अन्य

‘काठमाडौं असहज बन्दै छ’

सवनम मुखिया, कलाकार

तपाईको विचारमा सहर भनेको केहो ?
    सहर भनेको व्यवस्थित पूर्वाधारयुक्त ठाउँ हो। सहरमा इतिहास र वर्तमान दुवै झल्कने गरी विकासका काम गरिएको हुन्छ। ऐतिहासिक कला कृति सजाइएको हुन्छ। सहरको प्रशासन र सरकारी निकाय हरेक कामको दृष्टिकोणमा सचेत र जिम्मेवार हुन्छन्। सहरले हरेक प्रकारका सुविधा नागरिकलाई दिएको हुन्छ। नागरिक पनि सहरको नीति नियमका बाँधिएका हुन्छन्।

घुमेकामध्ये मनपर्ने सहर कुन हो ?
    मलाई पोखरा राम्रो लाग्छ। त्यहाँ प्राकृतिक सुन्दरता हेरिरहुँ जस्तो लाग्छ। पोखरामा अनेकन रमाउने ठाउँ छन्। फेवाताल हेरेर मन प्रफुल्लित हुन्छ। नेपालका अरु सहरभन्दा अलि व्यवस्थित सहरमध्ये पोखरा नै पर्छ।

काठमाडौं कस्तो लाग्छ ?
    काठमाडौं धेरै राम्रो लाग्छ। मैले ४२ वर्ष पहिलेदेखि काठमाडौं सहरलाई चिन्ने मौका पाएँ। मेरो करिअर नै काठमाडौंबाट सुरु भएको हो। मैले आफ्नो खास सपना पनि यहीबाटै पूरा गरेकी हुँ। सानैदेखि मैले उपत्यकालाई चिन्न पनि पाएँ। यहाँको हावापानी र प्रकृतिसँग रमाउन सिकें। मजस्ता लाखौं मानिसहरुको सपना पनि काठमाडौंबाटै पूरा भएको छ। यसले नेपालको पहिचान पनि बोकेको छ। यहाँ विभिन्न संस्कृति, जातजाति, भेषभषा पाइन्छ।

४२ वर्ष पहिले काठमाडौं कस्तो थियो ?
   विकास थोरै भए पनि त्यतिबेलाको काठमाडौं सरल थियो। काठमाडौंमा बस्न रमाइलो लाग्थ्यो। बाहिरबाट र यहाँका स्थानीयबीच त्यति राम्रो सम्बन्ध नभए पनि त्यतिबेला काठमाडौं राम्रो लाग्थ्यो। त्यतिबेला यो ठाउँ निकै शान्त थियो। सबैतिर सुन्दर थियो। हरियाली थियो।

अहिलेको कस्तो लाग्छ काठमाडौं ?
   अहिले काठमाडौं अस्तव्यस्त भएको छ। जताततै फोहर मात्रै छ। सडकको दुरावस्था छ। हिजोको काठमाडौं यस्तो थिएन। सरकार र आम नागरिक नै जिम्मेवार नभएकाले काठमाडौं यति फोहर भएको हो।

सहरका विकासको लागि सरकार र नागरिकले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?
     सहरको सुन्दरता र विकासप्रति आम नागरिक पनि उत्तरदायी हुन जरुरी छ। नागरिकले पनि सरकारी सहयोग गर्ने हो भने विकास निर्माणका कामले छिट्टै पूर्णता पाउँथे।

नेपालबाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
   त्यति धेरै देशका सहर घुमेकी छैन। भारतका केही सहर घुमेको अनुभव छ।

उपत्यका बाहिर कत्तिको जानुहुन्छ ?
    प्रायः पुग्छु। समय मिलेको बेला उपत्यका बाहिर घुम्न रहर लाग्छ। उपत्यका भन्दा बाहिरका सहर अली शान्त र व्यवस्थित पनि लाग्छ। मानिसको भिडभाड र सरकारको काम गर्ने शैली नमिलेका कारण बिग्रिएको हो। यदी सरकारले चाहने हो भने काठमाडौंलाई केही वर्षमै व्यवस्थित बनाउन सक्छ।

तपार्इंको विचारमा सहर विकास कसरी होला ?
   सहरको विकासको लागि आम नागरिक र सरकार मिलेर अघि बढ्नुपर्छ। सरकारको काममा नागरिकले पनि सहयोग गर्नुपर्छ। सरकारको आलोचना मात्रै गरेर सहरको विकास हुँदैन। त्यस्तै, सहरमा बस्नेहरुले पनि विकास निर्माणका कामका सरकारी निकायलाई सघाउनुपर्छ। हरेक निकाय मिलेर विकासका काममा लाग्ने हो भने सहर अलि व्यवस्थित होला भन्ने लाग्छ मलाई।

तपाईंकोे सपनाको सहर कस्तो होला ?
    म बसेको सहर हरियाली होस्। सवारी साधनको चर्को ध्वनि सुन्न नपरोस्। सहरमा हामीले नैगर्सिक अधिकार सहजै पाउनुपर्छ। सडक व्यवस्थित हुनुपर्छ। धुँवा, धुलो, प्रदूषणजस्ता समस्या देखिनुहुँदैन। यीसँगै सहरवासीले चाहेका सबैखाले सेवा–सुविधा भेटिनुपर्छ। सरकारले नागरिकलाई सेवा सुविधा दिन सक्नुपर्छ। म बसेको सहर पनि यस्तै भइदिए हुन्थ्यो भन्ने लाग्छ। तर, हाम्रा सहर अति नै अव्यवस्थित भएका छन्। सरकारी निकायकै बेवास्ताका कारण सहर बिग्रिएका हुन्।

काठमाडौंको मनपर्ने पक्ष के हो ?
   यहाँको मौसम सदावहार छ। म भैंसेपाटीमा बस्छु। अहिले पनि मैले मेरो घरबाट हिमाल हेर्न पाउँछु। यो भन्दा राम्रो पक्ष अरु के होला ? उपत्यका स्वर्गको टुक्रा नै हो। यहाँका मौसम र मठमन्दिर राम्रो लाग्छ। यहाँको नेवारी संस्कृति पनि मलाई प्यारो लाग्छ। उपत्यका मन्दिरैमन्दिरले सजिएको छ। जता फर्के पनि भगवान नै देखिन्छन्। तर, दुर्भाग्य हामीले उपत्यका कस्तो ठाउँ हो भनेर दाज्न सकेनौं। यहाँको भौगोलिक वातावरण मिल्दो विकासको खाका कोर्न सकेनौं जसका कारण अहिले सहर बिग्रिएको छ। यसबारे सबैले गम्भीर भएर सोच्न जरुरी देखिन्छ।

यहाँको मन नपर्ने पक्ष ?
   मलाई चर्को ध्वनि मन पर्दैन। धुँवाधुलो, ट्राफिक, अस्तव्यस्त सडक सम्झँदा दिक्क लाग्छ। अब हामी सबै मिलेर बिग्रिएको काठमाडौैंको मुहार फेर्न जरुरी छ। त्यसको लागि राजनीतिक नेतृत्वले भिजन तयार गर्नुपर्छ।

यहाँको मनपर्ने खाने कुरा ?
  यहाँको मःमः मिठो लाग्छ। अहिले पनि मःमः पाइन्छ। बेला बेलामा मःमः खान्छु।

मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
    मलाई घुम्न मन लागेको देश मालदिभ्स हो। हेरौं समय मिल्यो भने त्यहाँ पनि छिट्टै पुग्छु होला।

सहरवासीको बानी–व्यवहार कस्तो लाग्छ ?
सहरवासी मिलनसार नै लाग्छ। पहिले पहिले उपत्यका बाहिरबाट आएका र यहाँका स्थानीय त्यति मिलेको देखिँदैन्थ्यो। अहिले सबैमा मानवीय भावना छ। सबै मिलेर बसेको देख्न पाइन्छ। यद्यपी विकास निर्माणको काममा सहरवासी एकजुट हुन सकेका छैनन्।

सहरको विकास कसरी होला ?
सहरको विकासको लागि हामी सबै मिलेर अघि बढ्नुपर्छ। हामीले नै सहरलाई सर्पानुपर्छ। आम नागरिक नै जिम्मेवार नहुने हो भने सहरको विकास सम्भव छैन। कम्तीमा एउटा टोल वा गाउँ सफा गर्दै आयौं भने विस्तारै देश नै सफा हुनसक्छ। त्यसैले यसबारे हामी सबै एकढिक्का भएर जुट्नुपर्छ अनि मात्रै सहरको विकास हुनसक्छ।

प्रकाशित: १८ माघ २०७५ ०३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App