गोरखाका १८ वर्षीय छवि आले जन्मदै नेत्रहीन हुन् । नेत्रहीन छविका सपना सामान्य मानिसभन्दा भिन्न छन् । कुशल रेडियोकर्मी र सफल वकील बनेर देशको सेवा गर्ने उनको वाल्यकालदेखिकोे लक्ष्य हो। अहिले उनी त्यहीँ बाल्यकालदेखिको सपना र लक्ष्य पूरा गर्ने अठोटमा छन् । ‘केटाकेटीमा भाँडाकुटी खेलेको सपना देख्थें, अहिले मोटरसाइकल उडाएको देख्छु, मेरो सपना रेडियोकर्मी र वकील बन्ने हो, त्यसको लागि प्रयत्न पनि गरिरहेको छु’ उनले सुनाए, ‘आँखा देख्ने र नदेख्नेका सपना एउटै हुन्।’
त्यसो अहिले नेत्रहीनहरूलाई प्रविधिमा समस्या छैन । कम्प्युटर, फेसबुक, युट्युब जस्ता सोसल मिडियाहरू सबै चलाउन तालिम दिइन्छ । यद्यपि यस्ता नेत्रहीनहरूको लागि मुख्य समस्या भनेको बाटोघाटो नै हो । उनी भन्छन्, ‘फुटपाथमा ट्याकटाइल छैन । भएको पनि भत्किएको छ, सवारी साधनले पनि च्याप्छन् । हिलै सडक र खाल्डाखुल्डी हिँड्न ज्यादै समस्या हुने गरेको छ।’
उनीजस्तै दाङका २२ वर्षीय मनोज थापा मगर पनि नेत्रहीन हुन् । उनी जन्मँदै देब्रे आँखा बिग्रिएको थियो । उनले कक्षा १० मा पढ्दा साथीहरूको झगडामा परेर दाहिने आँखाको ज्योति पनि गुमाए । त्यसको केही समयअघि मात्रै उनले आमालाई गुमाएका थिए।
‘सुरुमा त आँखा दुखेको होला भन्ने भयो, उपचार गराउँदा पनि आँखा खुल्दै खुलेन,’ उनले सुनाए । उनी पोखराको पृथ्वीनारायण क्याम्पसबाट बिएड पास गरेका छन्।
काभ्रेपलाञ्चोककी ३८ वर्षीय चन्द्ररेखा श्रेष्ठ जन्मजात नेत्रहीन हुन् । उनी मध्यबानेश्वरस्थित रुद्रमती आधारभूत विद्यालय, देवीनगरमा पढाउँछिन् । उनले पहिलोचोटि दृष्टिविहीनले पढाएको देखेर विद्यार्थीहरूले अचम्म मानेको बताइन् । ‘मान्छेहरूले आँखाभन्दा ठूलो केही छैन, बरु कान नसुनेको भए हुन्थ्यो, हातखुट्टा नभएको भए हुन्थ्यो भन्छन् । तर, आँखै नहुँदा चसक्क हुन्छ,’ उनले भनिन् । उनले राज्यले दिएको मासिक छ सय भत्ता लिँदै आएको बताइन् । ‘सबैभन्दा ठूलो समस्या खाल्डाखुल्डी सडक हो,’ उनले थपिन्, ‘बर्खाको बेला हिँडिसक्नु हुन्न, ज्यान जोगाएर सहरमा हिँड्नै मुस्किल छ।’
१६ वर्षमा पढ्न थालेर २१ वर्षको उमेरमा एसएलसी गरेका नेत्रहीन रमेश पोखरेल नेपाल नेत्रहीन संघका केन्द्रीय अध्यक्ष हुन् । पोखरेल दम्पति शिक्षण पेशा गर्छन् । उनकी छोरी पनि आमाबाबुजस्तै जन्मिदै दृष्टिविहीन हुन् । अध्यक्ष पोखरेलले दृष्टिविहीनहरू पढाइमा धेरै अब्बल हुने बताए । उनकी छोरी कीर्तिपुरस्थित लेबोरेटरी स्कुलमा कक्षा दशमा पढ्छिन् । पढाइमा उनी अब्बलै छिन् । ‘मैले २०५३ सालबाट यस संस्थामा आबद्घ छु,’ उनी भन्छन्, ‘ग्रास रुटमा काम गरेर केन्द्रीय अध्यक्ष भएको मै मात्रै हुँला । दृष्टिविहीन सबैले पढ्न पाएका छैनन्।’
नेपाल नेत्रहीन संघका निर्देशक नरबहादुर लिम्बूले सात वर्षको हुँदा औषधि नपाएर दृष्टिविहीन भएको गुनासो गरे । उनले भने, ‘सिटामोल खान पाएको भए ज्वरो नियन्त्रण हुन्थ्यो र म यस्तो दृष्टिविहीन हुनु पर्दैन थियो । टाइफाइड ‐म्यादी जरो) म्याद पुगेपछि जरो त ठिक हुन्छ । तर, यसले अंगभंग गराउँछ । अभाव, गरिबी र अशिक्षाको कारण यस्तो समस्या भएको हो।’
नेपाल नेत्रहीन संघका कार्यक्रम अधिकृत शोभा न्यौपानले प्रविधिको प्रयोग गरेर अपांग कारण देखिएका सीमिततालाई न्यूनीकरण गर्न सकिने बताइन् । उनले हामीले नेपाल नेत्रहीन संघको २५ वर्षै अवधिमा धेरैलाई आत्मनिर्भर बनाउने कार्य गरेको जानकारी दिइन् । ‘यहाँका भौतिक निर्माण र वातावरणीय पक्ष अपांगमैत्री हुनुपर्छ । तर, हामीमा यही कुराको अभाव छ,’ उनले भनिन्।
प्रकाशित: २५ भाद्र २०७५ ०६:०१ सोमबार