टङ्क भट्टराई
सधैं–सधैंजसो यसपाला पनि
नयाँ वर्षको दिन
कसैले शुभकामना दिएन उसलाई
थोत्रो बोरा बोकेर फोहोरको खातमा उधिन्दा
नयाँ वर्ष कहाँनिर छ ?
उसले भेट्टाएन
नयाँ वर्ष
रिसोर्टमा आयो/पार्कमा आयो/महलमा आयो
झुण्डिएका क्यालेन्डरहरूमा/शुभकामनाका कार्डहरूमा
रङ्गीन अक्षरका साथ सजिएर आयो
वनपाखामा फुलेका राताम्य गुराँसजस्तै
युवायुवतीहरूका आँखामा मादकता भरेर आयो
राष्ट्रपतिले/प्रधानमन्त्रीले
देशवासीको नाउँमा दिएको शुभकामनाका महान वाणीमा
ऊ प¥यो कि परेन ?
सहरिया युवायुवतीहरूले पैसाको खोलो बगाएर
रातभरि बजाएका डान्सबारका उत्ताउला संगीत
उसले सुन्यो कि सुनेन ?
सुस्वास्थ्य÷दीर्घायुरशान्ति–समृद्धि÷उत्तरोत्तर प्रगति
यी रेडिमेड कामनाहरू उसले धेरै चोटि सुन्यो
तर बुझेन
र बुझ्ने प्रयास पनि गरेन
भुइँका प्लास्टिक टिपेर बोरामा हाल्दै
ऊ केवल हिँडिरह्यो–सहरका गल्लीहरूमा
दुःखका हुरीमा हुर्रिंदै
तिरस्कारको तुवाँलोमा तड्पिँदै
निराशाका नीला दहमा पौडिँदै
भोकले आहत भएर
कुकुरसँग एक टुक्रा सिनो खोस्न
उसले कति चोटि बल ग¥यो
सकेन
आफ्नै देशमा अनागरिक हुनुको पीडाले रन्थनिँदा
र जीवनका घात/अभिघातहरू बल्झिरहँदा
के हो नयाँ वर्ष उसले अझै बुझेन
यो बेला आङ्मा नव चिउलाहरू उमारेर–प्रकृति
वनफूलहरूले सुशोभित हुँदा
पलाएनन् सुखका मुजुराहरू उसको जिन्दगीमा
र फुलेनन् खुसीका सुनगाभाहरू
अरूले उल्लासका साथ नयाँ वर्ष मनाइरहँदा
राम्रा पहिरनमा सजिएर शुभकामना बाँडिरहँदा
ऊ भने
सदाझैं निराशाको घनघटा ओढेर भोकले रन्थनिँदै
छिद्र–छिद्र परेकोे कट्टुबाट थाहै नपाई
उही फलान थोक देखाएर सहरको गल्लीमा सुतिरह्यो
यसरी
यसपाला पनि उसले नयाँ नेपालमा
पुरानै तरिकाले नयाँ वर्ष मनायो।
प्रकाशित: ३० चैत्र २०७५ ०१:५९ शनिबार