अन्य

नेपाली युवा बेलायतको काउन्सिलरमा निर्वाचत

म्याग्दी– बेलायतको अल्डरसटबाट काउन्सिलर पदमा एक नेपाली युवा विजयी भएका छन्। पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ६ मराङमा जन्मिएरका युवा व्यवसायी तथा समाजसेवी प्रवेश केसी बिहीबार भएको स्थानीय निकायको चुनावमा सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट रसमोर बरोअन्तर्गत अल्डरसट टाउन, वेलिङटन वार्डको काउन्सिल पदमा विजयी भएका हुन्।

बिहीबार राति गरिएको मतगणनामा ३२८ मत ल्याएर लेबर पार्टीको प्रतिनिधित्व गर्दै उठेका इभेट डिनलाई पराजित गरेको एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले बताए।

‘यो जितले समग्र नेपालीको शिर उच्च बनाएको छ,’ फगामीले भने, ‘म्याग्दीबाट आएको एक युवाले निर्वाचन जित्नु ठूलो उपलब्धि हो।’ उनका अनुसार निर्वाचन विजयसँगै त्यस क्षेत्रमा बसोबास गर्ने नेपालीलाई सहज हुनेछ।

निर्वाचनमा विजय भएपछि केसीले चुनावी अभियानमा नैतिक तथा भौतिक रूपमा सघाउने सबै सहयोगी, शुभेच्छुकहरू, नेपाली तथा सञ्चारकर्मीहरूलाई धन्यवाद दिएका थिए। ‘यो जित सम्पूर्ण बेलायतमा बसोबास गर्ने नेपालीको जित हो,’ केसीले भने, ‘चुनावी प्रतिबद्धताअनुसार नै म अगाडि बढ्नेछु।’

रसमोर बरोअन्तर्गत अल्डरसट टाउन, वेलिङटन वार्डको काउन्सिलमा थुप्रै भूतपूर्व गोर्खा परिवारहरू बसोबास गरिरहेकाले समस्यालाई तत्काल समाधान तथा अल्डरसटमा नेपाली जनसंख्या तथा व्यवसाय बढ्दै गएपछि नेपाली तथा स्थानीयको आवाज काउन्सिल च्याम्बरसम्म पु¥याउन निरन्तर भूमिका खेल्ने उनले बताए।

दुई दशकदेखि बेलायतमा बसोबास गर्दै आएका केसी बेलायती चुनावमा निर्वाचित हुने पहिलो म्याग्देली भएका छन्। उनले कन्जरभेटिभको सिद्धान्त व्यक्तिगत स्वतन्त्रता, फ्रि इन्टरप्राइज (व्यापार स्वतन्त्रता) र प्रोटेक्सन टु रिकग्जनाइज ट्रेडिसन रहेकाले हरेक मतदातालाई सिद्धान्तको प्रत्याभूति दिलाउने बताए।

ब्रिटिस सैनिकमा कार्यरत गोर्खाहरूका लागि पनि कन्जरभेटिभ उदार छ। अल्डरसटबाट पार्टीको टिकट पाएपछि सुरुवातदेखि नै केसीको पक्षमा लहर चलेको थियो। मोना आइसीका प्रवक्ता तथा नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्रीसमेत हरेका केसी दर्जनौं संघसंस्थामा आबद्ध छन्।

 

 

प्रकाशित: २१ वैशाख २०७६ ०४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App