अन्य

भालुसँग सेल्फी

भीम चापागाईं/नागरिक

इलाम बजारछेउको पर्यटकीयस्थल भालुढुंगा केही वर्षअघिसम्म चर्चामै थिएन। तर, स्थानीय युवा जागेपछि के हुँदो रहेनछ र ! अचेल इलाम घुम्न आउने पर्यटक मात्र होइन, फुर्सदका बेला इलामे पनि भालुढुंगामा सुस्ताउन पुग्छन्।
लुकेको भालुढुंगालाई सबै पुगेर हेर्नेखालको बनाउने कामको नेतृत्व हरि गुरुङले गरेका हुन्। आकाश उघ्रिएको दिन त्यता जान निस्कें। मोटरसाइकल स्टार्ट गर्दैगर्दा श्रीमतीले भनिन्, ‘भालुढुंगा नै जाने हो भने मचाहिँ कसरी घरमा बसिरहूँ ?’

दुवै जना लागियो उकालो। इलाम बजार मास्तिर ओपीधारा पुगेपछि उकालो छाडेर चियाबारीतिर मोडिन्छ भालुढुंगाको बाटो। ओपीधारामा किरात समुदायको साकेला थान छ। ओपीधाराबाट तेर्साे लागेपछि मोटरसाइकलको बे्रक लागिहाल्यो। चियाबारी नै चियाबारी।

बर्खाको सिजन भएकाले चियाका बुट्टा हरियै। त्यसमाथि झुरुप्प पत्ती पलाउने सिजन पनि भएकाले चियाबारीलाई बैंस आएजस्तो। घाम लागेर चियाबारीबारीको हरियो गलैंचामाथि नीलो आकाश पृष्ठभूमिमा राखेर तस्बिर कैद गर्ने जोडी कतिकति। टिलपिल पानी भरिएको पोखरी वरिपरि र मानिस हिँड्ने सिँढीका दुवैतिरको पहेंलो रेलिङमा परिवार–साथीहरूसँग समूहसमूहमा घुम्न आएका आगन्तुक।

करिब ३० मिटरअघि बढेपछि चियाबारीको थुम्कामा विभिन्न पोसाकमा सजिएका युवा देखिए। ‘लाइट, क्यामेरा, एक्सन..।’ हरियो चियाबारीमा ‘रातो साडी रातै छ चुरा, ननाचेर बस्न कहाँ सक्छु र..’  गीतको सुटिङ साच्चै नै सुन्दर। पाँचथरे गायक रमेश सुनुवार  तीज गीत सुटिङ गर्दा निकै उत्साही देखिन्थे। 

त्यहींबाट कालोपत्रे छाडेर अलिकति ग्राभेल सडकमा गुडेपछि सुरु भयो पर्यटकीयस्थल भालुढुंगाको स्वागत। ४–५ सय मिटर वरदेखि नै सडकछेउका रुखमा रंग लगाएर आकर्षक बनाइएको रहेछ। आराम गर्नलाई फलामे बेन्च ३४ वटा राखिएको छ। जंगलको बीचबीचमा परम्परागत–सांस्कृतिक पहिचान समेत झल्किने घर देखिए। हामी हुल छिचोल्दै बढ्यौं। दायाँबायाँ होम–स्टे राखिएका घरका बरन्डा, सिकुवा र आटमा बेगुनियाँ, अर्किड फूलका गमला। माचमा इस्कुसको झ्याल, बारीमा काँक्रा, फर्सी, करेला, भिण्डी, घिरौंला, मुला अनि हरियो मकै र कोदो पनि। होम–स्टे व्यवसायी हर्कमाया राई भन्दैथिइन्– यी खानेकुराले घरभित्र प्लेटमा पनि स्वागत गर्छन् है।

भालुढुंगामा भीड लागिसकेको रहेछ। कोही सेल्फी फ्रेममा जोडी बाँधेर खिच्दै थिए, कोही गोलो चौतारीमा सुस्ताइरहेका। भीरको थाप्लोमा ठूलो ढुंगामाथिबाट बनाइएको सिँढीमा आउनेजानेको लस्कर उस्तै। भालुको अर्धकदको मूर्तिमा सेल्फी खिचाउनेको त झन् प्रतिस्पर्धाजस्तै।

हामीले अभियन्ता हरि गुरुङलाई भालुको मूर्तिसँग राखेर तस्बिर खिच्दा आनन्द लाग्यो, एउटा अवधारणालाई मूर्तरूप दिएर सफल बनेकामा। भालु मूर्तिनजिकै जंगलमा बनाइएका ट्रि–हाउसमा पनि भीड देखियो। कुनै गोलो र कुनै वर्गाकार स्वरूपमा बनाइएका ४ वटा ट्रि–हाउस पर्यटक आनन्द मान्छन्। जंगलभित्र भएकाले गर्मीमा चिसो खान आउने ठाउँ बनाइएको रहेछ। झापाका उदयसिंह बस्नेतले भने, ‘रमाइलो र आनन्दित ठाउँ रहेछ।’

जंगलमै बनाइएको शिवको मूतिचाहिँ अनावरण गर्न बाँकी छ। पर्यटकका लागि गाउँका ११ घरमा सामुदायिक होमस्टे सुविधा छ। भालुढुंगा सामुदायिक होम–स्टेकी उपाध्यक्ष सुष्मा कँडेलले भनिन्, ‘पर्यटकलाई सामूहिक रूपमा मिलाएर खानेबस्ने व्यवस्था मिलाउँछौं।’

इलाम बजार घुम्न आएका पर्यटकसमेत सस्तो र गाउँघरको खानपान हुने भएकाले होम–स्टे रुचाउँछन्। उनले भनिन्, ‘१ जनाको १ रातको बास, बिहानको खाजा–चिया र बेलुकाको खानालाई ७ सय रुपैयाँको प्याकेज छ। एउटा घरमा ६ जनासम्म बास बसाउन सकिन्छ।’

वर्षदिनदेखि महिलाले होमस्टे व्यवसाय गरिरहेका छन्। पाहुनालाई स्थानीय उत्पादनका तरकारी, लोकल कुखुराको मासु, तोङ्बा, सुकुटी, गुन्द्रुकको अचारलगायत परिकार खुवाउँछन्। ‘होमस्टे व्यवसायले पनि राम्रो आम्दानी दिनेरहेछ, गुजारा चलाउन सकिने रहेछ,’ व्यवसायी हर्कमाया राईले सुनाइन्। होमस्टे व्यवसायीले आफूहरूलाई पाहुनाप्रति गर्नुपर्ने सत्कारबारे तालिम अझै आवश्यक रहेको बताए।

२ वर्षअघि सदरमुकामकै जुबिलेन्ट इलाइट एकाडेमी स्कुलमा आयोजना गरिएको परम्परागत सांस्कृतिक सामग्रीको प्रदर्शनी व्यवसायी हरि गुरुङ र उनका दामलेका लागि प्रेरणादायी बन्यो। ‘त्यो प्रदर्शनीमा इलामको ऐतिहासिक चियाबारीलाई कसरी आकर्षक तरिकाले सजाउन सकिन्छ भन्ने अवधारणा पनि देखाइएको थियो,’ हरिले सम्झिए, ‘चियाबारी सजाउन त प्राविधिक हिसाबले केही जटिलता छन्, भालुढुंगा चाहिँ त्यसका लागि उपयुक्त लागेर हामीले सजाउने प्रयास थालेका थियौं।’

भालुढुंगालाई यो अवस्थामा ल्याउने पहिलो अवधारणा जुबिलेन्ट स्कुलका प्रिन्सिपल भुसान्त सुब्बालाई जान्छ। हरिलाई यो अभियानमा स्थानीय प्रवीण श्रेष्ठ, राजीव खड्का, डम्बर गुरुङ, अर्जुन कँडेल, उदय गुरुङ, सोभित पराजुली, धर्मेन्द्र पराजुली, निराश खड्का, हेमराज ढकाल र सुदीप श्रेष्ठले साथ दिए।

बाटोमा पर्ने रुखमा रंगरोगन गरेर सुरु भएको पर्यटन पूर्वाधार विकासले तीव्र गति लियो। ‘रुख रंगाएपछि सडक आकर्षक देखियो, सडक मर्मत, बेन्च व्यवस्थापन, ट्रि–हाउस, गोलो चौतारी र सेल्फी फ्रेमलगायत पूर्वाधार निर्माणमा स्थानीय समुदाय र सरकारले नै सघाए,’ गुरुङले भने, ‘ठाउँको नाम नै भालुढुंगा भएकाले यहाँ भालुको मूर्ति बनाउने अवधारणाले चाहिँ अझ आकर्षित ग-यो।’ भालुको मूर्ति बनाउने अवधारणा इलाम नगरपालिकाकी प्राविधिक विमला गुरुङले ल्याएकी रैछिन्। 

जति योजना बनाइएको छ, त्यसको १० प्रतिशत मात्रै प्रगति भएको उनको अनुभव छ। ‘भालुढुंगाको पर्यटन विकासका लागि १ अर्ब रुपैयाँको डिपिआर तयार हुँदैछ,’ हरिले भने, ‘चिडियाखाना, पार्क, ग्लास हाउस, अर्किड गार्डेन, जिप हाउससहित एड्भेन्चर टुरिज्मको अवधारणामा डिपिआर बन्छ।’

इलाम, झापासहित पहाड र तराईका दर्जनौं स्थान नियाल्न सकिने इलाम भ्युटावर भालुढुंगानजिकै भएकाले पनि यो क्षेत्रको पर्यटन विकासले गति लिँदैछ। भ्युटावर व्यवस्थापन गरिरहेकी बुद्धमाया सोङ्मीले भनिन्, ‘भ्यु–टावर आएका मानिस भालुढुंगा पुग्छन्, भालुढुंगा आएर भ्युटावर नआउने प्रायः हुँदैनन्।’

प्रकाशित: ७ भाद्र २०७६ ०५:५३ शनिबार

सेल्फी भालु