अन्य

छोरा–छोरीबीचको विभेद

सीमा आभास 

साँझ–बिहान घरबाट छोरो डुल्न निस्कँदा हामी कोही पनि “छोरी मान्छेलाई नजिस्काउनू । दुव्र्यवहार नगर्नू” भन्दैनौँ । तर, त्यही घरकी छोरी साँझ–बिहान घरबाहिर निस्कि भनेँ “बाटोमा के कस्ता मान्छे भेटिन्छन्, ख्याल गरेर जानू । अनि छिट्टै घर आउनू” भन्न बिर्सँदैनौँ । त्यही छोरी घरबाट निस्कँदा भन्ने विषय र छोरा घरबाट निस्कँदा भन्ने विषयमा किन अन्तर छ ? यी कुरा हरेक घरमा भनिने विषय भएकाले सामान्य लागे पनि छोरालाई भनिने र छोरीलाई भनिने यी दुई वाक्यले समाजको दृष्टिकोण र सामाजिक मनोविज्ञानलाई बोकेको छ । यही मनोविज्ञानको आधारमा समाजको धारणा बनेको छ । छोरा र छोरीलाई हेर्ने दृष्टिकोण स्थापित छ ।

घरभित्र होस् या घर बाहिर । लामो दूरीको यात्रामा होस् या छोटो दूरीको यात्रामा । छोरा मान्छेलाई सुरक्षित ठानिन्छ । उनीहरूलाई कसैबाट लैङ्गिक हिसाबले आक्रमण गर्ला भने विरलै सोचिन्छ । तर त्यही स्थान, परिवेश, समयमा छोरी मान्छेलाई असुरक्षित ठानिन्छ । किन लैङ्गिक असुरक्षाको घेरामा राखिन्छ छोरीलाई ? घरभित्र होस् या बाहिर अथवा यात्रामा जहाँ रहे पनि मान्छेकै संगतमा रहने हो । तर त्यही मान्छेको संगतमा छोरीमान्छे असुरक्षित हुनुपर्ने मानसिकताको विकास कसरी हुन्छ ?

छोरा जन्मजात बलियो, पराक्रमी, सुरो छ । ऊ समाजमा लैङ्गिक हिसाबले सुरक्षित पनि छ भन्ने मानसिकताको विकास गर्नका लागि “छोरी मान्छेलाई नजिस्काउनू । दुव्र्यवहार नगर्नू” जस्ता वाक्य काफी छन् । हामीले छोरालाई बाटो हिँड्दा केटी नजिस्काउनू किन भन्दैनौँ । बरु उनीहरू गर्वले सुनाउँछन्, केटीलाई जिस्काएको कुरा । यस्ता भनाइलाई स्वीकार गरेर घोषित या अघोषितरूपमा केटी मान्छेमाथि शासन जमाउनका लागि घरपरिवार र समाजले बल दिई नै रहेको हुन्छ ।

तिमी असुरक्षित छौ । तिमी कमजोर छौ । तिमीलाई अरूले सुरक्षा दिनुपर्छ भन्ने मानसिकताको विकास गर्नका लागि “बाटोमा के कस्ता मान्छे भेटिन्छन् । ख्याल गरेर जानू । अनि छिट्टै आउनू” जस्ता वाक्य छोरीलाई प्रशस्त छन् । केटाले जिस्काउलान्, आक्रमण होला या कुनै दुव्र्यवहार होला भनेर सचेत गराउँछन् । तर त्यसको मुकाबिला गर्न सिकाउँदैनन् । धेरैजसो केटीहरू मुकाबिला गर्नका लागि तयार पनि हुँदैनन् । किन कि छोराहरूले जिस्काउँदा भाग्नु भन्ने अर्थ बोकेर “बाटोमा के कस्ता मान्छे भेटिन्छन् । ख्याल गरेर जानू अनि छिट्टै आउनू” भन्ने भनाइहरू आएका हुन्छन् । 

एकातिर छोरालाई लैङ्गिक भेदभाव नगर, नहेप, नजिस्काऊ नभन्ने अर्कोतिर छोरी मान्छेलाई दुव्र्यवहार नसहनू नभन्ने हाम्रो सामाजिक मान्यताले थुप्रै लैङ्गिक अपराध निम्त्याएको छ । त्यही लैङ्गिक अपराधमध्येको एक बलात्कार पनि हो । खास गरी बलात्कार पुरुषले महिलालाई गर्नुको पछाडि माथि उल्लेख गरेजस्तो सयौँ सन्दर्भहरू जोडिएर आउँछन् । 

कुनै पनि व्यक्तिको इच्छाविपरीत जबरजस्ती शारीरिक होस् या मानसिकरूपमा यौनकार्यमा संलग्न गराइन्छ भने त्यो नै बलात्कार हुन्छ । बलात्कारको असर शारीरिकरूपमा त पर्ने नै भयो । शरीरको घाउचोट देखिन्छ । घाउचोट नदेखिने गरी शारीरिकभन्दा पनि मानसिक रूपमा अझ बढी नकारात्मक असर पार्छ । हाम्रो समाजमा छिटफुट घटनाबाहेक अधिकांश बलात्कार पुरुषले महिलामाथि गरेको छ । 

बलात्कार समाजले स्थापित गरेको आपराधिक मनोविज्ञानको स्थापित रूप पनि हो । हरेक बलात्कारका घटनामा एउटा शासक वर्ग स्थापित छ । नजानिँदो तरिकाले अपराधीलाई भन्दा अपराध भोग्नेलाई समाजले बढी सजाय दिन्छ । जस्तो कि एउटी युवती बलात्कृत भएकी छे भने हतपत केटा ऊसँग बिहे गर्न तयार हुँदैन । अघोषितरूपमा ऊ सामाजिक कर्ममा अस्विकृत नै हुन्छे । त्यसको आघात उसको जीवनकालभरि पर्न आउँछ । त्यो आघातको हिसाबकिताब समाजले गर्दैन ।

हाम्रो समाज एकपक्षीय छ । सधैँ पुुरुषजाति सत्तामा र स्त्रीजाति सत्ता बाहिर । सामाजिक मान्यताअनुसार जन्मजात समाजको हर्ताकर्ता र मालिक पुरुष हुन आउँछ । उसलाई अप्ठेरो पर्ने नियम कानुन समाजमा स्थापित छैनन् । तर महिलाको हकमा अनेकन सामाजिक नियमहरू जञ्जिरझैँ स्थापित छन् । जब नारी र पुरुष एकअर्काबिना बाँच्न सक्तैनन् तब दुवैलाई सहज हुने नियम बन्नुपर्ने थियो । तर त्यसो हुन सकेन । 
पुरुषको पक्षमा ढल्किनु र महिलालाई पूर्वाग्रही नजर स्थापित गर्नाले समाजको सन्तुलन बिग्रियो ।

सन्तुलन बिग्रिएको समाजको सामाजिक मनोविज्ञानले पनि सन्तुलन गुमाउँछ नै । महिलालाई शक्तिहीन र पुरुषलाई सर्वशक्तिशाली छन् भन्ने मनोविज्ञान हुर्किएसँगै शक्तिशालीले शक्तिहीनमाथि अपराध गर्नु पनि क्षम्य र मान्य बन्यो । त्यसैको असरस्वरूप समाजका हरेक कालमा महिला बलात्कारको शिकार भएकै छन् । बलात्कृत हुनु पनि अपराधी नै हो भन्ने ढंगको व्यवहार यद्यपि समाजमा स्थापित छ । त्यसैले बलात्कृतपक्षले म बलात्कार भएँ भनेर खुलेर न्याय माग्न आज पनि सक्तैन । 

बलात्कारीलाई भन्दा बलात्कृतलाई मानसिक र सामाजिक आघात बढी हुने गरेको छ । जो बलात्कृत हो उसलाई मानसिक रूपमा र सामाजिक रूपमा समाजले सुरक्षा दिएको छैन । समाजले बलात्कृतको मनोविज्ञानमा कति आघात पुगेको छ भनेर ध्यान दिँदैन । बरु नुनचुक छर्ने काम गर्छ । एकपटक बलात्कारको शिकार भएकी महिला मानसिक रूपमा कहिल्यै पनि आफूलाई सुरक्षित ठान्न सक्तिन । ऊ समाज छोडेर जान पनि सक्तिन । समाजले उसलाई मानसिक सुरक्षा पनि दिँदैन ।      

सभ्यताको विकाससँगै शक्तिशालीले शक्तिहीनमाथि अनेक तरहले शासन, उपेक्षा, अधिनता जमायो । त्यही शासन, अधिनता, उपेक्षाको अर्को विकृत रूपको एउटा उदाहरण महिलामाथि हुने बलात्कार बन्यो । अमूर्तरूपमा बलात्कार वैधानिक र अवैधानिक तरहले स्थापित भएका छन् । तिनीहरूको छानबिन गर्न समाज तयार छैन ।  

हाम्रो समाजले छोरीलाई इज्जत र छोरालाई कुलसँग जोडेर व्याख्या गर्छ । छोराले कुल बढाए पुगिहाल्छ । छोराहरूको चरित्र कस्तो हुनुपर्छ भनेर कतै पनि भनिँदैन । छोराहरू चरित्र जस्तो बनाए पनि क्षम्य छन् । किन कि उनीहरूको चरित्रको बारेमा व्याख्या नै गरिएको छैन । छोरालाई व्यक्तिगत स्वतन्त्रता प्रशस्तै छन् । उसका पाइला चाल्नका लागि कतै लगाम छैन । केवल उसले पराक्रम देखाएर कुल बढाए पुग्छ ।

त्यसको ठिक विपरीत छोरी कुलको इज्जत हो । इज्जत धान्नका लागि उसका व्यक्तिगत स्वतन्त्रता, न्याय अन्यायका बारेमा बोल्न पाउने अधिकार छैन । कसैकी छोरी बलात्कृत भई भने उसको परिवार छरछिमेक आफन्त सबैजना ढाकछोप गर्नतिर लाग्छन् । व्यक्तिगत रूपमा उसले न्याय पाउनुभन्दा पनि कुलको इज्जतको डर बढी हुन्छ । समाजले सामान्य मान्छेलाई झैँ बलात्कारको शिकार भएकी छोरीलाई आमछोरीको रूपमा स्वीकार नै गर्दैन । छोरीको चरित्रको बारेमा पाइलापाइलामा व्याख्या गरिएको छ ।
“छोरीको इज्जत” एउटा सामाजिक ट्याबुज हो । जसले छोरीहरूलाई बोल्न, आँखा उठाउन, खुट्टा चाल्नका लागि सिमाना निर्धारण गर्छ । छोरीमान्छेमाथिको सामाजिक ट्याबुजले छोराहरूलाई व्यक्तिगत स्वतन्त्रतामा कावा खेल्नका लागि अहं भूमिका खेल्ने गर्छ ।

समाज जहिल्यै छोरीलाई आंैला उठाउँछ । त्यसो हुँदा आफूमाथि परेको अन्याय कतिपय अवस्थामा बुझ्दै नबुझ्ने । कतिपय अवस्थामा बुझेर पनि सामना गर्न नसक्ने अवस्थामा हुन्छन् । त्यसो हुँदा छोरी आफ्नै आफन्त, नातागोता, आफ्नै समाज, आफ्नै परिवेशसँग असुरक्षित हुन्छन् । त्यही समाज घर परिवेशमा हुर्किएको छोरा सुरक्षित हुने र छोरी असुरक्षित हुने अवस्था छ । किन ? छोरालाई जन्मजात स्वतन्त्र र समाजको मालिक बनाउने सामाजिक मनोग्रन्थीले ग्रसित छ, समाज ।

समाज सभ्य बन्यो भनिन्छ । विकसित भयो भन्ने ठानिन्छ । तर, त्यहीँभित्र बलात्कारका घटना दिनानुदिन बढिरहेका छन् । खासगरी समाजको शासक वर्ग स्वयं यी घटनाले लज्जित हुनुपर्ने हो । हिनताबोध हुनुपर्ने हो । त्यसो नभएर महिला वर्गलाई सुरक्षा अपनाउनु भन्ने सन्देश दिन तल्लीन देखिन्छ । यसको अर्थ हो “हामी शासित वर्ग हौँ । हामी सच्चिन जरुरी छैन । हामीलाई लज्जा छैन । बरु तिमीहरू आफैँ सचेत बन ।” शासक वर्गको यो अहं भावनाको कारणले समाजमा दिनहुँ जसो हुने बलात्कारका घटनालाई कहिलेसम्म हेर्ने । 

अबका दिनमा सचेत, सभ्य, विद्वान् पुरुषवर्गले सामूहिक रूपमा बलात्कारविरुद्धका सामाजिक अभियान सुरु गर्नुपर्छ । “हामी विश्वास दिलाउँछौँ, हामी कसैलाई बलात्कार गर्दैनौँ” भन्ने साहस बोकेका सकारात्मक चेतना बोकेका नारा सार्वजनिक रूपमा लिएर आउन जरुरी छ । यसरी चेतनशील वर्गले बलात्कारका विषयमा सचेतनामूलक कार्यक्रम गरिदिने हो भने सामान्य वर्गका मानिसका लागि प्रेरणा र सकारात्मक सन्देश जानेमा कुनै सन्देह रहने छैन । महिलावर्ग पुरुषवर्गबाट लुकेर भागेर छलिएर मात्र बलात्कारजस्ता अपराधको न्यूनीकरण हुने छैन । बरु छोरा वर्गलाई नै सानैदेखि केटीमान्छेलाई समानभावले हेर्ने मानवीय दृष्टिको विकास हुने खालको चेतनाको विकास गराउन सकियो भने अपराधको मूल जरा नै कमजोर हुने थियो । 

समाज हाम्रो हो । हामीले यो समाज जोगाउन महिला र पुरुषमाथि बनेका विभेदयुक्त सामाजिक मान्यता, सामाजिक मनोग्रन्थी, सामाजिक दृष्टिकोण, सामाजिक परम्परा, सामाजिक मनोविज्ञानलाई परिवर्तन गर्नसक्नुपर्छ । उच्च चेतनाको समुन्नत समाजको अभियानमा जुट्न बाँकी नै छ । 

प्रकाशित: ३१ वैशाख २०७५ १०:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App