अधिकांश युवा स्वदेशमा अवसर छैन भन्दै विदेश पलायन भइरहेका छन् । अध्ययनका लागि विदेश पुगेर उतै सेटल हुने युवाको संख्या बग्रेल्ती छ । तर, उनी तिनै युवा हुन् । जसले अक्स्फोर्ड युनिभर्सिटी, बेलायतमा स्नातकोत्तर तहसम्म (एमबीए) को पढाइ सकाए । अवसर खोज्दै स्वदेश फर्किए ।
काठमाडौंका आमोद राजभण्डारीले आफ्ना लागि मात्र होइन, आमनेपाली युवाका लागि स्वदेशमै अवसर खोज्दैछन् । विदेशमा जागिर होइन स्वदेशमै ‘इन्टरपेनरसीप डेभलपमेन्ट’ गर्नुपर्छ भन्ने उनको मान्यता छ । अक्स्फोर्ड पढेका आमोदले मल्टिनेस्नल कम्पनीमा आकर्षक जागिरको अवसर पाउँथे । त्योभन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने हुटहुटी छ ।
संसारकै ख्यातिप्राप्त विश्वविद्यालय अक्सफोर्डमा उच्च शिक्षा लिएका आमोदराज राजभण्डारीका लागि संसारभरि नै अवसर थियो तर उनी नेपाल फर्किए । उनलाई लागिरहेको छ, नेपाल उद्यमका लागि सबैभन्दा उर्वर भूमि हो ।
पारिवारिक विरासतको व्यवसायलाई निरन्तरता दिन मात्र नभएर नयाँ काम गर्न उत्साहिन छन् । हजुरबुबा गोपाल राजभण्डारीले सुरु गरेर बाबु राजिवराज राजभण्डारीले अघि बढाएको मर्कन्टाइल आइटी कम्पनीको व्यवस्थापनमा सघाइरहेका मात्र छैनन् उनी । आफ्नै क्रिएसनमा नयाँ कम्पनी खोलेर व्यवसाय गरिरहेका छन् ।
मर्कन्टाइल ग्रुपमा आइटी कम्पनी छन् । कम्युटर, प्रिन्टर, फोटोकपी मेसिन, इन्टरनेट, सफ्टवेयर डेभलपमेन्टको काम गर्छ । बैंक तथा वित्तीय संस्थालाई मुद्रा हेन्डलिङ र व्यवस्थापनमा सघाउने काम गरिरहेका छन् । ‘नेपालमा नोटको गुणस्तर कमजोर रहेको छ । हरेक वर्ष नयाँ नोट छाप्नुपर्ने अवस्था छ,’ उनले भने, ‘क्लिन नोट पोलिसी कार्यान्वयनमा ल्याउनुपर्छ ।’ त्यसका लागि सटिङ मेसिनको परियोजना अघि बढाएका छन् ।
राजभण्डारीको अर्को व्यवसाय होम फर्निसिङ हो । अहिले घर तथा अफिस डेकोरेसनलाई सबैले प्राथमिकतामा राखेका छन् । यसमै अवसर देखर इन्डेक्स फर्निचर सञ्चालन गरेका छन् । ‘मोड्युलर फर्निचरको विजनेस फस्टाउँदै छ,’ उनले भने, ‘अपार्टमेन्ट, अफिस, घरहरुमा क्रमशः प्रयोग बढिरहेको छ ।’
यसका अतिरिक्त हाइड्रो, वित्तीय क्षेत्रमा पनि लगानी गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकको लिड इन्भेष्टमेन्टमा मोबाइल बैंकिङलाई अघि बढाएका छन् । पारिवारिक संलग्नता भएका व्यवसाय मात्र नभएर राजभण्डारीले केही अग्रज र साथीहरुसँग मिलेर इन्भेष्टमेन्ट कम्पनी सञ्चालन गरेका छन् ।
त्यो ट्रु नर्थ एसोसिएट्स (टीएनए) कम्पनी हो । विभिन्न क्षेत्रमा स्थापित भइसकेका सुमन जोशी, निराजन श्रेष्ठ, अजय वी प्रधान, अजय श्रेष्ठसँगको साझेदारितामा स्थापना भएको टीएनए कम्पनीले प्राइभेट इक्युटी मार्केटको काम गरिरहेको छ ।
एक्लै भन्दा संयुक्तरूपमा व्यवसाय गर्नुपर्ने बताउँछन् । ‘सामूहिक रूपमा लगानी गर्दा जोखिम पनि समूहले नै लिन्छ,’ उनले भने, ‘आइडिया सेयरिङ हुने भएकाले व्यवसाय विस्तारमा सजिलो हुन्छ ।’
नयाँ व्यवसाय फस्टाउँदै गएका छन् भने पुराना व्यवसाय विस्तार गरेर बजारमा नयाँ स्किम दिन चुनौती थपिएको उनको बुझाइ छ । ‘व्यवसायमा नयाँ–नयाँ क्रिएसन भएन भने टिक्न कठिन हुन्छ,’ उनले भने, ‘प्रतिस्पर्धी बजारमा नयाँ अवसर खोजेर लगानी गर्नुपर्छ ।’
राजभण्डारीका हजुरबुबाले सुरु गरेको मर्कन्टाइल बाबु हुँदै उनको पुस्तामा आएको छ । तेस्रो पुस्तामा आएको कम्पनीले आइटी क्षेत्रमा नेक्स्ट रिभोलुसन ल्याउनुपर्ने बताउँछन् । नेपालको बैंकिङ क्षेत्रमा प्रयोगमा आउने पुमरी सफ्टवेयर मर्कन्टाइलले नै बताएको थियो । ‘अहिले प्रतिस्पर्धा, सीप र लगानी धेरै बढेको छ,’ राजभण्डारीले भने, ‘टप कम्पनी आएकाले प्रस्पितर्धा गर्न कठिन छ ।’
नेपालमा बनाएको सफ्टवेयर विश्वस्तरका कम्पनीसँग प्रतिस्पर्धा गर्न समय लाग्ने आमोद बताउँछन् । ‘सुरुमा पुमरी सफ्टवेयर प्रयोग गर्ने बैंकले फिनाकल प्रयोग गर्न थाले,’ उनले भने, ‘सफ्टवेयरमा सुरक्षा चुनौती भएकाले विदेशी कम्पनी खोज्दा स्वदेशी कम्पनीलाई चुनौती थपिएको हो ।’ नेपाली सफ्टवेयर बजार साँघुरो भएकाले प्रतिस्पर्धा गर्न कठिन छ ।
नर्थ एसोसिएट्स कम्पनीमार्फतको लगानीले भने नयाँ इन्टरपेनर जन्मिएका छन् । ‘इन्भेष्टमेन्ट कम्पनीमार्फत साना, मझौला र ठूला व्यवसायमा लगानी गरिरहेका छौं,’ उनले भने, ‘यसले अवसर सृजना भैरहेको छ ।’
आइटी कम्पनी सञ्चालनका लागि जनशक्ति व्यवस्थापनको चुनौती रहेको उनको अनुभव छ । सुरुमा कम्पनीमा जागिर दिएर क्षमता विकास गरेपछि आफ्नै कम्पनी खोल्न उत्साहित हुने बताए । ‘कि नयाँ व्यवसायमा जानु प-यो । होइन भने ठूलो लगानी गर्नुपर्छ,’ उनले भने ।
हरेक युवा आफ्नै कम्पनीबाट काम गर्न चाहिरहेका छन् । ‘हाई स्यालरी पे गरे पनि हरेक व्यक्ति आफ्नै कम्पनीमा काम गर्न चाहन्छ,’ उनले ‘सक्षम बनेपछि आफैँ इन्टरपेनर बन्न चाहन्छन् ।’
राजभण्डारी आबद्ध कम्पनीमा करिब दुई सय जना कार्यरत छन् । युवा काम गर्नका लागि नभई सीप सिक्न विदेश जानुपर्ने उनको मान्यता छ । विदेशमा अध्ययन गरेर फर्किएका उनले स्वदेशमै रोजगारी सृजना गर्न नयाँ विजनेसमा लगानी गर्ने काम गरिरहेको बताए । ‘सबैले आ–आफ्नो क्षेत्रमा रोजगारी सृजना गर्नुपर्छ,’ उनले भने, नयाँ कम्पनीमा लगानी गरेर ग्रो गर्नुपर्छ ।’ इकर्म, आइटी विभिन्न क्षेत्रमा सम्भावना रहेको उनी बताउँछन् । हरेक व्यवसायमा नयाँ अवसर खोज्नपर्ने धारणा राख्छन् । ‘लगानीका सम्भावना धेरै छ,’ ‘उनले भने, ‘यो अवसरलाई छोप्नुपर्छ ।’
सार्वजनिक क्षेत्रमा उद्यमशीलता बढाउन कम्पनी खोलेर लगानीको वातावरण बनाउन सरकारसँग आग्रह गरे । कर छुट, विशेष आर्थिक क्षेत्रलगायतका प्याकेज ल्याएर लगानी आकर्षित गर्न आवश्यक ठान्छन् । परियोजना, सीप, पुँजीलाई संयोजन गरेर अघि बढ्न उनको सुझाव छ । ‘कतिपयसँग आइडिया हुँदैन । आइडिया भएकासँग पुँजी हुँदैन,’ उनले भने, ‘यसलाई समन्वय गर्नुपर्छ ।’ भेन्चर क्यापिटललाई ग्रो गर्नुपर्ने बताए ।
बैंक, जग्गा, स्टकमा लगानी गर्न, बिजनेस गर्न उत्सुक रहेको उनले बताए । ‘व्यापार घाटा बढिरहेकाले उद्योग खोलेर मुद्रा विदेश जान रोक्नुपर्छ,’ उनले भने । विद्युत, जग्गा, पूर्वाधार, कच्चा पदार्थ, वित्तीय पहुँचमा सरकारी निकायले सहयोग गर्नुपर्ने धारणा छ ।
स्वदेशमा रोजगारी दिन युवालाई तालिम दिन सीप विकास केन्द्र स्थापना गर्न उनको सुझाव छ । ‘मुलुकको बेरोजगारी समस्या समाधान गर्नका लागि नयाँ उद्योग सञ्चालन गर्नुपर्छ,’ राजभण्डारीले भने, ‘त्यसका लागि तालिम प्राप्त जनशक्ति आवश्यक छ ।’
नेपाल सरकारले एफडीआई ल्याउने भने पनि निकै जटिल रहेको बताउँछन् । ‘विदेशी लगानी ल्याउन लगानीमैत्री वातावरण चाहिन्छ,’ उनले भने, ‘नेपालमा प्रक्रिया धेरै झन्झटिला छन् ।’ विदेशी लगानीकर्ताले यहाँ लगानी गर्न चाह्यो भने प्रक्रिया पूरा गर्न लामो समय लाग्ने गरेको बताए । ‘बाहिरबाट पुँजी ल्याउन कठिन छ,’ उनले भने ।
‘विदेशी लगानीकर्ताको लगानी क्षमता ठूलो हुन्छ,’ उनले भने, ‘वातावरण दिन सक्नुपर्छ ।’ कुनै पनि विदेशी लगानीकर्ताले नेपालमा आएर काम गरेपछि नाफा लैजान खोज्ने भएकाले लैजाने प्रक्रिया सजिलो बनाउनुपर्ने उनको धारणा छ ।
युवाले काम सिक्नका लागि तल्लो तहबाटै सिक्नुपर्ने बताउँछन् । राजभण्डारीले ब्याच्लर सकाएपछि सन् २००९ देखि २०११ सम्म एस विकास बैंकमा मार्केटिङ इन्टर्नको रूपमा काम गरेका थिए । सो बैंक अहिले एनआइबीएलमा मर्ज भएको छ । मार्केटिङ इन्टर्नबाट सुरु गरेका उनले पछि क्रेडिट टिममा बसेर काम गरे । आफ्ना बाबु प्रमोटर भए पनि सिक्नकै लागि तल्लो तहमा बसेर काम गरेको सुनाए । ‘बैंकमा काम गर्दा नेपालको इकोनोमी बुझ्ने अवसर पाएँ,’ उनले भने, ‘कहाँ अवसर, जोखिम छ भन्ने थाहा भयो ।’
सानो पदबाटै काम गर्दै जाँदा सिकाइ धेरै हुन्छ । ‘ग्राउन्ड लेवलबाट सिकेन भने माथि सिइओ, चेयरम्यान भएर मात्र हुँदैन,’ उनले भने ।
लामो समय विदेश बसेका राजभण्डारीले स्वदेशकै जीवनशैली राम्रो भएको बताउँछन् । उनको बुझाइमा विदेशको लाइफस्टाइल र नेपालको जीवन पद्धति आकाश–जमिनको फरक छ । ‘न्यूयोर्क, लन्डनमा बसेँ,’ उनले भने, ‘त्यहाँ आफ्नो साथी भेट्न एपोइन्टमेन्ट लिनुपर्छ । त्यो पनि केको लाइफ ?
नेपालको सामाजिक, पारिवारिक, सांस्कृतिक सम्पत्ति पुँजी भएको बताउँछन् । ‘साथीभाइ, आफन्त भेट्दा नयाँ प्रोजेक्टको अवधारणा आउँछ,’ उनले भने ।
यात्रा गर्न रुचाउने राजभण्डारीले स्वदेश र विदेशको ट्राभल गरिरहन्छन् । ‘ट्राभलमा नयाँ विजनेसको आइडिया आउँछ,’ उनले भने, ‘तत्काल नयाँ योजनाभन्दा अहिले सञ्चालन भएका व्यवसायलाई व्यस्थित गर्दैछु ।’ समयसापेक्ष चल्न नसके सफलता पाउन कठिन छ । ‘समयको भ्यालु महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘नचाहिने काममा धेरै समय बिताउनु हुँदैन ।’
आठ वर्षकै उमेरमा कक्षा ३ मा अध्ययन गर्न भारत गएका राजभण्डारी पाँच वर्षअघि नेपाल फर्किएका हुन् । बाल्यकाल र अध्ययनको समय पारिवारिक सामिप्यमा नबसेका उनले आफूलाई आत्मनिर्भर बन्न टेवा पुगेको बताउँछन् । ‘अभिभावकले कहिलै कुनै हस्तक्षेप गर्नु भएन,’ उनले भने, ‘एक्लै गर्दा परिवारलाई मिस गरे पनि आत्मनिर्भरता बन्न सघाउ पुग्यो ।’
बिहान ६ बजे उठेर साथीसँग फुटसल खेल्ने उनले अफिसियल दैनिकी बिहान ९.३० बाट सुरु हुन्छ । ६ बजेसम्म सकाएर ६.३० मा घर फर्किन्छन् । ‘साथीभाइ भेटघाट र डिनर हुँदा कहिलेकाहीँ घर पुग्न ढिला हुन्छ,’ उनले भने ।
बाबुआमासँग बस्ने राजभण्डारीका भाइ अस्ट्रेलियामा बस्छन् । ३३ वर्षीय राजभण्डारी अविवाहित हुन् । बिहे कहिले गर्ने त ? नागरिक परिवारको प्रश्नमा उनले हाँस्दै भने, ‘लेट्स सी ।’
प्रकाशित: ३० भाद्र २०७५ १०:०० शनिबार