अन्य

‘वडामा नगरस्तरीय योजना परेन’

सुरज खड्का, वडाध्यक्ष, मध्यपुर ठिमी नगरपालिका–१

तपाई जनप्रतिनिधि भएपछि जनताले महसुस गराउने के–के काम गर्नुभयो?
जनप्रतिनिधि भएर आएसँगै लोकन्थली–राममन्दिर– टीकाथैली जाने १२ सय मिटर सडक विस्तार गरेर कालोपत्रे गरेका छौं । डिभिजन सडक कार्यालय भक्तपुरसँग समन्वय गरेर सडक विस्तार तथा तथा कालोपत्रे सम्पन्न गरेका हौं । लोकन्थली क्षेत्रमा ३५ सय मिटर क्षेत्रमा खानेपानीको पाइप बिछ्याएका छौं । वडा कार्यालयले हेक्का टोलमा एक सय  ७० मिटर, द्वारेटोलमा एक सय ३० मिटर, पावनमार्गमा एक सय ७० मिटर सडकमा ढल राख्ने काम सम्पन्न ग-यौं । राममन्दिर क्षेत्रमा दुई समय मिटर क्षेत्रको सीमांकन गरेर हरियाली बनाएका छौं।

तपार्इँको वडामा खानेपानीको हाहाकार छ, कसरी खानेपानीको व्यवस्थापन गर्दै हुनुुहुन्छ?
वडामा खानेपानीको समस्या देखिएको छ । माग अनुसारको खानेपानीको पर्याप्त आपूर्ति गर्न नसक्दा वडामा खानेपानीको समस्या भएको हो । वडामा पुरानै खानेपानीको लाइन जीर्ण भएकाले गत वर्ष ३५ सय मिटर नयाँ पाइप बिछ्याउने काम ग-यौं । वडामा खानेपानीको पर्याप्त स्रोत रहेका छन् । तर, स्टोरेज गर्ने टयाङ्की नहुँदा खानेपानीको समस्या देखिएको हो । वडा कार्यालयले खानेपानीको दीर्घकालीन व्यवस्थापनको लागि पाँच लाख लिटर क्षमताको टयांकी निर्माण गर्ने योजना बनाएको छ । उक्त, टयांकी निर्माणको लागि एक करोड ३२ लाखको इस्टिमेट तयार पारेका छौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरेर खानेपानीको ट्यांकी निर्माण गरिनेछ ।  अबको दुई वर्षभित्रै खानेपानी टयांकी निर्माण गरेर खानेपानीको समस्या अन्त्य गर्नेछौं।

सार्वजनिक जग्गाको अतिक्रमण कस्तो छ?
वडा कार्यालयले ३१ रोपनी सार्वजनिक जग्गा छुट्टाएका छन् । जनप्रतिनिधि भएर आएसँगै सार्वजनिक जग्गा छुट्टाएका हौं । सार्वजनिक जग्गामा कसैले पनि भवन बनाएका छैनन् । केही स्थानीयले सार्वजनिक जग्गामा खेतिपाती गर्दै आइरहेका छन् । उनीहरूले वडा कार्यालयले चाहेको जुनसुकै बेला जग्गा उपलब्ध गराउने प्रतिवद्धता देखाएका छन् । त्यसैले वडामा सार्वजनिक जग्गाको कुनै समस्या रहेको छैन।

मनहरा खोला जग्गा एकीकरण आयोजनाले मनहरा खोला अतिक्रमण गरिरहेको छ, कहिलेसम्म रोक्नुहुन्छ?
काठमाडौं महानगरपालिका र  मध्यपुर ठिमी नगरपालिकाले अहिले मनहराको खोला किनारामा जग्गा एकीकरणको काम गरिरहेको छ । जग्गा एकीकरण आयोजनाले खोला किनारामा हुने ग्रिनबेल्ट एरिया अति नै थोरै भूभाग छाडेको छ । खोलाकै किनारामा सडक बनाएकाले डुबान हुने जोखिम बढेको छ । त्यसको विषयमा वडा कार्यालयले आयोजनासँग खबरदारी गरिरहेको छ । खोलाको किनाराबाट २० मिटर ग्रिनबेल्ट छाडेर मात्रै सडक बनाउनुपर्ने मापदण्डलाई मिचेको देखिन्छ । वडा कार्यालयले सम्बन्धित निकयासँग समन्वय गरेर अतिक्रमण रोक्ने प्रयास गर्नेछौं।

तपार्इँको वडामा भूकम्पपीडितको समस्या कस्तो छ?
२०७२ सालको भूकम्पले वडामा ६ घर पूर्ण क्षति भएका थिए । आशिंक क्षति हुने घरको संख्या एक सय ४३ रहेको छ । वडाका चार घरले मात्रै पहिलो किस्ता वापतको रकम बुझेका छन् । अन्यको प्रक्रियामा रहेको छ । घर चर्किएर आशिंक क्षति भएका भूकम्पपीडितले राहत रकम लिन डराइरहेका छन् । प्रक्रियागत लम्बेतान र कानुनीगत जटिलताको कारणले गर्दा राहत रकम लिन समस्या भइरहेको छ । वडा कार्यालयले भूकम्पपीडितको भवन निर्माणको लागि आवश्यक पर्ने प्राविधिक सहयोग गरिरहेका छौं । तर, राष्ट्रिय पुनर्निर्मापण प्राधिकरणको बेवास्ताकै कारणले भूकम्पपीडितले अहिलेसम्म राहत रकम पाउन सकिरहेका छैनन्।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ?
नगरपरिषद्बाट गत आर्थिक वर्षमा वडा कार्यालयका लागि एक करोड ४१ लाख रूपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजित बजेटको सबै रकम खर्च गरिसक्यौं । वडा कार्यालयले खानेपानी, सडक, ढल कृषि, महिला तथा लक्षित वर्गलाई समेटेर खर्च गरेका थियौं । बजेट न्यून भएकाले वडाको विकास पूर्वाधार निर्माणमा समस्या देखिएको हो।

चालू आर्थिक वर्षको लागि पनि एक करोड ५१ लाख रूपैयाँ नै वजेट विनियोजन भएको छ । वडा कार्यालयले खानेपानी, पूर्वाधारलगायत क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको छ।

सार्वजनिकस्थलमा शौच गर्न बटुवालाई समस्या भइरहेको छ, कसरी व्यवस्थापन गरिरहनुभएको छ?
सार्वजनिक स्थलमा सार्वजनिक शौचालय नहुँदा बटुवाले सास्ती भोग्दै आइरहेका छन् । वडा कार्यालयले सर्वसाधारणले  भोग्नुपरेको सास्तीलाई लक्षित गरेर यस आर्थिक वर्षमा दुई वटा सार्वजनिक शौचालय निर्माण गर्नको लागि २० लाख रूपैयाँ बजेट विनियोजन गरेका छौं । सार्वजनिक शौचालय निर्माणको लागि थापाथली–सूर्यविनायक सडकखण्डसँग समन्वय गरिरहेका छौं । अबको केही समयभित्रै सार्वजनिक शौचालय निर्माण गरेर सञ्चालनमा ल्याउनेछौं।

तपार्इँको वडामा नगरस्तरीय बजेट किन आउन सकेन?
मध्यपुर ठिमी नगरपालिकाले वडा नं १ को लागि एउटा पनि नगरस्तरीय योजना पारेको छैन । वडा कार्यालयले  नगरस्तरीय योजनाको लागि १२–१३ वटा योजना पठाएका थियौं । तर, नगरपालिकाले यो वडालाई पूर्णतया बेवास्ता गरेको छ । वडा कार्यालयले एकीकृत सम्पत्ति कर  जभाभावी जनताको थाप्लोमा पार्नु हुँदैन विरोध गरेका थियौं । त्यसैको सट्टा नगरस्तरीय योजना नपरेका हुन् । नगरपालिकाले नगरस्तीय योजनामा पक्षपात र पूर्वाग्रह राखेर नपारेको देखिन्छ । अन्य वडामा नगरस्तरीय योजना पर्ने । तर, मेरोमा नपर्ने भन्ने हुँदैन।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ?
वडामा व्यवस्थित चिल्ड्रेन पार्क बनाउने योजना अघि सारेको छु । दुई वर्षभित्र वडाका पर्याप्त मात्रामा खानेपानी वितरण गर्ने योजना रहेको छ । वडामा चार किलोमिटर भित्री सडक रहेको छ । त्यो पनि कार्यकालभित्रै सम्पन्न गर्नेछु । अहिले जताततै क्रकिंट नै कक्रिंटको जंगल भइराखेको छ । जसको कारणले प्राकृतिक पानी सोस्ने क्षमतामा समेत ह्रास आइरहेको छ । त्यसैले वडा कार्यालयले मनहरा खोला वरपर ग्रिनबेल्ट बनाएर हरियाली प्रवद्र्धन गर्नेछौं।

प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: २९ भाद्र २०७५ ०४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App