अन्य

अनुदानका गाडी प्रयोगविहीन

ज्योति श्रेष्ठ
विष्णुमति किनार छेउमै काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग छ। विभागअन्तर्गत ट्रान्सफर्मर स्टेसनको परिसरमा चुलिएको फोहोरको दृश्य टाढैबाट देखिन्छ। त्यसको ५ मिटर पर नपुग्दै करिब २ दर्जन सेतो रंगका मिनी ट्रक लामबद्ध राखिएका छन्। केही वर्षअघिसम्म चिटिक्क देखिएका यी ट्रकको अहिले स्वरूप नै परिवर्तन भएको छ। सेतो रंगको ट्रक खिया लागेर खैरो देखिन थालेका छन्। ट्रकका सिसा लेउ लागेर हरिया भएका छन्। ऐना यताउता बांगिएका छन्। घामको किरण पर्दा खिया लागेका ऐना पहेँला देखिन्छन्। टायरका हावा खुस्किएर लचक्क लच्किएका छन्। वषौँदखि थन्किएका यी ट्रकका वरपर घाँस र झारपात उम्रिएको छ। 

विभागको नगर परिसरमा यी मात्र नभएर सयौँ गाडी थन्किएका छन्। कुनै प्रयोग गर्न नमिल्ने भएका छन् भने कुनै प्रयोगमै आएका छैनन्।
फोटन कम्पनीका यी ट्रक परिसरमै थन्क्याइएको धेरै वर्ष भयो। सुरुमा यी ट्रक पार्किङका लागि राखिएका थिए। त्यसपछि प्रयोगमै नआई थोत्रा भएका छन्। डम्पिङ साइटसँगै रहेकाले यी ट्रकको रूप गुमिसकेको छ। हेर्दै पुराना र काम नलाग्ने जस्ता देखिन्छन्।

‘स्टेसनमा राखिएका यी गाडी सबै कन्डिसनमा छन्, हेर्दा पुराना र थोत्रा देखिए पनि सबै गाडी प्रयोग गर्न मिल्ने नै छन्। अहिले नगरका अरु गाडी नै पर्याप्त भएकाले यसको प्रयोग नभएको हो। आवश्यक परेमा गाडी सञ्चालनमा आउने छन्।’

अरु गाडीहरूको तुलनामा यी ट्रकको उपयोगिता  भिन्न छ। यसलाई सेल्फ लोडिङ एण्ड डिस्चार्जिङ ट्रकको रूपमा नामाकरण गरिएको छ। बटम प्रेस गर्नेबित्तिकै गाडीले फोहोर लोड गर्छ र बटम प्रेस गरेपछि फोहोर आफै डिस्चार्ज हुन्छ। यी गाडीले फोहोर उठाउनमा धेरै सहज गराए पनि ८ वर्षदेखि यी ट्रक प्रयोगमा नआई विभागमै स्टोर गरिएर राखिएका छन्।

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागको परिसरमा यी गाडी थन्किनुको कारणबारे काठमाडौँ महानगरपालिकाका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ गाडी थन्क्याइएको नभई त्यसलाई त्यहाँ स्टकको रूपमा राखिएको बताउँछन्। ‘स्टेसनमा राखिएका यी गाडी सबै कन्डिसनमा छन्,’ विभाग प्रमुख श्रेष्ठले भने, ‘हेर्दा पुराना र थोत्रा देखिए पनि सबै गाडी प्रयोग गर्न मिल्ने नै छन्। अहिले नगरका अरु गाडी नै पर्याप्त भएकाले यसको प्रयोग नभएको हो। आवश्यक परेमा गाडी सञ्चालनमा आउने छन्।’ स्टकमा रहेका यी ट्रकको उचित व्यवस्थापन हुन नसक्दा लथालिंग अवस्थामा देखिएको विभाग प्रमुख श्रेष्ठ बताउँछन्। ट्रक मात्र नभएर चीनको अनुदानमा आएको २ ब्रुमर पनि प्रयोगमा आएका छैनन्। तर, केही दिनयता यी परीक्षणको लागि प्रयोग गरिएको विभागले जनाएको छ।

ब्रुमर प्रयोगमा नआउनुको कारण बताउँदै विभाग प्रमुख श्रेष्ठले भने, ‘ब्रुमरको नम्बर प्लेट नआएकाले यसलाई सञ्चालनमा ल्याउन सकिएको छैन। यससँगै ब्रुमरको लागि छुट्याइएको बजेट आर्थिक वर्षको अन्त्यका कारण झिक्न नमिलेका पनि प्रयोगमा नआएको हो।’ यसको परिक्षण सकिएसँगै केही दिनमै ब्रुमर सञ्चालनमा ल्याइने उनले बताए।

विभागका अनुसार २०६८ सालमा चीनले काठमाडौँ महानगरपालिकालाई ३० फोटनको सेल्फ लोडिङ एण्ड डिस्चार्जिङ ट्रक अनुदानमा दिएको थियो। ३० वटामध्ये अहिले ६ ट्रक मात्र प्रयोगमा आएका छन्। बाँकी करिब २ दर्जन फोटन कम्पनीका यी ट्रक विभागको परिसरमा थन्किएर बसेका छन्। चीनले काठमाडौँ महानगरपालिकालाई चनगन ५०, फोटन ट्रक ३०, फिकल सुक्सन २, स्वेज सुक्सन २, डङफ्रेङ ट्रक ६, एम्बुलेन्स ५, ब्रुमर २, रोड रेक्कर २ र  कम्प्याक्टर ५ वटा अनुदानमा दिएको थियो। अहिले फोहोर व्यवस्थापनको लागि करिब २ सय यातायात परिचालन भएको काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले जनाएको छ। काठमाडौँ महानगरपालिकाका वातावरण व्यवस्थापन विभागको परिसरमा ८ वर्षदेखि थन्किएका गाडी।
 

 

 

प्रकाशित: २५ श्रावण २०७६ ०१:४१ शनिबार

अनुदान गाडी काठमाडौं_महानगरपालि