‘यो क्याफेको बोर्ड रञ्जना लिपिमा लेख्नुपर्छ । कस्तो बनाउने भन्नुस्, म लेखिदिन्छु ।’ पूर्व मिस नेवाः सुनिता डंगोल बिहिबार झोसेंको किपाज क्याफेका कविर शाक्यसँग भन्दैथिईन्, ‘सुरुवात तपाईको क्योफेबाट गर्ने हो । राख्नचाँही यो टोलमा सबै बोर्ड रञ्जनामै राख्ने हो।’
डंगोल आजभोली जती जनालाई भेटिन्छन्, यसैगरी रञ्जना लिपिको केही न केही कुरा गर्छिन् । नेपालको मौलिक लिपिको रुपमा चिनिएको सुन्दर देखिने रञ्जना लिपि व्युँताउने अभियानमा छिन् उनी । यो लिपिबाट नेपालको प्राचीन इतिहास, धर्म, संस्कृति, कला लेखिएका पाइन्छ । रञ्जना लिपि नेवार समुदायमा बढी प्रचलित छ ।
सन् २०११ मा सुनिताले मिस नेवाको ताज पहिरिइन् । यही क्रममा नेपाल लिपि सिक्न पुगेकी सुनिताले रञ्जना लिपिको बारेमा जानकारी पाइन् । ‘रञ्जना लिपि देख्दै सुन्दर लाग्यो, आनान्द आउने खालको ।’ सुनिताले विगत सम्झिन्, ‘त्यसपछि नै मैले रञ्जना लिपिलाई चासो राखेर सिक्न थालेको हुँ । अहिले देशव्यापी रुपमा रञ्जना लिपि सिकाएर व्युँताउने अभियानमा छु।’
रञ्जना लिपि सिकेपछि सुरुमा लेख्दै सामाजिक सञ्जालमा पोष्ट गर्थिन् सुनिता । रञ्जना लिपिमा लेखेका सुन्दर अक्षर देखेर सबैले जिज्ञास राख्थे, ‘कस्ता राम्रा अक्षर । यो कहाँ सिक्न पाइन्छ ।’सुनितालाई धेरैले अनुरोध गरे रञ्जना लिपि सिकाउनको लागि । सुनिताले एक दुई जनालाई नभएर समूहमै सिकाउने अभियान बनाईन् । सुनिताको अभियानलाई साथ दिए सफ्टवेयर इन्जिनियर आनन्द महर्जनले।
‘एक्लै कसरी अगाडि बढ्ने अन्योल थियो,’ सुनिताले भनिन्, ‘आनन्दा महर्जनको साथ पाएपछि भने रञ्जना लिपिको कार्यशाला गर्ने निर्णय लिएर अगाडि बढ्यौं ।’ सुनिताले सुरुवात आफ्नै टोल बसन्तपुरको इतुबहालबाट गरिन् । पहिलो कार्यशालामै ३० भन्दा बढीको उपस्थिती भएपछि सुनिता झनै हौसिन् । सुनिताको अभियानलाई क्यालिजात्रा टिम र नेपाल लिपि गुठीले समेत साथ दियो । यसपछि सुनिताले थालेको कार्याशाल उपत्यकामा मात्रै होइन्, उपत्यका बाहिर समेत पुगेको छ । ‘काठमाडौं, भक्तपुर र ललितपुर गरेर ७ ठाउँमा रञ्जना लिपि लेखन कार्यशाल गर्यौं,’ उनले भनिन्, ‘अत्याधिक माग भएपछि उपत्यका बाहिर बनेपामा समेत कार्यशाल गरेका छौं।’
यतीबेला रञ्जना लिपि सिकाउनेको लागि विभिन्न ठाउँबाट युवा क्लवदेखि स्थानीय तहसम्मले अनुरोध गर्छन् सुनितालाई । समय मिलाएर अनुरोध आएका ठाउँमा पुगेर निःशुल्क कार्यशाल गर्दै आएकी छिन् सुनिता । कार्यशाला गर्दा युवाको उपस्थिती देखेर भने चकित छिन् उनी । बनेपाको कार्याशालामा त एक सय बढीको उपस्थिती थियो । ‘कार्यशालामा ३० देखि सय बढीको उपस्थिती हुने गरेको छ,’ उनले भनिन्, ‘त्यसमा पनि युवाको बाक्लो उपस्थिती देख्दा लाग्छ, रञ्जना लिपि युवामा चर्चित हुनेछ।’
सुनिता रञ्जना लिपिको कार्यशालालाई देशैभर सञ्चालन गर्ने योजना छिन् । सामाजिक कार्यमा स्नातोकोत्तर गरिरहेकी सुनिता रञ्जना लिपि संरक्षणको जिम्मा आफुहरु जस्तै युवाको हातमा रहेको बताउँछिन् । ‘रञ्जना लिपि देखेपछि जो कसैलाई लेख्न र सिक्न मन लाग्छ,’ उनले भनिन्, ‘जानकारी मात्रै गराउन सकियो भने लिपिको संरक्षण गाह्रो छैन् ।’ विभिन्न सर्वाजनिक संस्था तथा व्यवसायको बोर्ड रञ्जना लिपिमा लेख्न सकिएपनि रञ्जनाको आकर्षण बढ्ने सुनिताको अनुमान छ।
सुनिताले महानगरिय प्रहरी जनसेवा विशालबजारबाट त्यसको सुरुवात समेत गराइसकेकी छिन् । अहिले जनसेवा कार्यालयमा रञ्जना लिपीबाट कार्यालयको नाम लेखिएको छ । योसँगै बसन्तपुरका विभिन्न व्यवसाय तथा सर्वाजनिक संस्थामा रञ्जना लिपिबाट बोर्डको सुरुवात गराउने लक्ष्यमा छिन् । ‘रञ्जना लिपिको बारेमा कुरा सुनाउँदा सबैजनाले चासो व्यक्त गराउनुभएको छ,’ उनले भनिन्, ‘सबैलाई अनुरोध गरेर बसन्तपुरभित्रका बस्तीका बोर्ड भने रञ्जना लिपिमा लेखेर राख्ने तयारी भइरहेको छ ।’ यसरी रञ्जना लिपिमा लेख्दा टोल नै अक्षरले गर्दा सुन्दर देखिने उनको अनुमान छ।
रञ्जना लिपिको नेवार समुदायमा मात्रै नभएर अन्य समुदायमा समेत माग हुन थालेको छ । ‘रञ्जना लिपिको कलात्मकताले तानेर होला कार्याशाला हुँदा नेवार समुदाय बाहिरका युवाको पनि उस्थित छ,’ उनले भनिन्, ‘रञ्जना नेपालको लिपि हो । हामी सबैको हो ।’ आजकाल सुनितालाई कसैको जन्मदिन लगायतको उपहार दिन पर्यो भने रञ्जना लिपिमा लेखिदिन अनुरोध गर्छन् । यसरी अनुरोध गर्नेमा पनि नेवार तथा गैरनेवार दुबै छन्।
यसैले गर्दा रञ्जना लिपिको युनिकोड बनाएर विश्वव्यापी रूपमा प्रचलनमा ल्याउने अभियानमा सुनिता छिन् । त्यसको लागि उनै सफ्टवेयर इन्जिनियर महर्जनले काम गरिरहेको सुनिताले जानकारी दिईन् ।रञ्जना लिपि मार्फत अक्षरहरु तेस्रो र ठाडो लेख्न सकिन्छ । तेस्रो लेखिएका अक्षर सबैले बुझ्ने खालका भएपनि ठाडो लेखिएका अक्षर भने कमैले बुझ्न्छन् । गोप्य मन्त्र लेख्न समेत यो लिपिको प्रयोग गरिन्छ । रञ्जना लिपिलाई संसारैको सुन्दर अक्षर मध्ये दोस्रोमा राखिएको छ ।
प्रकाशित: १४ श्रावण २०७५ ०३:०४ सोमबार