अन्य

‘न्यायिक समितिको कामलाई अवसरका रूपमा लिएकी छु’

गीता सत्याल, उपमेयर–ललितपुर महानगरपालिका

निवार्चित भएको डेढ वर्ष बित्यो, यस अवधिमा जनताले महसुस गर्ने खालका के–के काम गर्नुभयो ?
निर्वाचित भएयता हामीले धेरै काम गरेका छौं। केही काम जनताले प्रत्यक्षरूपमा देख्ने खालका छन् भने केही नदेखिने किसिमका पनि छन्। ती काम सबै महानरगवासीको लागि भएका हुन्। सबैभन्दा पहिले त हामी महानगरभित्रको सुशासनमा केन्द्रित भयौं। जनप्रतिनिधि आउनुपहिले महानगरपालिकामा सेवाग्राहीले धेरै समस्या झेलेका थिए। हामीलाई गुनासो आउने थालेपछि हामीले त्यसमा व्यापक सुधार ल्यायौं। अहिले प्रशासनिक काममा जनताले सहजता महसुस गर्ने गरी सुधार भएको छ। अन्य पूर्वाधार विकासका काम पनि गरेका छौं। महानरगलाई हरियाली र सफा पार्न वृक्षरोपण गरिएको छ। कुपण्डोल–पुल्चोक, सातदोबाटो–हातीवान, सानेपा–पुल्चोक क्षेत्रमा वृक्षरोपण भएको छ।  

प्रशासनिक काममा व्यापक सुधार गरेको भन्नुभयो, यसअन्र्तगत के–के काम गर्नुभयो ?
कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले कोच्चिएर र अनेक झन्झट सहँदै सेवा लिँदै आएका थिए। त्यसलाई हामीले सुधार गरेका छौं। सकेसम्म सेवाग्राहीलाई कुर्न नपर्ने गरी सहजरूपमा सेवा प्रवाह गरेका छौं। कर्मचारीलाई दक्षता हेरेर जिम्मेवारी सुम्पिएका छौं। कर्मचारीले सेवाग्राहीलाई दुःख दिएको, अनियमितता गरेको खबर आए कारवाही समेत गर्दै आइरहेका छौं। हामी जनताको काम गर्न र उनीहरूको सहजताको लागि निर्वाचित भएका हौं, त्यसैले सेवाग्राहीको समस्यालाई केन्द्रमा राखेर काम गर्छौं।

जनताको काम गर्दैगर्दा दुःख–सुख र आरोह–अवरोह आउँछन् नै। त्यसलाई समाधान गर्दै अगाडि बढेका छौं। हरेक पक्षलाई सन्तुलनमा राखेर काम गर्दा नयाँ अनुभवको आभास र उत्साह मिलेको महसुस भइरहेको छ।

उपमेयर भएर काम गरिरहँदा कस्तो अनुभूति भइरहेको छ ?
निर्वाचित भएर जनताको काम गर्न पाउँदा निकै खुशी लागेको छ। यो एउटा चुनौती पनि हो र आनन्द मिल्ने ठाउँ पनि हो। तर, पनि हामीले चिताए जसरी सक्दो काम गर्न सकिरहेका छैनौं। कतिपय काम गर्दागर्दै र खटिँदाखटिदै पनि गर्न असफल भएका होला्न् त्यसलाई हामीले स्वीकार गर्नैपर्छ। अर्को पक्ष, केही अति राम्रा काम पनि भएका छन्। जनताले त्यसलाई पनि हेरिदिनुपर्छ। हामी निर्वाचित भएर कार्यभार सम्हालेपछि कार्यालयमा कुनै नकारात्मक काम हुन दिएका छैनौं। जनताको काम गर्दैगर्दा दुःख–सुख र आरोह– अवरोह आउँछन् नै। त्यसलाई समाधान गर्दै अगाडि बढ्छौं। हरेक पक्षलाई सन्तुलनमा राखेर काम गर्दा नयाँ अनुभवको आभास र उत्साह मिलेको महसुस भइरहेको छ।

जनप्रतिनिधि आएपछि महानगरले के पायो ?
महानगर व्यवस्थित भएको छ। नगरबाट प्रवाह गर्ने सेवाहरू व्यवस्थित र चुस्त भएका छन्। केही कामहरू अझै सुधारात्मक अवस्थामा पनि छन्। महानगरभित्रका महाशाखालाई स्तरीय र सेवामुखी बनाएका छौं। यद्यपि महानगरले महसुस गर्न सक्नेगरी हामीले ठुल्ठूलो विकास निर्माणको काम गर्न सकिरहेका छैनौं। ठूला योजनाहरू प्रक्रियामै छन्। अहिले महानगरका वासिन्दाले महसुस गर्नेगरी काम भइरहेको छ। हालैमात्र पुल्चोकमा ट्राफिक लाइट जडान भएको छ। महानगर वरपर चिटिक्क पार्ने, सम्पदा पुनर्निर्माणलाई तीव्रता दिने लगायतका काम पनि भइरहेका छन्। पाटन क्षेत्रमा भूकम्पबाट क्षति भएका ८० प्रतिशत सम्पदा पुनर्निर्माण सकिएको छ। केही दिनअघि मात्रै पाटन क्षेत्र विश्वको ‘३५औं हस्तकला नगरी’ बनेको छ। यति हुँदाहुँदै पनि कतिपय कुरामा हाम्रो कानुन नै तगारो बन्ने गरेको छ। सार्वजनिक खरिद ऐनका कारण हामीलाई अहिले काम गर्न मुख्य अवरोध पुगेको छ। राम्रो काम गर्छु भनेर अघि बढ्दा कतिपय ठाउँमा कानुन नै बाधा भएको महसुस भइरहेको छ। यसबारे केन्द्रीय सरकारले नै सोच्नुपर्छ।

महानगरले बजेट विनियोजन गर्दा वडाहरूलाई समान किसिमको बजेट दिएन भन्ने गुनासो केही वडाध्यक्षबाट आउने गरेको छ, धेरै–थोरै बजेट छुट्याउनुको कारण के थियो ?
हामीले बजेट विनियोजन गर्दा कुनै प्रकारको विभेद गरेका छैनौं। वडाको अवस्था र विकास निर्माणलाई हेरेर बजेट छुट्याइदिएका छौं। करोडभन्दा कम बजेट कुनै वडालाई परेको छैन। आवश्यकता र समस्या हेरेर एकदेखि डेढ करोडसम्म बजेट विनियोजन गरेका छौं। कुनै खास काम र विकासका योजना सञ्चालन गर्न बजेट पुगेन भने महानगरले थप बजेट दिन सक्छ।

जनप्रतिनिधि आउनुअघिसम्म ललितपुर महानगरको फोहर व्यवस्थापन राम्रै थियो, तपाईँहरू आएपछि फोहर नउठ्ने समस्या देखिन थाल्यो, यो विषयमा महानगरले के सोचेको छ ?
यहाँको मुख्य समस्या भनेको फोहर व्यवस्थापन नै हो। यसले गर्दा हामीले अरु जति धेरै काम गरे पनि आलोचना खेपिरहन्छौं। त्यसले जनताले प्रत्यक्षरूपमा देख्ने फोहर व्यवस्थापनको काममा पनि हामीले चासो दिएका छौं। यो विषयमा मेयरसा’प र मैले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कुरा पनि राखिसकेका छौं। बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट छिटो तयार पार्न ध्यानाकर्षण गराइरहेका छौं। ललितपुर क्षेत्रको फोहर व्यवस्थापनको लागि महिला तथा आमा समूह जुटाउँदै छौं र ट्रक किन्ने काम पनि भइसकेको छ।

चुनावमा उठाएका मुख्य–मुख्य अजेन्डामाथि कसरी काम गर्दै हुनुहुन्छ ?
हामीले उठाएका अजेन्डा पाँच वर्षमा जसरी पनि पूरा हुन्छन्। यसमा हामी विस्वस्त पार्न चाहन्छौं। अर्को कुरा, हामी निर्वाचित भएपछि आफ्ना अजेन्डामा सीमित रहेका छैनौं, जनताका समस्या हेरेर काम गरेका छौं। वृद्धवृद्धालाई एकमुष्ठ भत्ता दिने काम यसै वर्षबाट थालेका छौं। फ्लाई ओभर बनाउने, स्मार्ट लाइट जडान गर्ने र लगनखेलदेखि पाटन दरबार हुँदै लामो ह्युमपाइप जडानको काम पनि अघि बढाउँछौं। यसले सम्पदा क्षेत्रलाई सफा पार्नेछ। युनेस्कोसँग सहकार्य पनि भइरहेको छ यो विषयमा। वातावरण सुधारमै क्रममा हामीले बुङमति गोदावरीसम्म साझा हरियो बस सञ्चालन गर्न सफल भएका छौं। यसबाहेक अन्य थुप्रै योजना पनि हामीसँग छन्।

तपाईँ न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ, सेवाग्राहीबाट कस्ता–कस्ता समस्या आउने गरेका छन् ?
न्यायिक समितिमा बसेर काम गर्न सजिलो छैन, एक हिसाबले चुनौती नै छ। तर, मैले त्यसलाई अवसरको रूपमा लिएकी छु।

सम्बन्ध विच्छेद, घर झगडा, सम्पत्ति विवाद लगायतका मुद्दाहरू आउने गरेका छन्। हामीले दिनसक्ने न्याय दिएका छौं। कतिपय इजलासमा सुरक्षाकर्मी समेत राख्नुपर्नै अवस्था आउने गरेको छ। हाम्रो अधिकारभित्र नपर्ने मुद्दाहरू पनि आउँछन्। ती मुद्दाहरू हामीले जिल्ला अदालतमा पठाउने गरेका छौं।

महानगरको विकास निर्माण र बजार अनुगमनको जिम्मेवारी पनि उपमेयरलाई दिइएको छ, त्यसमा तपाईँले कसरी काम गर्नुभएको छ ?
महानगरको विकास निर्माण र बजार अनुगमनलाई केन्द्रमा राखेका छौं। विकास निर्माणको गुणस्तरीयता नापजाँच गर्न म आफै काम भइरहेको ठाउँमा पुग्ने गरेकी छु। विकासका हरेक काममा प्रत्यक्ष सहभागिता जनाउँदै आएकी छु। हप्तामा एक दिन महानगरका योजना र विकासका काम सञ्चालन भइरहेको ठाउँमा अनुगमन जान्छौं। त्यस्तै, बजार अनुगमनको सन्दर्भमा भने अनुगमन कमिटी बनाउन बाँकी छ। केही समयपछि कमिटी बनाएर अघि बढ्छौं।

महानगरको ६० लाख बजेट खर्चेर उपमेयरले गाडी किनेको भन्ने आरोप छ, गाडीप्रति यति धेरै मोह किन ?
मैले अहिले चढ्ने गरेको गाडी महानगरको पैसाले किनेको होइन, युरापियन युनिएनले दिएको हो। पुरानो गाडी बिग्रिएकोले अहिले यसैमा चढेर हिँड्छु।

स्थानीय तहमा कर्मचारी समायोजनको विषय अलि विवादित बन्ने गरेको छ, ललितपुर महानगरमा कस्तो छ ?
कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध नङ र मासुको जस्तै हो। दुवै पक्ष समन्वय गरेर मात्रै अघि बढ्न सकिन्छ। हामीकहाँ सबै पक्ष मिलेको छ। तर, कर्मचारी समायोजनको विषयमा केन्द्रीय सरकारले नै चासो दिनुपर्छ जस्तो लाग्छ। कर्मचारी थपिएका छन् र उनीहरूलाई जिम्मेवारी बाँडफाँड गर्न कठिन भएको छ। जनप्रतिनिधि आएपछि पनि महानगरमा केन्द्रीय सरकारले कर्मचारी पठायो। तर, जिम्मेवारी र काम तोकिदिएन। कर्मचारी कहाँ राख्ने अहिले समस्या भएको छ। महानगरमा अहिले करिब चार सय ६० कर्मचारी छन्।

केही स्थानीय तहमा मेयर र उपमेयरबीच विवाद र चर्काचर्की समेत हुने गरेको सुनिन्छ, महानगरमा कस्तो छ ?
हामीकहाँ कुनै किसिमको विवाद छैन। मिलेर अघि बढेका छौं। विकास निर्माणका काममा कर्मचारी र जनप्रतिनिधिबीच राम्रो समन्वय छ।

पाँच वर्षीय कार्यकालमा महानगरलाई कस्तो बनाउने सपना छ ?
यो अवधिमा महानगरलाई धेरै विकास गछौं। जनताले साच्चै फेरियो है महानगर भन्ने बनाउँछौं। हामीले चुनावताका देखाएका सबै बाचाहरू पूरा गर्छौं। अहिलेसम्म भएका कमी कमजोरीलाई मनन् गर्दै पाँच वर्षको अवधिमा उपलब्धिमूलक काम गर्छौं। धुलोरहित, प्रदूषणमुक्त, हरियाली र व्यवस्थित महानगर बनाउने सपना छ मेरो।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २४ मंसिर २०७५ ०५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App