छोरीले आमाको हत्या र बाबुले छोरीको हत्या गरेका असार महिनामा पछिल्ला घटनाहरू अहिले सेलाउने क्रममा छन्। पति विदेश गएको मौकामा परपुरुषसँग सम्बन्ध राखेको र त्यो सम्बन्धमा आमा बाधक बनेपछि योजना बनाएर छोरीले आमाको इहलीला समाप्त गरिदिएको प्रहरी अनुसन्धानबाट खुलेको हो। भक्तपुर, चाँगुनारायणकी ६१ वर्षीया सावित्री भट्टराईको हत्यामा छोरी ईश्वरीले आफ्नो नाठो प्रयोग गरेको स्पष्ट भएको छ। र, अहिले ईश्वरी आमा हत्याको अभियोगमा प्रहरी हिरासतमा छन् उनीमाथि कानुनी कार्बाही जारी छ। असार १५ को यो घटना सेलाउन नपाउँदै असार १९ गते बिमाको रकम हात पार्न रौतहट नौलापुर नगरपालिका—६, पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरे। छोरी मार्ने बाबु पनि प्रहरी हिरासतमै छन्, कानुनी कार्बाही जारी छ। चार वर्षीया छोरीको बिमा गरेर त्यो बिमा हत्याउन नाबालक छोरी हत्या गर्ने बाबुलाई कसरी बाबुको संज्ञा दिने ? कस्तो सम्बन्ध आमा मार्ने छोरी र आमाको ? अनुत्तरित प्रश्नहरूबीच छौँ हामी।
छोरीले आमा र बाबुले छोरीको हत्या गरेका घटना आफैँमा पत्याउन नसकिने तर यथार्थ बनेर क्षमाशील नेपाली समाज सामुन्ने छन्। दुवै घटनाका दोषीहरू जो रगतको सबैभन्दा नजिकको साइनोमा गाँसिएका थिए, अहिले प्रहरी हिरासतमा छन्। हत्यारा छोरी र बाबुमाथि कानुनी कार्बाही हुन्छ नै तर यी घटनाले परिवारिक सम्बन्ध र रगतको नातामै शंसय बढ्दै गएको त होइन, गम्भीर प्रश्न उपस्थित गराएको छ। एकै सातामा घटेका यी जघन्य घटनाहरू मात्र होइन, नेपाली समाज हिंसाउन्मुख हुँदै गएको संकेत हुन्।
प्रहरीको तथ्याङ्क र हिंसाको प्रकृति, प्रवृत्तिले नेपाली समाजमा पारिवारिक हिंसा बढ्दै गएको देखिन्छ। नेपाली समाजमा देखिएका यस्ता दुःखद् घटनामा दोषीलाई कानुनी कार्बाही गरेर मात्र पुग्दैन। अब पारिवारिक हिंसाबारे सूक्ष्म अध्ययन गर्ने आवश्यकता देखिएको छ। सरकार सामाजिक पारिवारिक सम्बन्धमा सरोकार राख्ने निकाय, संघसंस्था र अनुसन्धाताहरू यसका लागि लागिपर्नु पर्छ। भौतिक विकास, सञ्चार प्रविधि, पैसाको भोक, यौन सम्बन्ध र कुण्ठा आदि पारिवारिक हिंसाका प्रमुख कारण मानिन्छन्। दाइजो, परपुरुष, परस्त्रीसँगको सम्बन्ध र प्रेमलई विवाहमा बदल्न नसक्दा वा प्रेममा यौन चाहना पूरा गर्न नसक्दा पनि हत्यासम्मका घटना हुने गरेका छन्।
चाँगुनारायण घटना यौन सम्बन्धसँग सम्बन्धित छ भने रौतहट घटना जसरी भए पनि पैसा प्राप्त गर्ने उद्देश्यले प्रेरित देखिन्छ। समाजशास्त्रीहरू समाजका मूल्य–मान्यता फेरिँदै गएको र विचलन बढ्दा आफन्तभित्रै हत्यासम्मका घटना हुन थालेको विश्लेषण गरिरहेका छन्। उनीहरूका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रयोग, शहरीकरण, वैदेशिक रोजगारी, सहरीकरण र भौतिकवादी जीवनशैलीले आवश्यकताहरु बढाउँदै लगेको छ र हिसांका घटना पनि बढ्दै गएका छन्। मानिसहरु भौतिकवादी बन्दै गएको र जसरी पनि आफ्ना आवश्यकता पूरा गर्न लागिपरेकाले आफ्ना नजिकका आफन्तसमेत निशाना परिरहेको घटनाहरूले संकेत गरेका छन्।
प्रहरीको पछिल्लो चार वर्षको तथ्यांकबाट औसतमा प्रत्येक दिन कर्तव्य ज्यानका दुई घटना भइरहेको देखिन्छ। पेसेवर अपराधीबाट तथा संगठित समूहबाट भन्दा पनि समाजमा हुने सानातिना झैँ–झगडा, परिवारमा हुने विवाद, सामान्य रिसइबी, आर्थिक लेनदेन तथा चरित्रका विषयलाई लिएर धेरै हत्या हुने गरेको प्रहरीको तथ्याङ्कले औल्याउँछ।
हिंसालाई सामान्य रुपमा लिने, कानूनी कारवाही नहुने, हिंसालाई पनि राजनीतिकरण गर्ने परम्परा छ। दण्डहीनताका कारण कतिपय आपराधिक क्रियाकलाप प्रोत्साहित भैरहेको देखिन्छ। राज्यको दायित्व दण्डहीनतालाई निर्मूल पार्ने हुनुपर्छ। यता समाजमा देखिएका पारिवारिक हिंसाका बारेमा चेतनामूलक, पारिवारिक सम्बन्धका बारे ज्ञानवद्र्धक र आध्यात्मिक चिन्तन मनन् आवश्यक हुन्छ। के–के कारणले पारिवारिक हिंसा हुन्छ र हत्यासम्मका घटना हुन्छन् भन्ने केलाएर त्यसबारे जानकारीमूलक प्रचारप्रसार आवश्यक हुन्छन्। कतिपय हिंसा योजनाबद्ध हुन्छन् भने कतिपय क्षणिक भावावेशमा घटन जान्छन्। नागरिकमा संयमित हुने, अध्ययन, चिन्तन, मनन् गर्ने संस्कार, बसाल्न सकियो भने हिंसा न्यूनीकरण संभव हुन्छ। बढ्दो हिंसा नियन्त्रण गर्न कानुनी कार्बाही मात्र सम्भव हुँदैन। राज्यले नागरिकलाई कस्तो शिक्षा दिने, कस्ता नागरिक बनाउने, त्यस अनुसारका कार्ययोजना, नीति बनाउन र लागू गर्न आवश्यक छ।
नागरिक परिवारको यो साउन अंकमा हामीले पारिवारिक हिंसा, यौन चाहना र अभ्यास लगायतका यसका नियमित स्तम्भ, साहित्य, यात्रा, धर्म, संस्कृति, परिकार लगायतका सामग्री पेश गरेका छौं। नागरिक परिवार तपाईंहरूलाई रुचिपूर्ण हुने विश्वास लिएका छौं।
प्रकाशित: ७ श्रावण २०७६ ०८:५७ मंगलबार