अन्य

स्वादिलो कफीगफ

पछिल्लो समय गैरआख्यानको लहरै आएको छ। गैरआख्यानले पाठक पनि उत्तिकै तानेकै छन्। आख्यान पढ्ने पाठकले गैरआख्यान नपढेका होलान्, तर आख्यान नपढ्ने पाठकले पनि गैरआख्यान पढ्ने गरेका छन्। गैरआख्यानमा पाठकीय आकर्षण भएरै पाठकले मन पराएका होलान्। यसरी पाठकले मन पराएका गैरआख्यानका धेरै पुस्तक छन्। तिनको नाउँ लिइरहनु आवश्यक छैन। बरु नाउँ लिँदा कुनैको नाउँ छुट्यो भने सम्बन्धित् लेखकको चित्त दुख्न सक्छ ।

कथा अथवा कथानक नहुँदैमा आख्यान नहुनेचाहिँ होइन है। कथा नै नभए तापनि गैरआख्यानभित्र पनि आख्यानका धेरै तत्व हुने गर्छन्। त्यसैले गैरआख्यान भनिएका धेरै पुस्तकले आख्यानकै आनन्द दिएका छन्। गैरआख्यानभित्र पनि पाठकले आख्यानको आनन्द लिएका छन्, लिएका होलान् पनि। त्यसैले आख्यान रुचाउनेले गैरआख्यान नरुचाउने भन्ने हुँदैन। लेखकको लेखनी जम्न सक्यो र त्यसले पाठकको अभिरुचिलाई छुन सक्यो भने गैरआख्यान पनि आख्यान जत्तिकै रुचिकर हुनसक्छ। यस्तै रुचिकर गैरआख्यानले प्रसिद्ध मदन पुरस्कार पनि पड्काएकै छन् ।

पछिल्लो पटक धेरै पाठकले रुचाएका लेखक नारायण वाग्लेको गैरआख्यान पुस्तक आएको छ– कोरियाना कफीगफ। धेरैअघि कान्तिपुरको साप्ताहिक नियमित स्तम्भ ‘कफीगफ’ शैलीमा लेखिएको यो पुस्तक दक्षिण कोरियाको सोलमा आयोजित ‘एसियाली साहित्यिक सिर्जनशील कार्यशाला’ को अनुभव र अनुभूति अनि स्मृति र विस्मृतिमा आधारित छ। गैरआख्यान भए पनि पुस्तक पढ्नेले आख्यानको आनन्द र कविताको स्वाद लिन सक्छन्। लेखकले चर्चित् नेपाली कवि मञ्जुललाई धेरै ठाउँमा सम्झेका छन् र उनका चर्चित कवितांश उल्लेख गरेका छन् ।

पुस्तक पढिसकेपछि पाठकले भन्नेछन्– गफ लेख्न पनि कति आएको। हामी भए सक्दैनथ्यौं। गफ त गफै हो, तर बकमफुसे छैनन् नारायण वाग्लेका कफीगफ। यस्तो गफ सबैले लेख्न पनि सक्दैनन्। कोरियाना कफीगफका हरेक गफ जीवनका लागि मननयोग्य छन्।  

ख्यालख्यालमै पाठकलाई गम्भीर पठनमा डुब्न प्रेरित गर्छ यो पुस्तकले। गफैजस्तो मात्रै लाग्ने हरेक अनुच्छेदले सुरुचिपूर्ण ढंगले पाठकलाई तानिराख्ने तागत राखेको छ। पढेर पाठक सोचमग्न हुन्छन्। अनुच्छेदैपिच्छे पाठकका लागि मननयोग्य भनाइहरू छन्। जस्तैः
आँखा जुध्दैमा प्रेम पर्दैन। तर प्रेम पर्नलाई आँखा जुध्नैपर्छ...।
राम्रो किताब त्यो हो रे जुन लेखकले लेखेको हुँदैन, किताबले लेखकलाई लेखिरहेको हुन्छ...।
पढ्नु भनेको बुझ्नु होइन। बुझ्नेहरूले जति बुझ पचाएका छन् उति हामीलाई अबुझ ठानिरहेका छन्...।
मुखले बकबक नगर्ने व्यक्तिका परेलाहरूले प्यारप्यार बोलिरहेका हुन्छन्...।

कारण थाहा हुन सकेन भने परिणाम पर्खिनुपर्छ। हामी अकारण निष्कर्षमा पुग्छौं र परिणामअगावै पछुताउँछौं...।
पात नछोई जङ्गल कुनै यात्रा होइन। फूल नचिमोटी बगैंचा कुनै डुलाई होइन। प्रेम नगरी हुर्काइ कुनै जीवन होइन। सङ्घर्ष नगरी बढाइ कुनै बुझाइ होइन। त्याग नगरी सिकाइ कुनै भोगाइ होइन...।
प्रश्नहरूको सम्मान गर्ने संस्कार बन्यो भने हाम्रा सरकारहरू फेरिन्छन्। प्रजातन्त्र भनेको प्रश्नतन्त्र भनेर बुझ्नुभयो भने राजनीतिमा रुचि राख्नुहुनेछ...।

कसैलाई हेलिकप्टरमा उद्धार गरी अस्पतालको छतमा ओराल्नु मात्रै पर्छ, पत्रकारहरू पहिल्यै क्यामरा तेस्र्याइसक्छन्। बन्दै गरेको आठतले होटल रङ्ग्याउन बाँसको भ¥याङ चढ्ने मजदुर लड्यो भने च्वच्व भनिदिने पनि कोही हुँदैन...।
पाठकले पढेपछि मात्र पुस्तकको प्रक्रिया पूरा हुन्छ। लेखक पचास प्रतिशत हो भने बाँकी पाठक। बीचमा सम्झना–बिर्सना...।
सफल प्रेमकै पनि पोया फोइयो भने प्याजका पत्रहरू निकाले झैं हुनेछन्। तपाईंका आँखा पिरपिराउँछन्, ओठ रसाउँछन्...।
गोप्य सम्बन्धका गोप्य भाषा हुन्छन् जसलाई परिभाषित गर्ने अक्षर वा लिपि हुँदैनन्...।
स्वादिष्ट फल माटोबाट आउँछ। वा सुन्दर फूल। जस्तो – रसिलो प्रसङ्ग हृदयबाट वा रन्थनाउने प्रश्न मस्तिष्कबाट...।
आदिइत्यादि ।

सत्र अध्याय र दुई सय बयालीस पृष्ठको आयतनमा फैलिएको पुस्तकमा कतै शीर्षक दिइएको छैन। हरेक अध्यायलाई शीर्षक दिनु कठिन काम हो। यो कठिन कामबाट लेखक पन्छिएका छन्। शीर्षक दिइएको भए सार बुझ्न सजिलो हुन्थ्यो। यसो त हरेक अध्यायमा फरक घटनाक्रम छन्। पाठकलाई जताबाट पनि पढ्न सकिने स्वतन्त्रता छ। यो स्वतन्त्रताले पुस्तकको गरिमामा आँच पु¥याउँदैन। कथा नहुनुको एउटा फाइदा यो पनि हो। कथामा जस्तो सिलसिलाबद्ध हुनु जरुरी भएन।

यो पुस्तक कफीगफ हो, चियागफ होइन। त्यसैले कुनै गल्ली वा दोबाटो वा चौबाटोको चियापसलमा हुने चियागफजस्तो हल्का र सस्ता छैनन् यसभित्रका गफहरू। निसन्देह चियाको भन्दा कफीको मूल्य र गुणस्तर उच्च हुन्छ। त्यसैले कफीगफ पनि उच्च गुणस्तरकै छन्। चियागफ र कफीगफको गुणस्तरीय भिन्नता पाठक आफैंले पनि छुट्याउन सक्नेछन् ।

दुई कोरिया छुट्टिएपछि छुट्टिएका परिवारका कथाका झझल्काहरू ठाउँठाउँमा छन्। किम त्यसका प्रतिनिधि पात्र हुन्, जो लेखक हुन् र कथा, कविता र उपन्यासमा त्यो दुःखको कथा वर्णन गर्छन्।
कोरिया बसाइका अनुभव र अनुभूति लेख्ने क्रममा लेखकले नेपाललाई पनि पटकपटक सम्झेका छन्। नेपालको खबर लेख्न भ्याएकै छन्। अनि कोरियामा बसेर त्यहाँको खोरिया फाँड्ने नेपालीको पीडालाई पनि थोरै भए पनि समेट्न भ्याएकै छन्।

कतैकतै लेखक भावुक भएर पाठकलाई अर्तीउपदेश दिइरहेझैं भान हुन्छ – यसो गर्नू उसो नगर्नू, यस्तो हो यस्तो होइन। अर्ती उपदेश दिएकै सही। लेखकलाई अर्तीउपदेश दिने छुट छ र हक छ। सबै लेखकलाई त्यस्तो छुट र हक हुनु पनि पर्छ। तब न लेखक। एउटा भिन्न परिचय बनाएको व्यक्ति ।
आनसान पहाड चढ्दाको अनुभव लेखकले निकै सुरुचिपूर्ण ढंगले लेखेका छन् भने पछिसम्मै उनले आनसान र

आनकासान पहाडलाई सम्झिरहेका छन्। पाठकले आफैं आनसान पहाड चढेको अनुभूति गर्न सक्नेछन् ।
पुस्तक पढिसकेपछि पाठकले भन्नेछन् – गफ लेख्न पनि कति आएको। हामी भए सक्दैनथ्यौं सायद। गफ त गफै हो, तर बकमफुसे छैनन् नारायण वाग्लेका कफीगफ। यस्तो गफ सबैले लेख्न पनि सक्दैनन्। कोरियाना कफीगफका हरेक गफ जीवनका लागि मननयोग्य छन्। व्यवहारयोग्य छन्। आचरणयोग्य छन्। सबैका लागि उपयोगी छन् उनका गफ। मूल्यवान र उपयोगी गफ। आखिर कफीगफ न हो, चियागफ त होइन नि ।

वाग्ले पाठकले रुचाएका लेखक हुन्। पाठकको रुचिबाट धेरै परिचित छन् लेखक। त्यसैले पाठकीय अभिरुचिअनुरूप सुरुचिपूर्ण ढंगले लेख्ने खुबी छ उनमा। अन्त्यसम्म पाठकलाई नअलमल्याई डो¥याउन सफल छ पुस्तक। ‘ढाँट्नु केलाई छ र !’ यो लेखकको प्रिय वाक्यजस्तो लाग्छ। धेरै ठाउँमा यसको प्रयोग गरेको पाइन्छ ।
लेखकको गफ गर्ने आफ्नै शैली छ, आफ्नै तरिका छ, जो अरूको भन्दा भिन्न छ। त्यसैले अरूभन्दा फरक छ उनको लेखनी। पाठकको प्रिय लेखनी ।

पाठकलाई पट्यार नलाग्नेगरी गफ लेख्नसक्नु वाग्लेको निजत्व हो, निजी विशेषता हो। शब्दचयन र वाक्यगठनमा पनि उनको आफ्नै विशेषता छ। सरल र सुबोध्य लेखन उनको निजी वैशिष्ट्य हो। क्लिष्टभन्दा सरल लेखनीले पाठकलाई छिटो आकर्षित गर्छ र छिटो प्रभाव पार्छ। त्यस्तो प्रभाव उनको हरेक लेखनीबाट पर्दै आएको छ ।

यति राम्रो, ओजपूर्ण पुस्तकभित्र एकाध ठाउँमा भेटिने गल्तीले दाँतमा ढुङ्गा लागे जस्तो हुन्छ। जस्तोः उद्यत हुनुपर्नेमा उद्धत भएको छ (पृष्ठ ६९), रकस्टार हुनुपर्नेमा रक स्टार भएको छ (पृष्ठ १३२), मैले सोधें हुनुपर्नेमा मै सोधें भएको छ (पृष्ठ १४१) ।

तापमान शून्य डिग्रीबाट निस्फिक्री ओरालो लाग्दै गरेका बेला दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलको ढोकाबाहिर उभिएको क्षणबाट कफीगफ सुरु भएको छ। नेपालको मर्दी हिमालमा ट्रेक गर्न आएका कोरियाली फोटोग्राफर किमसँगको भेटघाट र वार्तालाप हुँदै किम कोरिया फर्केपछि उनले पठाएका हिउँदे ओलम्पिकका फोटाहरूको सन्दर्भसँगै पुस्तकको अन्तिम अध्याय टुङ्गिएको छ।

आख्यान अथवा गैरआख्यान जे भनिए पनि कोरियाना कफीगफ एउटा साहित्यिक सिर्जना हो। हरेक पाठकले यो पुस्तक पढेर साहित्यको रसास्वादन गर्नसक्छन्। अझ कविता र कथाको समेत स्वाद मिसिएको हुँदा यो पुस्तक निकै स्वादिलो भएको छ। त्यसैले आख्यान वा गैरआख्यान सबै प्रकारका पाठकले यसलार्य रुचाउनेमा विश्वस्त हुन सकिन्छ ।

प्रकाशित: २१ वैशाख २०७६ ०७:०४ शनिबार

गैरआख्यान नारायण_वाग्ले कफीगफ