अन्य

‘काठमाडौंमा चल्दैन मेट्रो रेल, स्काइ मोनोरेलको सम्भावना अध्ययन सुरू’

स्कार् माेनाेरेलकाे नमुना

काठमाडौं– काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकामा मेट्रो रेलको सम्भावना नरहेको भन्दै ‘स्काइ मोनोरेल’को सम्भावना अध्ययन गर्ने भएको छ। स्काइ मोनोरेलको सम्भाव्यता अध्ययनका लागि महानगरपालिकाले चिनियाँ कम्पनी बाइबिडी साइमेक्ससँग समझदारी पत्रमा बुधबार हस्ताक्षर गरेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए।

‘साँघुरा गल्लीहरु भएको बस्ती ,अतिघना भौतिक आवादी र भूकम्पीय जोखिमका कारण काठमाडौंमा मेट्रो रेलको सम्भावना देखिएन,’ कार्कीले नागरिकन्युजसँग भने, ‘स्काइ ब्रिजका जस्ता करिब ४० फिट अग्ला पोलहरुमा ट्रयाक बिच्छ्याएर चलाउन सकिने मोनोरेलको सम्भाव्यता अध्ययनलाई अघि बढाइएको हो।’

‘साँघुरा गल्लीहरु भएको बस्ती, अतिघना भौतिक आवादीका र भूकम्पीय जोखिमका कारण काठमाडौंमा मेट्रो रेलको सम्भावना देखिएन,’ कार्कीले नागरिकन्युजसँग भने, ‘स्काई ब्रिजका जस्ता करिब ४० फिट अग्ला पोलहरुमा ट्रयाक बिच्छ्याएर चलाउन सकिने मोनोरेलको सम्भाव्यता अध्ययनलाई अघि बढाइएको हो।’

उनका अनुसार साइमेक्सले आफ्नो चिनियाँ ज्वाइन्टभेन्चरको कम्पनी वाइबीडीमार्फत स्काइ मोनोरेलको सम्भाव्यता अध्ययन गर्ने छ । साइनेक्सका तर्फबाट अध्यक्ष प्रसिद्धलजंग पाण्डेले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले आफ्नै काठमाडौंको कुनै १० किलोमिटरको दूरीको सडक छनोट गरी स्काइ मोनोरेलको सम्भाव्यता अध्ययन गरी  ३ महिनाभित्र प्रतिवेदन बुझाउने समझदारी भएको छ । त्यसपछि कम्पनीले काठमाडौंका कुन कुन स्थानमा स्काइ मोनोरेल गुडाउन सकिन्छ भन्ने विषयमा करिब १ वर्षभित्र सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्ने छ ।

सम्भाव्यता अध्ययनपछि सम्भवन हुने ठाउँमा तत्कालै स्काई मोनोरेल निर्माण कार्यअघि बढाइने र २ वर्षभित्रै रेल कुदाउने गरी महानगरले तयारी गरिहेको पनि उनले बताए ।

‘काठमाडौंमा करिब ३० देखि ४० फिट अग्ला खम्बाहरुमा जडित मोनोरेल ट्रयाकमा १ सय २० किलोमिटर प्रतिघण्टाका दरले कुद्ने रेल डिजाइन गर्न सकिने प्रारम्भीक अध्ययनहरुले देखाएका छन्,’ कार्कीले भने, ‘मेट्रो रेलको कुरा गरिए पनि काठमाडौंको जमीनमुनी रेल कुदाउन हरेक हिसाबले जोखिमपूर्ण र गाह्रो देखिएको छ।’

काठमाडौंभित्र भएर बग्ने नदी किनारका रुटहरुमा जमीनकै सतहमा कुद्ने रेल भने निर्माणका लागि सम्भव रहेको उनको भनाई छ ।

‘एक डब्बामा करिब १ सय यात्रु अट्ने गरी मोनोरेलको डिजाइन गर्न सकिने देखिएको छ,’ कार्कीले भने, ‘५ ओटा डब्बा भएको एउटा रेल कुदाउँदा त्यसले १ हजार यात्रुलाई सेवा दिन सक्छ ।’

सम्भाव्यता अध्ययनपछि सार्वजनिक–निजी साझेदारी(पिपिपी) मोडलमा स्काइ मोनोरेल निर्माण गरी सञ्चालनमा ल्याउन सक्ने देखिन्छ ।

प्रकाशित: २६ माघ २०७३ १०:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App