कुनै सामूहिक भेटघाटमा तपाईं होटल वा रेस्टुराँमा जानुभएको छ भने त्यहाँ प्रायः धेरैले रक्सी नै खोजेको पाउनुहुन्छ। धेरैको उद्देश्य त्यहाँ पिउनु नै हुन्छ। तर अघिल्ला पाँच वर्षको तुलनामा अमेरिकामा पिउने कुरामा कम जोड दिन थालेको देखिएको छ। बियर उत्पादक कम्पनी हेनिकेन र अक्सफोर्ड विश्वविद्यालयको संयुक्त अध्ययनमा पहिलेको तुलनामा रक्सीमोह घट्न थालेको देखिएको हो।
अध्ययनमा बेलायत, अमेरिका, स्पेन, जापान र ब्राजिलका ११ हजार आठ सय ४२ जना सर्वसाधारणलाई प्रश्न सोधिएको थियो। जसमा ६८ प्रतिशतले रक्सी नखाने प्रयास गरेका थिए। खाएकै अवस्थामा पनि उनीहरूले कडा मात लाग्ने पेयको साटो हल्का पेय लिने गरेका थिए।
वर्षमा एकादुई पिउनेहरूले पनि यस्तो भेलाका बेलामा रक्सीजन्य पेयको सट्टा अन्य पनि पेय राखिएकै भए पनि रक्सी पिउने गरेको बताएका थिए। साथीहरूले आफ्नाबारेमा कतै गलत धारणा नबनाऊन् भनेर आफूलाई रक्सी पिउन मन नलागे पनि कतिपयले पिउने गरेको बताएका छन्।
पछिल्लो समय २७ वर्ष समूहसम्मका जेन जीले रक्सीप्रतिको आशक्ति कम गर्दै लगेको पनि अध्ययनमा देखिएको छ। युवाले बढी रक्सी खपत गर्नुपर्नेमा ६८ प्रतिशतले आफूहरूलाई रक्सीप्रतिको आशक्ति नरहेको प्रतिक्रिया दिएका छन्। यस्तै ७३ प्रतिशत बेबी बूमर्सले पनि आफ्नो आशक्ति घटाउँदै लैजान थालेका छन्। सन् १९४६ देखि १९६४ को अवधिमा जन्मिएकाहरूलाई बेबी बूमर्स भनिन्छ।
जेन जीहरूले भने रक्सी खान बढी दबाब झेल्नु परिरहेको प्रतिक्रिया दिएका छन्। सामाजिक भेलामा जाँदा आफूले रक्सी नखाए सोधेर हैरान पार्ने गरेकोमा उनीहरूको चित्त दुखाइरहेको छ।
२१ प्रतिशत जेन जीले अन्य पेय पनि रहेको अवस्थामा रक्सी नखाने गरेको बताएका छन्। अन्य उमेर समूहका व्यक्तिहरू भने १५ प्रतिशतले मात्र रक्सीबाहेकको छनोटमा ध्यान दिएका छन्।
पछिल्लो समय भेला र पार्टीहरूमा रक्सी नखाने वा अन्य पेय छान्ने क्रम निकै बढेको छ। विगत पाँच वर्षयता स्वस्थ जीवनशैली अँगाल्ने क्रम बढ्दै गएकाले रक्सीप्रतिको आशक्ति कम हुँदै जान थालेको अध्ययनले देखाएको छ। सन् २०२३ मा संसारभरको बियर खपत एक प्रतिशतले कम भएको पनि देखिएको छ।
न्यून अल्कोहल वा अल्कोहलरहित पेय भने वार्षिक सात प्रतिशतले हरेक वर्ष बढिरहेको अध्ययनमा देखिएको छ। हेनिकेन कम्पनीले बजारमा ल्याएको अल्कोहल शून्य पेय पछिल्लो समय १८ प्रतिशतले बढेको छ। जबकि अन्य पेय २/१ प्रतिशतले मात्र बढेको छ।
- अच्युत काेइराला
प्रकाशित: ६ माघ २०८१ ०७:३० आइतबार