अन्य

‘मेयरसा’ब कार्यालय अगाडि ढल फुटेको देख्नुभएन?’

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले शनिबार बिहान रत्नपार्कमा कुचो लगाएर ‘विशेष सरसफाइ अभियान’ सुरुवात गरे । उनी अभियानमा हौसला थप्न आएका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहितले सरसफाइको कार्यक्रम गरे । तर, काठमाडौं महानगरपालिकाको बागदरबार कार्यालयदेखि उत्तरतर्फ डेढ सय मिटर अघि हिँडेपछि पुगिन्छ– सुन्धाराको नेपाल टेलिकम कार्यालयको कार्यालय ।

उक्त कार्यालय अगाडि ढल फुटेको वर्षाै भइसक्यो । तर, यसलाई न महानगरपालिकाले देखेको छ न त टेलिकमले नै । जसका कारण सडक यात्रु दुर्गन्ध सहन बाध्य छन् ।

‘मेयरसा’बले मन्त्री नै ल्याएर सरसफाइ अभियानको शुभारम्भ गर्नुभ¥यो । तर, आफ्नै कार्यालय छेउमै ढल फुटेको कहिल्यै देख्नुभएन,’ सुन्धाराका राकेश श्रेष्ठले भने, ‘कालो सिसा भएको गाडी चढेर नदेखेको हो कि ?’ काठमाडौं महानगरपालिकाको कार्यालय बागदरबारदेखि  ३० मिटरको दुरीमा पर्छ– काठमाडौं उपत्यका खानेपानी लिमिटेडको कार्यालय (केयुकेएल) । त्यहाँबाट ढल चुहिएको वर्षाै भइसक्यो । तर, न महानगरपालिकाले मर्मत ग¥यो न त केयुकेएलले नै । जसले गर्दा सो बाटो भएर ओहोरदोहोर गर्ने पैदलयात्रुले सास्ती भोगिरहेका छन् । काठमाडौं महानगरपालिकाका वडा नं ११ का वडाध्यक्ष हीरालाल तण्डुकारले सिसिटी मलसँगै रहेको पेट्रोल पम्पदेखि त्रिपुरेश्वर चोकमा ढल सडकभरि छताछुल्ल हुँदासमेत केयुकेएलले बेवास्ता गरिरहेको बताउँछन् । ‘एकातर्फ ढल फुटेर चुहावट भइरहेको छ । अर्काेतर्फ पर्खाल भत्किएर धराप भएको छ । तर, सम्बन्धित निकायले ध्यानै दिएनन्,’ उनले भने, ‘वडा कार्यालयले फेरि केयुकेएललाई पत्र काटेर नै जीर्ण पर्खाल मर्मतसम्भार गर्न निर्देशन दिने तयारी गरेका छौं ।’
त्यति मात्रै होइन, काठमाडौं मल, न्युरोड गेट, वीर अस्पताल, जमल लगायतका स्थानमा ढल फुटेर चुहिएको वर्षाैं भइसक्यो । तर, महानगरपालिकाले यसप्रति बेवास्ता गरिरहेको छ ।

‘महिनौदेखि अस्पताल वरपर ढल फुटेर सडकभरि छताछुल्ल भइरहेको छ, जसका कारणले सडकको फुटपाथमा समेत हिँड्न समस्या भइरहेको छ,’ महाबौद्धका मोहन श्रेष्ठले भने, ‘वीर अस्पतालबाट महानगरको कार्यालय पाँच मिनेटको दूरी छ, ढल व्यवस्थापन गर्ने चासोचाहीँ दिँदैैन ।’

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले उपत्यकामा ढल फुटेको विषय सम्बन्धित कर्मचारीलाई खटाएर मर्मतसम्भार गर्न लगाउने बताए । ‘हामीले उपत्यका ‘विशेष सरसफाइ अभियान’ सुरुवात गरेका छौं,’ उनले भने, ‘सम्बन्धित निकायलाई तत्कालै खटाएर अध्ययन गर्न लगाएर ढल मर्मतसम्भार गर्न लगाउनेछु ।’

उनले केयुकेएल कार्यालय अगाडि फुटेको ढल मर्मतसम्भार गर्न बारम्बार अनुरोध गरे पनि आलटाल गरेको बताए।

प्रकाशित: २४ मंसिर २०७५ ०४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App