विचार

भारतको पुरानो पार्टी: पुनर्ताजगी देला?

यही महिना विगत २५ वर्षमा पहिलोपटक प्रमुख प्रतिपक्ष दल भारतीय नेसनल कंग्रेसको अध्यक्ष पदमा नेहरू–गान्धी परिवारबाहिरको कुनै व्यक्ति आसीन हुनेछ। भारतको ‘ग्रान्ड बोल्ड पाटी’ मानिने कंग्रेससँग यो परिवारको ऐतिहासिक सम्बन्ध छ। यो परिवारले यस पटकको प्रतिस्पर्धामा सहभागी नहुने घोषणा गरेपछि पार्टीलाई नयाँ ऊर्जा दिने अवसर मिलेको छ। त्यसमा पनि सन् २०२४ को आमनिर्वाचनको अगाडि हुन लागेको यो परिवर्तनले पार्टीमा नयाँ आशा पलाएको छ।  

कंग्रेसका अर्का वरिष्ठ नेता मल्लिकाअर्जनु खार्गेसँग म पनि यो पदका लागि उम्मेदवार बनेको छु। नेहरू गान्धी परिवारले नेतृत्वमा दावी नगर्ने निर्णय र सन् २०२४ मा हुने आमनिर्वाचनमा यसले पार्ने प्रभावका विषयमा आमजनमानसमा नयाँ जिज्ञासा उत्पन्न भएको छ। यो निर्णयले पार्टीभित्रको विद्यमान आन्तरिक द्वन्द्व र पछिल्ला चुनावी हार जस्ता विषयलाई सकारात्मक हिसाबले बिर्साएको छ। यो चुनावमा पार्टीका ९ हजार प्रतिनिधिले भोट हालेर नयाँ नेतृत्व चुन्नेछन्। चुनावको पूर्वसन्ध्यामा कंग्रेसका पूर्वनेता राहुल गान्धीले राष्ट्रिय एकता दौड (नेसनन युनिटी मार्च) अन्तर्गत कन्याकुमारीदेखि काश्मीरसम्मको यात्रा तय गर्नेछन्।  

आफ्नो १३७ वर्ष लामो ऐतिहासिक छवि हुँदाहुँदै पनि संघ र राज्य तहका चुनावमा लगातारको पराजयले यो पार्टीलाई दोसाँधमा उभ्याइदिएको छ। सत्य के पनि हो भने सन् १९७७, १९८९ र १९९१ मा पनि यस्तो प्रतिकूल परिस्थितिबाट यो पार्टी पुनः लयमा फर्केको थियो। सन् १९८४ मा इन्दिरा गान्धीको र सन् १९९१ मा राजीव गान्धीको दुःखद हत्या भएलगत्तै भएका आमचुनावमा पार्टीले विजय हासिल गरेको थियो। तर सन् २०१९ को आमचुनावमा भएका हार र त्यससछि राहुल गान्धीले दिएको राजीनामाका कारण ३ वर्षसम्म नेतृत्व संकटको स्थिति उत्पन्न भएको छ।  

कंग्रेसले विद्यमान चुनौतीलाई कसरी पार गर्ने? नयाँ अध्यक्षको मात्र होइन, पार्टीको प्रमुख निकायका रूपमा रहेको कंग्रेस वर्किङ कमिटीका लागि पनि चुनाव हुन बाँकी छ। पार्टीका विभिन्न तहका सदस्यहरूले गर्ने चयनका आधारमा पार्टीका शक्तिशाली निकायमा नेतृत्व स्थापित हुनेछ र नयाँ नेतृत्वले पार्टीलाई आवश्यक नयाँ ऊर्जा दिन सक्नेछ। यसैगरी नयाँ नेतृत्वले आममतदाताबीच थप उत्साह ल्याउन सक्छ।  

बेलायतको उदाहरण हेरौँ। त्यहाँको कन्जरभेटिभ पार्टीका सदस्यहरूले थेरेसा मेको ठाउँमा बोरिस जोन्सनलाई पार्टीको नेतृत्वमा स्थापित गरेपछि सन् २०१९ मा उनी प्रधानमन्त्रीसमेत बनेका थिए। यसरी सन् १९८७ यता टोरी पाटीको सबैभन्दा ठूलो संसदीय विजय हासिल गर्न सफल बनेको थियो।  

कंग्रेस नेतृत्वको दौडको जेसुकै नतिजा भए पनि यो प्रक्रियाले पार्टीलाई नयाँ जीवन दिन र भारतीय प्रजातन्त्रलाई थप सशक्त पार्न सहयोग पुग्ने विश्वास मैले लिएको छु। पार्टीको चुनाव आन्तरिक भए पनि यसले कंग्रेसको जनाधारलाई ऊर्जाशील पार्न र कंग्रेसप्रति आमसर्वसाधारणको रुचि बढाउन सक्छ।  

यो दौडबाट बाहिरिएर पार्टीको संभावित पुनर्ताजगी अभियानलाई गान्धी परिवारले सहयोग गरेको छ। पार्टी तथा समग्र देशप्रतिको  

आफ्ना धारणालाई दुवै उम्मेदवारले प्रष्ट पारेका छन्। वंशवादमा आधारित राजनीति भन्दा फरक हिसाबले प्रजातान्त्रिक मताधिकारको माध्यमलाई प्रतिस्पर्धी उम्मेदवारले शिरोपरी ठानेका छन् र यसलाई आत्मसात गरेका छन्। यसबाहेक नेतृत्व छान्ने प्रक्रियाका हिसाबले भारतका अन्य पार्टी भन्दा कंग्रेस अगाडि रहेको पक्षलाई पनि यसले मुखरित गरेको छ। आफ्नो विधानअन्तर्गत रहेको नेतृत्व चयन हुने प्रक्रियाले अन्य पार्टीलाई पनि आन्तरिक प्रजातन्त्र सुदृढ पार्ने प्रेरणा मिल्नेछ।  

तर कंग्रेस पाटी पुनः सत्तामा फर्कनका लागि नयाँ नेतृत्वले आफ्ना कट्टर समर्थक भन्दा बाहिरका आमजनतालाई आफूतिर आकर्षित गर्न सक्नुपर्दछ।  

यो पार्टीले सन् २०१४ र २०१९ को चुनावमा कुल मतको १९ प्रतिशत मात्र प्राप्त गरेको छ। धेरै मतदाता सत्तारुढ भारतीय जनता पार्टीप्रति आकर्षित देखिएका छन्। ती मतदालाई पुनः कंग्रेसको समर्थनमा ल्याउन युवा ऊर्जा र नवीनतम विचारको खाँचो छ। यसले हिन्दुत्वलाई आत्मसात गरेको बिजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती सिर्जना गर्न सक्छ। यसका लागि नेतृत्वले युवा भारतीयको चाहना बुझ्न जरुरी छ। देशलाई सही बाटोमा ल्याउन कंग्रेसले सक्छ भन्ने मान्यता स्थापित गर्न जरुरी छ।  

वर्तमान एक्काइसौँ शताब्दीले सिर्जना गरेको अवसरलाई आत्मसात गर्न आगामी दिनका लागि कंग्रेसले सकारात्मक र महत्वपूर्ण सोच र दृष्टि अगाडि बढाउन आवश्यक छ। तर सबैभन्दा पहिले पार्टीका संगठानात्मक र संरचनागत कमजोरीलाई सम्बोधन गर्न जरुरी छ। यही कमजोरीले विगतमा चुनावी हार भएका हुन्।  

त्यसैले आगामी अध्यक्षले प्रभावकारी नेतृत्व सँगसँगै संस्थागत सुधारमा पनि उत्तिकै ध्यान दिन जरुरी छ। प्रदेशका नेताहरूलाई थप अधिकार प्रत्यायोजन गर्न सकेमा केन्द्रीय नेतृत्वको प्रशासनिक बोझ कम हुन सक्छ। स्थानीय नेतृत्वको विकासले पार्टीको राष्ट्रिय आकर्षण बढ्न जान्छ।  

तर यी काम त्यति सजिला छैनन्। त्यसो हुँदाहुँदै पनि इतिहास साक्षी छ, कंग्रेसले परिवर्तन गर्न सक्ने क्षमता राख्छ र यो पार्टी बदलिँदो राजनीतिक परिस्थितिसँग अनुकूलन हुन सक्छ।

भारतीय सर्वसाधारण बिजेपीको विभाजनकारी शासनशैली र तानाशाही चरित्रबाट आजित भैसकेका छन्। देशलाई एकबद्ध पार्न र नयाँ ऊर्जा दिन कंग्रेसले नेसनल युनिटी मार्चलाई उपयोग गर्नुपर्दछ र पार्टी अध्यक्षको आगामी चुनावमार्फत वैकल्पिक विचारधारालाई अगाडि बढाउनुपर्दछ। भारतले गर्नुपर्ने र गर्न सक्ने कुरा धैरे बाँकी छन्।  

(थरुर भारतका पूर्वपरराष्ट्र राज्यमन्त्री हुन्। प्रोजेक्ट सिन्डिकेटबाट।)

प्रकाशित: १ कार्तिक २०७९ ००:५३ मंगलबार

भारतीय नेसनल कंग्रेस