अन्य

दसैँ : एक ईप्सास्मृति

बेग्लै मीठो चटारो लिएर आउँछ दसैँ ।

घरघरमा जमरा राखिन्छन् । साना केटाकेटी डोरेपिङ, चंगामा रमाउन थाल्छन् । साँच्चै, दसैँ एउटा बेग्लै खुसीको रंग र आभास लिएर आएझैँ लाग्छ ।

दुर्गा पूजाको रन्को हुन्छ । जमरा कता राख्ने ? टोलभरिलाई पुग्ला वा नपुग्ला ? गाउँका अगुवालाई चिन्ता हुन्छ ।

‘दसैँ आयो, खाउँला पिउँला...’ कलिला केटाकेटी यसैगरी औँला भाँच्दै दसैँ भित्रिएको संकेत अझै पनि कतिपय स्थानमा गरिरहेका छन् । दसैँको मौसम पनि सुन्दर हुन्छ । भर्खरै वर्षायाम सकिएका घमाइला दिन, गाइनेकीरा हेलिकप्टरझैँ हावामा बरालिन्छन् । लहलह धान झुल्छन् । पुतली फुरफुर उड्छन्, फुल्न लागेका फूलवरिपरि । मौसम नै बोल्छ— नेपाली समाजमा अब दसैँ आउँदैछ ।

गाउँघर सुन्दर बनाउन युवायुवती अघि सर्छन् । रातो माटोको रातै चहक, कमेरोको सेतो चहक, दसैँमा पहाडी गाउँका घर प्राकृतिक रंगले रंगीन थाल्छन् । वर्षाले झाँगिएका बाटोघाटो फाँडिन्छन्, भेलले भत्केका बाटो–गोरेटो सम्म पारिन्छन् । लिंगेपिङ, रोटेपिङ राख्न अगाडि सर्छन् । दसैँको किनमेल, दसैँ व्यवस्थापनको चटारो हेर्दै रमाइलो लाग्छ ।

तराईमा झिझिया र रामलीलाको उस्तै तयारी । मेवा मिष्ठान्न जुटाउनेको उत्तिकै भीड । खेत–खलियानमा झुल्न लागेका हरिया धानका बाला । गोबरमाटोले लिपेको आँगनीमा खटियाका लहर । पाहुनालाई खुवाउन ठेकुवा, भुजिया, तरुवाकोे मेसो मिलाउँदै तराईका चेलीलाई फुर्सद हुँदैन । मीठो खाने, राम्रो लाउने, पिङ खेल्ने भन्दै धियापुताहरू (बच्चाहरू) रमाउँछन् ।

अहिले समय बदलिएको छ । प्रविधिले पछिल्लो पुस्तालाई लफ्रक्कै पारेको छ । के दसैँ–के तिहार फुर्सद भयो कि मोबाइल र ल्यापटपमा आँखा टाँस्सिन पुग्छ । यो समय अग्रज साहित्यकार–लेखकहरू आफ्नो युवावयमा कसरी दसैँ मनाउँथे भनी सम्झनु पनि नौलो लाग्छ । पछिल्लो पुस्ताका कपितय भावुक मनलाई पुरानो दसैँको कुरामात्र गर्दा पनि लोभ लागिहाल्छ । अग्रज पुस्ताका लेखकका दिमागमा दसैँ संस्कृति कसरी नोस्टाल्जिया (ईप्सास्मृति) बनेर रहेका छन् त ?

 

मालश्री धुनले तान्थ्यो : सत्यमोहन जोशी

दसैँ नेपाली समाजको मौलिक संस्कृति बोकेको पर्व हो । किसानले लाएको बाली काटेपछि फुर्सदको समयमा तिथिमिति मिलाएर दसैँ मनाइन्छ । पहिले दसैँ चैतमा पर्ने र किसानलाई सहज हुने गरी असोज–कात्तिकमा सारेको संस्कृतिविद् सत्यमोहन जोशी बताउँछन् ।

‘दसैँ सारिए पनि धार्मिक हिसाबले उस्तै नै रहेको छ । दसैँसँग संस्कारभन्दा बढी धार्मिकता जोडिएको छ । संस्कारसँग धर्म जोडिँदै यसले परम्परागत रूप लियो,’ जोशी भन्छन्, ‘त्यसैले हिन्दू धर्मावलम्बीका लागि दसैँ बढी प्रिय बन्यो । यसो भन्दैमा अरुले नमनाउने होइन । धर्मका कुरा छाडेर अरु समुदायमाझ पनि दसैँ नेपाली संस्कारका रूपमा मनाइँदै आइएको छ ।’

दसैँप्रति जोशीको दिलदिमाग जोडिएको छ । नयाँ लुगामा चम्कने, मावलीघर टीका लगाउन जाने, यस्तै मोहले सत्यमोहनलाई तान्थ्यो ।

ललितपुर पाटन नजिकै नेवार टोलमा थियो उनको घर । वरपर मन्दिरै मन्दिर, दसैँ आएपछि मालश्री धुन बज्थ्यो । ‘मालश्री धुन बज्न थालेपछि टोलमा दसैँको रन्को सुरु हुन्थ्यो । चोखोनितो उस्तै,’ जोशी बाल्यकाल सम्झन्छन्, ‘टाइचिन धान चिउरा बनाउन ढिकीमा कुट्थे । सेलपुरीका लागि जाँतोमा पिठो पिन्थे । तोरीको तेल महिना दिनअघि नै पेलेर हरहराउँथे घरका कुनामा । चिउरासँग खाने छुस्यामुस्या भुटिन्थे । ताजा घिउले भान्छाका ठेकी बसाउँथे । घरमा सितिमिति भात नपाक्ने । मासुका अनेक परिकार बन्थे ।’

जोशीका अनुसार उनको टोलमा जात्रा हुन्थे । खोकनाबाट आउने देवीनाच, हरिसिद्धि नाचले रमणीय हुन्थ्यो पाटन क्षेत्र । सहरमा पिङ हुँदैनथ्यो । अलि पर गाउँमा भने पिङ धेरै हुन्थे । धागो नदेखिने चंगाका लस्करले उडेका चराले झैँ पर–परसम्म ढपक्कै ढाक्थे । ‘कौशीमा गएर चंगा लडाउँथ्यौँ । कहिलेकाहीँ त झगडै पथ्र्यो टोलमा । उसले उसको चेट्, उसले उसको चेट्,’ जोशी स्मरण गर्छन्, ‘चंगाचेट् पार्दाको खुसियाली बेग्लै हुन्थ्यो ।’

शरद् ऋतुको आगमनको स्वागत दसैँ र तिहारले गर्ने उनी उल्लेख गर्छन् । ‘ज्यापु नेवारले धिमे बाजा बजाएर ऋतु बदलिएको संकेत गर्थे । पुरानो कालका काठमाडौँ, भक्तपुर र ललितपुर सहर बनेपछि यसको रक्षा गर्न आसपासमा देवी स्थापना गरिए । भद्रकाली, कंकेश्वरी, बालकुमारी, विष्णुदेवी, शोभा भगवती, दक्षिणकालीलगायत देवी संरक्षिका भएर उपत्यकाको रक्षा गर्छिन् भन्ने मान्यता छ । यिनै देवीलाई खुसी राख्न दसैँमा स्मरण गरेर चण्डी पाठ गरिन्छ । नवरात्रिमा नवदुर्गा पूजा हुन्छ । सप्तसती पाठ हुन्छ,’ जोशी भन्छन्, ‘अरुबेला झगडा परे पनि दसैँमा बिर्सेर एउटै गुन्द्रीमा बसेर दसैँभोज खाँदा आफन्त नजिकिएको आभास हुन्छ ।’

संस्कृति लोप हुँदै गएकामा भने जोशी दुःखी छन् । ‘ढिकी–जाँतो म्युजियममा गए, चिउरा पनि उहिलेजस्तो रहेन,’ उनी चिन्ता गर्छन्, ‘कतिपय दसैँमा गरिने सांस्कृतिक क्रियाकलाप पनि लोप हुन थाले ।’

आयु द्रोण सुते भनेको बुझ्दैनथेँ : माधव घिमिरे

 

लमजुङको उत्तरी पुस्तुन गाउँमा हुर्किए, राष्ट्रकवि माधवप्रसाद घिमिरे । ‘आयु द्रोण सुते...’ भनेर हजुरबाले टीका लगाइँदिँदा उनी अचम्म पर्थे, के भनेको होला भनेर ।

‘रमाइलो दसैँ त हाम्रै पालाको,’ बालपन सम्झँदै उनी भन्छन्, ‘राम्रो लुगा, मीठो खाना अनि पैसा दक्षिणा । यति भएपछि कुन केटाकेटीको मन नरमाउनु ।’ एक पैसा, दुई पैसा अनि पाँच पैसाका ढ्याक हातमा आउँदा संसारै उल्टेजस्तो लाग्थ्यो उनलाई । ‘अचेलको दक्षिणा पाँच सयभन्दा कम कसैले लिन मान्दैनन्,’ घिमिरे भन्छन् ।

घिमिरे त्यो बेलाको दसैँ मौसम सम्झन्छन्– वरिपरि खेतमा हरिया धान झुलेको, गाईवस्तु लेकबाट बेसी सारेको । हरिया घाँसले मोटाएर चिल्ला बनेको वस्तुभाउ देख्दै रहरलाग्दा । हिउँद नआइसकेको, वर्षा गइनसकेको । तातो–चिसो क्या मिलेको मौसम !

‘रूखमा हालिएको पिङमा मच्चिँदै रुखकै पात मुखले च्यापेर तान्ने अनौठो प्रतिस्पर्धा हुन्थ्यो,’ घिमिरे ऊ जमाना सम्झन्छन्, ‘जुनेली रातमा पिर्केपिङमा हुइँकिँदै चाँचरी गाइन्थ्यो ।’

घिमिरे पहिले र अहिलेको दसैँको तुलना यसरी गर्छन्, ‘परदेश गएकाले अरुबेला छुट्टी नपाउँदा दसैँमा आउने वाचा गरेका हुन्थे । त्यो वाचा घर–परिवार अनि गाउँमा उनकै बाटो हेरिरहेकी प्रेमिकाका लागि आशाको मीठो त्यान्द्रो हुन्थ्यो ।’ अहिले सहरमा मोबाइल, कम्प्युटरबाटै यन्त्रवत् दसैँ मनाउन थालिएको उनी अनुभव गर्छन् । जेहोस्, मनमुटाव मेट्दै मान्यजनको आशीष थाप्न, दुश्कर्मसँग लड्न प्रेरणाका रूपमा दसैँ मनाउन उनी सबैमा आग्रह गर्छन् ।

 

चिउरा खान नेवारकहाँ जान्थें : उषा शेरचन

 

पोखरादेखि निकै माथि थाकखोलामा थकाली समुदायको ठूलै बस्ती छ । एकताका पोखरा बसाइँ सर्ने थकालीको लर्को नै लाग्यो । पोखराको गणेश चौर क्षेत्रमा बगालेटोल छ । त्यहाँ पहिलो बसाइँ सर्ने व्यक्ति थिए भीमबहादुर भट्टचन । व्यापार गर्न आएका भक्तपुरे नेवारको ठूलै डफ्फा त्यहाँ बसिसकेको थियो । बाहुन, क्षेत्री अनि मतवाली जातिको मिश्रित गाउँ । थकालीका मुखिया भीमबहादुर गाउँका गन्यमान्य । उनैकी छोरी हुन्, साहित्यकार उषा शेरचन ।

‘असोज लागेपछि बगालेटोलमा छुट्टै रौनक हुन्थ्यो । थकालीका घर लिपपोत पारेर चिटिक्कै । नौरथा सुरु भएपछि नेवारका घरमा भात नपाक्ने । चिउरा, कालो भटमास, मसला, लसुन, अदुवा, छोयला मिसाएर बनाएको समयबजीको नौ दिनसम्म छेलोखेलो हुन्थ्यो । उनीहरूको घरमा ढिकीमा कुटेको चिउरा खाने हाम्रा घरमा सधैँ भात अनौठो लाग्थ्यो,’ उषा बाल्यकालको स्मरण गर्छिन्, ‘चिउरा खानकै लागि म नेवारकहाँ जान्थेँ ।’

थकालीले दसैँ फागुपूर्णिमामा मनाउँछन् । तर, असोज–कात्तिकको दसैँ एउटै समुदायको सांस्कृतिक आदान–प्रदानका रूपमा उनीहरू स्वीकार्थे । नवरात्रिमा मैनटोल बालेर युवायुवतीका लस्कर शक्तिपीठ धाउँथे । थकालीका घरमा टीका नचल्ने । तर, गाउँका सबैलाई अग्रजका नाताले टीका लगाइदिने जिम्मा उषाका पिता भीमबहादुरको हुन्थ्यो ।

दसैँमा दाइहरूले चंगा उडाएको उषाको दिमागमा अझै ताजै छ ।  ‘अहो, त्यो चंगा उडाउने दिन दाइहरूले सिसा पिँधेर, पिठोको माडसँगै धागोमा लाउन बाँसको थाममा फनफनी बेर्थे । रंगीचंगी कागजमा बाँसको सिन्कोले फन्काएपछि चंगा बन्थ्यो,’ उनी आफ्नो जमानाको दसैँ सम्झन्छिन्, ‘एकअर्काको चंगाचेट् पार्दा रोमाञ्चक बन्थ्यो वातावरण नै । डोरेपिङमा तन्नेरी जोडीले मच्चाउँथे । गाउँमा कुन टोलको पिङ राम्रो भनी डुल्दै हिँडिन्थ्यो । ठूलो चउरमा रोटेपिङमा फनफनी घुम्दा रिंगटै लाग्थ्यो ।’

 

आमाको पटुकी रंगाएर कमिज : प्रेमविनोद नन्दन

 

राजा प्रताप मल्लकी पत्नीको निधन भयो, शितला (दादुरा)ले । सरुवारोग निको पार्न नसक्दा वैद्यको हत्या भयो । बालबालिकालाई सर्छ भन्ने कथनले उपत्यकाका बालबालिका डाँडो कटाउन राजाले उर्दी जारी गरे । लालाबालासँग एउटा पुस्ता चन्द्रागिरी डाँडा काटेर अर्को डाँडाको कापमा लुक्न पुगे । पछि पृथ्वीनारायण शाहले उपत्यका जितेपछि भागेर जानेहरू पनि त्यहीँ थपिए । अनि बन्यो नेवार समुदायको एउटा छुट्टै सहर बन्दीपुर । साहित्यकार प्रेमविनोद नन्दन आफ्नो थलोबारे बताउँछन् ।

आसपास त्यतिबेला तीन मगर टोल थिए । जहाँ दसैँका बेला घाटु र चुट्काले रात उज्यालो बन्थ्यो । तन्नेरीले चुट्का कस्दा उमेर गएका पनि ज्यान फुरुक्क पार्थे । जाँतेपिङको फनफनीमा घुम्न महिना दिन तन्नेरीहरू मेहनत गर्थे ।

‘टीकाको दिन टीका लगाएपछि धर्ती छाड्न बूढाबूढी पनि पिङ चढ्थे,’ प्रेमविनोद ती दिन सम्झन्छन्, ‘मचाहिँ पिङमा मच्चिन डराउँथेँ ।’

टीका थाप्दा पाइने दक्षिणा मोह नन्दनमा बेस्सरी थियो । आमाको सारीको सप्को समाउँदै उनी मामाघर पुग्थे । ‘पाँच पैसा, दस पैसा अनि सुकीका ढ्याक दक्षिणामा हात पार्दा ठूलै युद्ध जितेझैँ लाग्थ्यो । खनखनी हातमा पैसा खेलाउने दिन दसैँ नै हुन्थ्यो,’ उनी भन्छन्, ‘उतिबेला पाँच पैसाले पनि धेरै थोक किन्न सकिन्थ्यो ।’

एउटा दसैँको यादले सधैँ चिमोट्छ उनलाई । भनेको रंगको नयाँ लुगा नपाउँदा उधुम मचाएको त्यो दिन । ‘केही नलागेपछि आमाले लाइराखेको सेतो पटुकीमा नीलो रंग लगाएर कमिज सिलाइदिइन् । अहिले सम्झन्छु त्यो दिन, मैले हप्तादिन नफुकाली लाएँ त्यो कमिज,’ उनी नोस्टाल्जिक बन्छन् ।

अचेल कपडा फेर्न दसैँ कुर्नुपर्दैन । उनलाई अचेल समय धेरै बदलिएझैँ लाग्छ । विकृति बढेझैँ लाग्छ । ‘दक्षिणा भनेजति भएन भने मुख खुम्च्याएर जाने आफन्त बढे । जमरा र टीकाको आशीर्वादभन्दा बढी दक्षिणाको चाह राख्ने प्रवृत्ति बढेको छ,’ उनी चिन्ता पोख्छन् ।

 

मच्चिएको पिङबाट हामफालेँ : तुलसी दिवस

 

बाल्यकालको दसैँ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसका लागि नमेटिने अनुपम यादहरू हुन् । पूर्वी नेपालको धनकुटाको सिरान बजारमा दिवसको पुुख्र्यौली घर । माथिमाथि हिमाल । त्यस तल सल्ला र धुपीले छोपिएका हरिया टाकुरा ।

तुलसी दिवसले बाल्यकालका दसैँ त्यही गाउँमा मनाए । उनलाई पिङ खेल्न खुब मन लाग्थ्यो । डोरेपिङ भनेपछि उनी मरिहत्ते गर्थे । पिङबारे एउटा अविस्मरणीय घटना छ, उनको बाल्यकालको ।

एकपटक उनी डोरेपिङ खेल्दै थिए । उनलाई पिङबाट ओर्लन मन लागेन । पालो कुरिरहेका अरु धेरै थिए ।

त्यो पिङ बनाउनेले भने, ‘यो मच्चिरहेको पिङबाट तिमी फाल हाल्यौ भने ल यो पिङ तिम्रै ।’ भन्नेले सोचेका थिए, बच्चा हो डराएर उत्रन्छ । तर, फुत्त हामफाले फुच्चे तुलसी । हेर्नेहरू एकछिन् अवाक् भए । ‘धन्न बाँचेँ, कुनै चोट लागेन,’ तुलसी चाहनाको आफ्नो त्यो बालविजय सम्झन्छन्, ‘त्यसपछि त्यो पिङ दसैँभरि मेरै भयो ।’

गाउँमा रोटेपिङ, डोरेपिङसँगै आकाशमा उड्ने रंगीन चंगाहरूले तुलसीको मन लोभ्याउँथ्यो । ‘हामी आकाशमा एकतमासले चंगा हेथ्र्यौं, दिन बितेर कतिखेर रात पथ्र्यो,’ तुलसी पुराना दिनतिर फर्कन्छन्, ‘एकले अर्को चंगाको धागा काट्दै गर्दा खसेका चंगा पाउने अभिलाषामा पछिपछि दुगुथ्र्यौं ।’

मार्सी, बासमती, जिरासरी चामल दसैँका लागि साँचिन्थे । त्यसमा मगमगाउँदो घिउ झानेपछि दसैँ नै मगमगाउँथ्यो । चिउरा र खसीको मासुको भोज नै हुन्थ्यो । तुलसी दसैँको खानपान सम्झन्छन्, ‘बोहोतामा दही, टपरीमा चिउरा र मासु । सानोमा कति मीठो मान्दै खाइन्थ्यो ।’

 

तरुनीहरू झिझिया नाचेको हेर्थें : रामदयाल राकेश

 

सांस्कृतिक विविधताको एउटा पृथक थलो, नेपालको तराई क्षेत्र । महाभारत, रामायणलगायत हिन्दू समाजसँग जोडिएका अनगिन्ती धार्मिक तथा पौराणिक सन्दर्भको कडी यही भूमिसँग जोडिएको पाइन्छ ।

दसैँमा यस्तै पौराणिक कथाहरूले जोड्छ तराईबासीको मन । सर्लाही पुख्र्यौली घर भएका डा. रामदयाल राकेश तराईकै माटोबाट भाषाविज्ञ बनेर उदाए । काठमाडौँसँग जोडिएको वर्षौं भयो । तर, तराईसँगको नाता टुटेको छैन । ‘मन त उतै छ मेरो अझै पनि,’ उनी भन्छन्, ‘हरेक पावन पर्व तराईमै मनाउन मन पर्छ ।’

दसैँमा पहाडेले जस्तो तराईबासीले टीका थाप्दैनन् । तर, नौरथाको उल्लास कुनै महोत्सवभन्दा कम हुँदैन । रामदयाल भन्छन्, ‘एकातिर दुर्गाले महिषासुरलाई मारेको । अर्केतिर रामले सीता हरण गर्ने रावणको अन्त्य गरेको । असत्यमाथि सत्यको विजयका प्रतीकका रूपमा तराईमा दसैँ मनाइन्छ ।’

तराईका युवाहरू रोमाञ्चक पाराले दसैँको फुर्सदिलो क्षण मनाउँछन् । ‘कुस्ती खेलिन्छ,’ रामदयाल सुनाउँछन्, ‘खलिहानको बुर्बुर माटो कुस्तीबाज पहलमानहरूले भरिन्छ । जसले जित्यो खसी काटेर विजयोत्सव मनाउँछन् । सबैलाई भोज खुवाउँछन् ।’

दिउँसोको कुस्ती उत्सव सकिँदै गर्दा रात्रिको रामलीलाको अपार कार्यक्रम सुरु हुन्छ । रामायणका रामको चरित्र मञ्चमा उतार्दै रम्छन् मानिसहरू । दुर्गापूजासँगै दुर्गा कथालाई नाटकीय रूपमा पोख्छन् कलाकार । भगवान्का लीलामै आफ्नो जीवन जोड्छन्, रमाउँछन् । दयाल भन्छन्, ‘लाग्छ, रम्ने समय हो दसैँ ।’

तरुनीहरू झिझिया लोकनृत्य नाच्थे, अहिले पनि नाच्छन् । ती तरुनीहरूलाई हेर्ने तन्नेरीको भीडजस्तै हुन्थ्यो । ‘वरिपरि बसेर बच्चै भए पनि म ती सुन्दर केटीहरूलाई हेर्थें, अलौकिक लाग्छ मलाई उक्त दृश्य,’ दयाल सम्झन्छन्, ‘राति आकाशबाट झरेका उर्वशीझैँ लाग्थे उनीहरू ।’ विहारी चौधरी, रामेश्वर शाह, चन्द्रकान्त झा, गंगाधर मिश्र र उनी तरुनी हेर्ने लाइनमै हुन्थे ।

समूहमा जम्मा हुन्छन् युवतीहरू । प्वाल परेका माटाको गोलो गाग्रो टाउकामा राख्छन् । जसभित्र बलेको दियो हुन्छ । अनि, गाउँछन्– ‘तोरे लागि झिझिया बनेलो...।’ जुनेली रातमा युवतीहरु जुनकीरीझैँ झिझिया गाउँदै–नाच्दै घरघरमा जान्छन्, रमाइलो गर्छन् । रातभरि बत्ती निभ्दैन । हरेक घरले दियोमा तेल थपिदिन्छन् । उज्यालो पार्छन् फाँटहरू । दयाल भन्छन्, ‘झिझिया खासगरी गाउँका नकारात्मक तŒवलाई निरुत्साहित गर्न गाइन्छ । बीचबीचमा माया–प्रेमका कुरा पनि मिसाइन्छ ।’

                दुर्गा पूजामा राखिएको जमरा दशमीका दिन गाउँघरको समृद्धिका कामना गर्दै बाँडिन्छ । वास्तविक पकवान तराईका चाडपर्वमा देखिन्छ । परवल, भन्टाको तरुवाले थलिया मगमगाउँछन् । मासु र माछा दसैँभरि टुट्दैन । भाकल गरेकाले परेवा, कुखुरा र पाठा बली चढाउँछन् । जलेवी, ठेकुवा, कचौरी, सिंगडा मिठाइका अनगिन्ती परिकारले साकाहारीको दसँै गुलियो बन्छ ।

                लोकसंस्कृति जोडिएको सद्भावको चाड लाग्छ दयाललाई दसैँ । तर, अचेल त्यो संस्कृति हराउँदैछ । दयाल भन्छन्, ‘अचेल झिझिया लोकनृत्य कमै नाच्छन् । पारस्परिक सद्भाव र प्रेम घट्दै वैमनस्यले ठाउँ लिँदै गएझैँ लाग्छ ।’ सामूहिक उत्सव घरघरमा भित्रिएका टीभी, रेडियो र मोबाइलले खोसिँदै गएकोमा उनी दिक्दारी पोख्छन् ।

 

बाहुनले टीका लगाइदिँदा दसैँ रातै : बैरागी काइँला

 

पाँचथर पौवाखार्ताको डाँडो छिचोल्दै बैरागी काइँला दसैँमा घर पुग्छन् । किशोर अवस्थासम्मको दसैँ हाटबजार र गाउँको रमझममै बित्यो उनको । ‘मासुभात र नयाँ लुगा भएपछि मतवालीको दसैँ दसैँजस्तै हुन्थ्यो,’ काइँला पुरान दिन सम्झन्छन्, ‘हाटबजारमा दसैँका सामान किन्न आमाको पुच्छर बनेरैै पुग्थे ।’

डाँडा–डाँडामा हाट बजार लाग्थे । औँशी–पूर्णेमा लाग्नेभन्दा फरक हाट । नयाँ लुगा, खानेकुराका थुप्राले खुब तान्थ्यो उनको बाल मन । लिम्बू गाउँमा सुब्बा जिम्वाल हुन्थे ।

किराँतीले दसँैमा सेतो अक्षताको टीका मान्यजनबाट थाप्ने चलन छ । काइँला सम्झन्छन्, ‘उनैको आँगनीमा गाउँका रैति जम्मा भएर खुब रमाइलो गर्थे । वर्षभरिको कमाइको रेखदेख गर्ने जिम्वाल । उनीकहाँ बाहुनले कहिलेकाहीँ रातो टीका र जमरा लगाइदिँदा लिम्बूको दसैँ पनि रातै बन्थ्यो ।’

एउटा डाँडोमा एउटा घर थियो । पिङ दुई गाउँ जोड्ने साँधमा हालिन्थ्यो । यसले दुई गाउँको सिमाना मात्र हैन । गाउँलेको मन पनि जोड्थ्यो । ‘युवाहरू युवती भेट्न नवरात्रिका दिन बजारमा भेला हुन्थे । धाननाच नाच्थे । पालम गाउँथे । च्याब्रुङको रन्कोमा ठिटाठिटी मन र माया साटासाट पनि गर्थे । केटीले गाएपछि केटाले जवाफ गीतबाटै दिन्थे । ठट्यौलीसँगै मादलको रन्कोले गाउँ घन्कन्थे । दोहोरीमा कुनै ठिटाले ठिटी मन परायो भने तानेरै भगाउँथे,’ काइँला आफ्नो पालाको दसैँ सम्झन्छन्, ‘जाउँभन्दा मानेन भने साथी मिलेर केटी भगाउँथे ।’

कति दसैँमा काइँलाले साथीका लागि केटी भगाउन सघाए । तर, आफूले केटी भगाउने आँट गरेनन् । मागी बिहे गरे ।

अहिले दसैँ अलमलिने चाड बनेझैँ लाग्छ उनलाई । ‘एकबारको जुनी हो, ऋण गरेर पनि घिउभात खाउँ भन्ने दसैँको रस अब छैन । पैसासँग चाडको उल्लास साटिन्छ । सहरमा गाउँमा जस्तो छिमेकीको भर हुँदैन । सहरमा घर जोडिए पनि मन जोडिँदैनन्,’ उनी भन्छन्, ‘गाउँमा घर टाढा भए पनि मन नजिक हुन्छ ।’ काइँला गाउँको त्यो आत्मीयता अहिले सहरमा बसेर सम्झन्छन् ।

 

दसैँको पाठोलाई घाँस दिन्थें : बेन्जु शर्मा

डा. बेन्जु शर्मा, त्रिभुवन विश्व विद्यालयकी अवकाशप्राप्त प्राध्यापक । काठमाडौँ खाल्डोमा हुर्किइन् उनी ।

दसैँका बेला डिल्लीबजार क्षेत्र शून्य हुन्थ्यो, जागिरेहरू दसैँ बिदामा घर जान्थे । ‘अचेल त्यहाँ हिँड्ने बाटो भेट्न मुस्किल छ । पहिले त्यो क्षेत्र खुला थियो । डिल्लीबजार वरपर खेलेरै कैयाँै दसैँ फटाएँ मैले,’ बेन्जु बाल्यकालको दसैँ सम्झन्छिन्, ‘घटस्थापनाकै दिनदेखि लाग्थ्यो दसैँ । आमा, हजुरआमा र फुपुहरू नौरथामा मन्दिर धाउँथे एकाबिहानै । कालिकास्थान, भगवतीबहाल, भद्रकाली जाँदा मलाई पनि लैजानुुहुन्थ्यो ।’

उतिबेला मोटरगाडी कम थिए । ओहोरदोहोर गर्न समस्याले बालबालिका प्रायः घर वरपर नै रमाउँथे । ‘घरमा भित्रिएको पाठो कराउन थाल्थ्यो । मैले वरिपरिका संगीलाई पाठो हेर्न बोलाउँथे । पाठालाई घाँस दिनु, ऊसँगै खेल्नु निकै मजा लाग्थ्यो,’ बेन्जु बालापन सम्झन्छिन्, ‘पाठो काटेको दिन भने नरमाइलो लाग्थ्यो ।’

बेन्जुलाई चंगाभन्दा बढी पिङ मन पथ्र्यो । घरकै आसपास हालिदिएका पिङमा टोलका सबै केटाकेटीको घुइँचो लाग्थ्यो, उनी पनि पुग्थिन् ।

राजधानी भए पनि दसैँको उल्लास सर्वसाधारणका घरमा डराइडराइ मनाइन्थ्यो । ‘उतिबेला जे गर्न पनि दरबार, राणासँग डराउनैपर्ने,’ उनी सम्झन्छिन् ,‘अहिले भने त्यस्तो छैन ।

टीका लाउन जाँदा दुई पैसे र पाँच पैसे ढ्याक दक्षिणा पाउँदा हर्षबडाइँ हुन्थ्यो । दक्षिणाको पैसा दसैँ सकिएपछि शीतल पिपी, सुन्तला पिपीजस्ता मिठाइ किनेर खान्थिन् उनी । ‘अहिलेका केटाकेटीले एक सय घटी लिन मान्दैनन्,’ उनी भन्छिन्, ‘ब्रह्मलुट गर्नेहरूलाई सुखैसुख छ अहिले । कमजोर, गरिबलाई अहिलेका दसैँ उस्तै दुःख ।’

 

नयाँ तरिकाले परिभाषित गर्नुपर्छ : आहुति

 

समाजशास्त्रीय रूपमा दसैँको महŒव झल्काउनुपर्ने लेखक विश्वभक्त दुलाल ‘आहुति’ बताउँछन् । दसैँ सबै वर्गको बन्न नसकेकोमा उनी चिन्ता व्यक्त गर्छन् । आहुतिको बाल्यकाल काठमाडौँ नैकापमा बित्यो ।

नयाँ परिवेशमा दसैँलाई नयाँ तरिकाले नै परिभाषित गर्नुपर्ने उनको बुझाइ छ । ‘दक्षिण एसियामा हिन्दू विचारले महŒव पाएपछि दसैँ त्यहीअनुसार मनाउन थालियो,’ उनी भन्छन्, ‘महिषासुर वध र रावणवधसँग जोडेर दसैँलाई हिन्दूकरण गरियो । जसले अरु धर्म मान्ने र वर्गका लागि दसैँ आफ्नो हुन दिएन ।’

दसैँमा राज्यले सबैभन्दा लामो बिदा दिन्छ । यसले अरु समुदायको संस्कृति र चाडपर्वमाथि दमन भएको दाबी उनी गर्छन् । ‘हिन्दूको दसैँको लामो बिदा मुस्लिमले के गरेर मनाउने ? पहाडका लिम्बूले टीका लाउँदैनन्, उसले बिदामा जबरजस्ती दसैँ मनाउनैपर्ने ?’ उनी प्रश्न गर्छन्, ‘यो कस्तो जबरजस्ती ?’

दसैँ पर्व हिन्दू संस्कारबाट विस्तारै व्यापारीको हातमा पुगेको विश्लेषण उनी गर्छन् । ‘पुँजीवादी वर्गले दसैँ पैसामा बेचे । नाफा कमाउने औजार बन्यो दसैँ । कमजोर वर्गलाई लुटी खाने माध्यम बन्दैछ दसैँ । मोबाइल होस् वा कपडा, गाडी होस् वा मदिरा सबैमा दसैँको लेप लाएर उपभोगवादी बनाइएको छ । मान्छेका मनमा इच्छा यसरी जन्माइदिए कि हातमा राम्रो फोन हुँदाहुँदै नयाँ फोन किन्न बाध्य हुन्छन्,’ उनी दसैँको विकृति औंल्याउँदै भन्छन् ।

धर्म अलग गरेर दसैँलाई विशुद्ध नेपाली सांस्कृतिक पर्वका रूपमा बदल्नुपर्नेमा उनी जोड दिन्छन् ।

‘परम्पराभन्दा नयाँ सिर्जनाहरू जस्तो गणतन्त्र दिवस, मजदुर दिवस । जसमा गरिखाने मान्छेले मान्छेकै लागि विजय पाए । तिनलाई नयाँ संस्कारको दसैँमा परिणत गर्नुपर्छ,’ उनी भन्छन्, ‘जसमा कुनै अलौकिक तŒव नभई मान्छेका विचार सर्वोपरि हुन्छन् ।’

केटाकेटी छँदा उनी दसैँमा सुंगुर काटेको दिन सम्झेर निकै रोमाञ्चित हुन्छन् । ‘गाउँमा डबली नाटक हुन्थे, तास खेलिन्थे,’ उनी पुराना दसैँमा पुग्छन्, ‘कौडाको खाल भने अलिक धनीको घरमा मात्र हुन्थ्यो ।’

दसैँमा नेपाली कागजको चंगा बनाएको उनले अझै भुलेका छैनन् । हजुरबाले दिएको दक्षिणामा प्रेम हुने बताउँछन् । ‘त्यसमा आत्मीयता हुन्थ्यो,’ उनी तुलना गर्छन्, ‘अहिले दिने दक्षिणा आवश्यकता र चाहनाको कसीमा हेरिन्छ । यो अलि बढी नै भौतिकवादी भयो कि ?’

प्रकाशित: २२ आश्विन २०७३ १०:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App