प्राध्यापक हरि शर्मा राजनीतिक विश्लेषक, पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा राजनीतिक सल्लाहकार भएर काम गरिसकेका बहुचर्चित व्यक्तित्व हुन्।
२०१९ साल असोज ५ गते गुल्मीमा बुबा विष्णु दत्त र आमा नुमाको कोखबाट जन्मिएका शर्मा तीन वर्ष हुँदा भने पख्लीहवा झरे। उनका बुबा ब्रिटिस लाहुरे थिए। ब्रिटिस लाहुरेको धार्मिक कार्य उनैले सम्पन्न गराउँथे। जताजता उनको कम्पनी जान्थ्यो, बुबासँगै उनी पनि त्यतै जानुपथ्र्यो। यस हिसाबले सिंगापुर, मलेसिया, हङकङजस्ता ठाउँमा उनको प्रारम्भिक शिक्षा सम्पन्न भयो।
ब्यारेकमा गोर्खा सैनिकका परिवार बसेका हुन्थे। ‘ब्यारेकको बसाइ व्यवस्थित हुन्थ्यो, वातावरण पनि राम्रो,’ शर्माले भने, ‘मलाई मलेसियाको बसाइ अझै पनि याद आउँछ। वरिपरि रुखविरुवा, शान्त ठाउँका कारण वातावरणले नै पढूँपढूँ बनाउँथ्यो।’
बालापनमा उनी जहाँ जहाँ पुगे, त्यसले सामूहिकता, सांस्कृतिक अवस्था र भौगोलिक विविधताका बारेमा बुझ्न सहयोग ग¥यो। यसले आफ्नो सोचको दायरा वृहद् बनाउन भूमिका खेलेको उनको धारणा छ।
मलेसियापछि शर्मा परिवार नेपाल फर्कियो। उनी भैरहवाको पख्लिहवा हाइस्कुलमा भर्ना भए। भारतको बोर्डर नजिकै भएको कारण हिन्दी पत्रपत्रिका पढ्ने, सिनेमा हेर्ने अवसर पाए। पढ्नमा तेज शर्माले बालापनमा बुबाको एक झापड पनि भेटेछन्। भएछ के भने, उनी साथीहरु सँग फुटबल खेलिरहेका पानी परेको बेला खोलामा भेल आउँछ नखेल भन्दाभन्दै अटेर गरेर खेल्न पुगे। अटेर गरेर खेल्न गएका कारण बुबाले घरमा रहेको उनको बल फुटाइदिए। बुबाको त्यस्तो रिस देखेपछि भने शर्माले बुबाको सहमतिबेगर दोहो-याएर खेल्न गएनछन्।
उनको घरमा पत्रपत्रिका र किताब भने भइरहन्थे। फुर्सद भयो कि शर्मा चित्र हेर्ने निहुँमा किताब पढिसक्थे। उनका बुबाको दराजमा धार्मिक पुस्तकहरु टन्नै हुन्थे। गीताको आठ भाग पुस्तक उनले कक्षा सातमा पढ्दा नै पढिभ्याएका थिए। ‘सुरुमा चित्र हेरेर बस्थेँ,’ शर्माले भने, ‘एक दुई पाना पल्टाउँदै गर्दा चाख बस्दै गयो अनि लगातार पढेँ।’ घरमा पनि अध्ययनशील वातावरण, स्कुलमा पनि ब्रिटिस, नेपाली र दार्जिलिङका शिक्षकहरुले पढाए। जसले गर्दा पढ्नमा रुचि राख्ने शर्माको बानीलाई सघाउ पु-यायो।
कक्षा ९ र १० भने शर्माले हङकङमै पढे। उनी पढेको गोर्खा हाइस्कुल भने अहिले छैन। ‘साथीहरुले आफूले पढेको स्कुल भनेर गफ गर्दा मलाई कस्तो कस्तो लाग्छ,’ शर्माले भने, ‘त्यो स्कुल हङकङमा इमर्जेन्सी लागेको बेला मात्रै चलेको थियो, अहिले त बन्द भइसक्यो।’
त्यो बेला भारतको सारनाथबाट हङकङ जाँदा पानी जहाज चढेर गएछन्। त्यो उनको पहिलो समुद्र यात्रा थियो। समुन्द्रको पानीमा उडिरहेका माछा देख्दा उनलाई कम्ता रमाइलो लागेन!
पल्टनको बसाइमा ब्राह्मणहरु शर्माकै परिवार मात्र थिए। सेनामा अरु नै जातिका बढी थिए। सानैमा ब्रतबन्ध गरेका शर्माको टुप्पी लामो थियो। उनका अरु साथीको ब्रतबन्ध गर्ने चलन थिएन। उनको टुप्पी देख्यो कि साथीहरुलाई तान्न रमाइलो लागिहाल्ने। उनको टुप्पीले दिनुसम्म सकस दिएछ। ‘टुप्पीका कारण त म धेरै पो पीडित भएँ त !’ शर्मालाई त्यो बेलाको नरमाइलो यतिबेला भने रमाइलो लागिरहेको छ, भन्छन्, ‘त्यो बेला टुप्पीले धेरै दुःख दियो।’
हङकङमा भादगाउँले टोपीको सम्मान
हङकङमा उनीहरु चीनको बोर्डरनजिकै बस्थे। उनी बस्ने घरबाट समुद्रमा आउजाउ गरिरहेको देख्न सकिन्थ्यो। त्यहाँ समुन्द्रबाट मान्छेहरु डुंगामा ल्याउँदै उद्दार गरेको देखे। पछि बुझ्दै उनले थाहा पाए, चीनको कडा शासनका कारण त्यहाँ बस्न नसकेर चिनियाँहरु भागेर हङकङ पो आएका रहेछन् !
उनलाई कौतुहलता लागिरह्यो, जनता नै टिक्न नसक्ने कस्तो शासन होला? यही रुचिका कारण उनले त्यो बेला माओ त्से तुङ (माओ जेदोङ) को जीवनी त्यही बेला पढे। हङकङको इतिहास, त्यहाँको कला, साहित्यबारे उपलब्ध भएसम्मका पुस्तकहरु पढे।
माओ बितेपछि चीनमा सन् १९८० को दशकमा देङ स्याओ पिङको सिद्धान्तले काम गर्न थाल्यो। पिङ चाइनामा शक्तिशाली भए। आफू शक्तिमा आएपछि पिङले नेपाल भ्रमण गरेका रहेछन्। त्यो बेला उनलाई नेपाली जनताले भादगाउँले टोपी लगाइदिएर सम्मान गरेका थिए। त्यो सम्मान गरिएको फोटो हङकङका विभिन्न स्थानमा ठूलो बनाएर राखिएको थियो। हरि शर्माको बाबु पनि भादगाउँले टोपी लगाउँथे। ‘चिनियाँहरुलाई त्यो टोपी लगाउने मान्छे ठूलो हो भन्ने ठान्थे,’ शर्माले भने, ‘बुबालाई देखेपछि नेपा नेपा भन्दै सम्मानको भावका साथ हेर्थे।’
हङकङमा पढाइको अलवा समाचार हेर्ने, सुन्ने र पुस्तक पढ्ने उनको दैनीकी थियो। उनकी आमाले पढ्नमा यतिसम्म सघाउँथिन् कि बिबिसीमा केही राम्रो समाचार आएको छ भने छोरालाई सुनाउन रेकर्ड गरेर राखिदिन्थिन्।
रिजल्ट नपत्याउने साहुजी
शर्मा सन् १९७८ तिर भर्खर एसएलसी दिएर बसेका थिए। उनका बुबाले उच्च शिक्षा आफ्नै देश गएर लिनू भनेर अह्राए। उनलाई पनि देशमै पढ्ने रहर थियो। एसएलसीको नतिजा ननिस्कदै उनी नेपाल आए। गुल्मीमा उनका हजुरबा–हजुरआमा बस्थे। त्यहीँ पुगे। गाउँमा लामो समय नबसेकाले उनलाई कमैले चिन्थे। घरमै बसिरहेको बेला रेडियोले नाम फुक्यो। उनी एसएलसीको नतिजामा बोर्ड तेस्रो भएछन्।
उनले यो खुसी हङकङमा रहेका बुबाआमालाई सुनाउन पाएनन्। कारण, त्यतिबेला अहिलेजस्तो छ्यासछ्यास्ती फोन थिएन। घरमा हजुरबा हजुरआमासँग बिदा मागेर उनी काठमाडौँ लागे। हिँड्दै जाँदा एउटा पसल देखे। नाम त उच्चारण भएको थियो, एक पटक नाम हेरेर कन्फर्म गरुँ लाग्यो उनलाई। श्रेष्ठ न्युज एजेन्सीका साहुजीलाई उनले सिम्बोल नम्बर हेरिदिन आग्रह गरे। पसलका साहुजीले पुछारबाट हेरेर तिम्रो नामै छैन भनिदिए। शर्माले माथिबाट हेर्नु न भन्दा साहुजीले वास्तै गरेनन्।
शर्माले एकोहोरो हेर्नु कि हेर्नु भनेर कर गरेपछि स्कुलको नाम सोधेछन्। म गोर्खा हाइस्कुलको विद्यार्थी हो, हङकङमा पढेको भनेपछि बल्ल उनी नाम हेर्न राजी भए। उनले पत्रिका पनि किन्न खोजिरहेका थिए। रिजल्ट आएको तीन दिन भइसकेको थियो। पत्रिकाको काम पनि अब त थिएन तर साहुजीले पत्रिका नै किन्न दिएनन्। पत्रिका किन्न पनि हङकङकै ध्वाँस दिनुप-यो।
शर्माले त्यही बेला पहिलो पटक प्लेन चढे। भैरहवाबाट काठमाडौँ प्लेनमा आएका उनी त्यो बेलाको प्लेनको भाडा ६५ रुपैयाँ तिरेका थिए।
कानुनबाट फर्काइए, अस्कलमा छिरे
काठमाडौँ आएर शर्माले सुरुमा हङकङमा रहेका आमा–बुबालाई पास भएको जानकारी गराए। अनि, सोधे, ‘के पढौँ ?’ हरिका बाबुले भने, ‘छोरा, तिमी साइन्स पढ्ने भन्दा पनि आर्ट्स पढ्ने नेचरका छौ। आर्टस् नै पढ।’
आमाले भने उनलाई कानुन लिएर पढ्दा राम्रो हुने सुझाइन्। यसपछि उनी पनि नेपाल ल क्याम्पसतिर लागे। उनको नम्बर देखेर भर्ना गर्ने कर्मचारीले भर्नै गर्न मानेन। ‘मान्छे धेरै नै थिए,’ त्यो दिन सम्झँदै उनले भने, ‘म झ्यालमा मार्कसिट बुझाएर पालो पर्खिरहेको थिएँ। भित्रबाट कसैले चिच्याएर मेरा नाम बोलायो। यसो चिहाएको त, यति राम्रो नम्बर आएको छ, घरमा सोधेर साइन्स पढ्नू पो भन्छन् !’
उमेर कच्चै भएकाले उनले यहीँ पढ्छु भनेर ढिठ गरेनन्। यत्तिकै हिँडिरहँदा उनका साथी गोवद्र्धन पनि बाटोमा भेट भए। उनले सबै कुरा सुनिसकेपछि अस्कल पु¥याए। ‘यसरी कानुन पढ्न हिँडेको म, अस्कलमा भर्ती भएँ,’ उनले सुनाए।
अस्कल काण्ड
२०३५ सालमा अस्कलमा भर्ना भएका हरि त्यतिबेलाको वातावरणले राजनीतितर्फ आकर्षित हुन थाले। त्यसो त राजनीतिका बारेमा उनी धेरथोर जानकार नै थिए। उनका बुबा १५ सालको संसदीय चुनावमा नेपाली कांग्रेसको प्रचारप्रसारमा लागेका थिए। राजा महेन्द्रले १७ साल पुस १ गते ‘कू’ गरेपछि बुबा राजनीतिबाट टाढै रहे तर भूमिगत नेताहरुसँग भने सम्पर्कमा नै थिए। जागिरको सिलसिलामा बाहिर रहेपछि भने उनको राजनीति कम भएको थियो तर छोराको राजनीति भने कलेज भर्ती लगत्तै शुरु भइसकेको थियो।
पाकिस्तानमा जुल्फिकर अली भुट्टोलाई फाँसी दिएपछि नेपालमा विद्यार्थी आन्दोलित भए। ल कलेजबाट आएको जुलुस अस्कल पुग्यो। तत्कालीन विद्यार्थी नेता बलबहादुर केसीले माइकमा आह्वान गरे आन्दोलनमा होमिन।
त्यो बेला शर्मा ल्याबमा थिए। उनको शरीरमा एक्कासि काँडा उम्रन थाल्यो। मनमनै उनले प्रजातन्त्र जिन्दाबाद भने र साथीहरुसँगै पाकिस्तानी दूतावासतर्फ लागे। त्यतिबेला दूतावास त्यो बेला पानीपोखरीमा थियो।
विद्यार्थी आन्दोलनले यस्तो रुप दियो कि देशभरि नै हलचल भयो। शर्माले पुलिसको लाठी र अश्रुग्यास पनि खाए। त्यतिबेलाको विद्यार्थी आन्दोलनकै कारण बहुदलीय व्यवस्था कि सुधारिएको पञ्चायती व्यवस्था छान्न जनमत संग्रह तत्कालीन सरकारले गर्ने भयो। यही बेला उनी बहुदलको प्रचारमा पश्चिमका केही जिल्ला घुमे। जसले गर्दा किताबी ज्ञान मात्र हैन, भूगोलको ज्ञान पनि पाए। यसमा बहुदलले हारे पनि विद्यार्थीले माग गरेको स्ववियु चुनाव जस्ता कुराहरु भने प्राप्त गरे। यसले विद्यार्थीलाई आफ्ना कुरा राख्ने र प्रजातन्त्रको लागि गोलबद्ध हुने वातावरण सिर्जना ग-यो।
अस्कलमा पढ्दा नै उनी नेपाल विद्यार्थी संघको इकाई अध्यक्षसम्म भएर काम गरे।
बिपीले टिपाएका २० किताब
२०३६ सालपछि बिपी निवासमा उनको आवतजावत बढ्न थाल्यो। ज्ञानेश्वरमा बस्ने शर्मा चाबहिलस्थित बिपी निवासमा बिहानै पुग्थे। बिपीले बिहानीमा जिज्ञासुका प्रश्नका उत्तर दिन्थे। त्यही बेला बिपीले शर्माको झोला हेर्दै सोधे, ‘झोलामा के छ ?’ ‘गान्धीको किताब,’ शर्माले जवाफ दिए।
बिपीलाई फुच्चेले गान्धीको किताब पढेको भएर हो कि किन उनले फेरि सोधे, ‘यो त यहाँ प्रतिबन्धित छ त !’
‘हजुर तर मलाई पढ्न मन लागेर किनेर ल्याएको !’ शर्माले जवाफ दिए।
शर्माको किताब मोह थाहा पाएपछि बिपीले भनेछन्, ‘ए तिमी किताब पढ्न मन पराउँदा रहेछौ, तिमीले पढ्नैपर्ने केही नाम दिन्छु। पढ्दा राम्रो हुन्छ।’
यसपछि बिपीले सर्सर्ती २० वटा पुस्तकको नाम लेखेर दिए। ‘त्यो सूची पछिसम्म राखेको थिए, अहिले त हराएछ,’ शर्माले भने, ‘सूची दिपछि उहाँसँग भेट भएको बेलामा पढ्यौ त भनेर सोधिरहनु हुन्थ्यो।’
बिपीले दिएको सूची बुबालाई देखाए। उनका बुबा पनि खुसी हुँदै २० वटै पुस्तक किनेर ल्याइदिए। शर्मालाई बिपीको बानी अचम्म लाग्थ्यो, भन्छन्, ‘एक पटक चिनेको मान्छे नबिर्सने उहाँको बानी थियो। भेट भएको बेलामा के गर्दैछ, कसो गर्दैछ अपडेट लिइरहने बानी थियो।’
गान्धीको खोजीमा भारत
देशको राजनीतिक उथलपुथलका कारण उनको पढाइमा पनि उथलपुथल भयो। दुई वर्षमा सक्किनुपर्ने आइएस्सी सकिन ३÷४ वर्षै लाग्यो। उनको पढाइ यसरी सरेको स¥यै गर्दा फुर्सदको समयमा भारत यात्रा गर्ने सोच पलायो।
उनी सन् १९८१ ताका भारत भ्रमणमा जाँदा राजस्थानको देउराला पुगे। त्यहाँ रुप कँवर भन्ने महिलाले आफ्नो पतिको निधनपछि सती गइछन्।
यो समाचारले संसार हल्लाएकाले महŒवपूर्ण समयमा म त्यहाँ पुगेँ भन्ने उनलाई लागिरहन्छ।
देशको तरल अवस्थामा उनी उच्च शिक्षाका लागि भारत नै ठीक हुने ठानी पञ्जाब युनिभर्सिटीमा बिए भर्ना भए। उतै पढे। ‘ओहो, त्यहाँको पढ्ने वातावरण त साह्रै राम्रो,’ उनले भने, ‘पत्रकार, प्राध्यापकको सामीप्यमा हुर्कन पाएँ।’
शिक्षा मोह
आफ्नो बेलाको र यो बेलाको शिक्षा लिने तौरतारिकामा आकाशजमिनको फरक रहेको शर्मा बताउँछन्। भन्छन्, ‘हाम्रो पालामा पढेको छ भने पढ्ने मात्र भन्थे। अहिलेको पुस्ता भने मल्टिटास्किङ छन्। पढ्दै, मोबाइल चलाउँदै, गीत सुन्दै के–के गर्छन्, के–के।’
शर्माले यति भनेपछि केहीबेर रोकिए अनि भने, ‘शिक्षाको व्यापकता छ तर गुणस्तरमा भने ध्यान नपुगेको हो कि जस्तो लाग्छ। सिक्ने र सिकाउने दुवैमा हतारमा छन्। हतारले ज्ञान पाइँदैन।’
प्रकाशित: ९ असार २०७६ १०:३४ सोमबार