अन्य

ढुंगाको ‘गरिमा’

’सुरेश बुढाथोकी ‘फकिर’ 

यकिन तिथिमिति थाहा छैन । यद्यपि, यसो यादहरूलाई यु–टर्न गर्दा सम्झन्छु, पाँच वर्षअघिको फाइल सम्झना हो यो । हृदयको फोल्डरमा सुरक्षित उक्त फाइल सम्झना जो, मैले धेरैपटक मेट्न खोजेँ, नष्ट गर्न खोजेँ परन्तु हृदयका अवयवमा कुन्नि के मिलेन र हरेकपटक हृदयले भन्यो, ‘अनेबल टु डिलिट’ ।

कागजका अक्षर मेट्न इरेजर बन्यो, खै त हृदयका अक्षरहरू, सम्झनाहरू मेटाउने इरेजर बनेको ? किन कोही यस्तो महामानव जन्मेन, जसले याद मेटाउने यन्त्र, ओखती वा इरेजर बनाउन सकोस् । कहिलेकाहीँ त मलाई जाँड खाएर ‘भगवान्’सँग अचाक्ली बाझ्न मन लाग्छ, तिमीभन्दा त भुँडीभित्रको भ्रूण मेटाउन सक्ने पिल्स बनाउने मान्छेनै ठूलो !

म सीधै त्यो फाइल सम्झनावाला फोल्डर खोल्छु, जुन फोल्डर मैले कतारको दोहा बस्दाताका सेभ गरेको हुँ, मनमा ।नेपाल सरकारको तत्कालीन तथ्यांकअनुसार कतारमा चार लाख १५ हजार ९५ नेपाली छन् । सरकारको आँखाले नदेखेको र उक्त तथ्यांकमा नपरेका नेपालीको संख्या पनि कम छैन भन्ने लाग्छ मलाई । यति भन्न सकिन्छ कि, दशहजार रुपैयाँको भिसालाई एक लाख १० हजार, श्रम कार्यालयमा २० हजारजति, एअरपोर्टमा १५ सय र त्यहाँका कर्मचारीलाई थोरबहुत पकेट खर्च बुझाएर जानेको तथ्यांकचाहिँ माथि उल्लिखित हो । तीमध्ये म पनि एक थिएँ, जो कतारको एउटा कफी सपमा क्यासियर पदमा क्लिनरको भिसा लगाएर पुगेथेँ ।

त्यो दिन साबिकको भन्दा चिसो दिन थियो, ४३ डिग्री । मैले नमाने पनि कतारी नागरिक ४३ डिग्री फरेनहाइट तापक्रमलाई चिसो मान्छन् । सामान्य दिनमा ५४-५५ डिग्री तापक्रम हुने देशका नागरिकले ४३ डिग्री तापक्रम हुँदा चिसो महसुस गर्नु नौलो कुरो भएन । तर, नौलो कुरो यो भयो कि दिउँसोपख सिमसिम पानी नै पर्यो ! जानकारहरू र त्यहाँ बसेर भुक्तभोगीहरू भन्थे, ‘कतारमा आज २३ वर्षपछि पानी परेको हो ।

पानी परेपछि म उसैउसै सेन्टी हुन्छु । नोस्टाल्जिक हुन्छु । र, गीतहरु सुन्छु– झरी परेको दिन, असारै महिनामा पानी पर्यो रुझाउने, वर्षात्मा उनी रुझ्दा... ।एक्कासि ऊ मेरो फेसबुकको नोटिफिकेसनमा रुझ्दै आई– एसेप्टेड योर फ्रेन्ड रिक्वेस्ट ।  कहिले उसलाई रिक्वेस्ट पठाएको थिएँ, मलाई याद छैन ।प्रोफाइल फोटोमा उसले गाजल लगाएकी थिई । सानो डिम्पल थियो, चिटिक्क परेको । नाक अलि थेप्चा थिए ।क्रमशः मैले उसका अन्य तस्बिर हेरेँ, दिनहुँजसो हेर्न थालेँ । साथीहरू सोध्थे, ‘कसलाई हेर्दै छौ, जतिखेर पनि ।’
ऊसँग च्याट गर्न थालेँ । पहिलो दिन –
म : हाई !
ऊ : हेल्लो ।
म : हाउ यार यु ?
ऊ : गुड्, एन्ड यु ?
म : नट ब्याड ।
ऊ : अनि अरु के छ ?
च्याट सुरु भएको एक मिनेट पनि नबित्दै ‘अनि अरु के छ’ भनेर सोधी, मानौँ हामीले घन्टौँ कुरा गरिसकेका छौँ । र, उसलाई ‘अनि अरु’ भन्दापछि मेरोबारे सबै थाहा छ । झनक्क रिस उठ्यो ।
म : ऋण छ, तीन लाखजति, तिर्दिने हो ?
उसले हाँसेको संकेत पठाई ।
म : मुस्कान गज्जब छ ।
ऊ : उम । एनी वे कहाँदेखि हो तिमी ?
म : युके ।
ऊ : फ्रम लन्डन ?
म : नो । युनाइटेड कतार ।
ऊ : कतारको स्पेलिङ ‘के’ बाट सुरु हुन्छ भनेर कुन होटलमा पढेको ?

हामीबीचको च्याट योभन्दा बढी लेख्न म असमर्थ छु । जेहोस्, हामीले मित्रता गाँस्यौँ । आजकालको फेसबुके मित्रता ! कोही फेसबुकबाट लुट्छन्, कोही सुन्दर युवतीलाई कुरुप मायाजालमा फसाउँछन्, कोही साथी बनेको क्षणमै दुई प्राण एकै हौँ भन्छन् । तर, खै केको चित्ताकर्षणले हो, हाम्रो फेसबुकको मित्रता माथि भनिएकोभन्दा फरक तर रोमाञ्चकारी भइगयो । हामी घन्टौँ च्याट गर्न थाल्यौँ ।च्याटमा गफिन थालेको केही दिनपछि उसले भनी, ‘कतार भनेको त खाडी देश होइन र ? अनि खाडीमा त अशिक्षित, विकट गाउँका मानिस पो जान्छन् होइन ?’ प्रश्न सामान्य र ठीकै थियो तर सो प्रश्नले मलाई भने असामान्य र बेठीक बनाइदियो । मैले त्यसअघिको च्याटमा भनिसकेको थिएँ– म म्यानेजमेन्टको स्टुडेन्ट, प्लस टु पढ्दापढ्दै पढाइ हापेर कतार उडेको ।

मेरो जवाफ– खाडी देश हो तर हाम्रो देशजस्तो खाडी होइन । यदि तिम्रो बाबाले तिमीलाई कलेज जाँदा गाडीभाडासँगै मेकअप खर्च दिनुहुन्न भने तिम्रो त्यो प्रोफाइल फोटोमा गाजल लगाएको छ नि त्यो गाजल तिम्रो माइजु वा तिम्रो छिमेकी काकीले किनिदिएको हुन सक्छ । जुन गाजल किन्न तिम्रो गाउँका मामा र छिमेकी काकाले माइजु वा काकीलाई यो खाडीबाट रेमिट्यान्स पठाउँछन् । आफ्नो सीधा प्रश्नमा मेरो बटारिएको उत्तर पाएपछि ऊ एकैछिन चुप रही । मैले सोधेँ, ‘क्या हुवा ?’तीन मिनेट जतिपछि उसले भनी, ‘कुछ् नहीं ।’ त्यसपछि प्रोफाइल पिक्चर चेन्ज गरी । फोटोमा आँखामा गाजल थिएन, बरु कानमा सेतो ऐयरफोन थियो ।

पुनः भन्न मन थियो– तिम्रो कोही दाजुभाइ खाडी देश आएका छन् भने तिमीले कानमा जुन सेतो एयरफोन कोचेकी छौै नि त्यो एयरफोनसहितको मोबाइल तिम्रा दाजुभाइले पार्सल गरी पठाएका होलान् । तर भनिनँ । खाडी देश र त्यहाँ श्रममा जाने नेपालीप्रति उसको जुन खालको वितृष्णा र हीनभाव अनि युरोप गएर खैरेको जुठाभाँडा र गुहु सोहोर्नेप्रति जुन श्रद्धा र इन्टे«स्ट थियो, त्यसपछि केही मथ्थर हुँदै गए।
नेपालको अर्थतन्त्रमा खाडी मुलकमा श्रमरत मजस्ता नेपालीको भूमिका, नेपालमा बढ्दो रेमिटेन्सको प्रभाव उसले बुझी या बुझिनँ तर त्यो दिनको कुरापछि उसको सोच केही सकारात्मक भएको मैले बुझेँ ।
दिनहरू बित्दै गए ।

कहिलेकाही ऊ सोध्थी, हेल्लो ‘कालु’ कसरी बिताउँदै छौँ दिनहरू ?म भन्थेँ, दिनलाई बिताउनुपर्दैन म्याउची, आफैँ बित्छ । कुरा गर्दैगर्दा हामी अलि बढी आत्मीय भयौँ कि कसो, मेरो नागरिकताको नाम, वतन जे भए पनि उसले मलाई ‘कालु’ भन्थी, म उसलाई ‘म्याउची’ भन्थेँ । हाम्रा कुरा भने देशको परिस्थिति, युवाले देश छाड्नुको नियति, राजनीति, कला साहित्य र गाउँघरको खुद्रा मसिना विषयमै हुन्थे । साहित्यप्रेमी मात्र थिइन, साहित्य लेख्थी पनि ।

उसको साहित्यमा प्रायः महिलाविरुद्धको ज्यादति र उनीहरूमाथि हुने हिंसाको मुद्दा बढी हुन्थ्यो । अलिअलि शृंगारिक गजल कविता पनि लेख्थी । नजाने ऊ कसैलाई मन पराउँदै पो थिई कि ?मैले काम गर्ने दोहा रक्स क्याफे मलाई उति रक्स लाग्न छोड्यो, जति रक्स कतार आउँदा लिएको कर्जा चुकाउनुअघि लाग्थ्यो । जति रक्स मलाई म्याउचीसँग च्याट सुरु गर्नुपूर्व लाग्थ्यो । साहुको कर्जा पनि चुक्ता, म्याउचीसँगको हिसाब पनि सुरु । चल् भाइ गुँडतिर ।

कतार आएको बाइसौँ महिनाको एक दिन मैले नेपाल फिर्ने निधो गरेँ । म्यानेजरले नेपाल आउने चिलगाडीको टिकट थमाइदियो । हिसाब–किताब बुझेर सीधै हान्निएँ, अल सफिर सपिङ मलको सातौँ तलामा । कसलाई के–के किन्ने अन्येलमा छु । उसो त मेरो को–को आफन्त छन्, म स्वयं अन्योलमा छु । कोहीकोही आफ्ना जस्ता छन् तर आफन्तजस्ता छैनन् । म धेरैबेर घोरिएको देखेर सपिङ मलको जागिरेले सोध्यो, हिन्दी लवजमा, ‘आपको क्या लेना हे, और किस की लिए ? भाइ, बेहेन, बिबी÷गर्लफ्रेन्ड और मा–बाप ?’कसका लागि भन्नु ! बुबामुमा, दिदीबैनीलाई के किन्नुपर्छ भन्ने मलाई हेक्का छ । तर म्याउची ? ऊसँग मेरो के नाता सम्बन्ध छ र ? केही महिनाको फेसबुकको कुराकानी अतिरिक्त उसका बारेमा मलाई के थाहा छ र ?

कुराकानीका क्रममा एक दिन उसले मलाई भनेकी थिई, ‘म खुला किताब हुँ, मलाई जसले पनि पढ्न सक्छ ।’ तर, मैले महिनौँ बोल्दा पनि उसलाई पढ्न सकेको रहेनछु । ऊ मेरा लागि त्यस्तो दुर्लभ किताब भइदिई, जसलाई मैले महिनौँ सिरानीमा राखेँ तर पढ्न सकिनँ । अन्ततः म्याउचीका लागि एकथान कपडा र केही चकलेट किनेँ ।कोठा आएपछि सोचे, नाथे फेसबुकमा चिनेको मान्छेलाई म किन यति दूरबाट यो वजन बोकी हिँड्न लागिरहेछु हँ ।

भक्तपुरस्थित अरेन्ज क्याफे । म उसैलाई भेट्दै थिएँ । फेसबुकको सम्बन्ध कतारदेखि नेपालसम्म र नेपालदेखि क्याफेको एकान्त चियरसम्म विस्तार भयो ।उसले मिल्क कफी खाई जस्तो लाग्छ । मैले डबल सट एस्प्रेसोसँग तीनवटा सूर्य चुरोटको प्राण लिइदिएँ । च्याँट्ठिँदै थिई, चुरोट खाएपछि के हुन्छ भनेर ।

उसलाई के थाहा, नेपालीले उडाउने भनेकै यिनै दुईथोक त हो, चुरोटको धुवाँ र सरकारको खिल्ली ! मैले नाम र रंग बिर्सिएको लुगा र चक्लेटको झोला दिएँ । उसले सित्तैमा धन्यवाद दिई । अनि, हामी छुट्टियौँ ।
फेसबुकमा उल्लिखित उसको विवरण र सुन्दरता फेक हैन भनेर यकिन भएपछि म अलि उसको नजिक सरेँ । नजिक सर्दासर्दै म त उसको स्कुटरको ब्याक सिटमा पो पुगिसकेछु ।हुन सक्छ उसले बिहान कुनै ब्रान्डेड स्याम्पुले नुहाएर आएकी थिई । कपालबाट बास्ना आइरहेको थियो । साथै, फिल्मी स्टाइलमा उसको कपाल हावामा फरर उडिरहेथे । कपाल भर्खर स्ट्रेट गरेको प्रतीत हुन्थ्यो । भनी त हालेँ, ‘हैन कति स्ट्रेट र सिल्की हो के यो कपाल ।’

उसले भनी, ‘कपाल मात्र होइन, मन पनि स्ट्रेट र सिल्की छ हो ।’ अब पुगेन काण्ड ।म प्यारमा परेँ । नेपाल आएको केही दिन म उसको अघिपछि परिरहेँ । कहिले के, कहिले के बहानाले ।मायामा केही सर्त हुँदैन सायद । हुन्छ त मायाको सर्त माया । हामी भक्तपुरको दरबार स्क्वायर, सिद्धपोखरी लगायत ठाउँमा घुमिरह्यौँ, सिर्फ फेसबुक फ्रेन्ड भएर । हामी प्रेमी–प्रेमिका नभए पनि सिद्धपोखरीको भेटचाहिँ डेट टाइपको थियो ।
माछालाई मकै छरिदिँदै उसले भनेकी थिई, ‘हेर्नु त त्यो रेड फिस । हाउ क्युट !’
मैले भनेथेँ, अरु माछा चाहिँ राम्रा छैनन् ?’
‘छन्, बट रेडवाला सबसे क्युट ।’

वर्षौंपछि आज भन्न मन लागेको छ, ‘पानीमा क्युट फिस बस्छन्, घरमा कुरुप सेलफिस । लाइक मी ।’
भोलि म घर फर्कनु छ । काठमाडौंमा मेरो घर छैन । आज हामी यतिबेला सीतापाइलाको एक मोटर सर्भिस सेन्टरमा छौँ । यो उसको स्कुटरको पहिलो सर्भिसिङ हो । मलाई उसको स्कुटरको कन्डिसन समेत थाहा हुन थालिसकेको थियो । तर, अझैसम्म प्रेम प्रस्ताव गरेको थिइनँ । स्कुटरको सर्भिसिङ सकेर हामी जाँदै थियौैँ– टियुको बगैँचा कीर्तिपुर ।

अघिपछिको भन्दा फरक मुद्रामा छौँ हामी । हुनुसक्छ उसलाई पूर्वआभास भएको छ, आज जरुर केही घटना घट्नेछ ।हामी बगैँचाभित्र रहेको सानो अधबैंसे रूखको छेल पारेर बस्यौँ । आजको यो भेटलाई भने डेटिङ भन्न मिल्ला । तथापि, मलाई डेटिङको क्राइटेरिया थाहा छैन ।उसले टाउको मेरो छातीमा अड्याएकी थिई । टाउको मात्र के टाउकोभित्रको बुद्धि, विचार, माया, घृणा, संवेग सबै । आधा भाँच्चिएको लेजको पिस मतिर बढाउँदै उसले भनी, ‘भोलिदेखि चुरोट नखानु, हस् ?’ खै कुन साहसले हो, कस्तो शक्तिले हो प्वाक्क भनिदिएँ, हस् ।

ऊ यति खुसी भई, मानौँ यतिबेला ऊ दुनियाँकै सरिफ, भद्र, योग्य र बलवान् पुरुषको पासमा छे । जिन्दगीभर गरेका सबै पाप मोचन भएसरि मलाई कसिलो अंकमाल गरी ।बट्टामा बाँकी एक खिल्ली चुरोटलाई त्यहीँ छाडेर हामी हिड्यौँ । एक खिल्ली चुरोटलाई त्यसरी बेवारिसे छोडेर हिँड्दा मलाई जिन्दगीको कुनै विशेष मान्छे वा सामान छाडेर हिँडेजस्तो लाग्यो ।
बगैँचाबाट बाहिरिने ठाउँमा एउटा अग्लो ढुंगा थियो । लगभग मेरो कुम अथवा उसको कम्मर–कम्मर आउने।

‘तिमीसँग पेन छ भने देऊ न,’ मैले भनेँ ।
उसले दिई, कालो मसीवाला कलम ।

‘यो ढुंगाको एक साइडमा तिमीले एउटा चिह्न लगाउनुपर्छ र अर्कोपटक म एक्लै आएर यो हेर्नेछु मञ्जुर ?’
‘ओके’ उसले भनी । लेखेँ– टिक इन वान बक्स । प्याराग्राफ चेन्ज । पुनः लेखेँ– आई पानको पात लभ यु । प्याराग्राम चेन्ज । ‘एस’ अनि वर्गाकार कोठा अलिकति स्पेस ‘नो’ अनि अर्को वर्गाकार कोठा । टिक लगाउन पेन उसलाई दिएर म उसको हुन नसकेको घर गएँ । टिक लगाएर ऊ मेरो हुन नसकेको ससुराली गई । तर, आजसम्म पनि म टियु बगैँचाको त्यो अग्लो ढुंगा भएको ठाउँमा फर्केर गएको छैन । र, हेरेको छैन उसले वर्गाकार कुन कोठामा टीक लगाई । वा, लगाइन कि !आजकाल त्यो ढुंगा त्यहाँ छैन । सुन्छु, कोही अज्ञात मान्छेले उखेली लग्यो र फुटाएर आफ्नो घरको जगमा हाल्यो ।

 

प्रकाशित: १३ माघ २०७४ ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App