अन्य

नागाबाबालाई नौलो मान्दैनन् भक्तजन

आइतबार दिउँसो पशुपतिनाथ मन्दिरको गेटमा उभिएकी इन्दिरा खत्रीलाई खरानी धसेर बसेका नागाबाबा मयुरको पंखले हान्दै ‘जय शम्भो !’ भन्दै थिए ।खत्री मात्रै नभएर शिवरात्रि मनाउन आएका नागाबाबा यसैगरी ‘जय शम्भो !’ भन्दै महिलाको नजिक–नजिक घुमिरहेका देखिन्थे ।

यस्ता दृश्यले दुई–चार वर्ष पहिलेसम्म महिला खुबै लजाउने गर्थे । समय परिवर्तनसँगै यस्तो दृश्यलाई महिला नै अनौठो मान्न छाडेका छन् । ‘आफ्नै मान्छेहरू नांगै बसेको भए पो असहज हुनु,’ अन्दाजी ३० वर्षीया खत्रीले भनिन्, ‘अन्य देशका चिन्दै नचिनेका व्यक्ति नांगो बस्दा कुनै नराम्रो लाग्दैन ।’ नागाबाबा विशेष पर्वमा मात्रै निबस्त्र हुने भएकाले यसलाई अनौँठो मान्न नहुने उनको भनाइ छ ।

‘सबैसँग भएको अंग देखाउनु कुन नौलो हो र ?’ खत्रीले भनिन्, ‘बरु सोही दृश्यलाई हेर्न खोज्नुचाहिँ मूर्खता हो ।’ नांगो रहेका नागाबाबालाई वास्तै गर्न नहुने उनी बताउँछिन् । यद्यपि बेवास्ता गर्दा पनि नागाबाबाको अभद्र व्यवहारले भने उनलाई पनि असहज हुने गरेको छ । आफन्तसँगै रहेका बेला बाबाको उपद्रोले असहज हुने उनले बताइन् ।

पशुपतिका स्थानीय नारायण वैंद्यका अनुसार केही वर्ष पहिले नागाबाबा देख्दा महिला दोसल्लाले मुख छोप्दै दौडिने गर्थे । अहिले त्यस्तो दृश्यले महिलालाई खासै असर नगर्ने उनी बताउँछन् । ‘पहिला त नागाबाबा देख्दा महिला खुब असहज मान्थे,’ उनले भने, ‘अहिले त महिला नागबाबाको दृश्यलाई कुनै नौलो ठान्दैनन् ।’पछिल्लो पुस्ताका युवतीहरू नागबाबासँग तस्बिर खिँचाउन समेत आउने गरेको उनी बताउँछन् युवापुस्ताले नागबाबाको दृश्यलाई नौलो नमााने पनि पाका महिलाका लागि भने यस्तो दृश्यले असहजता हुने गरेको छ।

‘जेठाजुलाई कपाल देखाउनु हुँदैन भन्ने संस्कृतिमा हुर्किएकी हुँ,’ पशुपतिमा भेटिएकी अमृता धमलाले भनिन्, ‘बाबाको नांगो दृश्यले हामीलाई त असहज हुन्छ नै, भगवानकै अपहेलना भयो किझैँ लाग्छ ।’ समयसँगै परिवर्तन हुनुपर्ने भए पनि कम्तीमा लिंगचाहिँ छोप्नुपर्ने उनले बताइन् । ‘यो धार्मिक स्थल भएकाले नांगै बस्नु उचित जस्तो लाग्दैन,’ उनले भनिन्, ‘भगवानको दर्शन गर्न आउँदा जता पनि नांगै मान्छे देखेपछि खल्लो महसुस हुँदो रहेछ ।’

 

प्रकाशित: २९ माघ २०७४ ०५:५८ सोमबार

नागाबाबालाई नौलो मान्दैनन् भक्तजन