अन्य

‘सहर दिक्कलाग्दो छ’

शिला खनाल, अभिनेत्री/गायिका

तपाईँको विचारमा सहर भनेको के हो ?
सबै कुराको सुविधा भएको ठाउँ हो सहर। सहर मान्छेको रहर हो। आधारभूत आवश्यकता पूरा गर्न सक्ने सुविधायुक्त बस्ती नै सहर हो। सहरमा खानेपानी, शिक्षा, स्वास्थ्य, सुरक्षा, यातायात जस्ता सबैखाले सुविधा हुन्छन्। यहाँ रोजगारीका लागि अवसर पाइन्छन्।

सहरको मन नपर्ने पक्ष के हो ?
हाम्रै हेलचेक्र्याइँले काठमाडौं सहर अव्यवस्थित बनेको छ। अव्यवस्थित यातायात, खाल्डाखुल्डी, धुलोधुवाँ, गुजुल्टिएका तार, फुटपाथ गरिने व्यापार र जताततै टाँसिएका पर्चा तथा पम्लेटले सहर दिक्कलाग्दो बनेको छ। प्रदूषित वातावरणले सहरवासी रोगको सिकार बनेका छन्। यहाँ संस्कार अभावले अनेक खाले अपराध बढेको छ।

तपाईँले कस्तो सहरको परिकल्पना गर्नुभएको छ ?

मेरो परिकल्पनाको सहर सफा, सुन्दर र शान्त होस्। संस्कार र सुविधायुक्त होस्। प्रौढमैत्री सहर होस्। एक आपसमा सहयोगी भाव होस्। बुढ्यौली जीवनलाई सहज बनाउन टोलैपिच्छे ‘मिलन चौतारी’को स्थापना होस्। जहाँ सरकारी सेवाबाट अवकाश प्राप्त बूढाबूढीलाई अब म केही गर्न सक्दिनँ भन्ने हीनताबोध नहोस्।

सहर सुन्दर राख्न के गर्नुपर्ला ?
फोहोरमैला व्यवस्थापनमा सबै सचेत हुनुपर्छ। प्रत्येक व्यक्तिले मैले घर सफा गर्नुपर्छ। घर सफा भए टोल, टोल सफा भए नगर सफा हुन्छ भन्ने सोच लिनुपर्छ। नगरले जथाभावी फोहोरमैला गर्नेलाई कडा सजाय दिनुपर्छ। भौतिकवादी मात्रै नभई आध्यात्मिकतालाई सँगै लिएर हिँड्दा शान्ति मिल्छ। भौतिकवादीहरू खुसी नै नभई बित्छ। आध्यात्मिकले जीवन इच्छा पूरा गर्ने दौडमा मात्रै होइन सेवक पनि हो भनेर त्यसैले ‘बाँच र बचाऔं’ भन्ने कुरामा अभिप्रेरित गर्छ। त्यसैले सहर सुन्दर बनाउन पाठ्यक्रममा नै आध्यात्मिक र नैतिक शिक्षा समावेश गर्नु आवश्यक देखिन्छ।

विदेश र नेपालका सहरमा के भिन्नता छ ?
बाहिरी मुलुकका सहर विकसित र व्यवस्थित छन्। त्यहाँ आफ्नो कला, संस्कृति र प्राकृतिक सम्पदालाई जगेर्ना गरेको देख्न सकिन्छ। ठाउँठाउँमा बोटबिरुवा लगाएर हराभरा पारिएको हुन्छ। यहाँजस्तो ‘आफूचिन्ते’ प्रवृत्ति हुँदैन। विदेशमा पहिले उपचार हुन्छ र त्यसपछि मात्रै अरू कुरा हुन्छ। तर, यहाँ पहिले पैसा बुझाएपछि मात्रै उपचार सुरु हुन्छ। जसले गर्दा कतिको अकालमै ज्यान गएको छ। विदेशमा सानोसानो कुराको रेकर्ड राखिएको हुन्छ।

तपाईँ आउँदा काठमाडौं कस्तो थियो ?
म पढाइको सिलसिलामा प्राज्ञ कविता दिदीलाई पछ्याउँदै ३२÷३३ सालतिर काठमाडौं आएँ। त्यतिबेला धेरै खुला थियो। अहिले हेर्दाहेर्दै जताततै कंक्रिटे घरहरू ठडिएका छन्। मोटरसाइकल छिर्ने ठाउँ पनि छैन। पहिलेको तुलनामा काठमाडौंमा गर्मी बढेको छ। त्यतिबेला हामी सुनधारामा नुहाइधुवाइ गर्न जान्थ्यौं। अहिले त्यतिबेलाका उपत्यकाका धाराहरूको नामनिसाना छैन। त्यतिबेला काठमाडौं १६ वर्षीय तरुनीजस्तै थियो भने अहिले रूप–रङ उडेको वृद्घाजस्तै भएको छ।

काठमाडौं कसरी कुरूप बन्यो त ?
बिनायोजना घर बनाउन दिनु, नदी तथा सडक अतिक्रमण गरी बनाउनु, दीर्घकालीन योजना नबनाइन सडक बनाइनु लगात कारढाले सहर कुरूप बन्दै गएको छ । काठमाडौंवासी प्रत्येकले आफ्नो वरपर व्यवस्थित गर्दै जाने हो भने काठमाडौंकोे मुहार उज्यालिने थियो।

उपत्यकाको मनपर्ने पक्ष ?
काठमाडौं अनेक कलाकौशल, संस्कृति र सम्पदायुक्त सहर हो। तर, हाम्रै हेलचेक््रयाइँले काठमाडौंको सौन्दर्य हराउँदै गएको छ। जिम्मेवार निकाय आफ्नो दुनो सोझ्याउनमै व्यस्त छन्। यहाँ न हिमालमा जस्तो जाडो छ न मधेसमा जस्तो गर्मी हुन्छ। पाइलैपिच्छे मठमन्दिर भेटिन्छन्। विश्व सम्पदा सूचीमा परेको पशुपति मन्दिर यहीँँ छ। धेरैले सहरमा खुसी खोज्दाखोज्दै त्यत्तिकै जीवन बिताएका छन्। हाम्रो हालत मृगले आफ्नो नाभीको कस्तुरी थाहा नपाएजस्तो भएको छ।

चाहेर पनि घुम्न नपाएको सहर ?
मेरा दिदीभिनाजुले ‘धेरै ठाउँमा घुमिस्, एकचोटी सिंगापुर पनि घुम्नू’ भन्नुभएको छ। कस्तो होला सिंगापुर सहर ? एकचोटि त्यहाँ जाने रहर छ।

तपाईँलाई मनपर्ने ठाउँ ?
नेपालका धेरै ठाउँ पुगेकी छु। इटहरी मेरो घरै हो। मलाई मनपर्ने सहरमा इटहरी, धरान, पोखरा विराटनगर आदि हुन्। तीमध्ये मलाई पोखरा धेरैैै मनपर्छ। पोखरा अन्य ठाउँभन्दा व्यवस्थित, सुन्दर र शान्त छ। नेपालकै सुन्दर नगरी हो पोखरा। यहाँको हावापानी धेरै राम्रो छ। त्यहाँबाट हिमाल हाँसेको मनोरम दृश्य देखिन्छ। गुप्तेश्वर मन्दिर, भद्रकाली मन्दिर, बौद्घ स्तुपा, विन्ध्यवासिनी मन्दिर, फेवाताल, बेगनास ताल, रूपाताल, चमेरे गुम्बा, महेन्द्र गुफा, सारङकोटको सनराइज, प्यानोरामिक भ्यू, पाताले छाँगो र माउन्टेन म्यूजियमले आकर्षणको केन्द्र बनेको छ पोखरा। पोखराको आतिथ्य सद्भाव र मीठो बोलीवचन सम्झिँदा सधैं त्यहाँ जाऊँजाऊँ लागिरहन्छ। 

तपाईं कुन देशका सहर पुग्नुभएको छ ?
मैले भारतको दार्जिलिङ, दिल्ली, पटना, मिरिक, वृन्द्रावन, सिक्किम र अमेरिकाको न्युयोर्क घुमेकी छु। ती ठाउँहरूको जीवनशैली, रहनसहन, विकास निर्माण र प्राकृतिक सम्पदालाई र बुझ्ने मौका पाएकी छु।
                                                                                                प्रस्तुति : श्रीराम राई

प्रकाशित: ४ माघ २०७५ ०४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App