अन्य

एब्स्ट्रयाक्ट पोट्रेट : प्याज

विमल आचार्य 

  ‘शंकर लामिछाने : शंकर लामिछानेको दृष्टिमा’ मैले दुईचोटि लेखिसकेँ, ०१९ भदौ र ०३२ वैशाखमा । त्यही ३२ वैशाखको माघ १० मा म मरिगएँ । (मर्न जान्नु पनि कला हो ! ४८ वर्षमै कसरी मर्नुपर्छ, जानिएन भने बाँचेको बराबर दुःख पाइन्छ ।) आज ९० वर्षको उमेरमा म फेरि आफ्नैबारे लेख्तै छु । किन लेख्तै छु भने परार मेरो यार अम्बर र यसै वर्ष मेरो मणि दाजु मलाई भेट्न आए । उनीहरूका कुरा सुनेपछि, उनीहरूकै करबलले मैले फेरि ‘एक पत्र : सम्पादकलाई’ लेख्न थालेँ ।

०१९ भदौ ३ गते सम्पादक मणिराजलाई जे लेखेँ, आज ०७४ माघ १० गते सम्पादक गुणराजलाई त्यही लेख्तछु— मृत्यु, दुर्घटना, असाधारण कष्ट, पीडा इत्यादि नै त हुन्, जसले त्यसमा प्रमुखता पाएका छन् । किन अर्काको कष्ट, दुर्घटना र मृत्युलाई मानिस पढ्न मन पराउँछ ? (मननपर्ने भए तपाईंको पत्रिका बन्द भइसक्थ्यो !) के यस्तो हुन सक्तैन, तपाईं अखबारमा जन्मको मात्र खबर छाप्नुस् ? तपाईं र म नमरीकन के खबरलायक हुँदैनौँ ? हाम्रो आत्महत्याको प्रोसेस के यत्ति महत्वहीन छ, हामी स्वयं त्यसबारे सोच्न–लेख्न पनि चाहन्नौँ । (मणिराज र गुणराजमा के फरक छ, म जान्दिनँ ! शंकर लामिछानेलाई लाग्छ, उसको चिठीले न ‘समाज’ बदलियो, न ‘नागरिक’ नै ! हुन त लेखेरै समाज बदल्ने चेतपूर्ण गम्भीर काम माक्र्सवादी–जनवादी लेखकहरूको हो क्यारे, म कहाँको एब्स्ट्रक्याट इन्टरप्रेटर !)

(अँ, सुरुवातमै लेख्नुपर्ने थियो मैले । म मेरी ‘प्रिय बहिनी कुमुदिनी’सित विनम्रतापूर्वक क्षमा माग्छु । मैले बहिनीलाई लेखेको थिएँ– शंकर लामिछाने स्वयंलाई लेखक ठान्दैन । यस पाँच वर्षभित्र उसले चार–पाँचवटा ‘विश्वको महान् इतिहास’ र लेखन शैलीसमेत चोरेको छ । यो उसले गर्नुपरेको कारण हो— उसको जागिर थिएन र उसलाई बाँच्नु थियो । बाँच्नुजस्तो ठूलो कुरा जीवनमा अरू केही रहेनछ । म सायद साहित्यिक क्षेत्रबाट सन्न्यास लिँदै छु र अब म लेख्ने पनि छैन होला ।

प्रिय बहिनी कुमुदिनी ! तपाईं अहिले यहाँ हुनुहुन्छ वा उहाँ, जहाँ भए पनि क्षमा दिनुहोला । ४५ वर्षको उमेरमा यहाँसित गरेको वाचा तोडेर म आज डबल उमेर ९० वर्षमा केही लेख्तैछु । नठान्नुस् कि यो पनि मेरो मौलिक हो । यो शंकर लाामिछानेद्वारा चोरिएको चोरीको पनि चोरीको भद्दा नक्कल हो ।)
यार अम्बर र पत्रकार मणिराजमार्फत मकहाँसम्म आइपुगेका मबारेका सबै खबरकागत मैले शंकर लामिछानेलाई पढ्न लगाएँ । उसैमार्फत म एट्टी नाइन पर्सेन्ट अपडेटेड भएँ ।

मेराबारे नचाहिँदो अतिशय प्रशंसा, पूजा, अर्चना, धूपबत्ती, शंखघन्ट, फूलबुट्टे–भँगेरेटाउके मैले सबै पढेँ । मैले ‘एब्स्ट्रयाक्ट चिन्तन ः प्याज’को दोस्रो पेगमै लेखेको थिएँ— आफ्नो सामथ्र्यभन्दा बढी प्रतिष्ठा पाएकाले नै आज म असहाय भएको छु । अब त कस्तो हुन थाल्यो भने एउटा पंक्तिमै वाह वाह, एउटा लेखमै वाह वाह ! म विदेशी साहित्य चोर्दछु । विलियम सारोयन पढेँ, मेरो शैली परिमार्जित भयो । हेनरी मिलर पढेँ, लेख्ने कुरामा सत्यवादिताको पुट बढ्यो । एनास निन् पढेँ, गद्य काव्यात्मक रूपमा ढाल्न मन लाग्यो । सात्र्र र कामु पढेँ, शून्यवादको अध्ययन गर्न पुगेँ । जेम्स ज्वायस पढेँ, ‘के भो के भो, हिजोआज तिम्रै माया लाग्छ ।’

उत्तम ! तिमीले म यता आएपछि रूपरेखाको एउटा अंक मेरैबारे छापेछौ, पढेँ । प्रकाश सायमी त भावक अभियान बनाएर मेरो ब्रान्ड एम्बास्डर नै भएर आएछन् पछि । उनको शंकर–स्मृति पनि पढेँ । पारिजात, बाङ्देल, मपुपुका कमलादी, रोका, कार्थक, कुमार प्रधान सबैका पढेँ । रोशन शेरचन, राजकुमार बानियाँका पनि पढेँ ।

रत्नाले लेखेका दुइटा मेम्वायर र छोरा दीप अनि छोरी शिखाले लेखेका एक–एकवटा सम्झना पढेपछि म भावुक र अवाक् भएँ । (अवाक् भएँ भनेर यही अवाक् लेख्नु कसरी अवाक् ? यो अवाक् भइसकेपछि निक्कै पछि लेखेको हुँ ।) रत्ना ! बाहुनको परिवारमा भित्रिएकी पढेलेखेकी तिमीले धेरै नै दुःख पाएर पनि दुःखको दु, पीडाको पी केही लेखेकी रहिनछौ । मैले तिम्रो त्यत्रो सम्बन्ध र साथलाई सिर्फ एउटा चिठी ‘म यस्तो भुमरीमा परेको छु... तिमीहरू सबैसँग अलग्गिएर नै बस्नुप¥यो’ भनेर लेखेर बाहिरिएको रहेछु ।

म यता आइसकेपछि रत्ना जसरी तिमीले सुवर्ण र दुुई छोरालाई पनि प्रेमका दुई शब्द लेखेकी छौ, प्रेम गरिछौ, त्यो पढेपछि मलाई लाग्यो, म तिम्रो पतीत पोइ (कुमार नगरकोटीको दोचा पढेँ । उनैबाट साभार) तिम्रो साथ पाएर नै लेखक (क्षमा गर्नुहोला) बनेको रहेछु । ‘शंकरको अफेयर भएको बारेमा मलाई थाहा भएर पनि उसलाई संवादस्थमा ल्याउन सकेकी थिइनँ, कारण मलाई थाहा थियो कि उसले झुटो बोल्नेछैन (कहिल्यै बोल्दैनथ्यो) र साँचो बोलेकामा मैले के प्रतिक्रिया गर्ने ? आखिर सोध्दा उसले ढाँटेन पनि ।’

अँ, हिजै मात्र मैले छोरा दीपलाई भेटेँ । उसले मेरो ‘जीवन ः एक प्राध्यापक—ब्राउनी (कुकर) र साहित्य— आलुबखडा कि आउँसम्मको बयान गरेर मज्जाले लेखेछ । एउटा छोरालाई बाउ संसारकै ज्ञानी र महान् लाग्छ, यो भ्रम उसलाई अझै रहेछ । छोरी शिखा ! तिमीले मेरो आँखा झिम्क्याइबारे लेखेको लेख पढेपछि मैले चार महिनासम्म थप पढिनँ । तिम्रो शैली युनिक भएछ । तिमीले एब्स्ट्रयाक्टको पनि रियलिस्ट अंग्रेजी अनुवाद गरेकी रहिछौ, पढेँ ।
‘नानी, तिम्रो बाबा के काम गर्छ ?’
‘देउताको काम गर्छ ।’

शिखा ! तिमी पाँच वर्षकी थियौ । तिम्री मास्टर्नीको (असहज) प्रश्नको तिमी (सहज) जवाफ दिन्थ्यौ । तिमीलाई के थाहा, देउताको काम गर्नु र देउताको मूर्ति बेच्नुमा ! (सत्य भनेको के हो भने तिमीले जानेसम्मको ज्ञान हो ।) अँ कार्थक भाइ ! तिम्रो प्रत्येक कुरा सार्थक भएछ । धेरै मन पराइयो रे । (मैले छापिएको भूमिका हेर्न त पाएको थिइनँ, भर्खरै यता पाएँ । भूमिका लेखिदिएबापत तिमीले मलाई दिएको (हैन, मैले मागेको । कार्थक ! मैले तिमीसित किन नमाग्न सक्थेँ ! जब त्यस्तो अवस्थामा बिचल्ली पारेर छोडिगएर उल्टै रत्नासित पैसा माग्न सक्ने साहसी लेखक हुँ म । मलाई खोकीले च्यापेको थियो !) त्यो एक रुपैयाँको नोटलाई मैले एक लाखको नोट जसरी बडो मायाले पट्याएर, कोटको भित्री खल्तीमा राखी पाटनका पुरातात्विक गल्लीमा भड्किएको रहेछु । तर, दुःख यो छ कि भाइ ! त्यो नोट सुवर्णसितको चिसो र ओसिलो, अँध्यारो र साँघुरो गुफामा छिर्दा नछिर्दै बाटैमा कतै हराइगएछ ।)

अँ, मणि दाइ पत्रकार भएर होला, उनले पत्रिका नै पनि एउटा बोकेर ल्याएछन् । मेरा अघिल्तिर छ, ‘कान्तिपुर कोसेली’ लेखिएको चारवटा पाना । यो पत्रिकाले २०६९ को दसैँमा नेपालका हिट राइटर भनेर राइटरहरूबीच नै सर्भे गरेको रहेछ । ‘उत्कृष्ट ५’ भन्ने हेडिङमा शंकर लामिछानेको पनि फोटो र नाम रहेछ । त्यहाँ रोल नं. १ ‘विम्ब प्रतिविम्ब’का मेरा महाविम्ब, मेरा त्रिचन्द्र गुरु महाकवि देवकोटा । (६ साल, ५ सालतिर कलेज पढाउने ताका मैले उहाँलाई साधेथेँ, ‘एउटा लाइन दिनुहोस्, के गरेदेखिन् मैले ठीक हुन्छ ?’ गाउँ–देश–प्रदेश केही मागेको थिइनँ, सिर्फ एक लाइन उपदेश वा सन्देश मागेको थिएँ ! उहाँले भन्नुभयो— शंकरजी मैले जे गरेँ, त्यही बाटो तपाईं हिँड्ने हो भने नआउनुस् । आफ्नो बाटो आफैँ पहिल्याउनुस् । रिपिटिसन अफ वर्क अन द सेम लाइन ह्याज नो मिनिङ ।) रोल नं. २ मेरी बहिनी पारिजात । (लामिछानेको लाऽमो भूमिकाले ‘शिरीषको फूल’ हिट भएको भन्नेजस्तो वाहियात कुरा पनि अझै हुँदो रहेछ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा । बहिनीले एकदम सही लेखेकी रहिछिन्— शंकर लामिछानेको असामयिक निधन हुनुभन्दा पहिले नै उहाँको साहित्यको सामयिक मृत्यु भइसकेको थियो ।

अनि लास्टमा उनले यस्तो भत्र्सना पनि लेखिछिन्— काव्यप्रेमी, कलाप्रेमी, संगीतप्रेमी (नारीप्रेमी लेखेकी छैनन्), खुब हाँस्न–हँसाउनपर्ने–सक्ने पनि, थुप्रै थुप्रै सेन्स अफ ह्युमर भएको प्रतिभाशाली लेखकलाई मेरो मनदेखि...।

रोल नं. ३ भूपीबारे त म के भनूँ । रत्नाले नै लेखेकी छिन्, बडो सुन्दर उनीबारे । रोल नं. ४ विश्वेश्वरजी । उहाँबारे मेरो ठूलो श्रद्धा छ, मैले लेखिसकेको छु । थप सुन्न मन भए, प्रधानमन्त्री शेरबहादुरज्यू, पुत्र महामन्त्रीज्यूलाई बीपी हैन, विश्वेश्वर चिन्नुहुन्छ ? भनीकन सोधिसिएला ! देउवाजी एन्ड कम्पनीले प्रकाश–पिताका गजल र नाटकबारे प्रकाश पारिदिनुहुनेछ ।

कुनै सोसफोर्सविना, कुनै जानकारीविना मलाई नेपाली साहित्यका ‘उत्कृष्ट ५’ भित्र ५ नम्बरमा पारिदिने ज्ञात (पत्रिकामा सबै जुरीको नाम रहेछ) — अज्ञात (भावक–पाठकहरू) हरूसित मेरो गम्भीर चाकरी यो छ कि यहाँहरूले खुबै नाम लिने ‘एब्स्ट्रयाक्ट चिन्तन ः प्याज’ संग्रहभित्रको यही शीर्षकको निबन्ध एकचोटि (वा धेरैचोटि) ध्यानसँग पढिदिनुहोला । अब म यो लेख (खासमा अभिलेख) मा आफैँ आफ्नो प्रशंसामा केही लेख्छु । (९० वर्ष पुगेपछि आफ्नोबारेमा लेख्ने, आफ्नो प्रशंसा देख्ने चाहना म बूढोलाई हुनु अन्यथा नठानियोस् । तर, मैले देखेँ— मणि दाजुले लिएर आएकामध्ये मेक्सिमम पुस्तक त आत्मचरित—आत्मश्लाघा—आत्मकेन्द्र–परनिन्दक विधाकै रहेछन् । अनि म छक्क परेँ, ब्रह्मचर्य आश्रमको उमेरमै सफलताका अन्तिम कथा भनेर लेखिसक्दा रहेछन् । के अब ती गृहस्थ, वानप्रस्थ, सन्यास उमेरसम्म बाँच्दैनन्, बाँचे पनि सायद निष्क्रिय मूर्तिवत् बाँच्छन् क्यारे ! व्यापारी, सेलिब्रिटी, जर्नेल, गुण्डा–नेतादेखि जोकर–तस्करहरू सबैका महान् तथा प्रेरणादायी आत्मश्लाधा पढेपछि, मलाई ती पुस्तकले दिएको अथाह प्रेरणास्वरूप म पनि इः यसरी अब यहाँनिर आत्मचरित कोर्न थाल्दो भएँ !) नेपालको आजसम्मको इतिहासमा साहित्य कहिल्यै व्यवसाय हुन सकेन (चाकडी भएको कुरा छाडिदिनुस् । यसमा थप्न मन लाग्यो— कु(प्र)ख्यातहरूका आत्मचरित बिकेको कुरा छाडिदिनुस् ।)

मैले मेरो अभूमिकामा लेखिसकेको छु । मेरा कृतिमा माटो छैन, राष्ट्र–राष्ट्रियता छैन । यो कुन अफसोसको कुरा भयो ? तपाईं मानिसको अन्तर्राष्ट्रिय जात हुन्छ भन्ने थाह (न)पाएर कम्युनिस्ट पार्टीको लेखनदास नाइके भई एकेडेमीमा भर्ती हुनुभएको हो ?म एक हजार वर्षपछि जन्मिने पृथ्वीको मान्छे हुँ । मेरो जन्मकालमा राष्ट्रका परिधिहरू, विश्वासका परिधिहरू, राजनीतिका परिधिहरू केही पनि हुने छैनन् । र, त्यो शीर्ष निबन्ध मैले तुरेको छु—...एक हजार वर्षपछि सिमाना हराएजस्तै ।

मलाई लागेको थिएन, यसको व्याख्या गर्न म ४५ वर्षपछि फेरि जन्मिनुपर्ला भनेर । (उसो त अचेल लेखक आफैँले आफ्नो समीक्षा, प्रतिक्रिया, व्याख्यान, विज्ञापन पनि दिँदो रहेछ !) मेरो जन्मकालमा राष्ट्रका परिधिहरू, विश्वासका परिधिहरू, राजनीतिका परिधिहरू केही पनि हुने छैनन् भन्ने मेरो यो कस्तो युटोपिया याने कि साम्यवाद हो, कमरेड चैतन्य जस्तो कि रोहितजस्तो कि के(पी)के जस्तो वा मेरो छद्मनाम गार्गेयजस्तो । (यो प्रश्न छ, विद्वान् माक्र्सवादी–समाजवादी चिन्तक–समालोचक औ केपी–कार्यकर्ता कुलपति कमरेड ज्ञान–गंगाप्रसादजीलाई !)

साहित्य केको लागि ? जनताको लागि ? समाजको लागि ? धर्तीको लागि ? स्वयंको लागि ? पैसा कमाउनको लागि ? प्रतिष्ठा कमाउनको लागि ? वा, आफू मरेर कताकता हिँडिसकेपछि एउटा लाइब्रेरीका दराजबाट धूलोमा बेरिएर एउटा इच्छुकका आँखाको लागि ? जनताको लागि मैले जीवनमा कहिले पनि लेखिनँ । (लेख्नेहरूप्रति मेरो श्रद्धा छ । खगेन्द्र संग्रौलाप्रति मेरो झन् श्रद्धा छ किनकि उनले मेरो भाषा र शैलीको प्रशंसा गरेर, नयाँ पुस्तालाई शंकर पढ्नू भनेर उपदेश गरेका रहेछन् । यहाँ बार्टर त चल्छ !)
जनताको लागि मैले जीवनमा कहिले पनि लेखिनँ ।
आमालाई रिझाउन क ख ग लेखेँ ।
मास्टरलाई रिझाउन प्रबन्ध लेखेँ ।
प्रेमिकालाई रिझाउन प्रेमपत्र लेखेँ ।
साहूलाई खुसी पार्न तमसुक लेखेँ ।
जागिर बढाउन रिपोर्ट लेखेँ ।

म बालमुकुन्द र उत्तमका लागि लेख्छु । भूपी, पारिजात र रोकाका लागि लेख्छु ।लामिछानेबारेका (लामिछानेको लेखाइ–सोचाइ–गहिराइ–उचाइबारेका हैन) समालोचना, समीक्षा, शोधपत्र, शोधप्रबन्धका केही ठेली पनि लिएर आएका रहेछन्, यारहरू । म छक्क परेँ, ती समालोचक हुन् कि चिना लेख्ने ज्योतिषी हुन्, कि वा हुन्— अभियुक्तको स्केच–रिपोर्ट लेख्ने पुलिस ? लेखेका छन्— यो धरामा बेलाबखतमा महान् दिव्य पुरुषको पदार्पण भइरहन्छ ।

यस्तै एक महान् पुरुषले वि.सं. १९८४ चैत महिनामा काठमाडौँमा पिता हरिप्रसाद लामिछानेकी ज्येष्ठ पत्नीका गर्भबाट जन्म लिनुभएर उहाँ ११ वर्षको उमेरसम्म वनारस मामाघरमा बस्नुका साथमा उहाँको व्यावसायिक र वैवाहिक जीवनमा धेरै उतारचढाव आए पनि उहाँ एक महान् लेखक (कसरी महान्, किन महान्, कति महान् ? पूरै ठेली पढिसक्दा पनि मैले पाइनँ ? पाठकवृन्द ! वाक्यको लम्बाइ र अमिल्दाइ पनि ख्याल गर्नुस् है) हुनुहुन्छ । उहाँ सानैदेखि हुने बिरुवाको चिल्लो पात भनेझैँ बहुमुखी प्रतिभाका धनी, विराट्, कुशाग्र र अजस्र क्षमताका सागर, कुशल लेखक, बौद्धिक र विनम्र व्यक्तित्व हुनुहुन्थ्यो ।

...तर प्रकृतिको लीला नै यस्तै छ, आदि जसको हुन्छ, अन्त्य पनि उसकै हुन्छ...उहाँको लेखाइमा आफ्नै खालको सौन्दर्य, बेग्लै खालको कला, भिन्नै खालको रोमाञ्चकता भए पनि उहाँ हामीलाई एक्लै छोडेर जानुभयो, स्वर्गमा । (आफ्नै÷बेग्लै÷भिन्नै खाले सौन्दर्य भनेको कस्तो–के रहेछ ? म स्वर्ग गएँ कि नर्क ? यो पनि थाह पाउने त्रिकालदर्शी त्रिपाठी स्कुलजीको लेख पढेपछि मरेको म झन्नै फेरि मरिनँ ।स्वस्तिश्रीगिरिराजचक्रचूडामणिनरनारायणेत्यादिविविधविरुदावलिविराजमानमानोन्नत...लेख्न चाहिँ किन भुल्नुभयो, कुन्नि !)

कृष्ण गौतमले ‘गौँथलीको गुँड’ किताबबारे लेखेको लामो समीक्षा चाहिँ मलाई घत प¥यो । उनले मेरा कथालाई दार्शनिक (गौँथलीको गुँड, अर्धमुदित नयन र डुब्न लागेको घाम), वैज्ञानिक (माया नं. ६५३, ऊ कस्को हो ?), परामनोवैज्ञानिक (आत्माको मीमांसा), क्रान्तिमूलक (काँथर), वासनात्मक (म भोलि जन्मनेछु) यसरी अनेक तरहले लेखेका रहेछन् । ‘अर्धमुदिन नयन...’ पनि र ‘अन्तिम पात पनि झर्छ’ मैले नै लेखेको हो । यो विपर्यासको एकै विशेषता पनि हुँदो रहेछ ! मैले थाहा पाएँ, विश्वविद्यालयका प्राध्यापकज्यूहरू त्यो लामिछानेबारे लेख्दा वा बोल्दा दुई शब्द वाक्यमा प्रयोग गर्न भुल्नुहुँदो रहेनछ— चेतनप्रवाह र प्रयोगवाद । (यो वाद भनेको के हो, मैले बुझिनँ । ‘विम्ब प्रतिविम्ब’झैँ ‘सीमान्त आकाश’ लेख्ने डा.नेत्र एटमले माक्र्सवाद र चेतनप्रवाहझैँ प्रयोगवाद पनि बुझाइदिनुहुन्थ्यो कि !)    

मेरो जिन्दगी (मेरो दीर्घ जीवन हैन, ह्रस्व जिन्दगी) को ‘आखिरी श्रीकृष्ण रहेछ एक’ताका लेखेको छु— मेरो जीवनमा तथाकथित ऐतिहासिक व्यक्तित्व र विभूतिहरूको चरित्रको देखिने र नदेखिने तथा लेखिने तथा नलेखिने पक्षहरू मेरासमक्ष उद्घाटित भए । मैले पाएँ, देवत्व कसैमा हुँदो रहेनछ । मेरो नजरमा कुनै मानिस एकदमै महान् पनि रहेन र तुच्छ पनि रहेन ।

भोलिका लागि सञ्चय र सञ्चयका लागि सञ्चय भन्ने आर्थिक दृष्टि रहेन । बाल्यावस्थादेखि नै जीवन चिप्लेर बगिरहेको थियो । त्यसमा कहिले खस्रो पथ आउला भन्ने कल्पना र त्यसको निराकरणको अग्रिम सचेतना र सावधानी कहिले गरिनँ । सबैलाई सक्दो भलो गरेको छु, मेरो कुभलो कसले गर्ला भन्ने भावनाको उल्टो परिस्थितिका लागि म तयार थिइनँ । अप्रत्याशित रूपमा व्यवस्थित व्यवसाय भताभुंग भयो । आर्थिक भुइँचालो आयो जीवनमा । रक्सी खाएँ । बन्धुबान्धव त गुमिसकेका थिए ।

अब क्रमशः साथीहरूको सहानुभूति पनि सुक्दै गयो । मित्रहरूको उपेक्षाको मात्रा बढेको बोध हुनासाथ मेरो पिउने मात्रा बढ्ने । घटनाक्रममा मेरो नियन्त्रण दिनप्रतिदिन शिथिल हुँदै गयो । त्यसबेला म पूर्णरूपेण रक्स्याहा भएँ । (तर, मलाई सम्झना भएअनुसार म रक्सीले हैन, मेनेन्जाइटिसले मरेको हुँ । म धेरै खान्नथेँ, पहिले पनि । शंकर बाहुन कुलमा जन्म्यो । तर उसका एउटा पनि बाहुन साथी थिएनन् । हुँदाहुँदा स्वास्नी(हरू) पनि अब्राह्मणी । बाहुनसित मित्रता गाँस्न त खोजेकै हुँ । तर, सबैजसो बाहुन बिस्तारै नेता भइदिने, उपदेशक भइदिने । नेता र उपदेशकहरू कमसेकम मित्र त हुन सक्तैनन् नि ।

बाहुनको छोरो, रक्सी थोरैले पनि मलाई छोई चाहिँ हाल्थ्यो ।) कैयन् दशकदेखि आफूले सिर्जेर मेहनतसाथ हुर्काएको जुन मेरो सामाजिक, पारिवारिक, आर्थिक, वैयक्तिक देखिने एउटा स्तर थियो । त्यहाँबाट म खस्किसकेँ ।मान्छेहरू मेरो लेखनीलाई अझै आधुनिक, अझै नयाँ, अझै भव्य, अझै खत्रा भनिरहेका रहेछन् । यो कुराले मलाई यो ४५ वर्षमा साहित्य जहाँको तहीँ रहेको भन्न त दिँदैन, तर साहित्यकारभन्दा प्राडा, समालोचक पछि परेर यसो भएको होला कि ? मैले त भनेको छु— जति लेखिएका छन्, ती सब प्रचीन साहित्य हुन् र जति लेखिनेछन् ती आधुनिक हुन् । अनि म कसरी आधुनिक भएँ यार ?

९० वर्षको उमेरमा लेखेको यो अभिलेखमा पनि गम्भीरता र प्रौढता केही छैन । सम्झाउँछु— साहित्यमा केको गम्भीरता ? म स्वयंको जीवनलाई पनि मैले आजसम्म गम्भीर रूपमा लिएको छैन । बाबु र आमाको आनन्दबाट म जन्मेँ र कैयन् कीटाणुको आनन्दबाट म मर्नेछु । यहाँ गम्भीरताको ठाउँ नै कहाँ छ र ?


 

प्रकाशित: १३ माघ २०७४ ०२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App