अन्य

उत्कृष्ट फोटो छान्दै निर्णायक

काठमाडौं- फोटो पत्रकार क्लब नेपालको आयोजना रहेको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिताको 'निर्णायक चरण' सुरु भएको छ। प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात विधामा ६ हजार ६ सय ७० फोटो प्राप्त भएको छ।

निर्णायक समितिले ती फोटोमध्येबाट प्रत्येक विधाका विजेतासहित उत्कृष्ट १६० वटा फोटो छानिनेछन्। छनोटमा परेका फोटोबाट सबै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेको चयन गरिनेछ भने उत्कृष्ट एक फोटोलाई आइएमआई–ग्लोबल–आइएमआई बैंक 'फोटो अफ दि इयर' घोषित गरिनेछ।

'फोटो  अफ दि इयर'ले एक लाख रुपैया“ पुरस्कार पाउनेछन् भने प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीयलेे क्रमशः ३०, २० र १० हजार रुपैयाँ पाउनेछन्।  काठमाडौंमा भदौ १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा  प्रदर्शनी गरिनेछ।

देशभरबाट ८ सय ११  व्यावसायिक र एमेच्योर फोटोग्राफरले ६ हजार ६ सय ७० फोटो पठाएका थिए। विजेताको घोषणा साउन १४ गते राष्टिय नाचघर जमल काठमाडौंमा गरिनेछ। घोषणापछि भारतीय फोटोपत्रकार प्रशान्त पन्जियारसँग अन्तर्त्रि्कया कार्यक्रम रहेको क्लबका सचिव तथा कार्यक्रम संयोजक केशवराज थोकरले जनाए।

गतवर्षको वर्ल्ड प्रेस फोटोका निर्णायक मण्डलका सदस्य पन्जियारको नेतृत्वमा रहने निर्णायक मण्डलमा पत्रकार कुन्द दीक्षित, फोटोग्राफर मणि लामा, आर्ट क्युरेटर संगीता थापा, कलाकार सुजन चित्रकार, फोटोपत्रकारद्वय नरेन्द्र श्रेष्ठ र प्रकाश माथेमा छन्। पहिलो चरणमा विज्ञका रुपमा नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, आइएफजे दक्षिण एसियाका संयोजक उज्ज्वल आचार्य र फोटोपत्रकार देवेन्द्रमान सिंह सहभागी भएका थिए।

आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सहकार्यमा हुन लागेको प्रतियोगितामा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्युज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस र आरजे एडभान्चर फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा भइरहेको छ।

'मैले गत वर्षभन्दा धेरै बढी फोटो आउने सोचेको थिएँ तर जति आए, यो नै काफी छ,' निर्णायक सदस्य मणि लामाले भने, 'प्रत्येक विधामा धेरै राम्रा फोटो आएका छन्।'

प्रकाशित: ११ श्रावण २०७३ ०५:१७ मंगलबार

उत्कृष्ट फोटो छान्दै निर्णायक