६० रोपनी हाराहारी जग्गामा फैलिएको हराभरा कृषि क्षेत्र । बीचबीचमा छन्, बगैचा, चउर, आराम गर्ने मेच र थरीथरीका कृषि फार्म । घुम्न, रमाइलो गर्न र गाउँले स्वाद लिन आउनेका लागि बनाइएका पराले छानोका गोलघर लस्करै छन् । त्यहीँबाटै देखिन्छन्, अग्ला–अग्ला डाडाँकाँडा र हरियाली वन । ललितपुरको गोदावरी नगरपालिका– १ स्थित कार्कीटारमा यस्तै आनन्द लिन पाइने नमुना कृषि पर्यटन फार्म सञ्चालनमा आएको छ।
काठमाडौंको अस्तव्यस्ततालाई आधा घण्टामै छलेर यहाँ पुग्न सकिन्छ । ‘नेपालमा यस्तो किसिमको फार्म खुलेको छैन, यो हामीले नयाँ कामको सुरुवात गरेका हौं,’ रौसिला व्यवसायी सरोज डंगालले भने, ‘यो जमिनलाई हामीले पर्यटकीय क्षेत्र बनाउँछौं, यसले कृषि र पर्यटनको विकासमा मुख्य टेवा पु-याउनेछ।’
पछिल्लो समय काठमाडौंको भरिएको छ । सहरमा सानो बिसौनी पनि छैन । स्थानीय ठाउँमा उत्पादन भएको कृषि साम्रगी किन्ने ठाउँ छैन । धेरैले विदाको बेला कहाँ जाने भनेर सोचेका पनि हुन्छन् । तर, उपयुक्त ठाउँ भेटिँदैंन । त्यसको विकल्प हुनसक्छ, त्रिशक्ति कृषि पर्यटक उद्योग । यहाँ पुगेर अर्गानिक कृषि सामान पनि किन्न सकिन्छ । ललितपुरको दक्षिणी भेगमा पर्ने यस ठाउँमा खाली जग्गा खोजेर यस्तो किसिमको फार्म सञ्चालन गरिएको हो।
यो ठाउँ ललितपुर सातदोबाटोबाट ५ किमीको दूरीमा पर्छ । ६० रोपनी जग्गामध्ये धेरैजसो जग्गामा कृषि उत्पादनको काम सुरु गर्न बाँकी छ । केही जग्गामा चउर, पराले गोलघर, रेस्टुरेन्ट, हाँस पोखरी, बाख्राको खोर, कुखुरा फार्म सञ्चालन भइसकेको छ । व्यावसायी तथा सञ्चालक डंगोलका अनुसार यो फार्म सञ्चालनमा आएको धेरै समय बितेको छैन । दुई वर्षअघिदेखि नमुना फार्म बनाउन सुरु भएको थियो । अहिले पनि केही ठाउँलाई व्यवस्थित पार्ने र सजाउने काम भइरहेको छ। खाली रहेको जग्गामा तरकारी खेती, हाँस, माछा, खरायो, गिरीराज जातको कुखुरालगायत अन्य पशुपालन गरिनेछ । केही जग्गामा मन बहलाउने बगैंचा बनाइँदैछ । ठाउँ–ठाउँमा पिकनिक स्पोर्ट पनि बनाइँदैछ ।
यो क्षेत्र ६० रोपनीमा फैलिएको छ । त्यहाँ पुग्नेहरुले त्यही उत्पादन भएको खानेकुराको स्वाद लिन सक्नेछन् । ‘सहरका मानिसलाई आकर्षित गर्न गाह्रो छैन,’ उनले भने, ‘यहाँ आएपछि अगार्निक स्वाद र मनोरञ्जन लिएर फर्कन सक्ने व्यवस्था हामीले गरेका छौं, यहीँ उत्पादन भएको तरकारी वा अन्य उत्पादन सामग्री लग्छु भनेपनि उक्त व्यवस्था हुनेछ ।’ उनका अनुसार यो भित्र विभिन्न कार्यक्रम आयोजना गर्न सकिने ठाउँ पनि बनाइएको छ । कार्यक्रम वा सेमिनार हल तयार भइसकेको छ।
देशको कृषि र पर्यटन क्षेत्रमा काम गरौं भन्ने मनसाय र सोचले तीन जनाको समूहमा मिलेर फरक किसिमको कृषि फार्म सञ्चालन गरेको व्यवसायी डंगोलले बताए । उनले अबको व्यावसायिक सम्भावना कृषि र पर्यटनमा भएकाले आफूहरूले यसैमा हात हालेको जानकारी दिए । ‘सरकारले समाजवाद उन्मुख अर्थ व्यवस्था भनेको छ । तर, त्यसमा कृषि क्षेत्रलाई उकास्ने खालका योजना व्यवस्थित पारिएको छैन,’ उनले थपे, ‘एग्रो टुरिज्मको अवधारण बोकेर काम गर्ने हो भने त्यसले देशको कृषि क्षेत्र उकास्नमा ठूलो मद्दत पु-याउनेछ।’
यस्तो किसिमको कृषि फार्मले रोजगारी पनि सिर्जना गरेको छ । अहिले ३० जनाभन्दा बढीले रोजगार पाएका छन् । एकैठाउँमा सबैथोक लिन सकियो यो नमुना फार्म हो । ‘अहिले मानिसहरू विदेशमा घुम्न जाने लहर चलेको छ । तर, स्वदेशमा भएका पर्यटकीय ठाउँप्रतिको मोह घट्दै गएको छ,’ उनले भने, ‘आफूकहाँ भएको नबनाउने तर विदेशका सहरमा घुम्न जाने हाम्रो प्रवृति भयो, यस्तो प्रवृत्ति छाडेर हामी सबै मुलुकको पर्यटक र कृषि विकासमा लाग्यो भन्ने त्यसले दुवैलाई फाइदा गर्छ।’
कृषि फार्म सञ्चालनका लागि दुई करोड रूपैयाँ लगानी गरिएको छ । केही लगानी गर्न अझै बाँकी रहेको सञ्चालक बताउँछन् । फार्मभित्र पशुपालन, तरकारी खेती, रेस्टुरेन्ट र अन्य मनोरन्जन गर्ने ठाउँहरू बनाइँदैछ । तयारी भएपछि कलाकार लग्ने र अगार्निक खेतको बारेमा जानकारी गराउने लक्ष्य पनि राखिएको छ । व्यवसायीको भनाईमा सरकारले अघि सारेको अगार्निक कृषि नारामै सीमित छ । किसानका नेता खेतमै पाइला राख्न नखोज्ने स्थिति आएको छ । यस्तो कृषि–कर्मले देशको कृषि क्रान्तिमा सहयोग पु-याउनेछ । ‘कृषि–कर्ममा ठूलो सन्तुष्टि छ । अरुलाई पनि खुसी पार्न सकिने र आफू पनि खुसी रहन सकिने पेशा नै कृषि हो,’ व्यवसायी डंगोलले सुनाए, ‘यसलाई हामीले दीर्घकालीन रूपमा अघि सारेका छौं ।’ उनका अनुसार लतिपुरका सम्पदा क्षेत्र घुम्न आउने पर्यटकलाई पनि यस क्षेत्रमा लगेर पर्यटन विकासमा थप सहयोग पु¥याउने लक्ष्य राखिएको छ । युवालाई रोक्न यस्तो फार्मले मद्दत पुग्ने छ।
प्रकाशित: २२ आश्विन २०७५ ०४:५५ सोमबार