अन्य

‘सहर विकासको पहिलो शर्त नै शिक्षा हो’

सपनाको सहरः केशरबहादुर खुलाल, प्रिन्सिपल, बूढानिलकण्ठ मावि

तपाईँको बुझाईमा सहर भनेको के हो?
सहर ठूलो जनघन्त्व भएको बस्ती हो। सहरमा हरेकखालका सेवा सुविधा हुन्छन्। सहरले हरेक मानिसका अधिकार पनि सुनिश्चित गरेको हुन्छ। सहरमा शिक्षा, स्वास्थ्य, खानेपानी, सुरक्षा, यातायातलगायत सबैखाले सुविधा हुन्छन्। सहरको प्रशासनिक निकाय पनि उत्तिकै चुस्त हुन्छ। कला तथा संस्कृतिको समिश्रणले सहरलाई मौलिक बनाएको हुन्छ।

हाम्रा सहरमा यी सुविधा पाइन्छन् त ?
हामीकहाँ सहरमा हुनुपर्ने खास खास सुविधा छैनन्। हामीले सामान्य सुविधालाई व्यवस्थित सहर भनेका छौं। तर, विदेशका सहरसँग तुलना गर्दा हामी निकै पछि परेका छौं भन्ने लाग्छ। अहिलेको अवस्थामा हामीले देशको प्रशासन अनुसारको सुविधा पाएको छौं। देशको राजनीतिक र प्रशासनिक पक्ष व्यवस्थित हुन्थ्यो भने हामीले पाउने सुविधा पनि त्यहीँ किसिमका हुन्थे। हाम्रोमा नीति नियम र कानुनको पालना नै छैन। भएका कानुनलाई कार्यान्वयन गर्नेतर्फ पनि त्यति ध्यान दिएको देखिन्न। त्यसकारण सहर बिग्रिएको छ। पुराना कला, संस्कृति भत्किएका छन्।

देश विकास र समृद्धिको लागि सहरी शिक्षा नीति कस्तो हुनुपर्छ भन्ने लाग्छ?
समृद्ध सहरको पहिलो शर्त शिक्षा नै हो। संसारका अरु देशलाई हेर्दा पनि सहरी इलाकालाई शिक्षाको ‘हब’ ठानिएको हुन्छ। सहरका आवश्यकता गाउँका भन्दा पृथक हुन्छन्। शैक्षिक हिसाबमा पनि सहरको शिक्षा धेरै फरक हुनुपर्छ। अहिले हाम्रो सन्दर्भमा हेर्दा निजी शिक्षाको हाबी छ। सेवाभन्दा पनि व्यवसायको हिसाबमा शिक्षा अघि बढेको छ। शिक्षालाई व्यापारिक थलो बनाइयो। दैनिक श्रम गरेर खाने, गरीबका बच्चा सरकारीमा पढ्छन्। अलि धनी वर्गको व्यक्तिले निजीमै विद्यार्थी भर्ना गर्न खोजेको देखिन्न। संसारभरी नै विकासका क्रमलाई हेर्ने हो भने त्यसको थालनी नै सहरबाट भएको हुन्छ। त्यसकारण सहरको सबैभन्दा मुख्य कुरा शिक्षा नै हो। विदेशी मुलुकले शिक्षालाई केन्द्रमा राखेका हुन्छन्। शिक्षा व्यावहारिक, सहज र सरल हुनुपर्छ भन्ने नीति अपनाएका छन्। तर, हाम्रो सहरमा पैसाको लागि जे पनि गर्न थालियो। गुणस्तरीय काम गर्नु मेरो दायित्व हो भन्ने भावना कर्मचारीमा पनि भएको छैन। मानसिकता परिवर्तन नभएसम्म हामीले सहरी शिक्षालाई व्यवहारमा ढाल्न सक्दैनौं। विदेशिने युवालाई यहीँ रोक्न सकेनौं। नेपालको शिक्षा क्षेत्र यति पछि पर्नुको कारण राजनीतिक व्यवस्था नै ठिक नहुनु हो।

सहर कसरी सफा राख्न सकिएला?
सबै मानिसमा सहर सफा राख्नुपर्छ भन्ने भावना हुनुपर्छ। मैले उत्पादन गरेको फोहरको जिम्मेवारी म नै हुँ भन्ने हुनुपर्छ। म केही वर्षअघि जापान गएको थिएँ। त्यहाँ सानो कक्षामा नै आफूले गरेको फोहर आफै सफा गर्नुपर्छ भनेर सिकाइदो रहेछ। स्कुलमा पनि कुचो लगाउने व्यक्ति राखिएको हुँदो रहेनछ। विद्यार्थीहरु पालैपालो सफा गर्ने प्रचलन त्यहाँको रहेछ। त्यसैले सबैभन्दा पहिलो कुरा शिक्षामै सुधार हुन जरुरी देखिन्छ। अहिले स्थानीय तहलाई शैक्षिक जिम्मेवारी परेको छ। त्यसकारण ती तहले यसलाई अवसरको रूपमा लिएर देशको शैक्षिक क्षेत्र सुधार्न आवश्यक छ।

घुमेकामध्ये मनपर्ने सहर ?

मलाई पेरिस, स्वीजरल्याण्डलगायत सहर मनप-यो।

नेपालका सहर कस्तो लाग्छ?
प्राकृतिक र पौराणिक रूपमा नेपालका सहर मनपर्छ। आधुनिकता र मानवीय पक्षले गरेका कामको हिसाबमा हामी निकै पछि परेका छौं। काठमाडौं कै कुरा गर्दा यहाँको मौसम सदावहार छ। तर, यहाँको अस्तव्यस्तता मन पर्दैन। सेवा सुविधा लिनको लागि बाध्यतात्कम हिसाबले धेरै मानिस काठमाडौंमा बसेका छन्। यहाँका धेरै पक्ष ठीक हुँदाहुँदै पनि थोरै कुराले काठमाडौंलाई कुरूप बनाएको छ। अहिले जताततै फोहोर र व्यवस्थित मात्रै देखिन्छ। सहरभित्र आनन्द लिने ठाउँ छैनन्। उपत्यका बाहिरका केही सहर पनि अलि खुकुलो नै छ।

उपत्यका बाहिर मनपर्ने सहर?
उपत्यका बाहिर पोखरा मनपर्छ। यहाँ फेवाताल, हिमाल र अनेकौँ पदमार्ग छन्। सहरमै बसेर प्राकृतिक हराभरा हेर्न पाइन्छ। सडक र होटल पनि व्यवस्थित छन्। सबैतिर सफा र शान्त छ। स्वदेशी र विदेशी दुवैको ध्यान तान्ने सहर पोखरा नै हो। यसबाहेक पूर्वतिरका सहर पनि सुन्दर छन्। तर, सहरी संरचना बनाउँदा ध्यान नदिएका कारण सहर बिग्रिएको हो भन्ने लाग्छ।

नेपालभन्दा बाहिर कुन–कुन देशका सहर पुग्नुभएको छ?
अमेरिका, फ्रान्स, इटली, ग्रिस, जापान, चीन, भारत, इन्डिोनेसियालगायत धेरै देशका सहर घुमेको छु।

कस्ता रहेछन् त्यहाँका सहर?
अत्यन्तै सुन्दर छन्। विदेशका सहरमा हरेक खालका सेवा–सुविधा लिन नागरिकले सास्ती खेप्नुपर्दैन। नियमले चलेका छन्। पुराना ऐतिहासिक वस्तु सहरी इलाकामा संग्रहित गरेर राखिएको छ। हाम्रोमा भएका कला र सम्पदा पनि मासिँदै छन्। सरकारी निकायले काम नगर्दा र जनता आफै जागरुक नहुँदा सहर बिग्रिएको छ। हामीले पनि जिम्मेवारी बोकेर विकासमा समर्पित हुने हो भने सहरको विकास गर्न सक्छौं।

विदेश र हाम्रा सहरबीच के भिन्नता पाउनुभयो?
आफू जन्मेको माटो सबैलाई प्रिय लाग्छ। अरुभन्दा फरक लाग्छ। त्यो स्वभाविकै हो। मलाई पनि यहाँका ठाउँ सुन्दर लाग्छन्। यद्यपि भौगोलिक हिसाबमा हामी धेरै अगाडि भए पनि विकासको हिसाबमा भने ज्यादै पछि छौं। अर्को कुरा, हरेक देशका सहरको आ–आफ्नै ढाँचा, शैली र विशेषता छन्। नेपालकै कुरा गर्दा यो ठाउँ विश्वकै एउटा बेग्लै महत्व बोकेको ठाउँ हो। यहाँ शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेका थिए। विश्वको ध्यान तान्ने अग्लो सगरमाथा पनि यहीँ छ। अनेकौँ किंवदन्ती बोकेका ऐतिहासिक दरबार पनि यहीँ छन्। मौसम र हावापानी पनि धेरै राम्रो छ।

काठमाडौंको मन नपर्ने पक्ष?
अहिले त मलाई यहाँको अवस्था हेर्दा नेपालमा पर्यटक किन आउँछन् भन्ने लाग्छ। यहाँको कला संस्कृति पनि बिग्रदै गएको छ। यहाँको प्रदूषण र अस्तव्यस्तता मन पर्दैन। विकास निर्माणको काम भइरहेको ठाउँमा धुलोधुवाँ त हुन्छ नै। यद्यपि विकासका काम गर्दा सरकारले जनतालाई सास्ती दिएको छ। सहरमा पैसा हुनेले मात्रै सजिलो जीवन बिताउन सक्छन्।

राम्रो लाग्ने पक्ष?
उपत्यका देशकै मुटु हो। त्यसैले पनि यहाँ सेवा सुविधा छन्। यहाँको मौसन सदावहार छ। ऐतिहासिक र भौगोलिक पक्षलाई हेर्दा हाम्रा सहर अरु देशका भन्दा धेरै राम्रा छन्। सरकारले सहरको विकासतर्फ ध्यान नदिँदा भएका सम्भावना पनि लुकेर बसेका छन्।

तपाईँ कस्तो सहरको कल्पना गर्नुहुन्छ?
म एउटा सुन्दर सहरको परिकल्पना गर्छु। त्यो सहर यस्तो होस्– हरेक मानिसले समान अधिकार पाऊन्। सहर व्यवस्थित होस्। एकले अर्काको अधिकार खोसेको देख्न नपरोस्। आफ्ना सपना साकार गर्न विदेशी सहर धाउन नपरोस्।

सहर बिग्रनुको कारण के देख्नुहुन्छ?
सहरका विकासका योजना सराह्रनीय छन्। तर, ती योजना कार्यान्वयन भएनन्। राज्यका सबै अंगले पारदर्शी भएर काम गरेनन् । सहरमा शक्ति र पहुँच हुनेले मात्रै अवसर पाए । साच्चै नै तल्लो र विपन्न वर्गबाट आएको राम्रो मान्छेले दुःख पाएका छन्।

सहरवासीका बानी कस्तो लाग्छ?
सहरवासीमा अनुशासन छैन। चेतना भएका पनि गैरजिम्मेवार छन्। आफू बसेको ठाउँप्रतिको माया कमी र आफ्नो छानोको माया बढी छ। अर्को कुरा, सहरमा बस्ने हामी एकले अर्कालाई मान्दैनौं। आफ्ना कारणले अरुले दुःख पायो भन्ने हेक्का राख्ने प्रवृत्ति छैन सहरवासीमा।

मन भएर पनि पुग्न नपाएको सहर?
त्यस्तो सहर छैन। धेरै ठाउँ पुगिसकेको छु।

सहरको मनपर्ने खानेकुरा?
मःमः नै मिठो लाग्छ।

प्रस्तुति:  शिवहरि घिमिरे

 

प्रकाशित: २२ चैत्र २०७५ ०७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App