देवकी के.सी.
एउटा साघुँरो कोठाको सानो खाटमाथि च्यातिएका थोत्रा मैला थाङ्ना बिछ्याइएको छ। त्यसैमाथि मैला च्यादर ओडेर उजेली पल्टिरहेकी थिई। भुँइमा मैनबत्ती धिपधिप गर्दै बलिरहेको थियो। मैनबत्तिको मधुरो उज्यालोमा उजेलीका अनुहारमा नाचेका दुःखका रेखा प्रस्ट देख्न सकिन्थ्यो। कोठाको कुनामा अडेस लागेका रित्ता थाल र कचौराबाट उजेलीको अभाव र भोकलाई सजिलै मापन गर्न सकिन्थ्यो। उजेलीका पैतालाका वेदनालाई कम गर्ने सारथीका रुपमा ढोकामा एकजोडी बिजोडी चप्पल जागा थिए।
जीवनमा परेको अभावको भुमरीले उमेर नपुग्दै उजेलीका अनुहार बुढ्यौलीले स्पर्स गरेझै लाग्थ्यो। रात छिप्पिदै जाँदा पनि उजेलीलाई आज किन हो कुन्नि निद्रादेवीले शरणमा बोलाइनन्। सुइय सुस्केरा हाल्दै उजेली खाटको बारमा अडेस लाग्छे। नचाहेर पनि विगतले आगोझै बनेर मस्तिष्क पोलेको अनुभव हुन थाल्छ उसलाई।
आफ्नो सुन्दर संसारबाट नचाहेर विस्थापित हुनुपर्ने बाध्यता पारेको त्यो कालो दिन उनको मस्तिष्कमा घुम्न थाल्छ। उनको मस्तिष्कमा आजसम्म पनि ०७२ को भूकम्पले केन्द्रविन्दुका रुपमा रोजेको स्वर्गजस्तो परिवेशको अकल्पनीय दुर्दशा ताजै छ। प्रकृतिको उदण्डतासँग सिँगौरी खेल्ने सामथ्र्य नभएर आफ्नो ठाउँबाट विस्थापित हुनु परेको गहिरो पीडा उजेलीको मनमा यथावतै छ।
आँगन पोलेर जुनीसँगै काट्ने बाचा गर्दै कमलको घरमा पसेदेखि उजेलीले त्यसैलाई नै आफ्नो संसार ठानेकी थिई। कमल जस्तो समझदार लोग्नेको छहारी पाउँदा उजेलीले जन्मघरसँगको बिछोड पनि भुल्न थालेकी थिई। कमलजस्तो समझदार र माया गर्ने जीवनमा पाउनु भनेको संसारकै सबैभन्दा भाग्यमानी झै लाग्थ्यो उसलाई। प्रत्येक पल उजेली भगवानसँग प्राथना गर्थी–हाम्रो संसारको रथ सधै यस्तै माया र विश्वासमा दौडिरहोस्। अझ फूलजस्ति छोरीको जन्मले खुसीको वर्षात भएको थियो त्यस घरमा।
एउटी नारीले पहिले आफ्नो लागि बाँच्न सिक्नु पर्दो रैछ भन्ने विचारले उनको मस्तिष्कमा नागबेली खेल्न थाल्छ। उनी मुस्कुराउँछिन्, ‘सलाम भूकम्प तैंले मलाई बाँच्नुको अर्थ सिकाइस्। म अब आफ्नो लागि बाँच्ने संघर्षको मैदानमा दौडिँदै छु।’
उजेलीले कल्पना समेत गर्न नसकेको त्यो क्षण। धर्तीले कम्पन गर्दै संसार उजाड पारेको त्यो राक्षसरुपी कालो दिन जसको वियोग जीवनभर निको नहुने एउटा घाउ बनेको छ जीवनमा। दैवको खेल राम्रो नराम्रो जस्तो भए पनि सहनै पर्ने बाध्यता छ मानिसलाई।
संसारकै सर्वश्रेष्ठ प्राणी कहलिए पनि मानिस आखिर दैवसँग कुस्ती खेल्न के नै सक्थ्यो र !
उजेलीलाई त्यो दिन पटक्कै सम्झन मन छैन तर भुल्न पनि सकेकी छैन। सपनाझै लाग्छ ती दिनका बज्रपात। पीडा नै पीडाको पहाड खसेर आफ्नो थाप्लो किचिएको त्यो दिनको पीडा भोग्ने उजेलीलाई कति गाह्रो भयो होला ती पीडा भुल्न, अनुमान गर्नं पनि कठिन छ।
धर्तिले अचानक कम्पन गर्दै ताण्डव नृत्य प्रस्तुत गरेको त्यो क्षणमा नै सकिए उजेलीका सुखी संसार पनि। अग्नी साक्षी राखेर सँगै जुनी काट्ने बाचा गरेको जीवनसाथी र मुटुको टुक्रा छोरीको प्राण दैवले हरेको त्यो दिन उजेलीलाई आफ्नो संसार अध्यारो लाग्न थाल्यो। फूलरुपी संसारमा काँडाका वर्षात भएर सहनै नसक्ने गरी घोच्न थाल्यो। उज्यालो आफ्नो संसारमा अध्यारोले अधिकार जमाएको त्यो दिनको सम्झनाले उजेलीका आँखा भरिन थाले।
मृत्यु अकाट्य कुरा हो तर पनि आफ्नाहरुको वियोगले कति मर्माहत हुन्छ जीवन भन्ने भोगेकी उजेलीलाई आफ्नो रित्तो संसार हेरेर बाँच्ने चाहना पनि मर्यो। उजेलीको मनले रुदै भन्थ्यो–म यो संसारमा बाँच्नुको के अर्थ भयो र ? कसका लागि बाँच्नु ? किन बाच्नु ? जसको ओत लागेर घर पसें त्यही घरनै आज खण्डहर बनेको छ। त्यहाँको माटोबाट आफ्नाहरुको लाशको गन्ध आइरहेको छ। त्यहाँको माटोलाई स्पर्स गर्दा पनि अथाह पीडा बोध हुन्थ्यो। त्यसबेला उजेलीका मन पीडाले थिचेर थिलथिलो भएको थियो। आँसुका मुलहरु सुकेर आँखा निरिह भइ हेरिराख्थे जीवनसाथीका बन्द मुटु र फूलजस्तै कोमल छोरीको मायालु चन्चले अनुहार।
जस्तोसुकै बज्रपात परे पनि सामना गर्ने साहस जुटाउनु पर्दो रहेछ मान्छे भएर धर्तीमा पाइला राखे पछि। उजेलीले पनि दैबको कठोर निर्णयका सामना गर्दै साहस देखाई आफ्नै हातले जीवनसाथी र सन्तानको दाहसंस्कार गरेर। सधैं मायाले सुम्सुम्याउने उनका हातले कति बिघ्न सहास गरेर प्रिय जीवनसाथी र सन्तानको शरीरमा आगो लगाए होलान ! त्यत्रो सहास आफुमा कसरी आयो होला उजेली अहिले पनि कल्पना गर्न सक्तिन।
भग्नावशेष गाउँको माझमा अझै ठिङ्ग उभिरहेको थियो त्यो पीपल। सायद प्रकृतिको ताण्डव नृत्यले नछोएको त्यही मात्र बाँकी थियो। गाउँको लथालिङ्ग अवस्था देखेर पीपल अझै शोकमग्न भएझै लाग्थ्यो। उजेलीले पीपललाई हेर्दै दुःख पोखेकी थिई। ‘पीपल म यो उजाडिएको संसारको पीडा बोक्न सक्तिन। मेरो संसार रित्तो भयो अब मलाई तेरो शरणमा जीवन लीला समाप्त गर्न अनुमती द’े भन्दै फरियाको पासो बनाएर पीपललाई आफ्नो जीवन सुम्पिउँ कि जस्तो पनि लागेको थियो। तर यस्ता असहज परिस्थितीमा पनि आफुलाई सम्हालेर अघि बढ्न सक्ने सहास उजेलीले गरेकै हो।
आफन्त वियोग र आफ्नो रित्तो संसारको झल्झली याद दिलाउने त्यो ठाउँसँग उजेलीलाई निराशा मात्र जागेर आयो। अथाह पीडाको वर्षात् गराउने त्यो ठाउँ चटक्कै छाड्ने निर्णय लिई उसले। त्यहाँ ओइरिने संघ संस्थाका राहत र दलालिपनसँग पटक्कै आश जागेन उसलाई। साथ दिने नै छैन भने राहतको के आशा राख्नु !
त्यहाँ भेलबाढी जस्ता बगेका पीडामा मलम लगाउन उजेली काँठक्षेत्रमा पसिन। राजधानीको केन्द्रबिन्दु भन्दा वरपरका काँठक्षेत्रमा बस्दा गाउँतिर सजिलै खेतबारीको काम पनि पाइने र दया गरेर कसैले घरमा पनि बास दिन्छन भन्ने आशले मनको पीडा भुल्न र अब आफ्नै लागि बाँच्ने संघर्ष गर्न काठमाडौं छिरि ऊ। उसलाई कामको दुःख त भएन। खेतबारीमा काम गर्ने, बस्तुभाउ चराउने लुगा धने, भाडाँ माझ्ने कामको ओइरो लाग्थ्यो। काम गरेर मन जितेकै कारण गाउँकै सुब्बा साहेवको घरमा भैसी गोठालो बस्ने काम पनि पाएकी थिई।
सुब्बाको जागिरबाट रिटार्यड भएका तेज नारायणलाई सबैले सुब्बा साहेव भनेर चिन्दथे। बुढ्यौली लागेर अलि कमजोर भएका सुब्बाका छोराहरु विदेश र छोरी विहे गरेर गएपछि दुइवटा लैनो भैसी, बीस मुरी धान फल्ने खेत, बाह्र तेह्र मुरी मकै फल्ने बारीको काम गर्ने मान्छे भएन। पहिले कामदार धेरै पाइन्थे अहिले युवा जति कि सहर कि विदेश पुगेका छन्। गाउँका खेतबारी न बाँझै राख्नु, न त आफुले खनजोत गर्न सक्ने तागत हुनु यस्तो समस्यामा परेका सुब्बालाई उजेली जस्तो काम गर्ने मान्छे पाउनु ढुङ्गा खोज्दा देवता मिल्यो भनेझै भयो। त्यसमा सुब्बा र उसकी श्रीमती दुबै खुसी भए।
सुब्बिनीले उजेलीलाई पुरानो घरको एउटा सानो कोठा र केही जडौली लुगाफाटा र भाँडाकुडा, राशन दिएर बसोबासको चाँजोपाजो मिलाइ दिएकी थिइन्।
विगतका भालाझैं रोप्ने पीडा र वर्तमानमा आइपुग्दा बाँच्न गरेका संघर्षको सम्झनाले उसका आँखा थाहै नपाई जलाशय बनिसकेछन्। उजेली च्यादरले आँसु पुछ्दै वरिपरी हेर्न थाल्छे– जताततै अध्यारो छाएको थियो। मैनबत्तीले पनि कसैको संसारलाई उज्यालो पारेर आफ्नो आयु सकाई पो सकेछ। त्यही अँध्यारो रातमा उजेलीले आँसु पुछि। सायद त्यो आँसु कसैले नदेखोस् भनेर होला मैनबत्तीले पनि लीला खत्तम पारेको।
खाटको बारबाट अडेस लाग्न छाडेर मैलो च्यादर भित्र गुटुमुटिएर उजेली गोडाहरु लम्पसार पार्दै फेरी सोच्न थाल्छे।
त्यतिखेर उनका आँखामा आँसु छैन र उनको मन विगतका पीडामा डुबुल्की मारेर कमजोर बनेको छैन। उनमा अथाह ऊर्जा पलाएर आएझै भान हुन थाल्छ।
उनको मनले भन्छ– ‘धन्यवाद ! भूकम्प तैंले त मलाई बाँच्नुको अर्थ सिक्ने अवसर दिइस्। एउटी नारी पल–पल सधै अरुकै लागि बाँच्नुपर्ने परम्परा तोड्ने साहस दिइस। सानो हुँदा नारी आमाबुवाका लागि उनीहरुकै रेखदेखमा बाँच्नु पर्ने, विहे पछि लोग्ने र बुढेसकालमा छोराछोरीको रेखदेखमा बाँच्नुपर्ने। वास्तवमा एउटा नारीले आफ्नो लागि बाँच्ने कहिले ?’
उनी आफैंसँग भन्दैगइन्, ‘सायद भुकम्प नआइ दिएको भए म पनि लोग्ने र छोरीका लागि बाँच्थे होला। उनीहरुको खुसीमै आफ्नो जीवन देख्थें होला। सधैं अरुका लागि बाँच्नु भन्दा एउटी नारीले पहिले आफ्नो लागि बाँच्न सिक्नु पर्दो रैछ।’ यस्तै विचारले उनको मस्तिष्कमा नागबेली खेल्न थाल्छ। उनी मुस्कुराउँदै भन्छिन्, ‘सलाम भूकम्प तैंले मलाई बाँच्नुको अर्थ सिकाइस्। अब म आफ्नो लागि बाँच्ने संघर्षको मैदानमा दौडिँदै छु।’
उनको अनुहारमा पलाएको मुस्कान र उनको प्रगतिशील विचारलाई त्यो कोठाको अँध्यारोमा कसैले देख्न त सकेन तर अब सधैं उसका संघर्षका पाइलाहरु प्रगतिपथमा लम्किरहेको भने देख्नेछ समाजले। र, बुझ्नेछ समाजले उजेलीबाट बाँच्नुको अर्थ पनि।
प्रकाशित: १९ माघ २०७५ ०२:०० शनिबार