अन्य

‘सहरमा लुकेको सम्भावना खोजी भएन’

जीवा लामिछाने, व्यवसायी

तपाईँको बुझाईमा सहर भनेको के हो ?
मानवीय आवश्यता परिपूर्ति गर्न सक्ने सुविधासम्पन्न व्यवस्थित बस्तीलाई नै सहर मान्न सकिन्छ। मसँग विदेशी मुलुकका सुविधासम्पन्न सहर घुमेको अनुभव छ। त्यसकारण पनि मैले सहरलाई अलि फरक ढंगले बुझेको छु। शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा, उद्योगलगायत यावत पक्षलाई व्यवस्थित पारेर बनाइएको भूगोल सहर हो। सहरको जनघनत्व स्वभाविक रूपमै बढी हुन्छ। तर, त्यही अनुसारको पूर्वतयारी पनि अपनाइएको हुन्छ।

घुमेकामध्ये मनपर्ने सहर ?
विश्वका धेरै सहर घुमेँ। तर, सिंगापुर अलि मनप-यो। त्यो एउटा सानो देश हो। पूरै देश नै सहर मानिन्छ। जति भूभाग छ त्यो चिरिच्याट्ट छ। एयरपोर्टबाट झर्नेबित्तिकै आनन्द महसुस हुन्छ। सिंगापुरमात्रै होइन, विदेशी मुलुकका धेरैजसो देश अति नै व्यवस्थित बनिसकेका छन्। त्यहाँको सहरमा बस्ने सबै सहरको सुन्दरताप्रति सजग छन्। मानिस स्वतन्त्र भएर सहरमा जिउन सक्छन्। एउटै सहरमा बसेर पनि संसारका हरेक खाले अनुभूति लिन सक्छन्।

नेपाल संसारमै फरक मुलुक हो। यहाँको विशेषता अन्त पाइन्न। भलै आधुनिकताको हिसाबले नेपाल पछि परेको होला। तर, ऐतिहासिक पक्षमा हामी संसारमै फरक छौं।

नेपालबाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
सयभन्दा धेरै देशका सहर घुमेको छु। अमेरिका, युरोपका सबै देश, अफ्रिकी मुलुक साउदी, कतार, दक्षिणी कोरिया, सिंगापुरलगायत धेरै देश घुमेको अनुभव छ।

नेपालभित्र मनपर्ने सहर ?
नेपालमा पोखरा मनपर्छ। यहाँ ताल, हिमाल र अनेकौँ पदमार्ग छन्। सहरमै बसेर प्राकृतिक हराभरा हेर्न पाइन्छ। सडक र होटल पनि व्यवस्थित छन्। सबैतिर सफा र शान्त छ। कुनै समय काठमाडौं पनि यस्तै व्यवस्थित थियो। तर, जनसंख्याको चाप बढ्दै जाँदा काठमाडौं अस्तव्यस्त भएको हो।

तपाईंको विचारमा सहर व्यवस्थित किन भएनन् ?
सहरलाई व्यवस्थित राख्ने पहिलो आधार सडक हो। जबसम्म फराकिला सडक बन्दैनन्, तबसम्म सहरको विकास भएको मानिँदैन। विदेशी मुलुकले पनि सडकबाटै सहरको विकास थालनी गरेका थिए। हामीकहाँ सडकका योजनामा ठूलो दलाली भइरहेको छ। अर्को कुरा, हामीले प्रकृतिले दिएका वरदानलाई पनि चिन्न सकेनौँ। पुर्खाले त्यति दुःख गरेर सिर्जेका ऐतिहासिक सम्पदालाई संरक्षण गरेनौँ।

विदेश र हाम्रा सहरबीच के भिन्नता पाउनुभयो ?
विदेशमा सबै व्यवस्थित किसिमले विकास गरिएको छ। पाँच सय वर्षअघि बनेका सहर पनि दीर्घकालीन सोच राखेर बनेका जस्तै छन्। सहरको विकासका दिगो दृष्टि राखिएको छ। सबैतिर व्यवस्थित पारिएको छ। तर, हामीकहाँ कुनै नीतिलाई टेकेर काम गरिएन। जसलाई जे लाग्छ, त्यहीँ हिसाबमा काम भयो। एउटा व्यवस्थित सहर बसाल्न के–के चाहिँदो रहेछ भनेर कुनै अध्ययन भएन। अझै पनि खाली ठाउँलाई भवन ठड्याएर सकिँदैछ। खाली देख्नेबित्तिकै घर बनाउनुपर्छ भन्ने आम बुझाईका कारण सहर भरियो। यसले भोलिका पुस्तालाई समेत हानी पु¥याउँछ।  

सहरको विकास गर्र्दैगर्दा हामी कहाँनिर चुक्यौं ?
काठमाडौं क्रंकिट सहर बन्नु पछिल्लो भूल होइन, विगतदेखि नै यो कमजोर हो। अहिलेसम्मको नेतृत्वले सहरको कुनै गुरुयोजना बनाउन सकेन। नेतृत्व रहुन्जेल मात्रै टिक्ने योजना राजनीतिक दलले अघि सारे। नेतृत्वको अवधि सकिएपछि ती सबै योजना भुल्दैभुल्दै आएकाले सहर बिग्रियो। अझै पनि राजनीतिक दलमा चेत पलाएको छैन। भिजन र योजनामा हामी चुकेकाले नै अहिले थक्क लागेको छ। नयाँ पुस्ताले झन् दुःख पाउनेछन्।

सहर बढी जनघनत्व र गुजुप्प बस्ती भएको ठाउँ हो, त्यहाँके नेतृत्व र योजनाले सहरी भूमिलाई सम्बोधन गरेकोे हुनुपर्छ, हामीकहाँ सक्षम नेतृत्व र ‘भिजन’को अभाव हो ?
त्यसो पनि होइन, मुख्य कुरा त हामीकहाँ समन्वय र स्पष्ट योजना भएन। सरकारी निकायले समन्वयको अभ्यास खासै गरेनन्। अहिले पनि यो समस्या कायमै छ। पछिल्लो समय हेर्ने हो भने नेटवर्किङमा पनि हामी अगाडि छौं। तर, जुन आनुनिकतालाई अंंगालेर अघि बढ्नुपर्ने थियो, त्यो भइरहेको छैन।

नेताहरू संसारका अरु सहरसँग दाजेर नेपालका सहर पनि यस्तै बनाउँछौं भनेर बहकिएको सबैलाई थाहा नै छ, जसका कारण पनि हाम्रो आफ्नोपन पछि परेको छ, के हामी नेपालका सहरलाई अरु देशका

सहरभन्दा फरक बनाउन सक्दैनौं ?
नेपाल संसारमै फरक मुलुक हो। यहाँको विशेषता अन्त पाइन्न। भलै आधुनिकताको हिसाबले नेपाल पछि परेको होला। तर, ऐतिहासिक पक्षमा हामी संसारमै फरक छौं। नेपाललाई चिनाउने पक्षहरू धेरै छन्। नेपाल विश्वकै एउटा यस्तो देश हो जहाँ, शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेका थिए। विश्वको ध्यान तान्ने अग्लो सगरमाथा पनि यहीँ छ। अनेकौँ किंवदन्ती बोकेका ऐतिहासिक दरबार पनि यहीँ छन्। मौसम र हावापानी पनि धेरै राम्रो छ। ऐतिहासिक र भौगोलिक पक्षलाई हेर्दा हाम्रा सहर अरु देशका भन्दा धेरै राम्रा छन्। सरकारले सहरको विकासतर्फ ध्यान नदिँदा भएका सम्भावना पनि लुकेर बसेका छन्। विदेशका सहरका आधुनिक छन्। प्रविधियुक्त सहर छन्। सहरका हरेक पक्ष व्यवस्थित र सुरक्षित छन्।

विदेशका सहर घुमिरहँदा नेपालका सहर पनि यस्तै भइदिए हुन्थ्यो भन्ने लाग्दैन ?
एकदमै लाग्छ। त्यहाँका हरेक पक्ष हेर्दा र अनुभव गर्दा नेपालको याद आउँछ। नेपालका सहर पनि यस्तै हुने कहिले होला भन्ने लाग्छ। अर्को कुरा, विदेशका सहर सबै बनावटी छन्। मानिसकै बलले बनेका सहर हुन् ती। प्रकृतिले अभाव बनाई दिए पनि उनीहरू आफ्नै कारणले भाग्यमानीजस्तै बनेका छन्। मरुभूमिलाई त फूलाएका छन्, हरियाली बनाएका छन् भने हामी त फूलैफूल र हरियो खोज्न पर्दैन। प्रकृतिले नै दिएको छ, किन व्यवस्थित हुन सकेन भन्ने जिज्ञासा मनमा खड्किरहन्छ।

सहरलाई कसरी सफा राख्न सकिएला ?
तोकिएको स्थानमा फोहोर फाल्ने, विकास निर्माणका कामलाई समयमै सक्ने, जिम्मेवार निकायमा बस्नेले विकास निर्माणका काममा दूरदृष्टि राख्नेलगायत कुरामा ध्यान दिने हो भने सहर सफा बन्न सक्छ जस्तो लाग्छ। मुख्यतः सहरमा बस्नेमा चेतना छैन। सहरको क्षेत्रफल सानो छ। तर, यहाँ बस्ने मानिसको संख्या बढी छ, त्यसैले यहाँ बस्नेले सहरको विकास र सरसफाइमा ध्यान दिन जरुरी देखिन्छ।

उपत्यकाको मननपर्ने पक्ष ?
सबैतिर धुवाँधुलो, फोहर र मानिसको अस्तव्यस्तता देखिन्छ। तर, बनाउने हो भने अलि राम्रो बन्छ भन्ने पनि लाग्छ।

राम्रो लाग्ने पक्ष ?
काठमाडौंको सबैभन्दा मनपर्ने पक्ष मौसम हो। प्रकृतिले हामीलाई सदावहार मौसम दिएको छ। उपत्यका नेपालको अति नै महत्वपूर्ण ठाउँ हो, जहाँ पुराना मठ–मन्दिर, धार्मिक क्षेत्र छन्।

सरकारले कसरी काम गर्ने हो भने सहर व्यवस्थित बन्ला ?
सरकार जिम्मेवार हुनुप-यो। योजना मात्रै ल्याउने होइन, ल्याएका योजनालाई मूर्तरूप दिनुप-यो। सहर बिग्रनुको मुख्य कारण नै सरकारी निकाय बलियो नभएर हो। भएको नीति–नियमलाई सरकारले कार्यान्वयन गराउन सक्ने हो भने सहर व्यवस्थित हुन्छ।

सहरवासीका बानी कस्तो लाग्छ ?
सहरमा बस्नेहरू आत्मीय छैनन्। उनीहरू आफ्नो मात्रै सोच्छन्। सहरमा बसेर सहरको बारेका कुनै चासो राख्दैनन्। फोहर जथाभावी फ्याक्ने, सरकारी निकायलाई गाली गर्नेजस्ता प्रवृत्ति सहरवासीमा छन्।

तपाईं कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
सडक फराकिला होऊन्। आफू बसेको वरपर सफा होस्। पार्क र हरियाली होस्। मानिसमा आत्मीयता भेटियोस्। हरेक सेवा–सुविधा चुस्त होऊन्। हरियाली, फराकिला सडक र चुस्त सरकारी सेवा सहरको विशेषता नै हो।

पछिल्लो समय पुगेको सहर ?
जर्मनी र क्रोयसियाका केही सहर घुमेर आएको थिएँ।

मन भएर पनि पुग्न नपाएको सहर ?
अन्टार्टटिका पुग्न मन छ।

सहरको मनपर्ने खानेकुरा ?
मःमः चाहीँ एकदमै मनपर्छ। विदेशमा हुँदा पनि मःमः खोजी खोजी खाइन्छ।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १७ मंसिर २०७५ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App