अन्य

फेरिँदैछ सहरको ‘स्वाद’

वीरगञ्जको होटेल हिमाल भान्छा घरमा पाइने थकाली थाली ।

वीरगञ्ज- मध्य तराईस्थित व्यस्त, ऐतिहासिक र व्यापारिक सहर सीमावर्ती वीरगञ्जमा दुई दशकअगाडि आएको मान्छेले अहिले आएर उति बेला प्रचलनमा रहेका खानेकुरा र ती खानेकुरा पाउने पसलहरु खोज्ने हो भने भेटाउन समस्या पर्ला । सहरले रुचाउने स्वाद फेरिएको छ । सहरको ‘फुड कल्चर’ मा धेरै परिवर्तन भएको छ । 

वीरगञ्जको बजारको केन्द्र थियो माईस्थान । कसरी भने त्यहाँ थिए खानेकुराका थरी–थरीका पसलहरु । मन्दिरको अगाडितिर दहीचिउराको पसल र भुजापकौडीका पसल थिए । अनि छेउतिर र पछाडितिर थिए सेकुवा र भट्टी पसल । खानेकुराका लागि चिनिएका ती पुराना पसलहरु अहिले लोप भए । माईस्थान एरियामा सेकुवा, विभिन्न थरीका मम, तास, चिकेन रोस्ट, प्राउन, बगेरी, माछा, बारा, चाउमिनजस्ता नयाँ शैलीका खाना पाउने पसलहरुको बाहुल्यता छ । यससँगै सहरका अरु भागतिर विभिन्नखाले परिकार पाइने होटेल, रेस्टुरेन्ट र क्याफेहरु खुलेका छन् । बस्ती बाक्लिएको छ, जनसंख्या बढेको छ र बाहिरी मान्छेहरु वीरगन्जमा बिभिन्न प्रयोजनले आउने जाने क्रम बढेको छ । यहाँका मान्छेहरुको देश विदेशमा आवागमन पनि बढेको छ । सहर फराकिलो भएको छ । र, फराकिलो भएको स्वादको दायरा । 

सहरको स्वाद साच्चिकै फेरिएको अग्रज पुस्ताका रैथानेहरु बताउँछन् । सहरमा अहिले खुबै चलेका दर्जनाैं होटेल रेस्टुरेन्ट स्वादका पारखीहरुको भीड भएर मात्र स्वाद फेरिएको भनिएको होइन ।  घरभित्रको थाली अनि कचौरामा र भोजभतेरमा पस्किने परिकारमा पनि आमूल परिवर्तन आएको उनीहरुको भनाइ छ । यहाँका होटेलहरु भिस्वा, मकालु, पुजन, कैलास, सुरज र क्लासिकलगायतका रेस्टुरेन्ट मसहुर छन् । मांसाहारी खानेकुराका लागि छप्कैया, पानीट्यांकी, गीतामन्दिर रोड, मुर्लीचोक र आलौं चोक मुख्यथलो हुन् । विभिन्न खाले खाना र शैलीका लागि टाउन हल रेस्टुरेन्ट, होटेल हिमाल भान्साघर, होटेल अन्नपूर्ण, मैजिक बेल, भाटिका इन्टरनेसनल, सगुन, डकआउट, थकाली भान्छा घर, एस लन्ज, ब्लिस क्याफेलगायतले स्वादका पारखी ग्राहकलाई तानेका छन् । ‘इकोनोमिक्लास’मा स्टार होटेल पराठा हाउस, घर–परिवार र नगिना होटेल लगायत चलेका छन् । 

अधिक संख्यामा होटेल, रेस्टुरेन्ट एकपछि अर्को गरी पाँच वर्षभित्र खुलेका हुन् । गतवर्षदेखि भने खानेकुराको सवालमा वीरगञ्ज नयाँयुगमा प्रवेश गर्न सुरु गरेको होटेल व्यवसायीहरुको अनुभूति छ । ‘एक–डेढ वर्ष भयो होला यो माहोल बनेको । पहिले त बुझाइ के थियो भने ठूला खालका र अलिक आधुनिक किसिमका खानाका होटेल रेस्टुरेन्ट यहाँ चल्दैन भनेर,’ होटेल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले भने, ‘अवस्था फेरिएर आयो अहिले, युवाहरुको आकर्षण रेस्टुरेन्टतिर ह्वात्तै बढेको छ । व्यवसायी र विभिन्न पेशाका मानिसहरु शुक्रबार शनिबारतिर बाहिरै खाना खाने चलन बढ्न थालेको छ ।’ देशविदेश घुमेकाहरु र बाहिरबाट वीरगञ्ज आएकाहरुले गर्दा पनि यो बदलाव देखिएको उनको बुझाइ छ । 

यहाँका खानाका सौकिनग्राहकले माग गर्न सक्ने सबैखाले खानेकुरा अब वीरगञ्जमा उपलब्ध भएको पन्तको दाबी छ । उनले दाबी गरेजस्तै वीरगञ्जमा झापेलीपक्कु, नेवारी छोयला भुटन, रौतहटको कटियाको मासु, कलैयाको सेकुवा, थकालीखाना अनि नास्ता र नेपालगञ्जको जस्तो बिरयानी वीरगञ्जमा मज्जाले पाइन्छ । चिनियाँ खाना भनिने परिकार मम, थुक्पा, चाउमिनसँगै इण्डियन स्वादको मटन र चिकेनका दोप्याजा, करी, तन्दुरी फ्राइड आइटमहरु गजबको पाइन्छ यहाँ । वीरगञ्ज बाइपास सडकमा बसपार्क नजिक रहेको हिमाल भान्छा घरले थकाली खाना ५ वर्षअगाडि खुवाउन सुरु गरेपछि धेरैले भनेका थिए चल्दैन कि ! कारण पनि थियो । वीरगञ्जमा चलनमा थियो रहर–मसुरोको दाल, भात अनि आलुमिसिएको वा आलु मात्रको मसलेदार तरकारी । शाकाहारीले दही र मांसाहारीले मसलेदार बनाइएको मासु खानासँग लिन सक्थे । यस्तोमा थकाली सेट खानचल्नेमा सन्देह गर्न ठाउँ थियो । तर आँकलनफेलखायो । ‘हामीकहाँ सबभन्दा बढी चल्ने भनेकै थकाली खाना हो,’ होटेलका सञ्चालकमध्ये एक जना कमल बाबु चौधरीले भने, ‘यहाँका स्थानीयले नै यो स्वादको खाना रुचाएका छन्, ‘अप्सन’ दिनसक्नु पर्छ मानिसलाई मन पर्ने स्वाद फेरिन्छ भन्ने देखियो ।’ यस होटेलमा पाइने खसीको मासुको परिकार पक्कु धेरै मिठो हुने र खाजा सेट पनि ग्राहकले रुचाएको उनले बताए । 

सगुन र थकाली भान्छा घरको थकाली सेट पनि खुबै रुचाइएको छ । जिल्ला अदालत अगाडिको नगिना होटेलमा पाइने नेपाली खाना सेट पनि लोकप्रिय छ । युवा र व्यवसायीहरुका लागि ‘गेमिङ्ग’थिममा बनाइएको रेस्टुरेन्ट डगआउटको बिरयानी, पनिर सते र मसरुम डुप्लेक्स निकै चलेको छ । विभिन्नखाले इनहाउन खेलहरु र मधुर संगीतको युवापूर्ण वातावरणमा डकआउटले पस्किने परिकारको स्वाद धेरैको मुखलाई राम्रो लागेको छ । ‘हामीले यहाँ इण्डियन, कन्टिनेन्टल, चाइनिज र थाइखानाहरुका सेरिज राखेका छौं,’ डगआउटका व्यवस्थापक रोहित बर्णवालले भने, ‘पिजा हाम्रो सर्वाधिक लोकप्रिय छ ।’ यसैगरी यहाँका हरेक रेस्टुरेन्ट र होटेलहरुले आफ्नो विशेष पहिचान बनाउन चाहेका छन् । वीरगञ्जमा आउँदो नयाँ वर्ष २०१९ मा उद्घाटन गर्ने तयारीमा रहेको चार तारे श्रेणीको होटेल दियालोले रेस्टुरेन्टलाई विशेष महŒव दिएको छ । होटेलका लगानीकर्ता अनिल रुँगटाले स्वागत सत्कार र बाससँग उच्च स्तरको खाना पस्किनेमा आफूहरुले विशेष जोड दिएको बताए । 

सहरको खानपानमा आएको व्यापक परिवर्तनका विभिन्न कारणहरु रहेको वीरगञ्जका अग्रज पत्रकार जगदीश शर्मा बताउँछन् । ‘मानिसहरुको आर्थिक स्तरमा भएको परिवर्तन एउटा प्रमुख कारण हो अहिले देखिएको यहाँको खानपानको परिवर्तन,’ शर्माले भने, ‘मानिसहरुको रुचि फेरिँदैछ, यहाँका मानिसहरु बाहिर जाँदा वा बाहिरका मानिस यहाँ आउँदा खानाको संस्कृतिमा परिवर्तन आउँछ ।’ खानाको संस्कृतिमाथि मानिसहरुको जीवनशैलीको प्रभाव सबभन्दा बढी परेको उनी बताउँछन् । ‘बिहानको खाजा थियो कचौडी जिलेबि, दिउँसोको खाना दाल भात र साँझको नास्ता भुजापकौडी । राति फेरि भात वा रोटी,’ उनले भने, ‘अब यो फेरिएको छ, शारीरिक श्रम घटेपछि मधुमेह र उच्च रक्तचापको समस्याले धेरैलाई छोएको छ, यसले गर्दा जिलेबि, कचौडी र पकौडी जस्ता कुरा मानिसहरुले बार्न थालेका छन् ।’ 

घरमा पनि खाजामा पुरी, हलुवा वा रोटी बनाउने चलन हराएर चाउचाउ, पाउरोटी र बिस्कुट जस्ता तयारी खाने कुराले ठाउँ लिएको उनी बताउँछन् । घरमा दही, दूध र घ्यूजस्ता कुरा केटाकेटीले धेरै मन पराउने कुरा अब रहेन । पुरुषसँगै घरका महिला पनि कामकाजी भएको परिवारमा रातिको खाना बाहिर नै खाने चलन बढ्दो रहेको उनले ठम्याएका छन् । राम्रो खाना खाने भनेर मानिसहरु परम्परागत होटेलभन्दा व्यवस्थित रेस्टुरेन्टतिर ढल्केको उनी बताउँछन् । महानगरपालिका भएको वीरगञ्जमा महानगरीय परिवेशको रुपमा ‘रेस्टुरेन्ट कल्चर’ बढी रहेकोले यसले गर्दा खानाका परिकार र प्रकारमा निकै परिवर्तन देखिएको उनी बताउँछन् । 

‘करिब ५५–६० वर्ष अगाडिदेखिको वीरगञ्ज याद छ मलाई । यहीँ जन्मे हुर्केको हुँ,’ वीरगञ्ज कुम्हाल टोलका रामानन्द प्रसादले भने, ‘खानामा निकै परिवर्तन आएको छ । घरमा खाने खाना, बाहिर होटेलहरुमा खाने खाना र बिहेवारीमा खुवाइने भोज सबै फेरिएको छ ।’ उनका अनुसार वीरगञ्जमा रहेका मिठाई पसल नै खाना र खाजाका पसल हुन्थँे । लौङ्गलती, गाँजा, जिलेबि, पेडा र लड्डु मुख्य मिठाई हुन्थे । यसभन्दा पुरानो दही चिउरा र सतुवाका पसल चलनमा रहे ।  ‘बाहिरबाट वीरगञ्ज आउनेले माईस्थानको भुजा–पकौडी खाएनन् भने आगमन सार्थक हुँदैनथ्यो,’ प्रसादले भने, ‘मौलानको पतामा खाइन्थ्यो भुजा, मसलुवावा घुघुनी हालेर । प्याजी, आलुचप अनि केरा र परबलको पकौडी हुन्थ्यो ।’ उनका अनुसार २०१९ सालतिर अमृत केबिन भन्ने नामी मिठाई पसल खुल्यो, त्यसको एक दुई वर्षपछि हिमाञ्चल केबिन सुरु भयो जुन अहिले पनि सञ्चालनमा छ । बास बस्ने होटेल थियो हिमालय होटेल जहाँ पहाडबाट मुग्लान जाने वा मुग्लानबाट पहाड फर्किनेहरु बास बस्थे । र, माईस्थानका होटेलहरुमा खाना खाजा खान्थे । ‘यसरी आफ्नै खालको थियो वीरगञ्जको खानपान,’ प्रसादले भने, ‘म देख्दैछु, अब भने वीरगञ्जले कुनै पनि ठाउँका पाहुनालाई चाहिएअनुसार खाना पस्कन सक्छ ।’

भोजभतेरमा खुवाइने खानामा पनि निकै परिवर्तन आएको छ । ‘बिहेबारीमा मधेसको भोज नामी हुन्थ्यो । बासमती धान मानिसहरुले भोजकै लागि जोगाएर राख्थे, दाल, भात र पाँच थरीको तरकारी हुन्थ्यो, फर्सीको तरकारी अनि दही भोजमा अनिवार्य थियो, कसै कसैले माछा खुवाउँथे र मासु बर्जित थियो,’ उनले सुनाए, ‘भोज अब प्रदर्शनको विषय भएको छ, पंगतमा बसेर खाने चलन हराएको छ, आफँै झिकेर खाने बुफे लागू भएको छ । खानामा खसी र कुखुराको मासु सामेल भएको छ ।’ उनका अनुसार पुराना जमानामा मदिराको व्यापार खासै हुँदैन थियो, खानेले घरमै बनाउँथे । कोही कोहीले घरमा बनाएको रक्सी बेच्थे पनि । अब रक्सीको व्यवसायीकरणसँगै त्यससँग खाइने खाने कुराको पनि बिक्री बढेको उनी बताउँछन् । 

वीरगञ्ज खानाका लागि अब राम्रो गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । यहाँको खानामा नयाँपन र आधुनिकता आउन लागेको छ । यसले सहरका मानिसहरुको आर्थिक स्तर, जीवनस्तर र जीवनशैलीको परिचय दिने गरेको पत्रकार शर्मा बताउँछन् । अब व्यापारिक सहर मात्र नभएर खानाको धेरै ‘भेराइटी’ पाइने र स्वादको पारखीको सहरको रुपमा पहिचान बनाउनेतिर वीरगञ्ज लम्केको छ । 

प्रकाशित: २ माघ २०७५ ०६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App