अन्य

परिवर्तनका साक्षी बाबुलाल चचान

सात उद्योग र आधा दर्जन व्यापारिक प्रतिष्ठान सञ्चालन गर्ने वीरगञ्जको चचान समूहका अध्यक्ष बाबुलाल चचान वीरगञ्ज उद्योग वाणिज्य संघलाई २०५२ सालदेखि २०५८ सालसम्म अध्यक्ष भएर हाँके। अहिले ८३ वर्षको उमेरमा पनि काम र सामाजिक जीवनमा सक्रिय रहने फुर्तिला व्यक्तित्व हुन् उनी। चचान जिउँदा इतिहास हुन् जसले करिब ७ देशमा देश र समाजमा भएका परिवर्तनहरुका साक्षी बन्न पाएका छन्। २००९ सालमा एसएलसी परीक्षामा देशमै पहिलो (बोर्ड फस्ट) स्थान ल्याएका थिए। वीरगञ्जमा स्थापित कलेजको पहिलो ‘बैच’का विद्यार्थी रहेका उनी २०१५ सालमा भएको निर्वाचनमा मतदाता भएर मत हाल्ने मौका पाए। वीरगञ्ज क्षेत्रबाट जितेका कांग्रेसका सुवर्णशम्शेर जबरा पहिलो निर्वाचित संसदको तर्फबाट अर्थमन्त्री भएपछि देशको कर प्रणाली निर्धारण गर्न गठित ‘टेरिफ बोर्ड’को सदस्य बने चचान। नेपालमा सुक्खा बन्दरगाह ल्याउने अवधारणाको अगुवाइ गरेका चचानलाई यस क्षेत्रका उद्योगी व्यवसायीले अग्रजको रुपमा सम्मान गर्ने गरेका छन्। अनेक चरणका परिवर्तनहरु भएर अहिले मुलुक राजनीतिक स्थायित्व, आर्थिक उन्नति र समृद्धितर्फको यात्रा बढेको भनिँदैछ। चचानको बुझाइ र अनुभव कस्ता छन् भनी नागरिक परिवारको तर्फबाट रितेश त्रिपाठीले गरेको कुराकानी।

आर्थिक दृष्टिकोणले अहिलेको अवस्थाबारे तपाईंको विश्लेषण के हो ? आर्थिक हिसाबले अहिलेको माहोल कस्तो छ?
जुन किसिमले राजनीति परिवर्तन भएको छ त्यसमा आर्थिक हिसाबले देशले निकै फड्को मार्ने सम्भावना बन्न सक्थ्यो। तर त्यस्तो माहोल बन्न सकेको छैन। कुराहरु राम्रा राम्रा भइरहेका छन्, काम पनि राम्रो होस्। नीति र कानुनहरुमा सुधारको आवश्यकता छ। भएका नीतिहरुमा कार्यान्वयनमा रहेको समस्या हटाउन आवश्यक छ। यो वर्ष जेठ १५ मा बजेट आयो। तर निर्यातका लागि आवश्यक पर्ने कार्यविधि पुसमा मात्र आउन सक्यो। आधा वर्ष त यत्तिकै गयो अन्योलतामा। आज देशको व्यापार घाटा दिनप्रति दिन बढ्दो छ। यसलाई कम गर्न केही ठोस कदम चालिनु पर्छ। खास गरी यहाँको मालवस्तुमा उत्पादन लागत कसरी घटाउने भन्नेतिर अध्ययन हुनुपर्छ र काम गर्नुपर्छ।

तपार्इंको समय केमा बितिरहेको छ ? तपाईंको औद्योगिक समूहले अहिले के उद्योग र व्यवसाय गरेको छ?
बिहान ८ बजे उठ्छुँ, नित्यकर्मपछि योगा गर्छु। साढे ८ तिर खाजा खान्छु, १० बजे अफिस पुग्छु। त्यसपछि दैनिकी सुरु हुन्छ। सिमेन्ट, दाल, तेल र छाला उत्पादनसँग सम्बन्धित उद्योगहरु हामीसँग छन्। कृषि औजार र उपकरणहरुको व्यापार छ। अरु विदेशी सामानको आयात व्यापार पनि छ। छोराभतिजा र नातिहरुले अलग–अलग कारोबार हेर्ने गर्छन्। मैले प्रत्यक्ष कुनै कारोबार हेर्ने गरेको छैन, समग्रमा हेर्छु।

व्यापार व्यवसाय तपाईंले विरासतमा पाउनु भएको हो कि आफैँ सुरु गर्नु भयो?

हजुर बुवा लखिराम राजस्थानबाट आउनुभएको थियो। उहाँ वीरगञ्जको छप्कैयामा बस्नु हुन्थ्यो र घोडामा कपडा राखेर घुमाएर बेच्नु हुन्थ्यो। बुवा महाविर राम र काका मालिरामले महाविरस्थान अगाडि कपडाको पसल गरे। पछि थोक कारोबार हुन थाल्यो। बम्बे र अहमदावादबाट कपडा मगाएर बेचिन्थ्यो। यहाँबाट तनहुँको बन्दीपुर कपडा जान्थ्यो, नारायणगढ बजार विकास भएपछि त्यहाँ पनि कपडा जान थाल्यो। एसएलसीमा राम्रो गरेकै थिएँ, इन्टरमेडिएट सकिएपछि इन्जिनियरिङ्ग पढ्न जाने धोको थियो। परिवारले साथ दिएन वीरगञ्जमै बसेर डिप्लोमा गरँे। पछि पारिवारिक व्यापारमा लागेँ। विस्तारै व्यापार बढ्यो, पछि उद्योगहरु थपिन थाले। अहिले चचान समूहले वर्षेनी एक हजार २ सय करोडको कारोबार गर्छ।

विकासको दृष्टिकोणले देश र वीरगञ्ज सहरको अवस्था कत्तिको फेरिएको पाउनु भएको छ ?

निकै फेरिएको छ अवस्था। २००९ सालमा एसएलसी दिएपछि हाम्रो ‘ब्याच’का साथीहरुले सोही वर्ष सुरु भएको रात्रि इन्टरमेडिएट कलेजमा नामांकन गरायौं। कलेजलाई भारतको पटना बोर्डबाट सम्बन्धन प्राप्त थियो। परीक्षा दिनका लागि काठमाडौं सेन्टर तोकिएको थियो। २०११ सालतिर परीक्षा दिन हामी कुलेखानीदेखि काठमाडौंसम्म पैदल गएका थियौं। हिरालाल केडिया, शंकरलाल केडिया, सत्यनारायण पटवारी, बलराम मल्ल, नुरनाथ आचार्यलगायतका साथीहरु बिहान रेल चढेर अमलेखगञ्जसम्म गयौं। त्यहाँबाट भिमफेदीका लागि जिपै चल्थ्यो। हामी जाँदा भर्खरैदेखि त्यस्ता जिप कुलेखानीसम्म पुग्न थालेका थिए। कच्ची बाटो थियो। राति कुलेखानीमै बास बसेर बिहान चार बजे त्यहाँदेखि पैदल हिँडियो। किताब र अरु सामान भरियालाई दियौं। बाटोमा एक ठाउँमा चौतारा भेटियो त्यहाँ चिया र खाजाको पसल रहेछ। हामीले पनि पेट भ¥यौं। अगाडि लागियो। थानकोट पुग्दा साँझको ४ बजिसकेको रहेछ। त्यो दिन र आजको समय तपाईं आफैं तुलना गर्नुस्।

अर्को प्रसंग यसमा यादगार छ। हामीले खिचापोखरीमा डेरा लिएका थियौं परीक्षा चलिरहेको थियो। पाँच छ वटा परीक्षाको पेपर सकिएको हुनुपर्छ राजा त्रिभुवनको मृत्यु भयो। परीक्षा रोकियो। १३ दिनसम्म त केही हुने कुरै थिएन। रोकिएको परीक्षा कहिले हुने नहुने निधो थिएन। हामी फर्कियौं। पछि मात्र परीक्षाको अर्को मिति आएको कलेजबाट जानकारी पाइयो। र, फेरि गयौं परीक्षा दिन। विद्यालय, कलेज, यातायातका साधन, सडक, बजार र उद्योग सबै बढेको छ।

सुख्खा बन्दरगाह  यहाँको कार्याकालमा उद्योग वाणिज्य संघले ल्याउन सक्यो। यो अवधारणा कहाँबाट आयो ?
राम्रो प्रसंग कोट्याउनु भयो। हामीलाई सुख्खा बन्दरगाह थाहा थिएन। भारतको कोलकताबाट सडकमार्गबाट नै समान आउँथ्यो। बाटोमै समान हराउने चोरी हुने र नेपाल जाने सामान भारतमै बेचेको भनेर भारतीय अधिकारीहरुले नेपाली आयातकर्तालाई आरोप लगाउने जस्तो समस्या थियो। म वीरगञ्ज उद्योग वाािण्ज्य संघको अध्यक्ष हुँदा मनमोहन अधिकारी प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँको भारत भ्रमणको टोलीमा म पनि परेँ। हामीले दिल्लीमा सुख्खा बन्दरगाह हेर्ने मौका पायौं। यस्तो संरचना वीरगञ्जमा बनाउन पाए नेपाललाई फाइदा हुन्छ अनि उद्योगी व्यापारीहरुलाई सहज हुन्छ भनी मैले भ्रमण दलमा चर्चा चलाएँ।

उद्योग सचिव हुनुहुन्थ्यो मोहनदेव पन्त र वाणिज्य सचिव भोला चालिसे हुनुहुन्थ्यो। उहाँहरुले यस प्रस्तावमा चासो लिनु भयो। फर्केर आएपछि मैले प्रक्रिया अगाडि बढाउन आग्रह गरेँ। उहाँहरुले लिखित प्रस्ताव माग्नु भयो। मैले उद्योग वाणिज्य संघमा कोलकताबाट सुख्खाबन्दरगाहसम्बन्धी अवधारणाको कागजातहरु मगाएँ र अध्ययन गरेँ। एउटा अवधारणापत्र तयार भयो र वीरगञ्ज उद्योग वाणिज्य संघकै तर्फबाट मन्त्रालयहरुलाई दिइयो। उहाँहरु प्रक्रिया अगाडि बढाउन तयार हुनुभयो। हामीले भारतीय राजदूत केवि राजनलाई भेटेर पनि यसको अवधारणापत्र दियौं। उहाँले भारतीय दूतावासका दिनेश भाटियालाई कामको जिम्मा दिनु भयो। वीरगञ्जमा बैठक भयो जसमा सबै सरोकारवाला सहभागी थिए। अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय, उद्योग मन्त्रालयलगायतका उच्च अधिकारीहरु, भारतबाट पनि समकक्षीहरु, कन्टेनर कर्पोरेशन निगमका अधिकारीहरु र हामी बस्यौं। सम्भाव्यताको कुरा गर्दा त्यति बेला रक्सोलमा २९÷३० रेक समान रेलबाट आउँथ्यो। सम्भव हुने भएपछि नेपाल सरकारले पहल ग¥यो र दुवै देशबीच लिखित सहमति पनि भयो। विश्व बैंकले सम्भाव्यता अध्ययन गरेर लगानी गर्ने भएपछि २०५८ सालमा सुख्खा बन्दरगाह निर्माण सुरु भयो। आर्थिक वर्ष २०६१÷०६२ देखि सुख्खा बन्दरगाह सञ्चालनमा आयो।
 

नेपालबाट पहिले राम्रो परिमाणमा निर्यात हुन्थ्यो भनी सुनिन्छ। अहिले के भएर आयातको तुलनामा निर्यात नगण्य किन भएको छ?
पहिले ‘आयात’का लागि शर्त नै थियो ‘निर्यात’। कुनै वस्तु बाहिरबाट आयात गरेर व्यापार गर्नका लागि पहिले निर्यात गर्नु प-थ्यो। निर्यात मूल्यको ६० प्रतिशतसम्मको मालसामान आयात गर्न पाउने व्यवस्था थियो। कुनै कुनै सामानबाट ८० प्रतिशतको आयात गर्न पनि पाइन्थ्यो। लाइसेन्स भएकाले मात्र आयात निर्यात गर्न पाउने थियो। त्यसैले आयात गरेर व्यापार गर्न चाहनेले निर्यात गर्नै पथ्र्यो। निर्यातका लागि काम गर्न चाहनेलाई सरकारले सघाउँथ्यो। आफ्नै कुरा म गर्छु निकासीका लागि लाइसेन्स लिन जाँदा सरकारी अड्डाबाट एकदिनमै दुई घण्टाभित्र लाइसेन्स पाइयो। भारतको मुजफ्रपुरमा आफन्तको छाला कारखाना थियो। त्यहाँबाट अमेरिकातिर छाला निकासी हुन्थ्यो। महिनाको ३ हजार पिस छाला निकासीबाट सुरु भएको कारोबार महिनाको १२ हजार वटासम्म हुन थाल्यो। त्यसबापत जापान र कोरियाबाट कपडा आयात सुरु ग¥यौं।

त्यसपछि रसियामा आलस (फैलेक्स सिड) को धेरै माग रहेको थाहा पाइयो। र, त्यसको निकासी सुरु गरियो। हजार टनबाट सुरु भएको निकासी पछि जहाजभरिभरि ६ हजार टनसम्म हामीले रसियातिर आलस निकासी गर्न थाल्यौं। त्यसबापतमा रसियाबाट चिनी र सिमेन्ट आयात गथ्र्याैं। पछि दाल पनि निर्यात हुन थाल्यो। २०४६ पछि लाइसेन्सको व्यवस्था हट्यो। खाने तेल र वनस्पति घ्यू वीरगन्जबाट भारततिर निकासी हुन्थ्यो। कुनै समयमा हाम्रो निर्यातको आकार ठूलो थियो। अहिले खुम्चिँदै खुम्चिँदै गएको छ। निर्यात कसरी राम्रो थियो भने उत्पादन लागत कम थियो। कारण के भने विद्युत चौबीसै घण्टा यस क्षेत्रमा उपलब्ध थियो। मजदुर विवाद थिएन। अझ वीरगञ्जले विकास गर्ने राम्रा वातावरण पायो। काठमाडौंसँग सडकमार्ग जोडियो। कोलकता बन्दरगाहबाट सिधै सम्पर्क थियो। सडकमार्ग भएर र रक्सोलसम्म रेलमार्गमा सामान ल्याउने सुविधा थियो। व्यापार ‘बुष्ट’ भयो। एक दशक अगाडिसम्म वार्षिक २ सय करोडभन्दा बढी मूल्यको मालवस्तु हामीले आफू कहाँबाट निर्यात गथ्र्याैं अब त्यो ४० करोडमा झरेको छ।

नेपालमा उद्यमको तुलनामा व्यापार फस्टाएको देखिन्छ। कतिपय उद्यममा स्थापित घरनाका नयाँ पुस्ता व्यापारमा केन्द्रित देखिन्छ ? यस्तो अवस्थाबारे तपाईंको विश्लेषण?
यसको नतिजा हो हाम्रो आयातको तुलनामा निर्यातको ५/६ प्रतिशत मात्र छ। नेपालको अर्थतन्त्रका लागि अहिलेको मुख्य चुनौती हो यो। चुनौतीहरूको सम्बोधन गर्न सरकारै अघि सर्नु प¥यो। आर्थिक क्षेत्रले राजनीति परिवर्तनको अनुभूति गर्न सक्ने गरी व्यवस्थाहरुमा सुधार भयो त्यसको लाभ समग्र देशलाई नै हुनेछ। म स्मरण गराउन चाहन्छु। २०४६ सालको परिवर्तनपछि बनेको सरकारमा आयातनिर्यातमा लाइसेन्सको व्यवस्था हट्यो। उद्योगहरुका लागि लगानी खुला गरियो। सबै किसिमका उद्योगहरु आउन थाले। औद्योगिक लगानी र स्वदेशी उत्पादन बढ्यो। नेपालबाट माल सामानको निर्यात बढ्यो। कच्चा पदार्थ आपूर्तीमा समस्या थिएन। विद्युत् उपलब्ध थियो। श्रम किचलो थिएन। पहिलेभन्दा फरक रुपमा तत्कालीन नयाँ व्यवस्थाले यावत् सुविधाहरु त्यति बेलाको आवश्यकता हेरेर उपलब्ध गराएको थियो। त्यसको फाइदा भयो देशको आर्थिक उन्नति राम्रो भयो। अहिले पनि यति बेलाको आवश्यकता हेरेर सरकारले नीति नियमहरु बनायो र कार्यान्यवन ग¥यो भने देशलाई फाइदा पुग्नेछ।

श्रम विवादको कुरा पटक–पटक उठ्छ। यो विवाद यस औद्योगिक क्षेत्रमा कहिलेदेखि बढेको हो। अहिले के छ अवस्था ?
सुरुमा यहाँ श्रम विवाद थिएन। पछि मात्र देखिन थाल्यो। २०३९ सालतिरको कुरा हो, त्यतिबेला यस करिडोरमा ३४ उद्योगहरु थिए। एकाएक सबै उद्योगहरुमा श्रमसम्बन्धी विवाद एकै पटक उठ्यो। र, हड्ताल भयो। उद्योग ठप्प हुन पुगे। खासमा के थियो भने केही जना व्यक्तिले औद्योगिक क्षेत्रलाई आफ्नो नियन्त्रणमा पार्ने खेलमा लागेका थिए। उद्योगीहरु आफ्नै उद्योगमा जान सक्ने अवस्था आयो। केही उद्योगीहरुको घरमा समेत आक्रमण भयो, तोडफोड भयो। अवस्था गम्भीर हुन पुगेको थियो। अन्तमा हामीले राजा वीरेन्द्रलाई भेटेर गुहार लगायौं। राजाले यस समस्याको सुनुवाइ गरे र विशेष अधिकारीहरु यहाँ पठाइए। उनीहरु आएर वस्तुअवस्था बुझे। आठवटा उद्योगबाट एक–एक जनालाई गरी आठजनालाई निष्कासन गरेपछि माहोल आफैँ शान्त भयो। त्यसपछि फेरि त्यस्तो विग्रह भएको छैन। पछि प्रजातन्त्र आएपछि ट्रेड युनियनहरु गठन भए। त्यसमा पनि कहिलेकाहीँ विवाद भइरह्यो। अहिले त्यति विवाद देखिँदैन। बेला–बेलामा भने समस्या देखिने गरेको छ।

औद्योगिक व्यापारिक क्षेत्रका लागि र समग्र सुरक्षाको अवस्था कस्तो पाउनु भएको छ ?
तुलनात्मक रुपमा अहिलेको अवस्था सुरक्षाको दृष्टिकोणले पहिलेभन्दा राम्रो भन्नु पर्छ। हामीले यहाँ सुरक्षाका ठूला चुनौतीहरु सामना गरेका छौं। माओवादीको द्वन्द्वकालमा अलि पछितिर यता प्रभाव आयो। तर जब माओवादी गतिविधि बढ्न थाल्यो माहोल नै आक्रान्त भयो। चन्दा र धम्कीका घटनाहरु व्यवस्थापन गर्न ठूलो चुनौती थियो। एकजना उद्योगीलाई माओवादीहरुले उठाएरै लगे। बाराको डुमरवानामा राखेका रहेछन्। हामीले यहाँबाट उद्योग वाणिज्य संघका प्रतिनिधि उमेशचन्द ठाकुरसहित २ जनालाई वार्ता गर्न पठायौं। उहाँहरु वार्ता गरेर त्यो साथीलाई छुटाएर ल्याउँदा निकै राहत महसुस भयो। अरु पनि घटनाहरु भए। गंगा उद्योगका संचालकउपर गोली प्रहार नै भयो। माओवादी द्वन्द्व व्यवस्थापन भइसकेपछि सुरक्षा चुनौती भने सकिएन।

केही अवधि सीमा पारिका आपराधिक समूहहरु यता निकै सक्रिय थिए। विभिन्न नाममा असुली गर्नेहरुको धम्कीका फोनहरु आइराख्थ्यो। हामीले त टेलिफोनको लाइन नै ‘डिस्कनेक्ट’ गरेका थियौं। ज्यान जोगाउन मानिसहरु पैसा दिएर त्यस्ता धम्की व्यवस्थापन गर्थे। पछि तराई मधेसको नाममा भूमिगत समूहहरुको प्रभाव बढ्यो। त्यसमा केही राजनीति उद्देश्यका थिए भने केही पैसा असुल्नकै लागि समूहको नाम प्रयोग गर्ने गरेको देखिन्थे। असुरक्षाका घटनाहरु बेला–बेलामा भने आइरहने भए पनि, जे होस् आजको समयमा त्यस्तो किसिमले समस्या छैन।

तपाईंको पारिवारिक संरचना कस्तो छ ?
मेरो परिवार संयुक्त परिवार हो। बाजेका दाजुभाइदेखि अहिलेसम्म हामी एकै सगोल परिवारमा र एउटै घरमा ३० जना बस्छौं। मेरा काकाहरु पनि एक आपसमा छुट्टिनु भएन। हामी दाजुभाइ पनि छुट्टिएनौं। छोरा पुस्ता पनि मिलेरै बसे, उद्योग व्यापारको जिम्मेवारी बरु बाँडिएको छ। अब त नाति पुस्ताले कारोबार सम्हाल्न थालेका छन्। जे होस अहिलेसम्म समग्र परिवार एकसाथ छ।

प्रकाशित: २२ जेष्ठ २०७६ ०५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App