अन्य

श्रीमान् कुर्दाकुर्दै इन्फर्टिलिटी

डा. सविन श्रेष्ठ
निःसन्तान तथा टेस्ट ट्युब बेबी विशेषज्ञ 

वैदेशिक रोजगारी भएका दम्पति निःसन्तान परिभाषाभित्र नपरीकनै दुःखपीडा भोगिरहेका छन् । विवाहित दम्पति एक वर्षसम्म सँगै र कुनै परिवार नियोजनको साधान प्रयोग नगरीकनै बस्दा पनि सन्तान भएनन् भने यस्ता दम्पतिलाई निःसन्तान समस्या भनी उपचार सुरु गर्नुपर्छ । तर वैदेशिक रोजगारीमा गएकाहरु विवाह गर्नेबित्तिकै विदेश जान्छन्, बिदा पनि कम समयको लिएर आउँछन् । एक÷दुई महिना छुट्टीमा आएको अवस्थामा कतिबेला महिनावारी चक्रअनुसार डिम्ब निस्किन्छ ? त्यतिबेला सम्पर्क हुन्छ कि हुँदैन् । फेरि धेरैजसोमा पहिलो दोस्रो प्रयासमा सन्तान नभएपछि बिस्तारै तनाव पनि थपिँदै जाने गर्छ । 

हाम्रो समाजमा सन्तान नहुने कुरा सामाजिक, धार्मिक कुराले पनि जोडिन्छ । अनि बच्चा नभएपछि आउने भेदभाव दबाबले पनि दम्पतिमा मानसिक तनाव बढ्छ । त्यसले गर्दा पनि श्रीमान्हरुमा सफल यौन कार्यमा समेत बाधा पुग्छ । एकातिर तनाव थपिँदै जान्छ, फेरि तनाव पनि सन्तानहीनताको प्रमुख कारण हो । ६ वर्षमा ६ महिना पनि सँगै बसेका हुँदैनन् अनि कसरी बच्चा हुन्छ त ? 
धेरै वर्ष श्रीमान् पर्खिएर बच्चा होला कि भन्ने आशाले कुर्दाकुर्दै उमेर ढल्किदै जान्छ र सन्तान हुनै नसक्ने अवस्था आइपुग्छ । जति ढिला उमेर भयो उति बच्चा हुने संभावना कम हुन्छ । 

अर्कोतिर अहिले वैदेशिक रोजगारीका कारण मल्टिपल सेक्स पार्टनर हुने अनिच्छित गर्भधारण, असुरक्षित गर्भपतन पनि निःसन्तानको कारण बन्दै गएको छ । परपुरुषसँग सम्बन्ध हुन्छ, गर्भ रहेपछि गर्भपतन गराउँछन् । फेरि बच्चै नभइकनै असुरक्षित तरिकाले गर्भपतन गराएपछि बच्चा नहुने कारण बन्नसक्छ । असुरक्षित गर्भपतनले पाठेघरसम्म शुक्रकीट जाने नली बन्द हुनसक्छ । त्यस्तो अवस्थामा टेस्ट ट्युब बेबीबाहेक विकल्प हुन्न । 

श्रीमान् पनि असुरक्षित र धेरै महिलासँग सम्पर्क गर्ने कारणले पनि निःसन्तानको समस्या बन्ने गरेको छ । धेरै यस्तो सम्पर्कले शुक्रकीट नै संक्रमित हुन्छ । 

वैदशिक रोजगारीमा काम गर्ने जाने युवाहरुमा निःसन्तानको अर्को प्रमुख कारण बढी तातो हुने फलाम खानी, सडक निर्माण, कृषि मजदुर, ड्राइभर, निर्माण कार्य गर्नेहरुमा बढी तापक्रमका कारण शुक्रकीट मर्छ । यो समस्या रिकभर हुने समस्या हो । कतार, साउदीजस्ता बढी तापक्रम हुने ठाउँमा काम गर्नेमा यस्तो समस्या बढी छ तर मरेको शुक्रकीट बन्न २/३ महिना लाग्छ । उनीहरु जम्माजम्मी दुई तीन महिनाको बिदा लिएर आएका हुन्छन्, त्यतिबेला शुक्रकीट नै बनेको हुन्न अनि फर्किने समय आइहाल्छ । 
यस्ता काम गर्नेले घर आउने केही महिनादेखि नै चिसो ठाउँमा काम गर्ने र कम्तिमा ६ महिनाको छुट्टी लिएर आउनुपर्छ । वैदेशिक रोगजारीमा गएकाहरुमा विभिन्न समस्याका कारणले बच्चा भइरहेको हुन्न तर उपचार थालिहाल्नु वा औषधि दिइहाल्नुभन्दा उपयुक्त परामर्श दिनु जरुरी हुन्छ । 

अहिले निःसन्तानको समस्या लिएर आउनेमध्ये २० देखि २५ प्रतिशत दम्पति वैदेशिक रोजगारमा गएकाहरुको हुन्छ । वैदेशिक रोजगार विभागका अनुसार नेपालका ३८ देखि ४० लाख युवा तथा वयष्क अनुमति लिएर वैदेशिक रोजगारमा गएका छन् । जसमध्ये झण्डै ४७ प्रतिशत २२ देखि ३५ वर्ष उमेर समूह (रिप्रडक्टिभ) उमेर समूहका छन् । अनुमतिबिनै भारत वा अन्तरिक माइग्रेन्टको संख्या पनि निकै ठूलो रहेको अनुमान छ । यस्तो अवस्थामा स्थानीय स्वास्थ्य संस्थामा सामान्य (वीर्य)को परीक्षण, परामर्शजस्ता सेवा विस्तारमा ध्यान दिन सक्नुपर्छ । 

तीबाहेक पुरुषसँग छुट्टी कम भएको अवस्थामा पनि वीर्य संकलन गरेर सुरक्षित राख्ने र महिलाको नियमित जाँच गरेर पर्याप्त डिम्ब निस्किएको समयमा नलीको सहायताले पाठेघरसम्म लगेर राखिदिने विधिसमेत नेपालमा प्रचलनमा छन् । यस्तो अवस्थामा श्रीमान् विदेश भएको समयमा गर्भवती भई भनेर सामाजिक दबाब पर्ने भएकाले पनि धेरैले यो विकल्प रोज्दैनन् । यसमा पनि ध्यान दिन र परिवारलाई तयार गर्नसके धेरै दम्पतिलाई सन्तान दिन सकिन्छ ।

(दीपक दाहालसँगको कुराकानीमा आधारित)

प्रकाशित: २६ असार २०७५ १२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App