अन्य

भजनकीर्तनमा रमाउँदै वृद्धवृद्धा

केके पायौ जिन्दगीमा,
अब के पाउनु बाँकी  छ ?
जयजय सूर्य भगवान्, जय दिवाकार,
जयजय आदित्य, जय भाष्कर !

प्रत्येक आइतबार र बुधबार पुरानो बानेश्वरस्थित देवीनगरमा रहेको प्रौढ कल्याण संघको भवनमा ज्येष्ठ नागरिकहरू यस्तै गीत गाउँदै भजनकीर्तन रमाइरहेको भेटिन्छन्। समाजसेवी सुश्री भद्रकुमारी घलेको सहयोगमा निर्मित प्रौढ कल्याण संघको भवनमा अनामनगर, डिल्लीबजार, थापागाउँ, मैतीदेवी, पेप्सीकोला बालकुमारी, गुह्येश्वरीका आमाबावुहरू पनि आउने गरेका छन्।

नयाँ बानेश्वर वडा न १० की भगवती बस्नेत भजनकीर्तनले दिन काट्न सजिलो भएको बताउँछिन्। ‘भजनकीर्तनको दिन समय बितेको पत्तै हुँदैन। भजनकीर्तन गर्ने दिन कहिले आउला जस्तो हुन्छ,’ उनले भनिन्, ‘घरमा त्यसै बस्नुपर्दा पट्यार लाग्छ। घरभरि मान्छे भए पनि हाम्रो कुरा कसैले सुन्दैनन्। भगवान् सम्झेर गीत गाउँदा पीर त्यसै भुलिने रहेछ। अग्नि साक्षी राखेर सँगै जिउने भनेको मान्छेले पनि छोडेर गए। भरे हो कि भोलि जीवनको के टुंगो हुने रहेछ र ?’ भजनकीर्तनमा आउन थालेपछि भगवानबाहेक आफ्नो कोही रहेन छ भन्ने पनि उनलाई लाग्न थालेको छ।
उनले अहिले जीवन शैलीमा निकै फरक परेको बताइन्। ‘कति बुर्हातन खेपियो। हामी दिनभरि काम गरेर राति ११ बजेसम्म सासूको खुट्टा मिचेर बस्थ्यौं। अहिले बुहारीहरू स्कुटर चढेर अफिस धाउँछन्,’ उनले भनिन्, ‘सधैं आफूले आफ्नै समयमै औषधि र खाना खानुपर्छ। नातिनातिनीहरू स्कुल जान्छन्।’ वृद्घहरूलाई भजनकीर्तन नभएको दिन समय कटाउनै गाह्रो भएको पनि उनले बताइन्।
अर्की ६२ वर्षीया शशि भण्डारीले पनि भजनकीर्तनले बुढ्यौली जीवन निकै सहज भएको बताइन्। ‘भजनकीर्तनमा हास्य योगा पनि गरिन्छ। दिल खोलेर हाँस्न पाउँदा मन हलुको हुन्छ। समय बितेको पत्तै हुँदैन,’ उनले भनिन्, ‘घरमा एक्लै बस्नुपर्दा नियास्रो लाग्छ। मनमा अनेक कुरा खेलिरहन्छ। भगवान् सम्झेर गीत गाउँदा रमाइलो हुन्छ।’
‘यहाँ आउन थालेपछि निकै कुरा सिकें,’ उनले भनिन्, ‘पहिले केही कुराको ख्याल गर्दिन थिएँ। खानेबित्तिकै सुत्थें। अहिले खाना खाएको २ घण्टापछि मात्रै सुत्ने गर्छु। नियमित योग, ध्यान, उचित खानपान र व्यवस्थित औषधि सेवनले स्वास्थ्यलाभ हुँदै गएको छ।’

हामी बुढाबुढीलाई न जागिर न अफिस। बुहारीलाई फेसबुकले दिन काट्न सजिलो भएको छ। यहाँ आएर भजनकीर्तन गर्दा दिन बितेको पत्तै हुँदैन।


रौतहटकी ७० वर्षीया तुलसा घिमिरेले भजनकीर्तनमा ज्येष्ठ नागरिकहरूको सहभागिता बढेको बताइन्। ‘सुरुसुरुमा २०÷२५ जनाको मात्रै जमघट हुन्थ्यो। अहिले भजनमा आउनेको संख्या बढेको छ’ उनले भनिन्, ‘काठमाडौं आएको १४ वर्ष भएछ। सानो छँदा नाति खेलाएर दिन बिताएँ। अहिले स्कुल जान थालेको छ। न जागिर न अफिस। बुहारीलाई फेसबुकले दिन काट्न सजिलो भएको छ। म छटपटीमै दिन बिताउँदै थिएँ। यहाँ आएर नाचगान गर्दा दिन बितेको पत्तै हुँदैन।’
नुवाकोटका ७७ वर्षीय तबलावादक गुणराज गुणी शंकरले गीतसंगीतले स्वस्थ्यलाई धेरै राम्रो गर्ने गरेको बताए। ‘गीतसंगीतको सम्बन्ध मनसित हुने रहेछ। मन खुसी भएपछि स्वस्थ ठीक हुँदै जाने रहेछ,’ उनले भने, ‘स्वस्थ्य जीवनका लागि भजनकीर्तन, सत्सङ्ग र गीतसंगीत अनिवार्य रहेछ।’
भजनकीर्तन उत्सवजस्तै रमाइलो भएको पनि उनले बताए। ‘म बालाजुबाट हिँडेर यहाँ आइपुग्छु। पहिले कलाकार भएर हिँड्यो। घरमा त्यसै बस्दा जेल बसे जस्तै लाग्छ। यहाँ तबला बजाउन पाउँदा मीठो विगतको सम्झना आउँछ र मलाई भजनकीर्तन उत्सव जस्तै लाग्छ।’
भजनकीर्तन मण्डलीका कलाकार तारा अधिकारीले भजनकीर्तनले आमाबाबुले एक्लोपनको पीडा भुल्दै गएको बताइन्। ‘कति आमाबाबुहरू एक्लै हुनुहुन्छ। कति घरहरू चराले छोडेको गुँडजस्तै भएको छ। यस्तो अवस्थामा उहाँहरूलाई विरक्त लाग्छ,’ उनले भनिन्, ‘भजनकीर्तनले उहाँहरूको मुहारमा खुसी छाएको छ। आफ्नै उमेरका बुढाबुढीहरूसित मन खोलेर कुरा गर्न पाउँछन् र सबै पीरव्यथा सजिलै भुल्छन्।’
भजनकीर्तन संयोजक शीला खनालले सक्रिय बुढ्यौली जीवनका लागि नियमित रूपमा भजनकीर्तन कार्यक्रम सञ्चालन गरेको बताइन्। ‘हामी भजनकीर्तनसँगै कहिलेकाहीँ निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण पनि गर्छौं। समसामयिक छलफल र सामान्य योगा पनि चलाउँछौं,’ उनले भनिन्, ‘हामी कसैलाई निराश हुन दिँदैनौं। एक्लोपन, रोग र  घरपरिवारमा आफ्नो कुरा लागू नभएर निष्क्रिय देखिएकालाई सकेको सहयोग पुर्‍याएर निराश हुन दिँदैनौं।’

प्रकाशित: २५ माघ २०७५ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App