अन्य

प्रेमीसँग विवाह गराएको चार दिनमै श्रीमती फिर्ता, भने-‘मैले बच्चा सम्हाल्न सकिनँ’

भारतको उत्तर प्रदेशस्थित सन्त कबीर नगर जिल्लाबाट एउटा अनौठो घटना बाहिर आएको छ। 

त्यहाँ बबलु नामका व्यक्तिले केही दिनअघि आफ्नी श्रीमती राधिकाको विवाह प्रेमी विकाससँग गराइदिए। तर, चार दिनमै उनले राधिकालाई फिर्ता ल्याएको खबर सार्वजनिक भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार बबलुले बच्चा सम्हाल्न नसकेर यो निर्णय लिएका हुन्। 

बबलुको विवाह सन् २०१७ मा गोरखपुरको भुलान्चक गाउँकी राधिकासँग भएको थियो। विवाहपछि उनीहरूको जीवन सामान्य चलिरहेको थियो, दुई सन्तान पनि जन्मिए। 

तर, कामको खोजीमा बबलु प्रायः घरबाहिर बस्न थाले। सोही क्रममा राधिकाले गाउँकै युवक विकाससँग कुराकानी सुरु गरिन्। चाँडै नै उनीहरू एकअर्कालाई मन पराउन थाले। 

यो सम्बन्धको खबर बबलुलाई थाहा भएपछि उनले सुरुमा राधिकालाई सम्झाउने कोसिस गरे। तर, राधिका नमानेपछि उनले गाउँलेका अगाडि यो कुरा उठाए। त्यस भेलामा पनि राधिकाले विकाससँग बस्ने इच्छा व्यक्त गरिन्।

त्यसपछि बबलुले गाउँलेको रोहबरमा राधिकाको विवाह विकाससँग गराइदिए। अदालतमा गएर उनले दुई बच्चाको जिम्मेवारी आफैं लिने घोषणा पनि गरे। 

चार दिनपछि बबलुको मन बदलियो। उनी विकासको घर पुगे र राधिकालाई फिर्ता गर्न अनुरोध गरे। विकासले कुनै विवाद नगरी राधिकालाई फिर्ता दिए। 

विकासकी आमाले भनिन्, ‘हामीले सुरुदेखि नै यो विवाह नगर्ने भनेका थियौं, तर समाजले जबरजस्ती गरायो। बबलु साँझ आएर बच्चा सम्हाल्न नसकेको र धेरै समस्या भएको गुनासो गरे। उनले आफ्नो गल्ती स्वीकारे।’ 

उनले थपिन्, ‘बच्चाको भविष्य हेरेर हामीले राधिकालाई फर्कायौं। उनी आफ्नो परिवारसँग फर्किएकोमा हामी खुसी छौं।’ कुराकानीपछि विकास राधिकालाई फिर्ता पठाउन राजी भए। अहिले राधिका बबलु र बच्चाहरूसँग छिन् भने विकास पैसा कमाउन गाउँबाहिर गएका छन्। एजेन्सी

प्रकाशित: २० चैत्र २०८१ ०८:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App