व्यवसायी सुरज वैद्य र ऋतु सिंहको पहिलो भेटको संयोग नै सामाजिक सेवासँग जोडिएको छ । बालबालिकालाई आश्रय दिने संस्था बालमन्दिरका लागि रकम संकलन गर्ने उद्देश्यले काठमाडौँमा आयोजना भएको फेसन सोमा सन् १९९१ की मिस इन्डिया एसिया वल्र्ड ऋतुसँग सुरजको पहिलो भेट भएको थियो ।
विवाह गरेको कति वर्ष भयो ? सुरज यो प्रश्नको उत्तर दिन मान्दैनन् । ‘म विवाहलाई वर्षको अंकगणितमा राखेर र यति वर्ष भयो भनेर सम्बन्धलाई एउटा निश्चित अवधिमा कैद गर्न चाहन्नँ,’ सुरजले भने, ‘त्यसैले बिहे गरेको कति वर्ष भयो भनेर गन्ने गरेको छैन । बिहेको वर्षगाँठ मनाउने तर वर्ष नगन्ने !’
भारतको आर्मी परिवारमा जन्मेकी ऋतुले नेपालमा बिहे गरूँला भन्ने कल्पना पनि गरेकी थिइनन् । ‘उहाँको आकर्षक व्यक्तित्व, नम्र र भलाद्मी स्वभावबाट आकर्षित भएँ,’ ऋतुले भनिन् ।
ऋतु सुरजसँगको विवाहले आफ्नो भित्री इच्छा पूरा भएको बताउँछिन् । ‘सुन्दरी प्रतियोगिताबाट पहिचान बने पनि मेरो रुचिको क्षेत्र उद्यमशीलता थियो,’ उनले भने, ‘अभिनयतिर भन्दा पनि इभेन्ट आयोजना गर्नेतिर आफूलाई फोकस गरेकी थिएँ । त्यसैकारण पनि व्यवसायी सुरजसँग मेरो वेभलेन्थ मिलेको हुनुपर्छ ।’
ऋतु र सुरजबीचको सहकार्यको शक्तिले वैद्य अर्गनाइजेसनको व्यावसायिक यात्रामा पनि उचाइ थपेको छ । वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका प्रेसिडेन्ट हुन् सुरज । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष उनी अहिले सार्क चेम्बर अफ कमर्स एन्ड इन्डिस्ट्रिजका प्रेसिडेन्ट छन् । ऋतु युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिकी प्रबन्ध निर्देशक हुन् ।
वैद्य घरानाले अटोमोबाइलका अतिरिक्त निर्माण, शिक्षा, चियाबगान लगायतको व्यवसाय गरिरहेको छ । यो जोडीको दाम्पत्यमात्र नभएर व्यावसायिक जीवन पनि सफल छ । ‘सफलता र असफलताको सुरुवात घरबाटै हुन्छ,’ सुरजले भने, ‘त्यसैले सबैभन्दा पहिला घरमा राम्रो सहकार्य हुनुपर्छ ।’
सुरज उद्योग वाणिज्य महासंघको नेतृत्वमा जाने भएपछि उनले ऋतुलाई आफ्नो व्यवसाय अघि बढाउने जिम्मा दिए । ‘महासंघमा जाने भएपछि टोयटाको बिजनेसमा ऋतु जिम्मेवारीमा आइन्,’ सुरजले भने, ‘उनको परिपक्वताले व्यवसाय अझै व्यवस्थित भयो ।’
ऋतुले नेतृत्व गरेपछि कम्पनीको आर्थिक व्यवस्थापन झनै राम्रो भएको उनी बताउँछन् । ‘महिलाको आर्थिक व्यवस्थापन चुस्त हुन्छ,’ उनले भने, ‘पुरुषको वित्तीय व्यवस्थापन अलि कमजोर हुन्छ ।’ ऋतुको आगमन र सहकार्यले व्यवसाय फस्टाएको उनले बताए । ‘मेरा लागि उनी लक्ष्मीजस्तै हुन् ।’
‘कम्पनीको सभापति म भए पनि हरेक कुरामा सल्लाह हुन्छ,’ सुरजले भने, ‘डे टू डे काममा इन्टरफेयर गर्दिनँ ।’ दुई जनाले नै मालिकको पारा देखायो भने कम्पनी कहिलै नचल्ने दुवैको बुझाइ छ । ‘काम विभाजन गर्नु आवश्यक छ,’ उनले भने, ‘सबै बोस बन्न थाल्यो भने कम्पनी डुब्छ ।’
सुरज ज्योतिषशास्त्रमा त्यति विश्वास गर्दैनन् । तर, ऋतुको हरेक नयाँ कामको सुरुवात ज्योतिषको मार्गदर्शनबाट हुन्छ । ‘म त ज्योतिषमा त्यति विश्वास गर्दिनँ,’ सुरजले भने, ‘उनी भने हरेक व्यावसायिक काममा ज्योतिषसँग परामर्श लिन्छिन् ।’
उनीहरू एकअर्काको काममा हस्तक्षेप गर्दैनन् । एकअर्काको काममा सघाउँछन् । ‘घर र कम्पनी भनेका फरक विषय हुन्,’ सुरजले भने, ‘जिम्मेवारीको क्षेत्राधिकारमा हस्तक्षेप गर्नु हुँदैन ।’
सुरज व्यवसायमा नरम छन् भने ऋतु कठोर छिन् । ‘बिजनेस इज बिजनेस, फ्रेन्डसिप इज फ्रेन्ड सिप,’ ऋतुले भनिन्, ‘व्यवसायमा साथीभाइ भन्ने हुँदैन ।’
ऋतु आफूलाई भाग्यमानी ठान्छिन् । ‘उहाँ बुज्झकी भएकाले व्यवसायमा सजिलो भएको छ,’ उनले भनिन्, ‘म आफूलाई लक्की ठान्छु ।’
व्यवसायमा मात्र होइन, घरायसी काममा पनि उनीहरू सहकार्य गर्छन् । ऋतुलाई घरको साजसज्जामा गहिरो अभिरुचि छ । घरभित्रको सजावट कसरी गर्ने भन्ने निर्णय उनी गर्छिन् भने बगैँचालाई कस्तो बनाउने सुरजले आइडिया लगाउँछन् । ‘घरभित्र कस्तो रङ लगाउने, सजावटका सामान कहाँ राख्ने त्यो ऋतुले जिम्मा लिन्छिन्,’ सुरजले भने, ‘बगैँचा चाहिँ मेरो जिम्मा हो ।’ शनिवार उनी भान्छा सम्हाल्न पनि तम्सन्छन् । आफैँ खाना बनाउँछन् । कमसे कम हप्ताको एक दिन परिवारसँगै बस्नुपर्छ भन्ने यो जोडीको मान्यता छ । ‘शनिवार सकभर बाहिर जाँदैनौँ,’ ऋतुले भनिन् ।
(नागरिक परिवारबाट)
प्रकाशित: २६ वैशाख २०७४ ०६:२३ मंगलबार