियम ट्रेक’को प्रवेशद्वार पनि शुक्लागण्डकी नगरपालिकै हो  तर यी ठाउँमा सोचे जति पर्यटकीय चहलपहल हुन सकेको छैन।

तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेका भुजिकोट, ढोर बाराही, रक गार्डेन, मिलेनियम गुफा, च्यवनधाम चर्चित गन्तव्य हुन्। ‘मिलेनियम ट्रेको प्रवेशद्वार पनि दुलेगौंडा नै हो तर यी ठाउँमा सोचे जति पर्यटकीय चहलपहल हुन सकेको छैन।

अब कुरा गरौं भुजिकोट, दुलेगौंडा बजारको शिरमा पूर्वपट्टि पर्छ भुजिकोट। शुक्लागण्डकी नगरपालिका–२ को भुजिकोट (१४०० मिटर)मा भ्यूटावर छ। तनहुँ उद्योग वाणिज्य संघ, दुलेगौंडा बजार इकाईले बनाइदिएको टावर।  
भुजिकोटबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि लमजुङ हिमालसम्मको लामो फेरो देखिन्छ। कोट मुन्तिर भुजिकोट गाउँमा गुरुङ र दगाम गाउँमा मगर समुदायको बसोबास छ।

गाउँले जीवनशैलीमा बाँचेको भुजिकोट शीतल, शान्त र आत्मीय छ। कोटसँगै बाघ भैरव मन्दिर पनि छ। कोत्रे बजारका प्रविण गुरुङले ८ लाख रुपैयाँ खर्चेर बनाइदिएको मन्दिर। उनले पुर्खाको स्मृतिमा मन्दिर बनाएर सत्कर्म गरेका। 

चौबिसे राज्यकालमा भुजिकोट क्षेत्र दुरुङचुङ राज्यमा पर्दथ्यो। त्यतिखेर मगर राजाले ७८० धुरीलाई शासन गरेको इतिहास छ। दगाम गाउँको शिरानमा प्राचीन कोतघरको भग्नावशेष छँदै छ। कोतघर भएको थुम्को वरपर बंकर छ। थुम्कोमा भैरब मन्दिर छ। त्यहाँ नजिकै लायन्स पार्क बन्दैछ।

‘यहाँ पुरातात्विक महत्वका हातहतियार र भाँडाकुँडा भेटिएछन्’, साहित्यकार नारायण श्रेष्ठले भने, ‘तर गाउँलेले तिनको संरक्षण गर्न जानेनन्।’

दगाममा २३ घर छन् भने भुजिकोटमा १५ घर। गाउँको मुख्य उत्पादन कोदो र मकै। घरघरै जसो मौरी, बाख्रा र कुखुरा पालिएको छ। परिश्रमी, फरासिला र सहयोगी छन् गाउँलेहरू। 

दगाममा विसं ०६५ देखि नै पाहुनालाई होमस्टेका रूपमा थालिएको हो। दगाम सामुदायिक होमस्टेमा १७ घर सदस्य छन्। त्यहाँ एकै रात चालीस जना बास बस्न सक्छन्। समितिका अध्यक्ष नन्दराज थापाका अनुसार होमस्टेमा २५० रुपैयाँ मासुभात, १५० रुपैयाँमा बेड र १०० रुपैयाँमा खाजा सेट (कोदोको रोटी, मह र तरकारी) पाइन्छ।

लगभग त्यस्तै मेनु छ भुजिकोट गाउँको पनि। भुजिकोटका सबै घरमा पाहुना राखिन्छ। ‘समूहमा आउनेहरूलाई सामुहिक रूपमा खानपिन गराउँछौं’, भुजिकोट सामुदायिक होमस्टेका अध्यक्ष भक्तबहादुर गुरुङ भन्छन्, ‘पाहुनाको डिमान्डअनुसार कौरा नाच र लोक दोहोरीसहितका सांस्कृतिक कार्यक्रम पनि देखाउँछौं।’

भुजिकोट बिस्तारै चम्किँदै छ। शनिबार लगायत बिदाका दिनमा तनहुँ र पोखरा उपत्यकामा बस्नेहरू भुजिकोट उकालिन्छन्। पाहुनाहरू पोखराको साँधमा अवस्थित  कोटबाट हिमाल, तालतलैया र गाउँघर हेर्छन्। पोखराका रुपा, बेगनासदेखि फेवातालसम्मको दृश्यले मोहित बनाउँछ।

‘धेरैजसो नाचगान र खानपिन गरेर आएकै दिन फर्कन्छन्’, गुरुङ सुनाउँछन्, ‘थोरै मात्र पर्यटक बनेर गाउँमा एक रात बिताउँछन्।’

भुजिकोटमा फाट्टफुट्ट विदेशी पनि आउँछन्। साना सवारी साधन सजिलै गाउँसम्म पुग्न सक्ने वातावरण बनेपछि बल्ल भुजिकोटले पर्यटनबाट मनग्गे फाइदा लिन सक्छ।

‘भुजिकोट क्षेत्र असाध्यै आत्मीय लाग्यो’, केही दिन अघि भुजिकोट पुगेका दमौलीका गीतकार सागर उदास भन्छन्, ‘गाउँसम्म पुग्ने सडक कालोपत्रे गर्न नगरपालिकाले तुरुन्तै बजेट छुट्टयाइहाल्नुपर्छ।’ 

पोखरा घुम्न निस्किँदा भुजिकोट एक रात बस्ने गरी यात्रा योजना बनाउनु बेस हुन्छ। गाउँमा पुग्दा मनको शान्ति मिल्छ। त्यहाँबाट फर्कने बेला मिठो स्मृतिसँगै कोसेलीका रुपमा अदुवा, पिँडालु, गेडागुडी, मह र तरकारी ल्याउन बिर्सनु हुन्न है ! अन्त्यमा गीतकार आनन्द सुन्दर श्रेष्ठको गीत :
पूर्व प-यो भुजिकोट उत्तर कोत्रे खोला
पश्चिमतिर कति राम्रो सेती नदी होला
हे कान्छी दुलेगौंडा बजार...
हे कान्छी दुलेगौंडा बजार...
कसरी पुग्ने : काठमाडौं–दुलेगौंडा १७६ किमि, बसमा ५ घन्टा। दुलेगौंडाबाट ७ किमिमा भुजिकोट। अथवा काठमाडौं–पोखरा २५ मिनेट हवाईयात्रा। पोखरा–दुलेगौंडा–भुजिकोट ३१ किमि। दुलेगौंडाबाट दिउँसो ३ बजे जिप छुट्छ भने दगामबाट बिहान ९ बजे।

सस्तो होमस्टे
नन्दराज थापा,अध्यक्ष, दगाम सामुदायिक होमस्टे


हामीले २०६५ सालदेखि नै होमस्टे सुरु गरेका हौं। हाम्रो गाउँका १७ घरमा होमस्टे सुविधा छ। हामी सस्तोमा खाना र बास दिन्छौं। २५० रुपैयाँमा मासुभात, सय रुपैयाँमा खाजा खुवाउँछौं भने बेडको १५० रुपैयाँ लिन्छौं। खाजामा कोदोको रोटी, मह र तरकारी हुन्छ। हामीले लोकल कुखुरा उत्पादनमा जोड दिएका छौं। गाउँमा जति बेला पनि लोकल कुखुरा पाइन्छ।  
सम्पर्क : ९८५६०६०९५१

भ्यूटावरको कथा
भुजिकोट भ्यूटावरको परिकल्पनाकार नारायण श्रेष्ठ हुन्। शुक्ला साहित्य संगममार्फत् सक्रिय हुने क्रममा उनीहरू विसं २०६३ मा भुजिकोट पुगे। अनि थुम्कोमा बसेर वरपरका बस्ती, पोखरा उपत्यका र हिमाली सौन्दर्य नियाले। त्यतिबेला श्रेष्ठले आफ्नै मनसँग सोधे, ‘यहाँ भ्यूटावर बनाउन पाए कस्तो होला !’

 त्यसको केही वर्षपछि उनको सपना साकार भयो। उनी तनहुँ उद्योग वाणिज्य संघ, दुलेगौंडा बजार इकाई समितिमा सचिव थिए। समितिले २८ लाख रुपैयाँ भन्दा बढी खर्चेर करिब १५ मिटर अग्लो टावर बनायो। यसरी विसं २०६९ मा भ्यूटावर बन्यो। 

 नारायण श्रेष्ठ

टावर बनेसँगै भुजिकोटले चर्चा कमायो। ‘अचेल डाँडामा चहलपहल देख्दा खुसी लाग्छ’, श्रेष्ठ गद्गद् छन्, ‘गाउँसम्म पुग्ने सडक कालोपत्रे गर्न सके भुजिकोट गुल्जार हुने थियो।’
 

ढोर बाराही दर्शन
मनोकामना पूरा गरिदिने देवीका रूपमा प्रख्यात छिन् ढोर बाराही। शुक्लागण्डकी नदी पर्तिर खोंचमा हरियाली वातावरणमा एउटा कलात्मक मन्दिर छ–ढोर बाराही। चौबीसे राज्यमा पर्ने ढोर राज्यकी देवी भएकाले ढोर बाराही भनिएको। मन्दिर शुक्ला गण्डकी नगरपालिका–९ मा पर्दछ।

ढोर बाराहीको भाकल गरेमा मनले चिताएको पूरा हुने जनविश्वास छ। उनलाई सम्झेर कोही सन्तान माग्छन् त कोही कोही धनसम्पत्ति अनि कोही सुस्वास्थ्यको कामना गर्छन्। आफ्नो मनोकांक्षा पूरा भएपछि उनीहरू पाठा वा पाठी ल्याएर मन्दिरमा बलि चढाउँछन्। पुजारी चिरञ्जीवी लम्सालका अनुसार विशेषतः स्याङ्जा, कास्की र तनहुँका तिर्थालु आउँछन्। मन्दिरसँगै स्यानो पोखरी छ। पोखरीमा माछा छन्। त्यही पोखरीमा रहेको शिलढुंगामा बलि दिइन्छ। 

अनौठो कुरा के छ भने पोखरीमा बेलाबेलामा पानी घटबढ भैरहन्छ। पानी बढ्नुलाई लहरी चल्नु भनिन्छ। लहरी चल्ने बेला माछाले संकेत पाउँछन्। उनीहरू पानीको मुखतिर थुप्रिन्छन्। आधा वा एक घन्टाको फरकमा लहरी चल्छ। अनि एकछिनमा पानी कम भैहाल्छ।
लम्साल थरका बाहुन मन्दिरका पुजारी। उनीहरू भक्तजनले चढाएको भेटीबाट गुजारा चलाउँछन्।

मन्दिर कति पुरानो हो भन्ने एकिन छैन। दुई दशक अघिसम्म ढुंगा र माटोले बनेको मन्दिरमा खरले छाइएको हुन्थ्यो। पचासको दशकमा ढलान गरेर तामाको छाना राखियो। ढोर बाराही मन्दिर संरक्षण समितिका अध्यक्ष एवं वडाध्यक्ष लोकनारायण श्रेष्ठका अनुसार मन्दिरमा नेपाल संवत ९६७ लेखिएको घन्टा सुरक्षित छ। अरू प्राचीन घन्ट पनि छन्।

मन्दिर क्षेत्रमा फूलप्रसादी र खाना बेच्ने पसल थुप्रै छन्। दुलेगौंडा बजारबाट पश्चिम ५ किमि दूरीमा ढोर बराही मन्दिर छ। दुलेगौंडाबाट रिर्जभ्ड जिपमा मन्दिर पुग्न सकिन्छ।

मनकामना
लोकनारायण श्रेष्ठ, संयोजक, ढोर बाराही संरक्षण समिति


हामी धार्मिक पर्यटनको विकास गर्न चाहान्छौं। हामीले पुराना मन्दिर संरक्षण गर्दै आएका छौं। ढोर बाराही मन्दिर क्षेत्र सफा राखेर अत्यावश्यक भौतिक पूर्वाधार विकास गर्न प्रतिबद्ध छौं। हामीले राम्रो प्रचार गर्न सक्यौं भने गोरखाको मनकामनामा जस्तै यहाँ पनि चहलपहल बढाउन सकिन्छ। त्यसका लागि प्रयास गरिरहेका छौं।  
...
चट्टाने बगैंचा
शुक्ला गण्डकी किनारका ढुँगा कुनै देवदेवी जस्ता, कुनै फलफूल जस्ता त कुनै जनावर जस्ता ! दुलेगौंडा हुँदै दिनहुँ सयौं पर्यटक काठमाडौं–पोखरा ओरीदोरी गर्छन्। उनीहरू मध्ये थोरैले मात्र देखेका छन्–चट्टाने बगैंचा ! दुलेगौंडा बजारबाट ढोर बाराही मन्दिर प्रवेश गर्ने नाकामै शुक्ला गण्डकी नदी बगेकी छिन्। तिनकै किनारामा ‘रक गार्डेन’ छ जहाँ थरिथरिका ढँगा छन्। विभिन्न रुप र रंगका। कुनै कालिगढले कुँदेका होइनन्, प्रकृति आफैंले कुँदेकी। 

गहिरिएर बगेकी सेती माथि करिब ८ सय मिटर लम्बाइमा नदी दायाँबायाँ कलात्मक ढुँगे बगैंचा छ। बर्षौंदेखि नदीको वहावले खिइएर बनेका आकृति। जसले जे सम्झेर हे-यो त्यस्तै देखिन्छन् ति कलाकृती।

बगैंचाको एक छेउमा विशाल चट्टान छ। यसलाई ‘मितबा ढुँगा’ भनिन्छ। पर्यटन अभियन्ता एवं कवि पूर्ण श्रेष्ठका अनुसार लोकगायक प्रेमराजा महतका पिताजीले कुनै बेला यस ढुँगासँग मित लगाएका थिए। त्यसैले ‘मितबा ढुँगा’ भनिएको। यसकोे संरक्षण गरेर दृश्यावलोकन केन्द्र बनाइएको छ। 

आज बगैंचा डेटिङस्थलमा रुपान्तरण भएको छ। यति मात्र होइन, यहाँ केही चलचित्र, दोहोरी र आधुनिक गीतका म्युजिक भिडियो छायाँकन भैसकेको छ। फरक स्वादको दृश्यका लागि चलचित्रकर्मीको रोजाईमा पर्दैछ रक गार्डेन।   

चट्टाने बगैंचा सुन्दर छ। यो ‘मिलेनियम ट्रेक’को शुभारम्भ बिन्दुमा पर्दछ। सन् २००० मा तनहुँको दुलेगौंडादेखि स्याङ्जाको मनकामनासम्म ५७ किलोमिटर दूरीको पदमार्गलाई ‘मिलेनियम टे«क’का रुपमा ब्राण्डिङ गरिएको थियो। यद्यपी अचेल यस क्षेत्रमा मोटर खुलिसकेको छ।

मिलेनियम टे«कको परिकल्पनासँगै रक गार्डेनको चर्चा चल्यो। तर, लामो अन्तराल पछि भर्खरभर्खर यसको विकासमा काम हुँदैछ। पृथ्वी राजमार्गसँग नजिकै रहेको चट्टाने बगैंचाको राम्रो प्रचार गर्न सकियो भने विशेषतः आन्तरिक पर्यटकको भ्रमण गन्तव्यस्थल बन्न सक्छ।

प्रचारात्मक अभियान
पूर्ण श्रेष्ठ, अध्यक्ष, शुक्लागण्डकी पर्यटन प्रवद्र्धन परिषद्


हाम्रो शुक्लागण्डकी नगरपालिका क्षेत्रमा पर्यटनको प्रशस्तै संभावना छ। हामी पछिल्ला तीन वर्षदेखि संस्थागत रूपमै पर्यटन विकासमा होमिएका छौं। हाम्रो नगरपालिका क्षेत्रका दगाम, भुजिकोट, भुलभुले, ढोरबाराही, तिनखोले, मुक्तिनाथ च्यवनधाम, ढोर राज्य, मिलेनियम गुफा, रक गार्डेन, मिनाम खानी पर्यटकीय आकर्षण हुन्। मिलेनियम पदमार्ग त  दुलेगौंडाबाटै सुरु हुन्छ। हामी आफ्ना सम्पदा चिनाउन प्रचारात्मक अभियानमा जुटेका छौं। आवश्यक प्रचारात्मक सामाग्री उत्पादन गर्दैछौं।
...
मुक्तिनाथको झल्को
शुक्लागण्डकी तटमा शुक्लेश्वर महादेव र गुम्बा बनाइएको छ। श्रीस्वस्थानी व्रतकथा अनुसार महादेवले मृत सतिदेवीलाई बोकेर भौतारिँदा विश्राम गरेको ठाउँ शुक्लागण्डकीको तटमा शुक्लेश्वर मन्दिर बनाइएको छ। कलात्मक मन्दिरभित्र शिवलिंग छ। मन्दिर हातामा १०८ जलधारा, १०८ शिवलिंग स्थापना गरिएको छ भने १०८ वटै पिपल रोपिएको छ।

झलक्क हेर्दा च्यवन धाम आकर्षक देखिन्छ। शुक्लेश्वर मन्दिरभन्दा मास्तिर गुम्बा पनि बनाइएको छ। गुम्बाभित्र गुरु पद्मसंभवको कलात्मक मूर्ति छ। पद्मसंभव नेपाल र तिब्बत लगायत हिमाली भेकमा बौद्ध धर्म फैलाउने तान्त्रिक गुरु हुन्।

स्थानीयले मुस्ताङको मुक्तिनाथको झल्को दिलाउने हिसाबले यहाँ गुम्बा र मन्दिर बनाएका। मन्दिर र गुम्बा दुवैका पूजारी कृष्णप्रसाद पौडेल हुन्। उनले नित्य पूजा र आरती गर्दै आएका छन्।

च्यवन धाम ३२ रोपनीमा फैलेको छ। यस धामको उद्घाटन विसं २०७१ माघ २३ गते गरिएको थियो। ‘यहाँ विवाह, ब्रतबन्ध, ग्रह शान्ति जस्ता कर्मकाण्ड गरिन्छ’, पौडेल भन्छन्, ‘धार्मिक भावना भएकाहरू यहाँ आउँछन् र आनन्दित भएर फर्कन्छन्।’

प्रकाशित: ७ मंसिर २०७६ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App