अन्य

जब नदी बढ्छ, अनि आउजाउ टुट्छ

मुस्ताङको थासाङ गाउँपालिका–२ का सिर्कुङ, सौरु र लार्जुङ, कोवाङ, खन्ती गाउँलाई जोड्ने कालिगण्डकी नदीमाथिको काठे साँघु निकाल्दै गाउँले। तस्बिरः सुशीलबाबु/नागरिक

सुशीलबाबु थकाली

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङका केही गाउँका बासिन्दा वर्षाैंदेखि एकैखाले पीडाबाट पीडित छन्। कालीगण्डकी नदीमा एउटा पुल नबन्दा त्यहाँका बासिन्दा वर्षाैंदेखि नदी वारपार गर्न नसक्ने अवस्थामा छन्। नदीमाथि पुल नहुँदा ६ महिनासम्म आउजाउ नै रोकिने गरेको छ। जब नदीमा बहाव बढ्छ, गाउँलेको आउजाउ नै रोकिन्छ।

थासाङ गाउँपालिका–२ का सिर्कुङ, सौरु र लार्जुङ, कोवाङ, खन्ती गाउँलाई कालिगण्डकी नदीले छुट्याएको छ। नदीले वारिपारि बनाएको ती गाउँका बासिन्दा पुल नहुँदा वारपारमै समस्या भोग्दै आएका छन्। नदी वारपार गर्न मात्र समस्या नभई वर्षमा ६ महिना एकअर्काे गाउँ आउजाउ गर्नसमेत सक्दैनन्। नदीमा वर्षाैंदेखि पुल चाहियो भनेर माग्दै आएका ती गाउँका बासिन्दाको माग कसैले सुनुवाइ गरेको छैन।

पुलकै अभावमा तड्पिएका उनीहरू नदी तर्न नसकेर ६ महिना त एउटै गाउँमा थुनिने गरेका छन्। नदीपारि (सिर्कुङ, सौरु) गाउँका बासिन्दालाई वारि (लार्जुङ, कोवाङ, खन्ती) आउन कालीगण्डकी नदी पार गर्नुपर्छ। तर, नदी पार गर्न नसक्दा वर्षायाममा ती गाउँका बासिन्दा वारि आउन सक्दैनन्। वारि आउनै परेको खण्डमा धेरै टाढासम्म घुमेर आउनुपर्छ। घुमेर आउने बाटो पनि सहज छैन। पारिपट्टिका गाउँलेले नदी पार गरेर वारि आएपछि मात्र बेनी–कोरला सडक भेट्छन्।

देशभरि तुइनमुक्त गर्ने घोषणा भइरहेका बेला मुस्ताङको थासाङका बासिन्दा भने नदीमा झोलुंगे पुल त परै जाओस्, तुइनसमेत नभएर वल्लोपल्लो गाउँमा आउजाउ नै बन्द गर्न विवश छन्।

स्थानीय मनोज थापा भन्छन्, ‘कालीगण्डकी नदीमा पुल नभएकै कारण गाउँलेले निकै दुःख पाएका छन्। नदीमा बहाव घटेको बेला नदीमा राखिएको काठेपुल तरेर वारपार गर्ने गाउँले वर्षा लाग्न थालेपछि भने वारपार गर्न सक्दैनन्। मंसिरदेखि वैशाखसम्म नदीमा पानीको बहाव कम हुने भएकाले गाउँलेले काठेपुल राखेर वारपार गर्दै आए पनि अरु बेला भने नदीमा बहाव बढ्ने हुँदा काठेपुलबाट वारपार गर्न नसक्ने उनले बताए। ‘अहिले त हिउँ पग्लेर नदीमा बहाव बढी भएकाले वैशाख सुरुमै काठेपुल निकाल्यौं,’ उनले भने, ‘यसपटक अधिक हिमपात भएकाले पनि बढी समस्या भएको हो।’

उनका अनुसार वैकल्पिक मार्ग नहुँदा बालबालिका र महिला बढी मारमा परेका छन्। सौरु गाउँमा ५ कक्षासम्म मात्र विद्यालय रहेकाले पनि ६ भन्दा माथिल्लो कक्षामा अध्ययन गर्न नदी पार गर्नुपर्ने भएकाले स्कुले बालबालिकालाई विद्यालय आउजाउ गर्न समस्या छ।

नदी तर्न नसक्ने अवस्था भएपछि ६ कक्षामाथिका विद्यार्थी कोवाङका गाउँमा डेरा गरेर बस्छन्। ‘आउजाउ गर्न कुनै वैकल्पिक बाटो नहुँदा स्थानीय सँगसँगै विद्यार्थीले सास्ती खेपेका छन्,’ उनले भने, ‘वर्षा सुुरु हुन नपाउँदै केही दिनअघि नै यसपटक साँघु निकालिएको छ। यो सिजनका लागि आउजाउ रोकिइसकेको छ।’

अर्का स्थानीय हरि तुलाचनले मुस्ताङका कुना कन्दराका बासिन्दाले निकै नै समस्या भोगेको बताए। ‘खाद्यान्न, औषधि उपचार, यातायातलगायतका पूर्वाधारमा सरोकारवालाले ध्यान दिने हो भने बल्ल जनताले सुविधा पाउँछन्,’ उनले भने, ‘एउटा पुल मात्र हुने हो भने पनि जनताले राहत पाउँथे।’ पल्लो गाउँका बासिन्दा नदीपारि मोटर कुदेको हेरेर बस्न बाध्य भएको उनले बताए। पक्की नभए पनि तत्काल झोलुंगे पुल बनाउने हो भने सहज हुने उनले बताए। ‘सधैंजसो काठेपुलको साँघु थाप्ने र निकाल्ने कामले स्थानीयहरू आजित भइसकेका छन्,’ उनले भने।

वर्षा सकिएर हिउँद सुरु हुनै लाग्दा गाउँलेहरूले मिलेर थापेको काठको साँघु (पुल) राख्छन् र वर्षा लागेर नदीमा बहाव बढ्न थालेपछि गाउँलेले साँघु निकाल्छन्। नदीमा तेस्र्याएको साँघु निकालेपछि दुई गाउँको दूरी पनि टाढा हुनेगर्छ। थासाङ गाउँपालिका–२ मा मात्र कालीगण्डकी नदीमाथि ३ ठाउँमा साँघुले बस्तीलाई जोड्ने गरेको छ।

यसैगरी, थासाङ गाउँपालिकाकी उप–प्रमुख बालकुमारी शेरचनले बेनी कोराला सडकखण्ड चर्चामा रहे पनि सडकसम्म सहायक मार्गले जोड्न नसक्दा गाउँहरू निकै नै समस्यामा रहेको बताइन्। बारम्बार स्थानीय तवरबाट उक्त स्थानमा झोलुंगे पुलको परिकल्पना गरे पनि सम्भव नभएको उप–प्रमुख शेरचनले बताइन्।

‘बारम्बार उक्त स्थानमा अप्रिय घटनासमेत घट्ने गरेको छ,’ उनले भनिन्, ‘वर्षा लाग्नेबित्तिकै काठेपुल निकाल्नुपर्ने समस्याले गाउँले अप्ठेरोमा छन्।’ देशव्यापी रूपमा तुइनमुक्त गरिने घोषणा गरिरहेको वर्तमान अवस्थामा यी गाउँमा झोलुंगे पुल त परै जाओस्, तुइनसमेत राख्न नसकेको उनले बताइन्।

प्रकाशित: २२ वैशाख २०७६ ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App