अन्य

होस्टलमा बस्दा पम्फा भुसालसँग बेड जुधेपछि...

पिता यमुनाप्रसाद यादव तथा माता रामरतिया यादवको पहिलो सन्तानको रूपमा २०२२ जेठ १५ गते  सिराहा जिल्लामा जन्मिएकी हुन् चित्रलेखा यादव । राजा ज्ञानेन्द्रले निर्वाचित प्रतिनिधि सभा विघटन गरेपछि उपसभामुखको हैसियतले सडकमै प्रतिनिधि सभा बैठक बोलाएर चर्चित भइन् । गणतन्त्र ल्याउनका लागि, जनतालाई स्वतन्त्र गर्नका लागि, थोरै   भए पनि काम गर्न सकेकोमा उनी गर्व गर्छिन् । १८ महिना शिक्षामन्त्री सम्हालेकी उनी विवादरहित भने हुन सकिनन् । 

छोरीलाई पढाउन राख्दा घरमा रुवाबासी 

यादवले २०३९ सालमा एसएलसी उत्तीर्ण गरेकी हुन् । उनको बालविवाह भएको हो भन्दा फरक पर्दैन । ‘उतिबेलाको समाजमा छोरीलाई पढाउन हुँदैन भन्ने अनि छिट्टै विवाह गरेर पठाउने चलन थियो,’ उनी भन्छिन्, ‘धन्न मेरो बुवाले भने अरूको कुरा सुन्नुभएन र पढाउनुभयो ।’

भएछ के भने घरमा बस्यो भने छोरी ठूली भई बिहे गर्दिन प-यो भनेर दबाब दिइरहने, विवाहको कुरा चलिरहने । यस्ता कुराबाट छोरीको पढाइमा असर पर्छ भन्ने ठानेर उनका बुवाले काठमाडौं आएको बेला छोरीलाई पनि सँगै ल्याएछन् र भर्ना गरिदिएछन् थापाथलीस्थित महेन्द्र आदर्श विद्यालयमा । छोरीलाई भर्ना गरिदिएर उनका बुवाले चित्रलेखालाई काठमाडौंमा विद्यालयकै होस्टेलमा बसाली घरतर्फ लागेछन् । घर पुग्नेबित्तिकै चित्रलेखाकी हजुरआमाले नातिनी खै ? भनेर सोधिछन् । काठमाडौैंमा पढ्न राखेको भनेपछि त चित्रलेखाकी हजुरआमा, आमा किन छोरीलाई एक्लै छोडेर आएको भनेर रुवाबासी नै चले छ । विवाह गर्ने बेला भएकी छोरीलाई एक्लै छोडेर आएको भनेर -याख-याख्ती पारेछन् । राष्ट्रिय पञ्चायतमा २ पटकसम्म सांसद भइसकेका चित्रलेखाका बुवाले शिक्षाको महत्व बुझेका थिए । छोरीलाई पढाउनुपर्छ भनेर सम्झाइबुझाइ गरेछन् अनि बल्ल घरपरिवारका मान्छे शान्त भएछन् । 

९ कक्षामा पढ्दापढ्दै बिहे

त्यतिबेला छोरीको छिट्टै विवाह हुने चलन थियो । १८ वर्षमै विवाह भएकी चित्रलेखाको अरूको तुलनामा ढिलो भएको बताउँछिन् । उनी भन्छिन्, ‘त्यतिबेला यमुनाप्रसादले छोरी बुढी बनाए भनेर गाउँभरि हल्ला चलाइयो तर बुवा विवाह गरिदिन मानिरहनु भएको थिएन तर समाजको अगाडि उहाँको पनि केही जोर चलेन त्यसपछि ९ कक्षा पढ्दापढ्दै विवाह गरिदिनुभयो । विवाह गरिदिनुमा पनि सर्त थियो विवाहपछि पनि छोरीलाई पढाउनुपर्छ ।’ यो सर्त केटापक्षले मानेपछि उनको बिहे भयो । 

श्रीमान्कै कारण पढ्न पाएँ 

श्रीकृष्ण यादवसँग उनको विवाह भयो । उनका श्रीमान् निकै सहयोगी र पढाइको महत्व बुझेको उनी बताउँछिन् । कतिसम्म भने बच्चा भएपछि गाह्रो हुन्छ भनेर आइए पढ्दा उनका श्रीमान्ले क्याम्पसको नजिकै घर बनाएछन् । क्याम्पसको नजिकै घर हुँदा खाली भएको समयमा बच्चालाई दूध खुवाउन आउनजान उनलाई सहज भयो । सासू–ससुराले पनि धेरै नै सहयोग गरेको उनले बताइन् । आइए पढ्दासम्म उनी सिराहामा रहिन् त्यसपछि भने छोरालाई घरमा, छोरीलाई माईतीमा राखेर उच्च शिक्षाका लागि काठमाडौं हान्निईन् । उनका श्रीमान् भने विद्यावारिधिका लागि इन्डिया गए । ‘हामी यसरी छिन्नभिन्न भयौं, परिवारको यतिसम्म याद आउँथ्यो कि सीमा नै थिएन,’ उनी भन्छिन्, ‘बच्चाहरु देख्यो कि मेरो मनमा आँधी नै चल्थ्यो । एकपटक त झोला मिलाएर बसपार्कसम्म पुगेर पनि फर्केकी छु ।’

बुहारी पढायो भनेर गाउँमा कुरा काटे 

छोरीलाई पनि पढाउने चलन नभएको त्यतिबेलाको समाजमा बुहारीलाई पढाएपछि गाउँभरि चर्चा चलेछ । ‘यसले गाउँको नियमै बिगा-यो भनेर सासू–ससुरालाई निकै दबाब आयो । अब हामीहरुले पनि पढाउनु पर्छ भनेर अत्तालिएका थिए उनीहरु,’ उनी भन्छिन्, ‘त्यसपछि मैले गाउँका केटाकेटी बटुलेर फ्रिमा अङ्ग्रेजीलगायतका विषय पढाएँ । तिनै विद्यार्थीले मेरो गुणगान गाइदिएपछि भने मलाई सहज भयो ।’ राम्रोसँग खाना पनि पकाउन नआउने मलाई घरबाट पनि कहिले दबाब नआएको उनले बताइन् ।  

होस्टलमा बस्दा पम्फा भुसालसँग बेड जुधेपछि

४२ सालतिर यादव उच्च शिक्षाका लागि काठमाडौं आइन् । त्यतिबेला होस्टलमा रुम पाउन हम्मेहम्मे थियो रे । नेविसंघको राजनीति गरेकी उनलाई रुम त पाइन् तर रुम भएको बेड भने जुध्यो, अहिलेकी माओवादी नेतृ पम्फा भुसालसँग । उनीहरुको यतिसम्म भएछ कि बाजाबाज नै परेछ । ‘मलाई नेविसंघका दिदीहरुले कुनै हालतमा बेड नछोड भने, हामी मिलेर बस्छौंभन्दा पनि ती दिदीहरुले मान्नुभएन । अनि  त्यो बेडमा मै बसेँ । 

त्यो ‘चाइल्ड साइकोलोजीको क्लास’

मास्टरमा चाइल्ड साइकोलोजीको क्लास हुँदा भने आफूलाई खपिनसक्नुभएको उनले बताइन् । उनले भनिन्, ‘चाइल्ड साइकोलोजीमा बच्चा बच्चीलाई आमा–बुवाले छोड्नु हुँदैन भन्ने थियो, हामी भने चारतिर थियौं, जहिले पनि आफूले भनेअनुसार हुर्काउन पाइएन भन्ने लागिरहन्थ्यो । कति चोटी भक्कानिएर पनि रोएँ तर जब पढेपछि दीर्घकालीन फाइदा हुन्छ भन्ने सोच्थेँ तब भने आफूले आफूलाई सम्हाल्थेँ ।’ धेरै पटक छोराछोरीको सम्झनामा बाथरुममा गएर रोएको उनले बताइन् । 

राजनीतिमा संलग्न 

कक्षा आठमा पढ्दा राजनीति सुरु गरेकी हुन्, चित्रलेखा यादवले । पछि उनी त्रिभुवन विश्वविद्यालयको नेविसंघ ईकाइको कोषाध्यक्ष भएर पनि काम गरिन् । विद्यार्थी राजनीति गर्दा स्मरणीय घटनाहरु धेरै भएको उनले बताइन् । एकपटक भएछ के भने प्रजातन्त्रको पक्षमा विद्यार्थीहरुले त्रिवि प्रांगणमा कार्यक्रम राखेछन् । त्यस कार्यक्रममा यादव पनि सहभागी थिइन् । प्रहरी आएर लखेटालखेट गरेछ, भाग्ने क्रममा उनीहरु कीर्तिपुरका घरमा लुक्न जाँदा नलुकाइदिएर पुलिसको कुटाइ खाएको पनि उनको सम्झना छ ।  

केटाहरु पनि डराउँथे

चित्रलेखा यादवलगायतका साथीहरु मिठाई खानकै निम्ति कीर्तिपुरदेखि न्यूरोडसम्म आउँथे । त्यति बेला कीर्तिपुरको गाडी पाउन सकसै पथ्र्याे उनले भनिन्, ‘कोचाकोच हुन्थ्यो, सुरुसुरुमा त केटाहरुले निकै पेल्थे पछि भने यी केटीहरु होस्टलका हुन् छोड्दिनु भनेर भनेपछि हेर्नेसम्म आँट गर्दैनथे ।’ 

शिक्षा नै परिवर्तनको संवाहक  

चित्रलेखालाई शिक्षा नै परिवर्तनको संवाहक हो भन्ने लाग्छ । उनी आफू पढेर नै यत्तिको भएको बताउँछिन् । नागरिक परिवारकर्मीसँगको कुराकानीमा उनले धेरै पटक आफ्ना बुवाले शिक्षाको महत्व बुझेकै कारण आफूले पढ्न पाएको कुरा गरिरहिन् । उनी आफू पनि १८ महिना शिक्षामन्त्री नै भइन् । तराईमा अझै बालविवाह र किशोरी शिक्षामा  पछाडि परेको, यसका लागि तपाईं नेता तथा मन्त्री भएको बेलामा के गर्नु भयो भन्ने जिज्ञासामा उनले नीतिगत काम धेरै गरेको बताइन् । उनले भनिन्, ‘सरकारी स्कुलको सुधारका लागि काज सिस्टम हटाएँ, छोरी शिक्षाका लागि विशेष अभियान, सोझै शिक्षा मन्त्रालयबाट जाने रकम ८० प्रतिशतभन्दा बढी बेरुजु देखिएपछि त्यो हटाएँ ।’

परिवारकर्मीले उनलाई तराईमा अझ पनि छोरा र छोरीमा विभेद ज्यादा रहेको छ नि भन्ने जिज्ञासामा उनले सोचाइ बिस्तारै परिवर्तन हुँदै जाने बताइन् । उनले भनिन्, ‘हाम्रो पालामा भन्दा धेरै सुधार त भएको छ तर अझ पनि सन्तोष गर्ने ठाउँ भने छैन ।’

तस्बिरः कृष्पा श्रेष्ठ

प्रकाशित: १९ जेष्ठ २०७५ १३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App