अन्य

‘काष्ठमण्डपको आयु अजम्बरी हुनुपर्छ’

अनेकन विवादका वावजुद कात्तिक २२ गतेदेखि पुनर्निर्माण थालिएको ऐतिहासिक संरचना काष्ठमण्डप पुनर्निर्माण कामले गति लिएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै काष्ठमण्डप पुनर्निर्माण समितिले आउँदो असार मसान्तसम्म एक तला को (३० प्रतिशत) काम सक्ने लक्ष्यले पुनर्निमाण भइरहेको जानकारी गराएको हो।

समितिका अनुसार अहिले जगभित्रको काम भइरहेको छ भने त्यसपछिको पुनर्निर्माणलाई चाहिले सामग्री जुटाउने कार्य पनि अघि बढेको छ। काठ, इँटा, माटो, ढुंगा र अन्य भित्री पार्टमा प्रयोग हुने धेरैजसो साम्रगी पनि जुटाइसकिएको छ।

हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले काष्ठमण्डपको काम धमाधम भइरहेको जानकारी दिए। हालको समितिले कुनै पक्षमा कमीमजोरी र विमती आउने गरी काम नगरेको उनको भनाई छ। उनले आम जनसमुदायको इच्छा र मागअनुसार मौलिकता झल्कने गरी पुनर्निर्माणलाई अघि बढाएको बताए।

‘हामीले विभिन्न चरण बनाएर पुनर्निर्माणको काम गरिरहेका छौं, पहिलो चरणमा विभिन्न समूह बनाउने,  कार्यालय स्थापना गर्ने, विज्ञटोली र कार्यटोली गठन गर्ने गरेका थियौं, दोस्रो चरणमा योजना बनाउने, नक्सा तयारी गर्ने, काठ र इँटा जस्ता सामग्री जुटाउनका लागि पहल गर्ने, साइटमा सरसफाई गर्ने जस्ता काम भइरहेका छन्,’ उनले भने, ‘त्यससँगै गुणस्तरीयता र मौलिकतालाई मध्यनजर गरेर समितिले पुनिर्माणमा सहजीकरण गरेको छ।’

उनका अनुसार हालसम्म ७ प्रतिशत हाराहारी काम भएको छ। भूकम्प र अन्य प्राकृतिक प्रकोपबाट बचाउनका लागि परम्परागत सामग्रीसँगै प्रविधिको प्रयोग गर्ने तयारी पनि भइरहेको छ। प्रविधि प्रयोग गर्दा मौलिकतालाई सर्तकता अपनाइएको छ।

त्यस्तै, काण्ठमण्डपको नक्सा तयारी गर्ने क्रममा विज्ञहरुसँग यसको संरचनागत विश्लेषण पनि खोजिएको थियो। त्यसको अध्यन रेजिलियन्ट स्ट्रक्चर्स प्रालीले गरेको थियो। अध्ययन अनुसार काष्ठमण्डपले थेग्न सक्ने भार र पुनर्निर्माण सामग्री पनि छनोट गरिएको छ। काण्ठमण्डपमा प्रयोग हुने इँटा र काठको सम्बन्धमा पनि इन्जिनियरिङ परिक्षण गराइएको छ। पुराना प्रयोग गर्न मिल्ने काठ पनि छुट्याएर राखिएको छ।

सम्पदाविद् तथा प्रध्यापक सुर्दशन तिवारीले काष्ठमण्डपको आयु अजम्बरी हुने गरी पुनर्निर्माण भइरहेको बताए। हरेक सम्पदा र संरचनाको आयु अजम्बरी नै हुने भए पनि हामीकहाँ त्यस्तो नभएको भन्दै उनले काण्ठमण्डपको आयु अजम्बरी हुने किसीमले पुनर्निर्माण गर्न आवश्यक रहेको जानकारी गराए।

‘हाम्रा सम्पदाहरुमा पाँचौं शताब्दीका काठ प्रयोग भइरहेका छन्। यत्तिको महत्व बोकेका काठ अरु देशका ऐतिहासिक सम्पदामा पाइन्न, यस हिसाबमा पनि हामीले हाम्रा संरचना कत्तिको महत्वपूर्ण हुने भनेर बुझन् जरुरी छ,’ उनले भने। उनका अनुसार काष्ठमण्डपको जग निर्माणको क्रममा माटोको मसला बनाएर पूरानै मौलिकता दिन खोजिएको छ।

पुनर्निर्माण थाल्दै गर्दा समितिले नै विज्ञहरुलाई अनुसन्धान जिम्मेवारी दिएको छ। निर्माण सामग्री, संरचनाको शैली, मौलिकता र पुनर्निर्माण पछिको बलियो पक्षलाई ध्यानमा राखेर पुनर्निर्माण कार्य अघि बढिरहेको उनको भनाई छ। काण्ठमण्डप पुनर्निर्माण लक्ष्य तीन वर्षको राखिएको छ।

प्रकाशित: १२ माघ २०७५ ०७:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App