अन्य

फोहोरको दुर्गन्धले सास्ती

बौद्ध सरसफाइ केन्द्र प्रालिले बौद्धको अरब बैंकमा राखेको फोहोर। तस्बिर : श्याम राई।

बौद्ध सरसफाइ केन्द्र प्रालिले बौद्धस्थित अरब बैंकमा फोहोर प्रशोधन गर्दा उक्त फोहोरको दुर्गन्धले स्थानीयलाई सास्ती भएको छ। बौद्ध क्षेत्रभरिको फोहोर जम्मा गरी त्यहाँ प्रशोधन गर्दै आएपछि उनीहरूले सास्ती भोगेका हुन्।  

केन्द्र प्रालिले २०६२ सालबाट फोहोर जम्मा गरेर प्रशोधन गर्दे आए पनि कुनै सरोकारवाला निकायले हटाउन पहल गरेका छैनन्। जसका कारण त्यहाँका स्थानीयहरूले सास्ती भोग्न बाध्य छन्। स्थानीय पेमा शेर्पाले फोहोरको दुर्गन्धले घरमा बस्नै नसकेको बताइन्। ‘फोहोरको दुर्गन्ध टोलभरी फैलिएको छ। बस्नुभन्दा पनि दुर्गन्धले एकछिनको खाना खानै सकिँदैन,’ उनले भनिन्, ‘यसले हाम्रो स्वास्थ्यलाई गम्भीर असर गर्दै गएको छ। फोहोर हटाउनका लागि जति वडा कार्यालयमा गुनासो गरे पनि हटाउनमा केही पहल भएको छैन।’ 

उनका अनुसार उक्त ठाउँमा फोहोर राख्दै आएको १३ वर्ष बित्न लागेको छ। तर, अझै हटेको छैन। त्यहाँ फोहोर जम्मा गरेर कुहिने÷नकुहिने वस्तु छुट्याउने गर्छन्। गाडीबाट मात्र नभई सबैले फोहोर ल्याएर त्यही फाल्ने गर्छन्। वर्षायाममा झनै फोहोरबाट चुहिएको पानीको दुर्गन्धले बस्न सकिने अवस्था हुँदैन। ‘सधैैं माक्स लगाएर बस्नुपर्छ,’ उनले भनिन्, ‘सर्वसाधारण पनि यो दुर्गन्धले ओहोरदोहोर गर्न सक्दैनन्। घरकै आँगनमा फोहोर केन्द्र भएकाले डेरावाला बस्नै मान्दैनन्।’ 

उक्त ठाउँमा बिहीबार पुग्दा फोहोरको गाडीबाट टपटप पानी चुहिरहेको थियो। फोहोर त्यहाँ राखिएकोले बाटो समेत बन्द हुने अवस्था देखिन्थ्यो। पैदलयात्रु मुख थुनेर ओहोरदोहोर गरिरहेको भेटिन्थे। अर्का स्थानीय फुलमाया गुरुङले सरोकारवाला निकायले फोहोर केन्द्र हटाउन नसक्दा दुर्गन्धमा रुमल्लिएर बस्न बाध्य भएको बताइन्। ‘बौद्ध क्षेत्रको सबै फोहोरहरू यही ल्याएर राखेका छन्। दुर्गन्धले एकछिन घरमा बस्न सकिँदैन,’ उनले भनिन्, ‘चारैतिर घर छन्। त्यही बीचमा फोहोरको डंगुर छ। तर, फोहोर हटाउन कुनै निकाय अघि बढेका छैनन्। यही समस्यामा गुज्रिन बाध्य छौँ।’ उक्त फोहोर केन्द्र सरोकारवाला निकायले खाली जग्गामा सारेर फोहोरमुक्त टोल बनाइनुपर्ने स्थानीयको माग छ। 

फोहोर जम्मा गर्नको लागि खाली जग्गा नपाएकाले त्यहाँको फोहोर प्रशोधन केन्द्र प्रालि हटाउन नसकेको काठमाडौं महानगरपालिका वडा– ६ का वडा अध्यक्ष दीपेन्द्र लामा बताउँछन्। ‘हामीले फोहोर हटाउन प्रयत्न गरेकै हौँ,’ उनले भने, ‘सार्न खाली जग्गा नै पाएनौँ। जग्गा पाए उक्त केन्द्र पनि सार्छौं भनेका छन्। सार्वजनिक जग्गा नपाएर धेरै समस्या परेको छ।’ उनका अनुसार गोकर्णेश्वरको जगडोल डाँडापछाडि फोहोर केन्द्र सार्ने कुरा थियो। तर, त्यहाँ पनि स्थानीयले फोहोर राख्न नदिएपछि रोकिएको छ।  ‘स्थानीयलगायत प्रहरीसमेत फोहोर केन्द्र हटाउन वडा कार्यालयमा आइसकेका छन्,’ उनले भने, ‘हामी यसको विकल्प खोज्दै आएका छौँ। जग्गा पाए वा फोहोर जलाउने मेसिन सञ्चालनमा आएमा त्यहाँको समस्या न्यूनीकरण हुन्छ।’

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल यस विषयमा बुझेर फोहोर केन्द्र हटाउन पहल गर्ने बताए। ‘निजी केन्द्रले फोहोर राखेको हो,’ उनले भने, ‘यस विषयमा उपभोक्ता र केन्द्रसँग बुझेर फोहोर हटाउन पहल गर्नेछौँ।’ 

 

प्रकाशित: १७ फाल्गुन २०७५ ०६:४० शुक्रबार

बौद्ध_सरसफाइ_केन्द्र_प्रालि फोहोर दुर्गन्ध सास्ती