पुष्पा थपलिया
सन् २००० की मिस नेपाल उषा खड्गी फेसनेबल सेलिब्रेटी हुन् । आफैँ फेसन डिजाइनरसमेत रहेकी उनी कुपन्डोलस्थित यु आर स्टाइलिस्ट नाकको बुटिकमा व्यस्त छिन् । साथै विभिन्न फेसन सोहरुको कोरियोग्राफीमा उनी रमाइरहेकी छन् । उनै व्यस्त पूर्व मिस नेपालसँग पुष्पा थपलियाले गरेको फेसन टक ।
तपाईं फेसनेबल सेलिब्रेटी भनेर चिनिनुहुन्छ, के हो नि यसको राज ?
ओहो, मलाई फेसनेबल सेलिब्रेटी पनि भन्छन् र ! सुनेर साह्रै खुसी लाग्यो । म आफैँ फेसन डिजाइनको क्षेत्रमा काम गर्ने भएकाले त्यसो भनेको होला, हगि ? एनि वे, मेरो फेसनको राज त्यस्तो खासै छैन । म गुगल हेरेर फेसनमा अपडेट हुन्छु । बजारमा केही नयाँ कुरा आयो भने त्यो ट्राई गर्न मन लाग्छ र मनपर्छ पनि । कसैको कपी गर्नुपर्ने स्थिति पनि छैन किनभने म आफैँ पनि नयाँनयाँ फेसन डिजाइन गर्न सक्छु । त्यस्तो गर्न मलाई मन पर्छ । आफ्नो आर्थिक हैसियतले भ्याएअनुसारको सपिङ गर्छु । त्यसका लागि के राज चाहियो र !
तपाईंलाई खासमा कस्तो फेसन मनपर्छ ?
त्यो समयअनुसार भर पर्छ । जस्तो कि जाडोमा लगाउने फेसन फरक हुन्छ, गर्मीमा पनि फरक हुन्छ । ठाउँअनुसार म फेसन गर्छु, त्यसैले यस्तै भन्ने छैन ।
फेसन गर्न चैं कहिलेदेखि सुरु गर्नुभयो ?
म सानै छँदादेखि फेसनेवल कपडाहरु लगाउन मन पथ्र्यो तर गाउँमा त्यस्तो थिएन । सबैले सामान्य कुर्ता सुरुवाल लगाउँथे । कागको हुलमा बकुल्ला हुनु पनि भएन । त्यसैले म पनि एसएलसी नदिउञ्जेलसम्म फेसनमा चाहेर पनि रम्न सकिनँ । एसएलसी पास भएर क्याम्पस पढ्ने भएँ, त्यसपछि साथीहरु पनि फेसन गर्ने पाएँ । हामी दर्जी दाजुको टाउको खान्थ्यौं, यस्तो बनाइदेऊ, उस्तो बनाइदेऊ भन्थ्यौँ । दर्जीले पनि भनेजस्तै बनाइदिन्थे । हामीलाई नयाँ–नयाँ फेसनका ड्रेस बनाउने दर्जी अझै ज्युँदै छन् । अझै पनि याद छ, त्यो समयमा ‘दिलवाले दुल्हनियाँ लेजाएङ्गे’ फिल्ममा काजोलले लगाएको जस्तै ड्रेस बनाइदिनुप¥यो भनेर दर्जीको टाउको खाएको । हामी पोस्टकार्डमा भएका इन्डियन कलाकारको फोटो देखाउँदै यस्तै बनाइदिनुपर्यो भनेर हैरान पाथ्र्यौं । म स्कुल पढ्दादेखि नै फेसन डिजाइनर बन्ने धोको थियो । त्यही धोको मैले इन्डियन एजुकेसन सेन्टर (आइइसी) बागबजारबाट पूरा गरेँ । यो सन् १९९३/९४ तिरको कुरा हो ।
घरपरिवारले फेसनका ड्रेस लगाउँदा केही भन्नु हुन्नथ्यो ?
मेरो परिवार त नयाँ कुरा गर्दा जहिले पनि सपोर्ट गर्ने नै हुनुहुन्थ्यो । जिन्सका कपडा लगाउँदा घरमा भन्दा समाजमै बढी कुरा हुन्थे तर मलाई मेरो ममी–बुबाले कहिल्यै यस्तो लगा, यस्तो नलगा भन्नुभएन । त्यसैले पनि आज म यहाँसम्म आइपुग्न सकेँजस्तो लाग्छ ।
स्कुल पढ्दादेखि नै फेसन डिजाइनर बन्ने धोको भन्नुभयो, के देखेर त्यस्तो सोख पलायो त ?
खै मलाई पनि थाहा छैन । म के देखेर यसतर्फ आकर्षित भएँ होला भन्ने बुझ्न सक्तिनँ । मैले न त यसबारे कतै पढेँ, न त टिभीबाट नै सिकेँ । मलाई फेसन डिजाईनर बन्ने सोख पैदा हुँदा कक्षा नौमा पढ्थेँ, कतैकतै सादा टिभीहरु मात्रै आएका थिए त्यो बेला । कसरी डिजाइनर बन्न मन लाग्यो, आफैँलाई थाहा छैन ।
सपिङबारे बताउनु न !
आई लभ सपिङ । मलाई फेसनका कुरा मात्रै होइन, सबै प्रकारका सपिङ गर्न मन पर्छ । मेरो श्रीमान् मेरो सपिङ मोह देखेर अचम्म मान्नुहुन्छ र भन्नुहुन्छ, ‘अरु पैसा जोगाउन पाए खुसी हुन्छन्, तिमी उडाउन पाए खुसी हुन्छौ, कस्तो उल्टो !’ सपिङमा पैसा उडाउन पाए मेरो दिल यसै खुस हुन्छ । मेरो मुड कोहीबेला खराब भयो भने म सपिङ गर्छु र सपिङ गर्नासाथ मुड ठीकठाक हुन्छ ।
ठाउँ चैं कस्तो रोज्नुहुन्छ सपिङका लागि ?
म कुन स्थानमा छु र मलाई केको आवश्यकता छ, त्यसैमा सपिङ स्पट डिपेन्ड हुन्छ । म सामान्य पसलदेखि ठूला मलसम्म सपिङ गर्न रुचाउँछु । जस्तो कि, तरकारीहरु किन्नुप¥यो भने घरअगाडिकै पसल, सामान्य कपडा किन्न परे घर नजिककै सपिङ गर्छु । म वीरगञ्जमा जन्मिएकाले त्यता जाँदा रक्सौल लगायतका ठाउँमा पनि सपिङ गर्न मनपर्छ । यही ठाउँ मात्रै सपिङ गर्छु, अन्त गर्दिनँ भन्ने छैन । कतै केही राम्रा कुरा देखिहाले पनि मिस गर्दिनँ, किनिहाल्छु । त्यो चाहे समान्य पसल होस् या कुनै ठूलै मल, मलाई खासै फरक पर्दैन ।
हिजोआज महिलामा कस्तो स्टाइल चलेको छ नि ?
एभ्री स्टाइल, एभ्री ट्रेन्ड । म आफैँ छक्क पर्छु, हिजोआजको फेसन देखेर । महिलामा फेसनको र अझ नयाँनयाँ स्टाइलको मोह खुब छ । जे आउँछ, मजाले पचाउँछ भनेजस्तै महिलाहरु जस्तो स्टाइल आउँछ, त्यसैलाई फलो गरिरहेको देखिरहेकी छु । फेसन भनेको पाँच वर्षसम्म पनि पुरानो हुँदैन, बरु थोरैथोरै परिवर्तन मात्रै हुने हो । एकपटक लामो पिसमा आयो भने अर्कोपल्ट छोटोमा आउँछ । त्यसैले यही स्टाइल छ त भन्न सक्दिनँ तर सबै प्रकारका स्टाइलमा रमाइरहेका छन् भन्न सक्छु ।
तपाईं आफूले प्रयोग गर्ने फेसनका सामानहरु कहाँ कहाँबाट खरिद गर्नुहुन्छ ?
यही ठाउँ भन्ने छैन । म काठमाडौँ, विराटनगर जहाँतहीँबाट फेसनका सामान खरिद गर्छु । मेरा केही आफन्त अस्ट्रेलियामा हुनुहुन्छ, कोही हङकङमा त कोही अन्य देशमा । उहाँहरुले पनि कहिलेकाहीँ उतैबाट सामान पठाइदिनुहुन्छ । मलाई ब्रान्डका नै फेसन गर्नुपर्छ, महँगो नै फेसन गर्नुपर्छ भन्ने लाग्दैन र यही ठाउँ बेस्ट भन्ने पनि लाग्दैन ।
नेपालीहरु विशेष गरेर काठमाडौँबासी फेसनको कत्तिको पारखी छन् ?
एकदम धेरै । काठमाडौंको त कुरै छाडौं, अन्य ठाउँ जस्तो कि पोखरा, धरान लगायतका सहरिया पनि फेसनमा धेरै अगाडि छन् । नेपालभरमा काठमाडौंबासी भने फेसनका मामलामा अगाडि नै आउलाजस्तो मलाई लाग्छ । यो खुसीको कुरा पनि हो ।
तपाईं त प्रायः फेसन सोहरुमा जानुहुन्छ, अनि त्यसको कोरियोग्राफी पनि गर्नुहुन्छ । नेपालमा आयोजना हुने फेसन सोका बारेमा के भन्नुहुन्छ ?
फेसन सोहरु अहिले राम्रै छन् । मेरो विचारमा सन् २००४ सम्म नेपालका फेसन सो एकदमै राम्रा थिए, गुणस्तरीय थिए तर त्यसपछि एकदमै नराम्रो हालतमा पुग्यो । जो पनि मोडल बन्ने, जो पनि मोडलिङ गर्ने र जस्तो पायो त्यस्तै फेसन सोहरु हुने भए । फेरि यता केही वर्षदेखि राम्रो हुँदै आएको छ । क्वालिटी मेन्टेन हुने क्रम जारी छ ।
फेसन सोको प्रस्तुति र प्रदर्शन गरिने डिजाइनबारे कस्तो धारणा छ नि ?
नेपालमा पनि राम्रा डिजाइनरहरु आइसकेका छन् । तपाईंलाई थाहा होला नि, कति ठूल्ठूला र राम्रा डिजाइनरहरु नेपालमा जन्मिसके भनेर । मनीष राई, रविन परियार, प्रवल गुरुङ यसका उदाहरण हुन् । उनीहरु देशभित्र मात्रै होइन, देशबाहिर पनि खत्राखत्रा फेसन डिजाइन गरेर नेपालको नाम अगाडि बढाइरहेका छन् ।
तपाईलाई मनपर्ने ब्रान्डहरु के के हुन् र किन ?
मैले अघि पनि भनेँ म ब्रान्ड कन्सस छैन तर घडीको भने म निकै सौखिन छु । मलाई टिसोट ब्रान्डको घडी एकदम मनपर्छ । त्यस्तै ब्याग भने क्रिस्टिन ब्रान्डको मन पर्छ ।
फेसनमा मासिक कति खर्च हुन्छ नि ?
(हाँस्दै) हिसाबै छैन । कहिले धेरै पनि हुन्छ, कहिले थोरै पनि । यति नै भन्ने छैन । अब कुनै ठाउँमा घुम्न गएको बेला, राम्रा कुराहरु देखेँ धेरै पनि हुन्छ, कतै नगएका बेला थोरै । यति नै हुन्छ भनेर म भन्न सक्दिनँ ।
कुन–कुन फेसन ब्लक प्रयोग गर्नुहुन्छ ?
ड्रेसमा जाभा । अरुमा खासै छैन ।
मनपर्ने कलर ?
अँ, मेरो फेभरेट र एकदमै मनपर्ने कलर ब्लु हो । ब्लुमा पनि टर्किज ब्लु, सी ब्लु मेरा फेभरेट हुन् । अरु सेतो मन पर्छ तर ब्लु भनेको ब्लु हो, आई लभ ब्लु कलर भेरी मच ।
मनपर्ने ड्रेस ?
मेरो अफिस नै फेसनेवल भएकाले जे लगाउँछु त्यो नै अफिसियल हो, क्याजुअल र पार्टी वेयरमा फङ्सनको उद्देश्यअनुसार त्यसैलाई म्याच गर्ने ड्रेसहरु मनपर्छ ।
तपाईंको फेभरेट सपिङ स्पट ?
बैंकक तर मलाई जहाँ पनि सपिङ गर्न मन पर्छ ।
सपिङ एक्लै गर्न मनपर्छ कि परिवारका साथमा ?
दुवै । मलाई सपिङ गर्न भनेपछि अरु केही सोच आउँदैन । सपिङ बस् सपिङ, एक्लै पनि रमाइलै लाग्छ । साथीभाइसँग पनि रमाइलै लाग्छ । झन् परिवारका सदस्यसँग त रमाइलो लाग्ने नै भयो ।
तपाईंको हातमा त कति राम्रो ट्याटु पनि रहेछ, कहाँ बनाउनुभयो ?
मलाई पहिल्यैदेखि ट्याटुको सोख थियो । यो हातको फिदर ट्याटु मेरो पहिलो ट्याटु हो । पछि लेगमा र घाँटी पछाडिको अलिक तल पनि बनाएँ । मैले ठमेलमा रहेको पुरानो ट्याटु बनाउने ठाउँबाट यो बनाएकी हुँ । त्यस्तै मलाई नेल आर्ट गर्न पनि खुब मनपर्छ । आज मात्रै मैले नयाँ नेलआर्ट गराएर आएँ, अब यो दुई महिनासम्म केही हुँदैन, राम्रो देखिरहन्छ ।
(नागरिक परिवारबाट साभार)
प्रकाशित: १४ कार्तिक २०७४ ०८:३१ मंगलबार