अन्य

गजल

न कुनै अभाव थियो न कुनै डर थियो
आमा रहुन्जेल ओडार पनि घर थियो

मैले पो भगवान् देखेर फूलपाती चढाएँ
बटुवाका लागि ऊ मामुली पत्थर थियो

यो समयले पनि केबाट के बनाउँदो रै’छ
बाल्मिकी पनि कुनै दिन रत्नाकर थियो

दुनियाँले जेसुकै भनुन् न के फरक पर्छ
जर्मनीको सूर्योदय भनेको हिटलर थियो

एकतर्फी चाहले परिणाम गलत आउँदैन
हेर्नुस् भमरातर्फ पनि फूलको नजर थियो
०००
आजसम्म बसेको हुँ चप्पल भएर, बुट भएर
ए ! हावा तँसंगै उड्न मन छ प्यारासुट भएर

घामको झुल्कोले बिलाउने शित रहेछ माया
एक सपना जस्तै टुट्यो सम्बन्ध अटुट भएर

परिणाम यस्तो निस्कियो सागर मन्थन गर्दा
एकतिर संजिवनी अर्कोतिर कालकुट भएर
 
एकता सबथोक हो भनी माहुरीले मह बनाए
के गर्न सक्दैनन् मान्छे मान्छे एकजुट भएर ?

त्यसकारण बिग्रेको हो सीता जन्मेको धर्ती
हो यस्तै चीरहरण भएर यस्तै ब्रह्मलुट भएर
...
छोरीलाई सधैं समस्या हुन्छ हात धुनसित  
उसको समस्या मैलोसँग हो कि साबुनसित

हर प्रयास गरे टाढा हुन सफल हुन सकिनँ
खुनको नाता कहिल्यै नटुट्ने रैछ खुनसित

आमाको हातको जस्तो स्वाद कहाँ हुन्छ ?
पहिलो पटक भोक मेटियो आमा नुनसित
दानबीर कर्ण छलपूर्वक मारिए रणभूमिमा
भगवान् श्रीकृष्ण हुनाले साथमा अर्जुनसित

यसैबाट थाहा हुन्छ त्यो गरीब मजदुर रैछ
कहिल्यै राम्ररी भात खान पाएन तिहुनसित

०००
प्रेममा एकप्रकारको नशा हुन्छ, आदत हुन्छ
नसोच्नु यो जेलमा न रिहा, न जमानत हुन्छ
 
छोरोलाई गाडीले कुल्च्यो आमाकै सामुन्नेमा
दोषीले पैसा फ्याँक्दैमा कसरी राहत हुन्छ ?
 
बलात्कार भएको पुष्टि भए पनि न्याय मिलेन
कानुन लाटो हुन्छ मुख दर्शक अदालत हुन्छ

बाबु आमा पाल्नु भन्दा श्राद्ध गर्नमा झगडा
मेरा भाइ भाइमा यो देखेर मन भत्भत हुन्छ

यसकारण एक पेग नियमित पिउने गर्छु
हजुरलाई बिर्सनमा अलिकति मद्दत हुन्छ
०००
भाइ होस् कृष्ण जस्तो पति होस् भीम जस्तो
केही चाहिदैन प्रेमी पाएको छु सलिम जस्तो

 गिद्दे नजर सधैं आइमाईको कम्मरमुनि हुन्छ
बिल्कुलै छैन ऊ हाकिम भएर हाकिम जस्तो

आफ्नो जिन्दगी जहर बनाउन को चाहन्छ
हालात हो मान्छेलाई बनाउने अफिम जस्तो

तितो छ भनेर बोट यसरी न उखेली दिनुस्
के गरौं म तपाईँ पनि त हुनुहुन्छ निम जस्तो

प्रकाशित: १५ मंसिर २०७५ ०४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App