अन्य

देशी मोडल विदेशी ख्याति

आस्था पोखरेललाई चिन्नु हुन्छ ? कतिपयले चिन्नु होला पनि र कतिपयले नचिन्नु पनि भएको हुनसक्छ। तपाईंहरुलाई सुरुमै बताइदिऊँ, २८ वर्षीया यी बालाले सिंगापुरमा भएको एसियाज् नेक्स्ट सुपर मोडलमा सहभागिता जनाएर र भारतको चर्चित किङफिसर क्यालेन्डरमा आफ्नो उपस्थिति जनाएर नेपालका धेरैजसो चर्चित मोडललाई जिल्याइदिइन् । अहिले नयाँ पुस्ताका मोडलहरु उनीसँग झ्याम्मिन्छन् र उनलाई आफ्नो रोलमोडल भन्न थालेका छन्। यतिबेलै उनी रोलमोडल कसरी भइन् ? के उनी साँच्चिकै अरुका लागि रोलमोडल भएको ठान्छिन् ? सानै उमेरमा प्रख्यातिले उनलाई पारेको सजिलो अप्ठेरो के छ ? हामीले जान्न चाह्यौँ ।

उनका बाबा सुशील पोखरेल एक समयको चल्तीका बक्सर थिए । राजविराजबाट काठमाडौँमा संघर्ष गर्न आएका सुशीलले थोरबहुत सफलता पनि हात पारे । उनको सपना थियो, छोरीहरु पनि खेलकुदमा लागून् र आफ्नो अधुरो सपना पूरा गरून् । परिवारकी जेठी छोरी आस्थाको पोल्टामा त्यो सपना छाडेर उनी परिवारको भविष्य खोज्दै अमेरिका लागे ।

आस्थालाई भने पहिलेदेखि नै खेलकुद उति जमेन । उनी एकान्त रुचाउने व्यक्ति थिइन् । अन्य विद्यार्थीभन्दा उनी अलि बढी नै अग्ली थिइन् । त्यसैले उनलाई मोडलिङ नै उनको उचित गन्तव्य हुने सुझाव दिन्थे । विद्यालय पढुञ्जेल उनले मोडलिङका बारेमा खासै सोचेकी थिइनन् । 

एसएलसी सकिएपछि त्यो बेलाको राम्रो करियर मानिने नर्सिङको पढाइतर्फ आकर्षित भइन् । ‘पढाइमा नराम्रो थिइनँ, त्यसैले नर्सिङ पढेँ’, उनले भनिन्, ‘तर बेलाबेलामा बिरामी भइरहने हुनाले पढाइ सिध्याएर पनि यसमा म लागिरहन सकिनँ ।’

घरमा सधैँ धुम्धुम्ती बसिरहेको उनकी आमा तारालाई मन परेन । उनले सुझाइन्, ‘खाली एकान्तमै बस्नु भन्दा यसो मोडलिङ ट्राई गर्नु नि !’

यसबीचमा उनले काठमाडौँको वल्र्ड ट्रेड सेन्टरमा क्रिसमसको अवसरमा आयोजना गरिएको एउटा मोडलिङ कार्यक्रममा सहभागी भएर हेरिन् । यो कार्यक्रम उनलाई रमाइलो नै लाग्यो । उनकी आमाले पनि चाहेको यही थियो, कम्ती छोरी समाजमा भिज्न सकोस्, साथी बनाउन सकोस् । यो एउटा राम्रो बाटो थियो, साथी बनाउने ।

ठीक त्यही बेला उनले एसियाज नेक्स्ट मोडलका बारेमा थाहा पाइन् । साथीभाइहरुले पनि उनलाई सहभागी हुन हौस्याए । उनमा अन्तर्राष्ट्रिय रुपमा मोडलका रुपमा उभ्याउन मिल्ने सबैथोक थियो, उनी प्रतिभासम्पन्न थिइन्, सुन्दर थिइन्, अंग्रेजी भाषामा दक्ष थिइन् र त्योभन्दा पनि उनमा ‘इनोसेन्स’ थियो । 

धेरै अवस्थामा भोलापन अर्थात् ‘इनोसेन्स’ले हानि पु-याउँछ, उनको मामिलामा भने त्यो एउटा शक्ति बनिदियो । यसअघि उनलाई मोडलिङको कुनै पनि ज्ञान थिएन । थोरबहुत इन्टरनेटमा हेरेको, टिभीमा देखेको मोडलिङ मात्र उनलाई थाहा थियो । र, अनुभवका रुपमा त्यही क्रिसमस डेको काम थियो । यसैका बलमा उनी सिंगापुरमा आयोजना हुँदै गरेको एसियाज् नेक्स्ट सुपरमोडलमा अनलाइनमार्फत आवेदन दिइन् । नभन्दै उनी पहिलो निवेदनमै छनोटमा परिन् । अरुका लागि यहाँ छनोट हुनु एउटा सपना हुन्थ्यो तर उनी छनोट मात्र भइनन्, जीवनमा पहिलो पटक एक्लै विदेश यात्रामा गइन् ।

‘यो यात्राले मलाई बलियो बनाउन भूमिका खेल्यो,’ उनले भनिन्, ‘कहिल्यै म घरबाट बाहिर एक्लै ननिस्किएकी मान्छे, सिंगापुर गएँ, त्यसपछि इन्डोनेसियाको एउटा ठाउँमा सुटिङ अवधिभर एक्लै बसेँ । यो कार्यक्रमका बारेमा मलाई केही थाहा थिएन तर यो त रियालिटी सो रहेछ । पहिल्यै थाहा भएको भए, म अलि तयारी गर्थें होला ।’

यस्तो हिम्मत सधैँ आउँदैन । कि पूरा लगनका कारणले आउँछ कि त मूर्खताका कारणले आउँछ । यस मामिलामा आस्था हाँस्दै भन्छिन्, ‘मूर्खता त नभनौँ, मेरो इनोसेन्स, यसपछि के होला भन्ने अञ्जान भएकाले म पोखरीमा हाम्फालेँ । त्यसपछि पौडिनु त प-यो ! नत्र डुबिएला ! त्यही पौडिने क्रममा यहाँसम्म आइपुगेँ ।’

सुरुमा उनी सुपर मोडल कार्यक्रममा छनोट हुँदै अघि बढ्दै जाँदा उनले त्यहाँ जे जति सिकिन्, त्यसले आफूलाई बलियो बनाउन भूमिका खेलेको उनी बताउँछिन् । ‘म ज्यादै लजालु, एकान्त रुचाउने केटी थिएँ,’ उनले भनिन्, ‘त्यहाँ गएपछि साथीहरु बने । हुन त म अरुलाई बोलाउने किसिमकी केटी थिइनँ तर पनि अरुको हाउभाउ, उनीहरुको तौरतरिका हेरेर मैले आफ्ना कमजोरी र सशक्त पक्ष केलाउँथेँ । यसले मलाई धेरै सहयोग ग-यो ।’

उनी मोडल हन्टकी विजेता त हुन सकिनन् तर उत्कृष्ट पाँचसम्म भने पुग्न सफल भइन् । जीवनकै पहिलो देशबाहिरको यात्रा, त्यो पनि अञ्जान ठाउँ र अञ्जान साथीहरु हुँदा उनलाई कतिबेला त अत्यास लाग्थ्यो । ५० दिनसम्म क्लोज क्याम्पमा बस्नु अत्यासलाग्दो थियो । प्रतियोगिताबाट बाहिरिएपछि सर्वोत्कृष्ट मोडल छनोट नहुञ्जेल क्याम्पमै बस्नु पथ्र्यो । त्यस्तो बेलामा उनी नेपालमा बरोबर फोन गरिरहन्थिन् । घरपरिवारबाट बरोबर पाइने साथ र सहयोगका कारण उनले आफूलाई बलियो पार्न सफल भइन् ।

‘नो एक्सपेरियन्स एट अल टु टु मच एक्सपेरिएन्स हुँदा चाहिँ जीवनमा केही सिकिएछ कि जस्तो लाग्यो,’ उनले यस कार्यक्रमको उपलब्धिका बारेमा खुलाइन् । त्यसैले त सिंगापुरबाट फर्किएपछि उनमा एउटा अनौठो आत्मविश्वास पलाएर आयो । उनलाई नचिन्नेहरुले पनि टिभी हेरेर चिन्ने भइसकेका थिए । जताततै मिडियामा नेपालको प्रतिनिधिका रुपमा उनको प्रचार भइसकेको थियो । यसपछि उनलाई लाग्यो, यति भइसकेपछि मोडलिङमै आफूलाई किन नजमाउने ?

नेपालजस्तो सानो बजार भएको ठाउँमा के गर्ने र कसो गर्ने भयो उनलाई । त्यसैले मोडलिङका बारेमा थप जानकारी र ज्ञान बटुल्न उनी मुम्बई हान्निइन् । ‘मुम्बई जानुको कारण चाहिँ केही समय म एक्लै स्वतन्त्रता रोजूँ भन्ने थियो,’ उनले स्पष्टीकरण शैलीमा उनले सुनाइन्, ‘तर जब तपाईंले आफ्नो ख्याल आफैँ राख्नुपर्ने हुन्छ, आफ्सेआफ जिम्मेवार हुन थाल्नुहुन्छ । म स्वतन्त्र हुन मुम्बई गएकी थिएँ तर अनुशासित हुनुपर्ने रहेछ भनेर सिकेर आएँ ।’ 

घरमा हुँदा बाबुआमाले चिन्ता गरिदिन्छन् तर त्यहाँ आफ्नाबारे आफैँले चिन्ता गर्नुपर्ने, खराब सङ्गतबाट बच्नुपर्ने उनले देखिन् । यी कुराले पनि उनलाई धेरै कुरा सिकायो । उनले मुम्बई रोज्नुको कारण यो नेपालबाट ज्यादै नजिक थियो । केही घण्टाको हवाई फ्लाइटमा आउजाउ गर्न सकिन्थ्यो, फेरि उनी जति भारतीय नजिक महसुस गर्न सक्थिन्, अन्यसँग घुलमिल हुन उनलाई गाह्रो थियो । त्यसैले सिकाइका लागि अन्य ठाउँभन्दा यो उपयुक्त ठाउँ लाग्यो उनलाई।

काठमाडौँ र मुम्बईको फरक के पाउनुभयो त ? ‘ठाउँ नै ठूलो,’ उनले भनिन्, ‘संसारभरिबाट मानिस आएका छन् । हरेक मानिसको आफ्नो एउटा क्वालिटी हुन्छ, कडा प्रतिस्पर्धा हुन्छ । र, प्रतिस्पर्धामा त्यही मान्छे टिक्छ, जसमा क्रिएटिभिटी (सिर्जनशीलता) र लगातार त्यसमा लागिपर्ने गुण हुन्छ ।’ 

उनी मुम्बईबाट केही गर्ने सोचमा नेपाल फर्किएको जम्मा पाँच महिना मात्र भयो । ‘इट् वज् भेरी गुड एक्सपेरियन्स,’ उनले मुम्बईको प्रशंसामा भनिन्, ‘क्यारेक्टर बिल्डिङमा मुम्बईले भूमिका खेल्यो । मुम्बईले मलाई अरुको भर नपर्न, आफ्नो सहयोग आफैँ गर्न र इन्डिपेन्डेन्ट हुन सिकायो ।’

मुम्बई लगभग तीन वर्ष बस्दाको अवधिमा उनले किङ फिसर क्यालेन्डर, लेक्मे फेसन विक र अन्यमा चर्चित फेसन डिजाइनरसँग काम गर्न पाइन् । यो अनुभव उनका लागि अमूल्य निधि बन्न पुगेका छन् ।

त्यहाँ रहँदा ब्राजिल, सर्भिया, रुसबाट मोडलहरु तीनमहिने सम्झौतामा काम गर्न आएको देख्दा रमाइलो लाग्यो । यसबाट पनि मुम्बई पछिल्लो समय संसारको आकर्षणको केन्द्र बनेको उनले चाल पाइन् । उनीहरुको अनुभवले आफूलाई धेरै सिकाएको उनको भनाइ छ ।

त्यही सिकाइ नेपालमा उनले यतिबेला प्रयोग गरिरहेकी छन् । फ्रिलान्सिङ मोडलिङ गर्नेदेखि लिएर कोरियोग्राफी–मेन्टरसिप पनि गरिरहेकी छन् । फोटोग्राफीको आर्ट डाइरेक्सन, एलेभेन थ्री नामक संस्थाको मार्केटिङ र इभेन्टहरु पनि उनले हेर्ने गरेकी छन् ।

क्रिएटिभ हुने जस्तोसुकै अवसर उनी त्याग्न चाहन्नन् । त्यसैले स–साना सिर्जनशील काममा उनी व्यस्त हुने गरेकी छन् । त्यसैले ‘परिवार’ले उनलाई सोध्यो, ‘फिल्म खेल्नेबारेमा चाहिँ तपाईंको के धारणा छ ?’

‘क्रिएटिभ जस्तोसुकै काममा म संलग्न हुन चाहन्छु,’ उनले प्रस्टीकरण दिँदै भनिन्, ‘मलाई फिल्म मनपर्छ, खेल्न पनि मन पर्छ । तर त्यसका लागि मलाई मनपर्ने विषय र भूमिका पनि हुनुप-यो ।’ उनलाई केहीले फिल्मको अफर पनि गरेका छन् तर त्यसमा कुरा मिलिसकेको छैन ।

उनलाई क्लासिक फिल्म हेर्न मनपर्छ तर महिला चरित्रलाई न्याय गरेका कयौँ फिल्म उनलाई हेर्दा आफूले पनि त्यस्तै गर्न पाए हुन्थ्यो भन्ने लोभ लाग्छ । भारतीय अभिनेत्री कंगना रनावतको ‘क्विन’ र त्यस्ता फिल्महरु । उनलाई नेपाली कलाकारमा सृष्टि श्रेष्ठ, सौगात मल्ल, नवाजुद्दीन सिद्दिकी, आलिया भट्ट, दीपिका पादुकोणजस्ता कलाकार मन पर्छन् । त्यस्तै रीमा गुरुङ होडा, नेपथ्य, विपुल क्षेत्री, आस्था तामाङ मास्के, भर्तिका राई, श्रेया सोताङ लगायतका गायकगायिका मन पर्छ ।

मिटू अभियान

गएको वर्ष हलिउडका प्रख्यात अभिनेत्रीहरुले त्यहाँका फिल्म निर्माता हार्भे वाइन्स्टिनले आफूलाई कतिपय अवस्थामा बलात्कार गरेको, अनुचित फाइदा लिएको आरोप लगाएका थिए । हलिउडको इतिहासमा यति धेरै अभिनेत्रीहरु कुनै एक निर्माताविरुद्ध खनिएको यो पहिलो पटक थियो । मुम्बईमा तीन वर्ष बिताएकी आस्थाले त्यस्तो केही अनुभव भोग्नु प-यो ?

‘मैले त्यस्तो केही भोग्नु परेन किनभने म कसैको लोभ या मोहमा फस्ने किसिमकी थिइनँ,’ उनले भनिन्, ‘मलाई केही विदेशी साथीहरुले उनीहरु इन्डियामा ओभर स्टे भएकाले कतिपयले शोषण गर्न खोजेको सुनाएका पनि थिए । शोषणमा नपर्ने एउटै उपाय भनेको आफूमाथि भएका दुर्व्यवहारबारे खुलेर विरोध गर्नु या ‘नाइँ’ भन्ने हिम्मत गर्नु हो ।’

अधिकांश अवस्थामा जब आफूमाथि गलत हुन लाग्यो भन्ने चाल पाउँदा पनि चुप लाग्ने बानीले गर्दा महिलाहरु शोषणमा पर्ने गरेको उनको अनुमान छ । हलिउडमा ढिलै भए पनि सुरु भएको मिटू अभियानले संसारभरिका महिलालाई राहत दिएको छ । ती अभिनेत्रीले नबोलिदिएका भए अरुले थाहा पाउने थिएनन् र सधैँझैँ नयाँ पुस्ताका अभिनेत्रीले पनि शोषण भोग्नुपर्थ्याे।

भारतमा पनि पछिल्लो समय आफूमाथि भएका दुर्व्यवहारबारे बोल्ने अभिनेत्रीको संख्या बढ्न थालेको छ । यसलाई उनी सकारात्मक रुपमा लिन्छिन् । यस्ता अभियान नेपालमा पनि सुरु हुनुपर्ने उनको धारणा छ । ‘तर अधिकांश अवस्थामा महिलालाई नै दोषी देख्छन्,’ उनले समस्या सुनाइन्, ‘यत्रालाई केही नहुने, उसैमाथि चाहिँ किन भयो त ? भनेर प्रश्न उठाउँछन् ।’ यस्तो प्रश्नले शोषण गर्नेहरुलाई नै फाइदा पुग्छ र उनीहरुलाई निरुत्साहित गर्न बोल्नैपर्ने उनको धारणा छ ।

उनले एउटा रहस्य खोतलिन्, ‘जब म कहीँ जान्छु, मलाई पनि त्यस्ता मान्छेदेखि डर लाग्छ तर म यति कडा रुपमा प्रस्तुत हुन्छु कि मेरो एटिट्युड देखेर कडा रै’छे भनेर नजिक आउनेसमेत हिम्मत गर्दैनन् । वास्तवमा म दह्रो र कडा स्वाभावको भएर त्यस्तो गरेको होइन, डरका कारण त्यस्तो गरेको हो ।’

एक पटक फट्कारेपछि दोस्रोपटक कसैले पनि अनुचित व्यवहार गर्ने हिम्मत गर्दैन भन्ने उनको राय छ । त्यसैले उनी शोषण चुप नलाग्न सुझाव दिन्छिन् । झन् ग्ल्यामर उद्योगमा त यस्तो समस्या अझ बढी हुने र त्यसलाई रोक्ने उपाय नै आफूमाथि भएका दुव्र्यवहार खुलेर राख्नु भएको उनी बताउँछिन् ।

तपाईंलाई कत्तिको प्रेम प्रस्ताव आउँथ्यो/आउँछ ?

म त्यति राम्री आफूलाई ठान्दिनँ थिएँ । कसैसँग बोल्दिनँ । मलाई अरुले चासो दिएको मन पर्दैनथ्यो । म बडो ‘अकवार्ड’ किसिमकी केटी थिएँ । केटाहरुले प्रपोज गरे भने पनि के जवाफ फर्काउने होला भनेर अलमलमा पर्थें । त्यसैले जवाफ फर्काउन नजान्दा कसैसँग दोस्ती पनि हुन पाएन । केटीहरुकै सर्कलमै म रमाउँथेँ ।

तपाईंको नजरमा सबैभन्दा सुन्दर मोडल कहाँका छन् ? 

मलाई त भारतीय नै बढी मन पर्छन् । म बायस्ड पनि हुनसक्छु तर उनीहरुको सार्प लुक मलाई मन पर्छ । फलानो देशको मान्छे सुन्दर हुन्छ भन्नु व्यक्ति सुन्दर लाग्छ । गोरीभन्दा आफूजस्तै छाला भएका मन पर्छन् । त्यस हिसाबले ब्राजिलियनहरु बढी सुन्दर देख्छु म त । त्यसपछि मलाई सर्बियन मन परे ।

फेसन के हो ?

फेसन भनेको आफूलाई व्यक्त गर्ने एउटा तरिका हो । तपाईंले जे लगाउनुहुन्छ, त्यस लवाईले आफ्नो सबैथोक बताइरहनु भएको हुन्छ । वे अफ एक्स्प्रेसन इन अ वे इज् फेसन ।

फेसन महँगै हुनुपर्छ ?

जरुरी छैन । महँगो–सस्तो जे पनि हुनसक्छ तर त्यसले तपाईंको एटिट्युट र तपाईंबारे बताउनुपर्छ । दश वटा सस्तो जुत्ता किन्नुभन्दा दुई वटा महँगो जुत्ता किन्यो भने त्यो टिकाउ हुन्छ, तपाईंलाई लगाउन सहज हुन्छ र राम्रो पनि देखिन्छ । यस्ता कुरा चाहिँ हुन्छन् है !

पढाइ कि प्रोफेसन ?

सुरुमा पढाइ । पढेको कुरा खेर जाँदैन । पढिसकेपछि आफूलाई मन लागेको क्षेत्रमा तपाईंले जे पनि गर्न सक्नुहुन्छ । मलाई पनि पहिला म के बन्छु थाहा थिएन । सबै जनाले भविष्य सोचेरै आउँछन् भन्ने छैन । तपाईंलाई जीवनमा यो बन्छु भन्ने थाहा छैन भने पहिला पढाइ पूरा गर्नुस् ।

पढाइ के हो त उसो भए ?

पढ्नु भनेको डिग्री मात्र होइन । यो त आफू सामाजिक हुने, चिनजान बढाउने एउटा माध्यम हो । यिनै साथीभाइ पछि कत्ति धेरै काम लाग्छन्, बाटो देखाउँछन्, सहयोग गर्छन् । त्यसैले कलेज जीवन हामीले मिस गर्नुहुन्न । कलेजले पनि हामीलाई आफू को हो भन्ने चिनाउँछ । सोसल्ली पनि एक्टिभ भइन्छ । कमजोर आत्मविश्वास भएको मानिसले कलेज छाड्यो भने उसलाई ठूलो घाटा हुन्छ । कलेज लाइफले मानिसको आत्मविश्वास दह्रो बनाउन भूमिका खेल्छ ।

प्रकाशित: २७ भाद्र २०७५ ०९:२२ बुधबार

आस्था_पोखरेल माेडल नागरिक परिवार