अन्य

सम्बन्ध व्यवस्थापन

–डा. सुबोधकुमार पोखरेल  

सबै सम्बन्ध अलिखित करार हुन् र एक्लै आफ्नो हितरक्षा हुने अवस्था नरहेका बेला त्यो उद्देश्यप्राप्तिका लागि ती करार उपयुक्त अर्को पक्षसँग क्रियाशील रहन्छन् ।
स्त्री र पुरुषको सम्बन्धमा स्वाभाविक अन्तर्विरोध हुन्छन् । अन्तर्विरोधभित्रै समन्वय खोज्ने अर्थात् त्यसको व्यवस्थापन गर्ने काम अर्को पाटो हो । एउटै डिजाइनका उत्रै र उस्तै घरहरू बनाएर दिएको केही वर्षपछि तिनीहरूलाई बनाउनेले हेर्न आयो भने जसरी दुवैको अवस्था त्यसमा बस्नेहरूको आनीबानी र स्वभावअनुसार फरक हुन्छ, त्यसरी नै एकै किसिमका मानवीय सम्बन्धका अन्तर्निहित संरचनाहरू एउटै भए पनि व्यवस्थापनको फरकले ती सम्बन्धहरूको अवस्था र निरन्तरतामा अन्तर ल्याउँछ । जुन सम्बन्धको संरक्षण र संवद्र्धनमा सरोकारवाला सबै पक्षको चासो र चाहना बराबरी हुन्छ, त्यसका तुलनामा बराबरी चासो र चाहना नभएका सम्बन्धहरूको अवस्था र निरन्तरता प्रतिकूल किसिमबाट प्रभावित हुन्छ ।
स्वार्थलाई जन्मँदै साथ लिएर आएको हुनाले सृष्टिको सुरुदेखि नै आफ्नो हितको रक्षा र सन्तुष्टि मानिसको सर्वाधिक चासोको विषय हो र रहिरहनेछ । सबै सफल सम्बन्धलाई केही अलिखित बुँदाहरूले निर्देशित गरिरहेका हुन्छन्, जसमा सर्वाधिक महत्वपूर्ण बुँदा एकअर्काको स्वार्थको सम्मान र सुरक्षाको प्रत्याभूति हो । यस अर्थमा सबै सम्बन्ध अलिखित करार हुन् र एक्लै आफ्नो हितरक्षा हुने अवस्था नरहेका बेला त्यो उद्देश्यप्राप्तिका लागि ती करार उपयुक्त अर्को पक्षसँग क्रियाशील रहन्छन् । त्यस व्यक्तिसँग स्वार्थरक्षाको पक्ष जति असान्दर्भिक हुँदै जान्छ, त्यति त्यो करार पालनाको मानवीय चासो पनि घट्दै जान्छ । अनि, जससँग त्यो बढी सान्दर्भिक हुँदै जान्छ चासो पनि त्यतै सर्दै जान्छ ।
समाज र कानुनजस्ता कृत्रिम बन्धनहरूको अस्तित्व मानिसले आफूलाई चिनेर, बढी विचलनतर्फ उन्मुख हुनबाट रोक्न आफैँले आफूलाई बाँध्न खोज्ने चेष्टा हुन् । तर, तिनमा पनि मानिसको आधारभूत स्वभावलाई उपयुक्त स्थान दिइएन भने भित्रको मान्छेले विद्रोह गर्न सक्छ । त्यसैले मान्छेले एकभन्दा बढी सम्बन्धका करारहरू क्रियाशील रहेका बेला सबैको पालनामा उत्तिकै ध्यान दिन उसको जन्मजात स्वभाव बाधक हुन्छ । तर, सबैको मलजलमा आफ्नो प्राथमिकता व्यवस्थापन गर्न सक्यो भने उसले सम्बन्धहरूको सफल व्यवस्थापन गरेको ठहरिन्छ । मानिसले सम्बन्धको प्राथमिकता सूचि जति सही किसिमबाट कायम राख्न सक्यो त्यति आफू सुखी र सन्तुष्ट बन्ने उसको अभिष्ट पूरा गर्न पनि सजिलो हुँदै जान्छ । त्यसको ठीक उल्टो एकोहोरो स्वार्थका आधारमा प्राथमिकताको व्यवस्थापन वा असन्तुलित व्यवस्थापनले दीर्घकालमा गएर उसको आफ्नो स्वार्थका लागि अहितकारी परिणाम ल्याउँछ ।
दाम्पत्यलाई उदाहरण सम्बन्धका रूपमा लिएर अध्ययन ग¥यो भने स्त्री वा पुरुषलाई आफ्नो प्राथमिकता र तिनको समुचित व्यवस्थापनमा समस्या आउन सक्ने तीन वटा महत्वपूर्ण घुम्ती छन्ः
पहिलो घुम्ती दाम्पत्य जीवनको सुरुवातपछि लगत्तै आउँछ । त्यो घुम्ती हो– एकातिर आफू जन्मेहुर्केको परिवार, आफ्ना जन्मजात नाता, तिनीहरूप्रतिको आफ्नो स्वाभाविक लगाव र अर्कातिर आफ्नो नयाँ घरपरिवार, त्यसका नातासम्बन्ध र तिनले दिने जिम्मेवारीहरूमा प्राथमिकताको उपयुक्त व्यवस्थापनको घुम्ती ।
दोस्रो घुम्ती सन्तानको जन्मपछि आउँछ । त्यो घुम्ती हो– एकातिर सन्तानको जन्मपछि सन्तानलाई हुर्काउन सृष्टिले दिएको महत्वपूर्ण जिम्मेवारी पूरा गर्ने र अर्कातिर दाम्पत्यको महत्वपूर्ण बन्धनलाई अटुट रूपमा कायम राख्ने मात्र होइन, त्यसलाई रोमान्सपूर्ण र स्वस्थ पनि राख्नुपर्ने आवश्यकताबीच उपयुक्त तालमेल र व्यवस्थापनको घुम्ती ।
तेस्रो घुम्ती आफ्ना सन्तानको दाम्पत्य जीवन सुरु भएपछि आउँछ । त्यो घुम्ती हो– एकातिर आफ्ना सन्तानको पारिवारिक जीवन सुरु भएपछि उनीहरूको त्यो नयाँ अवस्थाले उनीहरूमा ल्याउने परिवर्तन र अर्कातिर त्यसमा पुरानै सम्बन्धका प्राथमिकताको निरन्तरता कायम राख्ने आफ्नो बुझपचाइबीचको द्वन्द्व व्यवस्थापनको घुम्ती ।
यी तीन घुम्तीको सफल व्यवस्थापन गर्न सक्ने व्यक्तिलाई मात्रै जीवनको द्वन्द्व व्यवस्थापनमा पारंगत मान्नुपर्छ । कतिपय मनोवैज्ञानिक एवं दार्शनिक सम्बन्धको स्वास्थ्य कायम राख्न स्वाभाविक मानवीय स्वार्थबाहेक निःस्वार्थ उत्प्रेरणाको भावनात्मक पक्ष पनि अस्तित्वमा रहेको बताउँछन् । उनीहरूका तर्कमा यही सृष्टिको रोमान्स हो र मान्छेका तमाम स्वार्थ हुँदाहुँदै पनि यही निःस्वार्थ उत्प्रेरणा नै सृष्टिलाई अहिलेसम्म जोगाएर राख्ने प्राणतत्व हो ।
निःस्वार्थ उत्प्रेरणा पनि मानिसको स्वार्थको विशेष किसिमको प्रस्तुति हो । खास गरी, व्यक्तिको शारीरिक र मानसिक स्थिति कमजोर भएको अवस्थामा प्रकृतिको क्षतिपूर्तिको सिद्धान्तअनुरूप भावनात्मक पक्ष बढी स्पष्ट भएर आउँछ । त्यसबेला स्वार्थको प्रस्तुति भौतिकभन्दा मानसिक संवेगहरूका रूपमा बढी हुन्छ र त्यसको लेनदेनको मुद्रा पनि भावनात्मक सन्तुष्टि नै हुन्छ ।

 

प्रकाशित: २९ चैत्र २०७३ ०५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App