अन्य

दिल्लीमा अक्षर चिन्ता

नेपालजस्तै भूपरिवेष्टित मुलुक अफगानिस्तान। जनसंख्या पनि झण्डै उस्तै, थोरै बढी। सार्कको नवोदित सदस्य। नेपाल एक दशकअघि आन्तरिक सशस्त्र द्वन्द्वबाट मुक्त भएको छ, तर राजनीतिक संक्रमणको नदेखिने द्वन्द्वमा जकडिएको छ। यहाँ रगत बग्न छाडे पनि नागरिकका दुःखमाथि राजनीतिक खेलबाड जारी छ। झण्डै आधा शताब्दीदेखि गृहयुद्ध र अन्य स्वार्थसमूहको खेल मैदान बन्दै आएको सुन्दर मुलुक अफगानिस्तानका अभागी लेखक के लेख्दा होलान् हँ? तिनका कविता, कथा वा विचार कुन ढंगमा प्रवाहित हुँदो हो? दक्षिण एसियाली लेखक सम्मेलन(फेबु्रअरी २४–२६)का अधिकांश सहभागी लेखकको कौतूहलताको विषय बन्यो यो। र, कविता सुनाउन मञ्चमा उभिएका दुई अफगानी कवि सोमैया रामिस र जोहरा जाहिरले जब माइकबाट शब्द ओकल्न थाले, 'साइड टक'मा रमाइरहेको दर्शकदीर्घा एकाएक शान्त भयो।

कूटनीतिज्ञ तथा लेखक अमरेन्द्र खटुवाको भनाइ सापटी लिँदा सार्कका अधिकांश लेखक बढी मात्रामा निजी कुण्ठा लेख्नमै व्यस्त छन्। यिनको देशभक्तिजस्तो अति भावुकताले ओतप्रोत साहित्यको कुनै अर्थ छैन। यही कारण यस क्षेत्रका लेखकले नोबेल पुरस्कार वा बुकर प्राइजजस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सम्मान पाउन सकेनन्। साँच्चै यो बहसमा नेपाली साहित्यलाई पनि प्रवेश गराउन सकेको भए कस्तो प्रतिक्रिया आउँथ्यो होला!

वातावरणमा चकमन्न छायो। तिनका कविताले असुरक्षा, अतिवाद, आतंकवाद, निर्दोष मान्छेको अपहरण अन्त्यको माग गरे। अफगानी जनतालाई अब मान्छेको रगत बगेको हेर्ने पटक्कै चाहना छैन। तिनलाई सृजनात्मक शान्तिको आवश्यकता छ। आफ्नो अशान्त जन्मभूमिमा शान्ति ल्याउन कविताबाटै मद्दत मिल्ने तिनको विश्वास थियो। कार्यपत्र प्रस्तुत गर्ने जिम्मा पाएकी सोही मुलुककी हेले नाजमीको प्रस्तुतिले त आतंकवादविरुद्ध कविता र साहित्यद्वारा नै प्रतिकार गर्न बल मिलेको महसुस हुन पुगेको थियो। उनले भनिन्, 'अब हामीले आतंकवादविरुद्ध बेग्लै ढंगले सोच्नुपर्ने समय आएको छ। यसरी सोच्न र आतंक मच्चाउनेलाई तह लगाउन सार्क मुलुकहरूमा साहित्य सम्मेलन, छलफल, विचारगोष्ठीजस्ता कार्यक्रम नियमित हुनुपर्छ।' त्यस मुलुकबाट प्रतिनिधित्व गर्ने सबै लेखक–कविका आँखामा आतंकको कालो बादलका धर्का देखिन्थे, ती बादलका धर्कालाई जतिसक्यो चाँडो हटाउन सबैको सहयोग आवश्यक रहेको तिनको बुझाइ थियो। थाहा छैन त्यस्तो बादलका धर्का अरु कुनकुन मुलुकका लेखकका अनुहारमा प्रतिबिम्बित थिए, तर त्यसबाट प्रभावित हुन नपरोस् भन्ने चाहना अधिकांश कवि–लेखकका रचनामा प्रतिबिम्बित थिए। अन्य मुलुकका लेखक–कवि एकअर्कासँग परिचय गर्ने, आफ्ना रचनाबारे जानकारी दिने र घुलमिल हुनेजस्ता गतिविधिमा रमाइरहँदा पनि अफगानी प्रतिनिधिहरू भने बेग्लै बसिरहेका भेटिन्थे। तिनका मनमा जरा गाडेर बसेको मान्छेप्रतिको स्वाभाविक आशंकाको अन्त्य हुन बाँकी नै रहेको भान हुन्थ्यो। आन्तरिक होस् या बाह्य द्वन्द्व झेलेका मुलुकका नागरिकले हत्तपत्त नयाँ मान्छेसँग घुलमिल हुन नचाहनु अस्वाभाविक होइन।  

सुरजीतको प्रतीक्षा

उद्घोषकले घोषणा गरे, 'अबको कविता सेसनको अध्यक्षता सुप्रसिद्ध भारतीय कवि सुरजीत पातरले गर्ने छन्, म उनलाई डायसमा आमन्त्रण गर्छु।'

सम्मेलनमा सहभागी विशेषगरी पढन्ते भारतीय र नेपाली सहभागी पातरका कविताबाट भलिभाँती परिचित छन्, औधी मन पराउँछन् उनका कविता। नेपालमा पचासको दशकको मध्यतिर उनको 'कवि साहिब' शीर्षकको कविता निकै चर्चित भयो। सत्ता, प्रशासन, पुलिसजस्ता निकायसँग डराएर आफ्ना कविताका पंक्तिहरू मेट्दै जाने डरछेरुवा कविलाई उनले मनोहारी ढंगमा व्यंग्य गरेका छन्। कविले कविताको हत्या गर्न नहुने उनको आशय त्यस कवितामा व्यक्त छ। उक्त कविता केही साहित्यकारले हिन्दीबाट नेपालीमा अनुवाद पनि गरेका छन्।

'कविता लेख्दा अरुबाट मारिने डर, नलेख्दा आफै मर्ने डर!' मञ्चमा करिब आधा घन्टा ढिलोगरी उक्लेका कवि पातरले यो कविता पंक्ति सुनाउँदा अफगानी लेखकहरूका आँखा एकोहोरो पातरतिर तानिएका देखिन्थे। तिनलाई लागिरहेको हुँदो हो– यो भारतीय कवि हाम्रै कथा भनिरहेको छ! आफू केही ढिलो आएकोमा पनि उनले कवितैबाट जवाफ दिएका थिए– 'कवि गयल हुन सक्छ, तर कविता सधैँ हाजिर भइहाल्छ।' कतिपय कविलाई मञ्चबाट चाँडो हिँडे हुन्थ्यो भन्ने कामना गरिरहेका श्रोताले पातरलाई कम्तीमा पाँच वटा कविता पढ्ने अनुरोध गरिरहेका थिए। त्यसमा बोली मिलाइरहेकी थिइन् फोस्वाल(फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिटरेचर)की संस्थापक अध्यक्ष तथा साहित्यकार अजीत कौर।

'मैले त कविताको किताब ल्याउनै भुलेछु।' पातर टकटकिन खोज्दै थिए। तर, उनकै कविता सुन्न लालायित भीडले के मान्थ्यो र! छोटा कविताका केही पंक्तिसहित उनले सुमधुर आवाजमा आफ्ना केही गजल सुनाएपछिमात्रै श्रोताले उनलाई मेचमा बस्ने अनुमती दिए। छेउमै कसैले खासखुस गर्‍यो– यो पातरको त स्वर पनि कति मीठो! कविता–गजल लेख्न छाडेर गाउनतिर लाग्या भए पनि सफल हुने रहेछन्। दर्शकदीर्घामा पातरलाई कुरेर बसिरहेका थिए अर्का भारतीय प्रसिद्ध कवि सीताकान्त महापात्र। जब पातर मञ्चबाट तल ओर्लिए उनीसँग तस्बिर खिच्न चाहनेको भीडले छपक्कै छोपिहाल्यो। आफ्ना मित्र कविलाई भेट्न आतुर महापात्र हेरेको हेर्‍यै भए। भीडबाट अलग्गिएलगत्तै महापात्रले उनलाई समाते र अंकमाल गर्न थाले। 'तपाईंको स्वास्थ्य कस्तो छ?' पातरले सोधे। 'अचेल लेख्नचाहिँ गाह्रो परेको छ,' कान राम्ररी नसुन्ने महापात्रले अर्कै जवाफ दिए। केही मिनेट ती प्रसिद्ध कवि जिन्दगीका कुरामा अल्भि्कँदै थिए पञ्जाबीका सक्षम कवि गगनदीप शर्मा आएर पातरका गोडा समाएर अभिवादन गरे।

सार्क मुलुकका लेखक–पत्रकारको घेरामा परेका पातर केही मिनेटमै कतै बिलाए। उनले भनेजस्तै सम्झनामा उनका कविता भने हाजिर भइरहे, उनीचाहिँ गयल!

अनुपस्थित पाकिस्तान

सार्कमा आठ मुलुक आवद्ध छन्। साहित्य सम्मेलनमा भने केवल ६ मुलुकमात्रै सहभागी हुन पुगे। पाकिस्तानी लेखकका रचना सुन्ने लालसा सबैभन्दा बढी भारतीय लेखकमै देखिन्थ्यो, नेपाली सहभागी पनि यसमा अपवाद थिएनन्। त्यो प्रकट–अप्रकट दुवै थियो। अर्को गयल मुलुक माल्दिभ्सबारे भने कसैको चासो रहेको देखिएको थिएन। सायद माल्दिभ्सको साहित्यबारे सरोकार राख्ने कोही थिएनन् त्यहाँ। सम्मेलनको पूर्वसन्ध्यामा आयोजकहरूले भनेका थिए– सुरक्षा व्यवस्थाका कारण पाकिस्तानी लेखकहरूलाई हामीले अन्त कतै बस्ने व्यवस्था गरेका छौँ। उनीहरू कार्यक्रमस्थलमा सीधै आउने छन्। तर, आएनन् पाकिस्तानी लेखक, किन होला? अधिकांशका मनमा यो प्रश्न कार्यक्रम समापनको दिनसम्म पनि उठिरहेको थियो। स्पष्ट जवाफ कसैले पनि दिएको थिएन। 'भारत सरकारले पाकिस्तानी लेखकहरूलाई भिसा दिन चाहेन।' यही कुरो एक कान–दुई कान–मैदान हुन थाल्यो। कसैले जवाफ दिएन भने हल्ला नै सत्य बनेर प्रस्तुत हुने अवस्था आउँछ। तर, यो हल्ला कानेखुसीमै सीमित भने रहेन। भारतीय लेखिका तरन्नुम रियाज, सादिया देहल्वीलगायतले पाकिस्तानी लेखकको अभाव महसुस आफूहरूलाई भएको बताइहाले। एउटा सेसनको अध्यक्ष रहेकी रियाजले सार्कको महŒवपूर्ण साझेदार मुलुक पाकिस्तान गयल हुनुले चिन्ता बढाएको खुलस्तै बताइन्। लेखकलाई राजनीतिका कारण पीडित बनाउनु कुनै पनि हालतमा स्वीकार्य नहुने तिनको धारणा थियो। 'किन लेखकलाई राजनीतिक सिकार बनाइन्छ?' उनले भारत सरकारसँग प्रश्न गरिन्। सार्क मुलुकबीच आवागमनमा पासपोर्ट–भिसा प्रणाली नै राख्न नहुने रियाज र देहल्वीको निष्कर्ष थियो। भारत धर्मसापेक्ष बन्न खोजेको हो कि भन्ने चिन्ता पनि कतिपयले जाहेर गरेका थिए। यी लेखकका विचारसँग असहमतिका स्वर पनि गुञ्जन नखोजेको भने होइन। तर, सहभागीले साहित्य सम्मेलनमा राजनीतिक विवाद हुन नहुने सुझाएपछि त्यो साम्य भएको थियो।

सार्क साहित्यको चिन्ता

दक्षिण एसियाका साहित्यकारहरू के लेखिरहेका छन्?

समग्र सार्क मुलुकको साहित्य कता जाँदैछ?

संसारमै सबैभन्दा बढी लेखक यही क्षेत्रमा भएर पनि तिनले किन नोबेल पुरस्कार पाउन सकिरहेका छैनन्?

किन यहाँको साहित्य राम्ररी अनुवाद भएर संसारभर पुग्न सकेन?

गर्नेचाहिँ ग्लोबलाइजेसनको कुरा अनि लेख्नेचाहिँ त्यसको ठीक उल्टो किन?

कतिपय वक्ताले सम्मेलनमा उठाएका प्रश्न हुन् यी। प्रश्नहरूसँगै तिनले सार्कका लेखकहरू बढी मात्रामा निजी कुण्ठा लेख्न तल्लिन भएकाले पाठकका आँखामा पर्न नसकेको समेत बताए।

'अब पनि हामी यस क्षेत्रका लेखकले नसोच्ने हो भने हाम्रा साहित्य आगामी पुस्ताले पढ्ने छैन,' भारतका लागि श्रीलंकाका राजदूत(हाई कमिसनर अफ श्रीलंका) चित्रांगनी बागिश्वराले भनिन्, 'अब हाम्रो जिम्मा भनेको कसरी भावी पुस्तालाई हामीले लेखेको साहित्य हस्तान्तरण गर्ने भन्ने नै हो।' अहिलेको समयको मूल्य र आइडियाहरू हामीले भावी पुस्तालाई हस्तान्तरण नगरी सुखै नहुने उनको भनाइ थियो। अर्का वक्ता भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का डाइरेक्टर जनरल तथा कूटनीतिज्ञ अमरेन्द्र खटुवाले पनि साहित्यिक पुस्तकको बजारबारे चिन्ता व्यक्त गरे। 'हामी क्रमशः डिजिटल युगमा प्रवेश गरिरहेका छौँ,' उनले भने, 'यस परिस्थितिमा हामी लेखकले पुस्तकलाई कसरी पाठकका आँखामा पार्ने भन्ने सवालमा यसको सुन्दर प्याकेजिङका साथै प्रवर्द्धनमा पनि ध्यान दिनुपर्ने बेला आयो।'

राष्ट्रवाद र देशप्रेम

सार्क राष्ट्रहरूबीच नै सम्बन्ध सुमधुर हुन नसकेको विषय अवश्य पनि सान्दर्भिक कुरा हो। यही कारण आवधिक रूपमा सार्क सम्मेलन हुन सकिरहेको छैन। आपसी सद्भाव विस्तार गर्ने उद्देश्यले स्थापना भएको सार्कलाई साहित्यका माध्यमबाट कसरी जोड्न सकिन्छ भन्ने सन्दर्भलाई सहभागीले निकै चासो दिए। यही कारण पनि कार्यक्रमको मुख्य विषयमा 'बियोन्ड बाउन्ड्रिज' शीर्षक राखिएको थियो। राजनीतिक मनोविज्ञ, सामाजिक सिद्धान्तकार तथा आलोचक प्राध्यापक आशीष नन्दीले पछिल्लो समय सार्कलगायत अन्य मुलुकमा बढ्दो राष्ट्रवाद, देशभक्तिजस्ता सन्दर्भले हानि गरेको तर्क गरे। 'देशभक्ति भावुकता हो, यस्तो भावुकता धनी वर्गमा बढी हुन्छ,' उनले भने, 'यसले हामीलाई संकुचित बनाउँछ र कमजोरलाई झनै किनारामा धकेलिदिन्छ।' जब संकुचितता बलियो हुन्छ तब सीमाका कुरा पासपोर्ट र भिसाका कुरा पनि उठ्न थाल्छन्। 'कुनै पनि मुलुकले धनी व्यक्तिलाई भिसा दिन गाह्रो मान्दैनन्, तर गरिबलाई दिनुपर्दा आनाकानी गर्छन् या सकेसम्म दिनै चाहँदैनन्,' नन्दीले भने, 'यसले हामीलाई सीमाबन्दी गरिदिन्छ।' राष्ट्रवाद माटो, क्षेत्र, वर्गलाई मात्र लिएर हुन नसक्ने उनको भनाइ थियो। 'पछिल्लो समय केही राष्ट्रमा देशप्रेमका कुरा र राष्ट्रवादले जरो गाड्ने प्रयत्न भएको देखिन्छ,' उनले भने, 'यसले हरेक मुलुकको सीमालाई कडा बनाउँछ, एकअर्काबीच अविश्वास पैदा गरिदिन्छ र संसारभर असहिष्णुता वृद्धि हुन बल मिल्न जान्छ।'

कूटनीतिज्ञ तथा लेखक अमरेन्द्र खटुवाको भनाइ सापटी लिने हो भने सार्कका अधिकांश लेखक बढी मात्रामा निजी कुण्ठा लेख्नमै व्यस्त छन्। यिनको देशभक्तिजस्तो अति भावुकताले ओतप्रोत साहित्यको कुनै अर्थ छैन। यही कारण यस क्षेत्रका लेखकले नोबेल पुरस्कार वा बुकर प्राइजजस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सम्मान पाउन सकेनन्। साँच्चै यो बहसमा नेपाली साहित्यलाई पनि प्रवेश गराउन सकेको भए कस्तो प्रतिक्रिया आउँथ्यो होला! तर, दक्षिण एसियाली साहित्य सम्मेलनमा नेपालमा के लेखिँदैछ? कस्तो छ नेपाली साहित्यको अवस्था? को हुन् नेपालका स्थापित लेखक भन्नेबारे कुनै पनि मुलुकका लेखकलाई चासो रहेको भेटिएन!

'जीवनको उत्तरार्द्धमा हिँडिरहेकी अजीत कौरले त निजी प्रयासमा सार्क राष्ट्रका सयभन्दा बढी लेखकलाई हरेक वर्ष बोलाएर साहित्य सम्मेलन गर्न सक्छिन् भने हामी किन नसकौँला,' साहित्य सम्मेलनमा दिल्ली पुगेका नेपाली लेखकहरूमाझ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भने, 'सार्क स्तरीय साहित्यिक कार्यक्रम गर्न तपाईंहरू तयार हुुनुस्, आर्थिकलगायतका अन्य सन्दर्भमा मेरो सहयोग हुनेछ।' उपाध्यायले दिएको हौसलाप्रति असहमति कसैको नरहे पनि त्यस्तो ठूलो कार्यक्रम गर्न हाम्रो मन पनि विशाल हुनुपर्छ। 'हामी त राजनीतिक दल, क्षेत्र, लिंग, वर्ग, धर्म, भाषाजस्ता विषयबाट निर्देशित हुँदै आफ्नो मनलाई चिकेन हार्टेड जो बनाइरहेका छौँ,' दिल्लीको बारखम्बा रोडस्थित नेपाली दूतावासमा आयोजित रात्रिभोजमा सहभागी अधिकांशको मनमा यो वाक्य भित्रभित्रै गुम्सिएको बुझ्न कठिन थिएन।

प्रकाशित: २१ फाल्गुन २०७३ ०८:१२ शनिबार

दिल्लीमा अक्षर चिन्ता