अन्य

डिजिटल वडा प्रोफाइल बनाउन सुरु गरेका छौं

राम थापा मगर, वडाध्यक्ष, मध्यपुर ठिमी नगरपालिका–२

जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभ-यो?
जनप्रतिनिधिमा चुनिएपछि मनहरा–पेप्सीखोला–खस्याङखुसुङखोला क्षेत्रमा २० मिटर चौडा भएको सडक विस्तार गरेका छौं । स्थानीय जनताले मुआब्जा र क्षतिपूर्तिको माग राख्दै विरोध गरेकाले अहिलेसम्म ७० प्रतिशत सडक विस्तार भइसक्यो । ३० प्रतिशत सडक विस्तार अझै हुन सकेको छैन । सात किलोमिटर सडक कालोपत्रे गर्न लागि सडक विभागले ४६ करोड रूपैयाँ विनियोजन गरेको छ । अहिलेसम्म ५० प्रतिशत सडकमा ढल राख्ने काम सम्पन्न भइसक्यो । महेन्द्र आधारभूत विद्यालय प्रांगणमा हिलाम्मे हुन्थ्यो । वडा कार्यालयले १० लाख रूपैयाँ खर्च गरेर विद्यालय प्रांगणमा ढुंगा बिछ्याएको छ । त्यसैगरी सोही विद्यालयमा खानेपानीको समेत उचित व्यवस्थापन गरेका छौं । नयाँ बस्तीमा क्षेत्रमा खानेपानी विस्तार ग-यौं । प्रगतीमार्गमा एक सय ७० मिटर सडक कालोपत्रे ग-यौं । त्यस्तै गरी मरुचोकमा एक सय ७० मिटर सडक ढलान गरेका छौं । मगरगाउँबाट राधाकृष्णमार्ग जाने एक सय ७० मिटर सडकमा ढल राख्ने काम सम्पन्न भएको छ । कैलाश मार्गमा ८० मिटरमा ह्युमपाइप तथा सडक बनाउने काम सम्पन्न भयो।

तपाईँको वडामा खानेपानीको हाहाकार छ, कसरी खानेपानीको व्यवस्थापन गर्दै हुनुुहुन्छ?
वडामा खानेपानीको हाहाकार छ । माग अनुसारको खानेपानीको पर्याप्त आपूर्ति गर्न नसक्दा वडामा खानेपानीको समस्या भएको हो । अधिकांश वडावासीले अहिले जार तथा ट्याङकरबाट पानी खरिद गरेर खाइरहेका छन् । वडामा रहेको खानेपानीको समस्या समाधान गर्न दीर्घकालिन योजना बनाएका छौं । वडा कार्यालयको अगुवाईमा वन क्षेत्रमा ५० लाख रूपैयाँ खर्च गरेर तीन सय मिटर गहिरो ड्रिप बोरिङ खनिसकेका छौं । उक्त ड्रिप बोरिङबाट करिव चार हजार घरधुरी लाभान्वित हुने अपेक्षा गरेका छौं । नगरपालिका र वडा कार्यालयले १५ करोड रूपैयाँको लागतमा खानेपानीको ओभरहेड टयांकी र पाइपलाइन विस्तार गर्ने इस्टिमेट तयार पारेका छौं । सम्भवत् उक्त योजना दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेका छौं ।

सार्वजनिक जग्गाको अतिक्रमण कस्तो छ?
वडामा रहेका सार्वजनिक जग्गाको अहिलेसम्म लेखाजोखा गरेका  छैनौं । तैपनि करिव ५०–६० रोपनी जति सार्वजनिक जग्गा रहेको छ । जसमध्ये करिव दुई–चार रोपनी सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ । स्थानीयले आफ्नो घरछेउ तथा खेतबारी छेउमा रहेको जग्गा खेतीको लागि उपयोग गरिरहेका छन्।

तपाईँको वडामा डुबानको समस्या कस्तो छ?
भक्तपुरको अन्य स्थानको जस्तो डुबानको समस्या छैन । तर, कम्लाटोलमा माथिल्लो भूभागबाट पानी आएर जम्ने समस्या देखिएको छ । नगरपालिकाले कम्ला टोलमा घर बनाउन रोक लगाएको छ । तर, स्थानीयले नगरपालिकामा नक्सापासबिनै एक सय ५८ घर बनाएका छन् । उक्त क्षेत्रमा जुनसुकै बेला डुबानको समस्या हुने देखिन्छ । वडा कार्यालयले मापदण्डविपरित बनेका घरलाई वडा कार्यालयबाट दिने सेवा सुविधाबाट बञ्चित गराइरहेको छ । वडा कार्यालयले ती क्षेत्रमा जग्गा एकीकरणमार्फत् नयाँ वस्ती बसाल्ने योजना अघि सारेका छौं।

तपार्इँको वडामा जग्गा एकीकरणमार्फत् वस्ती बसाल्नुभएको छ, कस्तो भइरहेको छ?
वडामा अहिलेसम्म दुई स्थानमा जग्गा एकीकरणमार्फत् व्यवस्थित बस्ती बसाल्ने काम भइराखेको छ । दिवेश्वरी जग्गा एकीकरण आयोजना, मनहरा जग्गा एकीकरण आयोजनाले काम सुरुवात गरिसकेका छन् । पछिल्लो समय वडा कार्यालयले कम्ला एरियामा पनि जग्गा एकीकरणमार्फत व्यवस्थित बस्ती बसाल्न खोजेका छौं । जग्गा एकीकरण गरेर बस्ती बसाल्दा सडक, ढल खानेपानी, बिजुली खुला स्थानलगायतका क्षेत्र छुट्टाएर निर्माण गरिन्छ । जसको कारणले आधुनिक र व्यवस्थित बस्ती बनाउन सहज हुने रहेछ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गइरहेको छ, सुधार्न कस्तो योजना अघि सार्नुभएको छ?
वडामा एक माध्यामिक र दुई आधारभूत विद्यालय रहेका छन् । वडा कार्यालयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विभिन्न कार्यक्रम अघि सारेको छ । शिक्षक, अभिभावकसँग बेलाबखत छलफल गरेर स्तर सुधार्नको लागि तालिम तथा अभिमुखीकरण सञ्चालन गरिरहेका छौं । नगरपालिकाले नगरस्तरीय शिक्षा ऐन बनाएर वडामा रहेका सामुदायिक र निजी विद्यालयमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम सञ्चालन गरिरहेका छौं । भूकम्पले वडामा रहेको आदर्श माविको भवन भत्कायो । भूकम्पले भवन भत्केसँगै विदेशी दातृ निकाय युएसएआइडीको ३० करोडको सहयोगमा अहिले बहुउद्देश्यीय भवन निर्माण अघि बढेको छ । उक्त बहुउद्देश्यीय अपांगमैत्री भवन बन्न लागिरहेको छ । त्यस्तै गरी वडा कार्यालय महेन्द्र आधारभूत विद्यालयमा खानेपानीको व्यवस्था मिलायौं । त्यस्तैगरी वर्षात्को समयमा विद्यालयको प्रांगणमा हिलाम्मे हुन्थ्यो । अहिले ढुंगा छापेर व्यवस्थित गरेका छौं।

तपाईँको वडामा भूकम्पपीडितको समस्या कस्तो छ?
२०७२ सालको भूकम्पले वडामा करिव ६० घर भत्किएका थिए । जसमध्ये अधिकांश भूकम्पपीडितको घर अझैसम्म ठडिन सकेको छैन । ६० घरले नै पहिलो किस्ता वापतको राहत रकम पाइसके । दोस्रो किस्ता पाउनेको संख्या ३० रहेको छ । त्यस्तै गरी तेस्रो किस्ता पाउनेको संख्या अत्यन्तै न्यून छ । वडामा रहेका केही भूकम्पपीडित अझै टहरामा बसोबास गर्दै आइरहेका छन् । वडा कार्यालयले भूकम्पपीडितको भवन निर्माणको लागि आवश्यक पर्ने प्रविधिक सहयोग गरिरहेका छौं । तर, राष्ट्रिय पुनर्निर्मापण प्राधिकरणको बेवास्ताकै कारणले भूकम्पपीडितले अहिलेसम्म राहत रकम पाउन सकिरहेका छैनन्।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ?
नगरपरिषद्बाट गत आर्थिक वर्षमा वडा कार्यालयका लागि एक करोड ४१ लाख रूपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमध्ये ९५ प्रतिशतभन्दा धेरै खर्च गरिसक्यौं । वडा कार्यालयले खानेपानी, सडक, ढल कृषि, महिला तथा लक्षित वर्गलाई समेटेर खर्च गरेका थियौं । बजेट न्यून भएकाले वडाको विकास पूर्वाधार निर्माणमा समस्या देखिएको हो । चालू आर्थिक वर्षको लागि पनि एक करोड ५१ लाख रूपैयाँ नै बजेट विनियोजन भएको छ । वडा कार्यालयले खानेपानी, पूर्वाधार लगायतका क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको छ । त्यसको साथसाथै वडा कार्यालयले लक्षित वर्गको लागि छुट्टै १० लाख रूपैयाँ बजेट विनियोजन गरेका छौं।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ?
अहिले वडामा तीन वटा जग्गा एकीकरणमार्फत् बस्ती बसाल्ने काम भइरहेको छ । अहिलेको सन्दर्भमा सबैभन्दा व्यवस्थित ढंगले वस्ती बसाल्ने भनेकै जग्गा एकीकरणमार्फत् नै हो । व्यवस्थित ढंगले बस्ती बसालेर वडालाई स्मार्ट वडाको रूपमा स्थापित गर्ने लक्ष्य राखेका छौं । त्यस्तै गरी कार्यकालभित्रै वडामा रहेका सम्पूर्ण भित्री तथा मुख्य सडक कालोपत्रे अर्थात् ढलान गर्ने योजना बनाएका छौं । त्यस्तै गरी मनहरा खोला आसपासको क्षेत्रमा ट्रिटमेन्ट प्लान्ट गरेर खोला सरसफाई र हराभरा बनाउनेछौं ।  वडा कार्यालयले डिजिटल वडा प्रोफाइल बनाउने काम सुरुवात गरिसकेको छ । वडामा रहेका सम्पूर्ण गतिविधिलाई डिजिटल फर्ममा राख्ने व्यवस्था मिलाउनेछौं।

प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: २५ भाद्र २०७५ ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App