अन्य

अरूको ज्यान बनाइदिनेको राम्रो भविष्य

–रामकुमार डिसी
जिम र फिटनेस क्लबहरूमा ‘थ्री बिग’ निकै चर्चित छ । ‘इट बिग, लिफ्ट बिग एन्ड गेट बिग’ । अर्थात्, ‘धेरै खाऊ, धेरै उठाऊ र धेरै पाऊ ।’  स्वस्थ र सुन्दर ज्यानका लागि जिम र फिटनेस सेन्टर धाउनेहरूको संख्या बढ्दो छ ।
पहिला शरीर बनाउनका लागि मात्रै जिम जानुपर्छ भन्ने सोचाइ धेरैले राख्थे । अहिले सोचमा परिर्वतन आएको छ । आकर्षक शरीर बनाउनुका साथै मानिसहरू स्वास्थ्यप्रति पनि सचेत हुन थालेको काठमाडौँ, सुकेधारास्थित प्लाटिनम फिटनेस सेन्टरमा मुख्य इन्स्ट्रक्टर मुक्तिराज राई बताउँछन् । ‘शहरमा प्रदूषण बढ्दै गएको छ । व्यायाम गर्ने ठाउँ छैन,’ उनी भन्छन्, ‘त्यसैले आजभोलि धेरै मानिस जिमतिर आकर्षित छन् ।’
योजनाबद्ध विकास नभएका कारण काठमाडौँमा पर्याप्त पार्क, खेल मैदान नरहेको राईको गुनासो छ । ‘उपयुक्त ठाउँ नहुँदा मान्छेहरू शारीरिक अभ्यास गर्ने स्थान पाउँदैनन् । त्यसको विकल्पका रूपमा जिम क्लब मानिसहरूको रोजाइमा पर्न थालेका छन्,’ उनी भन्छन् ।
नियमित अभ्यासले विभिन्न रोगबाट मुक्ति दिने काठमाडौँ, बाँसबारीमा रहेको फ्रिडम फिटनेस सेन्टरका सञ्चालक विक्रम सिजापति बताउँछन् । ‘मुटुको बिरामी भएर छ महिनाभन्दा बढी प्यारालाइसिस भएर घरमै थलिएको थिएँ,’ उनी भन्छन्, ‘जिम गएर केही महिना अभ्यास गर्दा त्यसबाट मुक्ति पाएँ ।’
आजभोलि फिटनेस क्लब जाने महिलाहरू पनि बढ्न थालेका छन् । स्वास्थ्यप्रति सचेत भएका र छरितो आकर्षक शरीर बनाउन चाहने महिला जिम धाउन थालेको बागबजारस्थित अक्सफोर्ड जिम तथा फिटनेस सेन्टर सञ्चालक उदय श्रेष्ठ बताउँछन् । मोडलिङ र फिल्ममा पनि आकर्षक शरीर चाहिने हुनाले त्यो क्षेत्रमा जान चाहने महिला शरीरलाई फिट र आकर्षक बनाउन जिम आउने गरेको उनको अनुभव छ । सुनीता थापाले लाजिम्पाटमा नेक्स्ट स्टेप फिटनेस तथा टेनिङ  सेन्टर खोलेकी छिन् । श्रीमान् सिंगापुरे प्रहरी भएका कारण करिब १५ वर्ष आफू सिंगापुरमै बसेको उनी बताउँछिन्, ‘त्यहाँ रहँदा महिलालाई जिम गएको देख्थेँ । त्यो देखेर मैले पनि छ हप्ता लामो एरोबिक इन्स्ट्रक्टरको तालिम लिएँ,’ उनी भन्छिन्, ‘नेपाल आएपछि जिम खोलेँ ।’ उनले जिम क्लब खोलेको पनि छ वर्ष भइसक्यो । छ वर्षअघिसम्म महिलाहरू जिममा कम आउने उनको अनुभव छ । ‘पहिले त कमै महिला जिममा आउँथे,’ उनी भन्छिन्, ‘अहिले भने महिलाहरू पनि धेरै आउन थालेका छन् ।’
०००
नेपालमा एरोबिक, जुम्बा फिटनेस, स्टेप एरोबिक, किक बक्सिङ, सर्किट ट्रेनिङ, बुट क्याम्प ट्रेनिङ, एक्वा फिटनेसलगायत कोर्स सिकाइन्छन् । यी कोर्स सिक्छ दुई हप्तादेखि तीन महिनासम्म लाग्छ । कोर्स सिकिसकेपछि पनि अभ्यासलाई निरन्तरता दिइरहनुपर्छ ।
अनुभवी प्रशिक्षकका सल्लाहमा अभ्यास गर्नुपर्र्ने प्लाटिनम फिटनेसका राई बताउँछन् । ‘ट्रेनरले प्रशिक्षार्थीको शारीरिक बनावटलाई चिन्न सक्नुपर्छ र त्यहीअनुसार व्यायाम सिकाउनुपर्छ,’ उनी भन्छन्, ‘अभ्यासका लागि युरिक एसिड, प्रेसर, डिप्रेसन, बाथ भएका बिरामी पनि आउने भएकाले उनीहरूको रोगअनुसारको अभ्यास पहिचान गर्न सक्नुपर्छ ।’
जिममा आउनेलाई नियम पालना गराउन सक्नु, युनिटलाई फ्लो गर्न सक्ने खुबी जिम इन्स्ट्रक्टरलाई चाहिने योग्यता हुन् । केही हप्ता अथवा महिना मात्र ट्रेनिङ गरेकै भरमा इन्स्ट्रक्टर बन्नु भने घातक हुने राई बताउँछन् । आफू  योग्य भए काम खोज्न विदेशिनु नपर्ने नेपालका लागि अमेरिकी दूतावासमा ट्रेनिङ दिँदै आएका फ्रिडम फिटनेसका मिलन सिजापति बताउँछन् । ‘नेपालमै बसेर पनि मासिक ९० हजार रुपैयाँसम्म कमाउन सकिन्छ,’ उनी भन्छन् । देशमा मात्र नभई विदेशमा पनि जिम इन्स्ट्रक्टरको स्कोप राम्रो रहेको सिजापतिको भनाइ छ । साँझ र बिहान दुई घण्टाजति मात्रै समय दिने इन्स्ट्रक्टरले पनि मासिक २५ देखि ३० हजार पाउने गरेका छन् ।

पर्सनल ट्रेनरको माग बढ्दो
जिम अथवा क्लबमा मात्र नभएर पर्सनल ट्रेनरका रूपमा पनि जिम इन्स्ट्रक्टर माग बढ्दै छ । व्यस्तताका कारण जान धाउन नसक्नेहरूले घरमै इन्स्ट्रक्टर बोलाउने गर्छन् ।
आकर्षक र निरोगी शरीर भएका जिम प्रशिक्षकहरूले मोडलिङ र फिल्म क्षेत्र पनि अवसर पाउने गरेका छन् । नेपालमा शारीरिक सुगठनसम्बन्धी थुप्रै प्रतियोगिता आयोजना हुन थालेका छन् । राम्रो ट्रेनिङ लिएकाले ती प्रतियोगितामा भाग लिने र जित्ने मौका पाउँछन् । विज्ञापनमा मोडलिङ गर्ने अवसर पनि त्यतिकै आउने इन्स्ट्रक्टरहरू बताउँछन् । प्लाटिनम फिटनेसका मुक्तिराज राई ७५ तौल केजी समूहअन्तर्गत सन् २०१३ का ‘मिस्टर नेपाल’ हुन् । आफूले विभिन्न म्युजिक भिडियो र विज्ञापनसमेत गरेका उनी बताउँछन् । त्यस्तै, अक्सफोर्ड जिमका उदय श्रेष्ठ पनि २०३८ सालमा आफू ‘मिस्टर नेपाल’मा दोस्रो भएको केही फिल्म र विज्ञापनमा मोडलिङ गरेको बताउँछन् ।


थोरै लगानीमा पनि मालिक
नेपालमा सामान्यदेखि स्विमिङ पुलसमेत भएका जिम क्लब थुप्रै छन् । एउटा औसत खालको जिम क्लब खोल्न सामान्यतया १५ देखि २० लाख रुपैयाँसम्म लगानी लाग्ने जिम सञ्चालकहरू बताउँछन् । स्विमिङपुल सहितको सुविधा सम्पन्न जिम क्लब खोल्नका लागि भने दुईदेखि तीन करोडसम्म लगानी चाहिन्छ । अनुभवी प्रशिक्षक राखेर क्लब चलाउँदा घाटा नहुने मिलन सिजापति बताउँछन् ।

 

 

 

 

प्रकाशित: २८ चैत्र २०७३ ०७:१९ सोमबार

अरूको ज्यान बनाइदिनेको भविष्य नागरिक परिवार