अन्य

‘मर्न तयार छु, तर तीन करोड नेपालीको स्वास्थ्यमा खेलबाड हुन दिन्न’

जुम्ला– जिल्ला खेलकुद विकास समिति जुम्लाको कवर्ड हलमा अनशनरत डा. गोविन्द केसीले सरकारले आफूले राखेको माग पुरा नगर्दासम्म अनशन फिर्ता नलिने बताएका छन्। 

‘तीन करोड नेपालीको स्वास्थ्यमा खेलवाड गर्ने रवैयाविरुद्ध मर्नु परेपनि मर्न तयार छु, तर अन्तिम सम्म लड्छु। तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबीबीएस पढाई हुनु पर्यो, दिर्घ रोगी भएर उपचार नपाएर मृत्युवरण गर्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्यो’, उनले भने, ‘स्वास्थ्य क्षेत्रको समृद्धि र समग्र रोजगारीको लागि सरकार उदासिन देखिएको छ।’ 
‘ओली सरकार बौलाउँदैछ’, उनले भने, ‘बादशाह बनेर धोका दिँदैछ, जनताद्वारा निर्वाचित जनप्रतिनिधि जनतालाई लात हान्दैछन,

कमिसनको खेलमा लागेकोले जनताको स्वास्थ्यप्रति उनीहरुलाई मतलब छैन्। सरकारका प्रतिनिधि माफियाहरुका लागि लगानी गरेर अर्बौ रकम कमाउन उद्दत छन्।’

डा केसीले सर्वसाधारण जनताले पेट काटेर दिएको रकमले यहाँका नेता विदेशका महंगो अस्पतालमा उपचार गर्न पुग्ने गरेको तर सर्वसाधारण नागरिकलाई सिटामोल पुगे नपुगेको बारेमा चासो राख्दैनन् भनी गुनासो गरे। 

सरकार शिक्षा स्वास्थ्यमा चरम व्यवसायीकरण गरी माफियासंग मिलेर राष्ट्रको स्वास्थ्य अवस्थालाई बर्बादिको दिशामा लैजान थालेको उनले आरोप लगाए।  प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, शिक्षा मन्त्री गिरिराजणी पोखेरलले जनताको भावना विपरितका क्रियाकलाप गर्दा देशमा विकराल समस्या आएको उनको भनाई छ। 

आफूले राखेको माग पुरा नभएसम्म अनशन नतोड्ने बताउँदै डा. केसीले स्वास्थ्य क्षेत्रको समृद्धिका लागि आफ्नो ज्यान त्याग्न तयार रहेको बताए। ‘ओली सरकारले माफियाको व्यवहार देखाएर पदको चरम दुरुपयोग गरेको छ’, उनले भने, ‘यो अत्याचारलाई सहदैनौं, आवाज विहिनको आवाज बनेर माग पूरा गरि छाड्छौं।’  

कर्णाली अपहेलित क्षेत्र भएको र गुणस्तरीय स्वास्थ्य सेवा नपाएर यहाँका नागरिक अकालमा मर्न बाध्य रहेको बताउँदै उनले भने– ‘कर्णालीमा अनशन बस्दा विश्व समुदायको ध्यानाकर्षण हुने भएकोले जुम्ला पुगेको हुँ।’ संसदमा पारित हुन लागेको चिकित्सा शिक्षा विधेयक संशोधन गरेर नेता र माफियामुखी बनाउन लागेको प्रति आपत्ति जनाउँदै डा. केसीले त्यो स्वीकार्य नहुने बताए। उनले चिकित्सा शिक्षा विधेयकमा कुनै हेरफेर हुन नहुने भन्दै हुबहु पास गर्नुपर्ने माग गरे। 

अध्यारोमा अनसन

डा. केसी खेलकुद विकास समितिको कवर्ड हलमा तीन दिनदेखि अध्यारोमै अनशन बसेका छन्। ‘हलमा विजुली जडान गरिएको छैन, रातभरी चराले डिस्टर्व गर्छन, निरन्तर वर्षा भइरहेकोले अत्याधिक चिसो बढेको छ’, उनका भाई किशोर केसीले भने, ‘इन्फेक्सन हुने डर छ, अव्यवस्थित ठाउँमा मेडिकल टिमले केहि पनि गर्न मिल्ने अवस्था देखिँदैन्।’ प्रहरीको कडा निगरानीमा डा. केसीको अनसन भइरहेको छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले टाउको दुख्ने, छाति पोल्ने,जीउ दुख्ने समस्याले ग्रसित भइरहेको बताए। उनले भने, ‘हातखुट्टा बाउडिएका छन्, मुटुको धड्कन बढेको छ। ३६ घण्टामा दुई एमएल मात्र पिसाब भएको छ।’

प्रकाशित: १८ असार २०७५ १०:४० सोमबार

मर्न तयार छु करोड नेपालीको स्वास्थ्यमा खेलबाड हुन दिन्न