अन्य

तिजैमा नाचौं छमछमी

मैयाँ सुवेदी

तिजको लहर आयो बरिलै ...  
तीजको रन्कोले छोपिसकेको छ। जब रेडियोमा तीजे गीतका भाका सुन्छु तब मनभरी छमछमी नाचेको याद आउँछ। बालापनले ढपक्कै छोपिदिन्छ। अहो, ती दिन अब कहिल्यै फर्काउन सकिँदैन। तीज भन्नासाथ मनमा झट्ट आउने कुरा दर, माइती, साथीसंगी, चेलीबेटी, पहिरन, सुखदुख, गीत आदि हुन्। बालापन सम्झिँदा मन भरिएर आउँछ।

म मामाघरमा हुर्किएँ हजुरबा र हजुरआमाकी प्यारी नातिनी भएर। त्यहाँको तीज सम्झँदा खुब रमाइलो लाग्छ। म १२–१३ बर्षको हुँदासम्म दर पकाउने दिन कहिल्यै स्कुल गइन्। घरमा आफन्त आउँदाको खुसीमा भुलेर या सबैसँग रमाएर घरमै बस्थें। अलिक ठूली हुँदा हजुरआमालाई सघाएर घरमै बस्थें। 

आखिर केटाकेटि बुद्धि नै त हो, हजुरबा उहाँका दिदीबहिनी लिन जाँदाको खुशी,  मामाले मेरी आमा, सानिमालाई सँगै लिएर आउँदाको उमङ। अनि उहाँहरूले ल्याइदने बिस्कुट, मिठाई र थोरैथोरै पैसा मेरा खुशीको केन्द्रबिन्दु हुन्थे। छिमेकमा आउनु हुने सानिमा, ठूलिआमा, फुपुआमाका नाचगान खुब रमाइलो लाग्थ्यो।

हजुरआमाले राती हामीलाई दर खान उठाउनु हुन्थ्यो। आधारातमा उठेर खान्थ्यौं। मामाले किनेर ल्याइदिनु भएको फरररर परेको रातो जामा लगाएर आमा, हजुरआमा र आफन्तसँग हाटबजार जाँदा कम्ता रमाइलो हुन्थेन। बजारमा उहाँहरू दिनभर नाचगान गर्नु हुन्थ्यो।  
यस्पालिको तीजमा मलाई कस्तो हुने हो
माइत जान पाउछु कि घरमै रुने हो ?

अनि माइत आएकी चेलिले आमालाई घुक्र्याउँदै भन्थे
घिरम्ली टिपेर पकाउ आमा तरकारी
यो तीते करेली खान्न म त नाइ
धेरै कर नलाउ न हे मेरी आमै
त्यो पापी घरमा जान्न म त नाइ
विरह र वेदनाका गीत पनि खुब गाइन्थ्यो तिनताका। तीजमा माइतीघर आउँदा खोलाले बगाएका कुरा पनि गीतमै सुनिन्थ्यो।
चारै दिसा अन्धाधुन्ध मुसलधारे पानी
आयो फेरि भदौरे तीज बरिलै
यहि तीजमा माइत आएकी छोरीलाई         
अँधेरी खोलाले लयो बरिलै

दाजुभाइ, मामा लिन जाँदा चेलीबेटीका गहना खोसेर हत्या गरिएका कुरा, बाढी पहिरोका कुरा गीतका माध्यमबाट पोख्ने चलन थियो। दिनभर नाचगान गरेर फर्केपछि बेलुकी घरमा आएर पुजासँगै दिप बालेपछि पानी खाएर केरा, दूध, घिउ खाने गरिन्थ्यो। भोलिपल्ट बिहान उठ्दा त खाना पकाइ सक्नुहुन्थ्यो हजुरआमाले। छिटै खाना खाएर उहाँहरु भोलिको तयारी गर्नु हुन्थ्यो दतिवन बनाएर दिउँसो मिठामिठा परिकार बन्थे। खायो र छिमेकमा जम्मा भएर नाचगान ग-यो।

तीजका नाउँमा केही विकृति पनि भित्रिएका छन्। तिजे गीतमा रत्यौलीको स्वाद भेटिनु, महिला मात्रै नाच्ने तिजमा पुरुष र महिला दुवै नाच्ने प्रवृत्ति बढ्दै जाँदा यसको मौलिकतामै आँच आएको अनुभव हुँदैछ। साथै तिज गहना प्रदर्शन गर्ने पर्वका रूपमा विकास हुनु राम्रो भएन। आजभोलि तिजलाई दलहरूले राजनैतिक रंग दिई आपसमा गीतबाटै गालीगलौज गर्ने प्रवृत्ति पनि बढ्दो छ। संस्कृतिमा राजनीतिक गन्ध मिसिनु दुःखद् हो।

भोलिपल्ट सबै जना आमा, हजुरामाहरू छरछिमेकका रजस्वला शुरु भैसकेकाहरू मिलेर नदी तलाउमा दतिवन खान जाँदा मलाई पनि राति नै उठाएर लानु हुन्थ्यो। मलाई चाहिँ उहाँहरूले नुहाइ सकेपछि चोखो (गहुँत, घिउ, मह, दहि र तील )दिन लैजानु हुन्थ्यो। चोखो दिनका लागि रजस्वाला नभएकी कन्या चाहिन्छ। चोखो दिए बापत दिउँसो पूजा सकेर टीका लगाएर दक्षिणा दिने गर्नु हुन्थ्यो। 

जब म युवती भएँ मसँग काम, कर्तव्य सबै थपिए। उमेर बढ्दै जाँदा महिनावारी भयो। मलाई पनि तीजको व्रत बस्न, दतिवन खान र पूजा गर्न सिकाइयो। त्यतिबेला किन र कसरी भन्दा पनि एउटा महिलाले यो सब गर्नुपर्छ भनेर गरियो। बिस्तारै तीजे गीतमा पनि परिवर्तन हुन थाल्यो। समाज, टोल, क्लब, विद्यालय आदि ठाउँमा प्रतियोगिता राख्न थालियो। व्यक्तिगत दुःखका मात्र होइन, सामाजिक विकृति र विसंगतीका गीत पनि गाउन थालियो। तीजे भाकाबाट जनचेतना बढाउने काम हुन थाल्यो।

समयसँगै म बिहे भएर कर्म घर पोखरा आएँ। जन्मघर अब माइतीघर बन्यो। आफ्ना भनेकाहरूलाई चटक्कै छाडेर कर्म घर आउँदा सबै अन्जान ब्यक्ति अर्काको परिवार, इष्ट मित्र लगायत सबैलाई आफन्त मान्नु पर्ने भयो। म अब छोरी होइन, बुहारी, श्रीमति, भाउजु अनि माइजू आदि यस्तैयस्तै रूपमा परिवर्तन हुन पुगें।

बिहे पछिको पहिलो तीजमा माइतीबाट मलाई लिन भाइ आयो। उसलाई देख्नासाथ  आँखा रसाए। सायद ती आँसु खुसीका थिए। घरबाट बिदा भएर जब म माइत जान निस्कें मनभरी अहिलेसम्मका तीजका सम्झना सल्बलाईरहे। साथीसंगी, इष्टमित्र र आफन्तसँग भेटघाट हुने खुसीले हर्षित् हुँदै माइतीघर आएँ। सबैसँग भेटघाट भयो। दर खाइयो, मेला भरियो। पूजा गरियो। नाचगान पनि गरियो।  
केही समयपछि कर्म घर फर्किने दिन आयो। त्यो दिन खै किन हो मेरो मन साह्रै अमिलो भयो।

अब त बिहे भएको पनि धेरै वर्ष भैसक्यो। कर्मघर आफ्नै घर भैसक्यो। हाम्रो सुन्दर परिवार छ। व्यस्त समयसँगै प्रत्येक बर्ष तीज खुसी बोकेर आउँछ। आजका नारी शिक्षित छन्। कुनै न कुनै काममा आबद्ध छन्। सबैको सँगत आफुजस्तै दिदीबहिनीसँग छ। मनमा लागेका कुरा साट्न कुनै तिथि पर्खनु पर्दैन।

व्यस्ततासँगै माइतीघर जाने समय पनि बदलिएको छ। आमा बाबुको हेरचाहमा दिदीबहिनी पनि उत्तिकै लागि परेका छन्। समय मिलाएर भेटघाट भैरहन्छ। अचेल तीजमा निजि सुख वा दुःखका भन्दा पनि देशमा बढेका हत्या, हिंसा, अव्यवस्था र विकासका कुरा गाउने चलन छ। अझ बजारमा निस्केका रेकर्ड गरिएका गीत बजाएर नाचेको पाइन्छ।

मैयाँ सुवेदी

यतिवेला म सुन्दर नगरी पोखरामा छु। लाग्छ समयसँगै हामीमा परिवर्तन आएको छ। कामकाजसँगै परिवारमा सबैको चित्त बुझाउँदै अगाडि बढ्नुका साथै धर्म, संस्कृति रितिरिवाज जोगाउदै भाबी पुस्तामा सुम्पिनु हाम्रो कर्तव्य हो। यही सत्य बुझेर पोखरा उपत्यकाका विभिन्न ठाउँमा, एफएम र बिद्यालयमा तीज गीत प्रतियोगिता राखेर मौलिक भाका, शब्द, लोक संस्कृति संरक्षणको प्रयास भैरहेको छ। अर्गानिक शब्द समेटेर रचना गरिएका गीत र त्यही अनुसार भेषभुषामा सजिएर नाच्ने चलन छ। 

दुःखको कुरा, आजका हाम्रा सन्तती तीज जस्ता चाडबाडमा खासै चासो राख्दैनन्। उनीहरूलाई राम्रो लाउन र मिठो खान चाडबाड कुर्नै पर्दैन। उनीहरू घर बाहिर जानु भन्दा मोबाइल वा ल्यापटममा गुगलेश्वरको आराधना गर्छन्। दिनभर कित गेम खेल्छन् कित च्याटमा रमाउँछन्।

तीजका नाउँमा केही विकृति पनि भित्रिएका छन्। तीजे गीतमा रत्यौलिको स्वाद भेटिनु, महिला मात्रै नाच्ने तीजमा पुरुष र महिला दुबै नाच्ने प्रवृत्ति बढ्दै जाँदा यसको मौलिकतामै आँच आएको अनुभव हुँदैछ। साथै तीज गहना प्रदर्शन गर्ने पर्वका रुपमा विकास हुनु राम्रो भएन। आजभोलि तीजलाई दलहरूले राजनैतिक रंग दिई आपसमा गीतबाटै गालीगलौज गर्ने प्रवृत्ति पनि बढ्दो छ। संस्कृतिमा राजनीतिक गन्ध मिसिनु दुःखद् हो।

भावनात्मक, धार्मिक र सांस्कृतिक मूल्य र मान्यताका दृष्टिकोणबाट हेर्दा तीज सिंगो परिवार खुसी हुने पर्व हो। 

तीजको धार्मिक महत्व ठूलो छ। समाजमा नारी र पुरुष अभिन्न अंग हुन् भन्ने सन्देश दिन्छ यसले। समानताका साथै माया र सद्भाव बढाएर परिवार र समाज दुबै बलियो बनाउने सन्देश दिने तीज महिलाको मात्र होइन, सबैको पर्व हो। 

पौराणिक गन्थ्र पल्टाएर हेरौं, जब महादेवले छोरा गणेशको बध पछि छोरा प्राप्तिका लागि पार्वतीले उनै महादेवसँग युद्धको चुनौती दिइन्। यसबाट के बुझ्न सकिन्छ भने मातृशक्ति महान शक्ति हो। आमा ती महान नारी हुन जसले हामीलाई जीवन मात्रै दिन्नन् बाँच्न पनि सिकाउँछिन्। संसारमा निस्वार्थ प्रेमको सबैभन्दा ठुलो उदाहरण हुन आमा। उनी आफ्ना बालबच्चाको एक मुस्कानका लागि आफैंलाई बलिदान दिन सक्छिन्।

समयसँगै नारीको भुमिकामा पनि धेरै परिवर्तन आएको देखिन्छ। उनी अब परम्परागत स्वरुपमा मात्रै नभएर समाजमा आफ्नो अलग पहिचान राख्न सक्षम छिन्। लैंगिक दृष्टिबाट हेर्ने  हो  भने सिंगो महिला एक वर्ग हो। महिला हुनुका समान भोगाइ, समस्या र अनुभव छन् हामीसँग। अब गणतान्त्रिक नेपालमा महिलाले विभेद, हिँसा र शोषणको शिकार बन्नु नपरोस्। अब कुनै पनि चेलीले दाइजो कम ल्याएको निहुँमा जल्न नपरोस्, नबदुलही मानसिक र शारीरिक यातना सहितको खण्डहर जीवन बोकेर माइती फर्किन नपरोस्। कोही घरेलु हिँसाको शिकार बन्नु नपरोस्। चारैतिर महिलाको सम्मान होस्। अन्त्यमा, नारीशक्ति  अपार छ। हामी पनि पार्वतीले जस्तै कठोर साधना र संघर्ष गरि अब्बल बनौँ। आफैं सक्षम बनौं। समान क्षमता र स्तरको जीवनसाथीसँग मात्र सम्मानित जीवन बाँच्न सकिन्छ।

तीजको अन्तिम दिन ऋषि पन्चमीमा बैज्ञानिक कारण देख्न सकिन्छ। रजस्वलाको सुरुवात सृष्टिको सुन्दर शुभारम्भ हो। यसबाट हामीले छोरीहरूको आत्मबल बढाउने काम गरौं। छाउपडी जस्ता कुप्रथा अन्त्य गरौं। तीजलाई प्रेम र समर्पणको पर्वका रुपमा मनाऔं। सबै नेपालीलाई तीजको शुभकामना !

आत्मशुद्धिको पर्व
दर, नाचगान र इश्वरभक्तिले तन र मन शुद्ध बन्छ।  
सदियौदेखि चल्दै आएको हिन्दू पर्व हो– तिज। भाद्रशुक्ल पक्षको तृतीयाका दिन मनाइने पर्व। व्रत, उपासना र आराधनाका माध्यमबाट महिलाको अस्तित्वलाई सम्मान गरेको देखिन्छ।

हरितालिका शब्द संस्कृत भाषाको ‘हरिता’को नेपाली रुपान्तरण हो। जसको अर्थ सखीहरूले हरण गरेको भन्ने हुन्छ। पौराणिक कथाअनुसार पार्वती शिवजीलाई पतिका रूपमा प्राप्त गर्न चाहन्थिन्। उता विष्णुले पनि पार्वतीलाई माग्न नारदलाई लमी बनाएर हिमालय पर्वत पठाउँछन्। उनको प्रस्ताव पार्वतीका पिताले स्वीकार गर्छन।

कठोर तपस्यामा बसेकी पार्वतीलाई नारदले ‘विष्णुसँग तिम्रो बिहेको कुरो छिनियो’ भन्ने बताउँदा पार्वती दुःखी हुन्छिन्। उनको त्यस्तो अवस्था देखेर एउटी सखी आलीले पार्वतीलाई बचाउन अपहरण गरेर अज्ञात ठाउँमा लान्छिन्। त्यसै ठाउँमा उनी संकल्पूर्ण ढंगले शिवको आराधना गर्छिन्। शिवलिङ्गको पूजा भैरहेका बेला स्वयं शिवजी प्रकट हुन्छन् र शिवपार्वतीको मिलन हुन्छ।

तिजको अर्थ हुन्छ तीन–एक, दुज र तिज। एक भनेको शरीर, दुज भनेको मन र तिज भनेको आत्मा।
वैदिक अभ्यासमा तिजलाई आत्माशुद्धिको व्यवस्था मानिन्छ। चैतन्यका लागि दर खाएर शरीरको आवश्यकता पूरा गरिन्छ। त्यसपछि मनको आवश्यकता पूरा गरिन्छ। मनले माग्ने मनोरञ्जन नाचगानबाट पूर्ति हुन्छ। शरीर र मनको तृप्तीपछि बल्ल चैतन्यको यात्रा सुरु हुन्छ। चैतन्यका लागि ध्यान, योग, ब्रत, साधना, आराधाना र भक्ति चाहिन्छ। तिजका मुख्य तीन दिनको अर्थ यही हो।

भाद्रशुक्ल तृतीयाका दिन मनाइने पर्वमा अघिल्लो रात द्वितियाका दिन दर खाने चलन छ  छ। तिजको दिन व्रत बसी शिवको पुजा गरिन्छ। चौंथीका दिन स्नान गरी व्रतको पाराण गरेर खाना खाइन्छ भने तिजको तेस्रो दिन अर्थात् ऋषिपन्चमीमा ब्रतालुले ३६५ वटा दतिवनले दाँत माझेर स्नान गरी सप्तऋषि अरुन्धती, कश्यप, अत्री, भारद्दाज, विश्वामित्र, जमद्ग्नी तथा वशिष्ठ ऋषिको सम्झना गर्दै शरीर र आत्माशुद्दिका लागि पूजा गर्छन्। अनि नाचगानसँगै तिज पर्व सकिन्छ।

परापूर्वकालमा देव पूजा र भजनकिर्तन गरेर मनाइने पर्वको स्वरूप मध्ययुगमा अलिकति बद्लियो। त्यतिबेला बालविवाह, बहुविवाह, अनमेल विवाह आदिबाट महिलामाथि शोषण हुन थाल्यो। उनीहरू परिवारभित्रै दुःखी हुन थाले। दुःखमा परेका बेला चेलीलाई माइतीघर ल्याउने मिठो खुवाउने, नयाँ लुगा फेरिदिने र उनीहरूका सुख, दुःख र गुनासा सुन्ने पर्वका रूपमा तिजलाई मनाउन थालियो। विवाह गरेर टाढाटाढा पुगेका चेलीलाई जम्मा गराएर चौतारी, पाटीपौवामा नाचगानका माध्यमबाट वेदना पोख्ने पर्वका रूपमा विकास भयो।

समय फेरिएको छ। आज हामी आधुनिक युगमा छौं। अहिले प्रायः महिला शिक्षित छन्।  कुनै न कुनै पेसा वा समूहमा आबद्ध छन्। आफ्ना दुःख वा सुख बाँड्न कुनै चाडपर्व आउनै पर्दैन। तर, तिजलाई हामी आत्मशुद्धि र माया बाँड्ने पर्वका रूपमा युगयुगसम्म मनाइरहन सक्छौं।

प्रकाशित: १४ भाद्र २०७६ ०४:२० शनिबार

तिज संस्कृति चेलीबेटी