विचार

कार्ल मार्क्स र ‘ईश्वरविहीन’ समाज

‘धर्म मानिसका लागि अफिम हो,’ माक्र्सको यस बहुचर्चित उक्तिलाई उनका समर्थक र विरोधी दुवै पक्षले वर्षौंदेखि आआफ्नै अनुकूलमा व्याख्या र अपव्याख्या गर्दै आएका छन्। यसै उक्तिका आधारमा आफू माक्र्सको अनुयायी भएको दावी गर्नेहरूले धर्मको विरोधमा अतिरञ्जित र चर्का नारा दिएर कतिपय अवस्थामा सामाजिक सद्भाव, ऐतिहासिक धरोहर र संस्कृतिमाथि नै प्रहार गरे भने माक्र्सले अफिमको दृष्टान्त दिएर धर्मको अवमूल्यन गरे भनेर विरोध गर्नेहरूले पनि धर्मको राजनीतिकरण गरेर निहित स्वार्थका लागि समाजमा द्वेष, घृणा र विभाजन ल्याउने काम गरे। समय बित्दै जाँदा र विज्ञान एवम् प्रविधिको व्यापक विकासका सन्दर्भमा यी दुवै अतिवादी दृष्टिकोण घातक सिद्ध भइसकेका छन्। माक्र्सको सन्देशको ऐतिहासिक सन्दर्भ, धर्मको पश्चिमी र पूर्वेली परिभाषाको भिन्नता एवम् आजको वैज्ञानिक युगमा यसको महङ्खवबारे नयाँ खोज, अनुसन्धान, विचार–विमर्श र अभ्यासको जरुरत भएको देखिन्छ। जसबाट समाजले आधुनिक जीवनको सन्दर्भमा धर्मका सकारात्मक पक्षहरूको सदुपयोग र नकारात्मक पक्षको निराकरण गर्न सकोस्।

धर्मबारे माक्र्सले खासमा के भनेका थिए र कुन अर्थमा अफिमको दृष्टान्त दिएका थिए ? माक्र्सको यस बहुचर्चित उक्ति सन् १८४४ मा लिखित ‘हेगेलको न्यायिक दर्शनको आलोचनामाथि टिप्पणी’ शीर्षकको पुस्तकबाट उद्धृत गरिएको हो। यो कृति माक्र्सको जीवन कालभर प्रकाशित हुन सकेको थिएन, तर यसको भूमिका उनीद्वारा सम्पादित जर्मन–फ्रान्सिसी वार्षिक ग्रन्थमा सन् १८४४ मा छापिएको थियो। जसमा सो उक्ति पनि थियो। पुस्तकको पूर्ण पाठ पहिलोपटक सन् १९२७ मा सोभियत संघमा प्रकाशित भएको थियो। अफिमको प्रसङ्ग पुस्तकको मूल पाठबाट अलग्गिएर आठ दशक अघि नै प्रचारमा आइसकेको भए पनि पुस्तककै सन्दर्भ र गुदी कुरा भने आजसम्म पनि धेरैका लागि अज्ञात नै छ। यस कृतिमा माक्र्सले मूलतः नागरिक समाज र राजनीतिक समाजबीचको सम्बन्धको विश्लेषण गरेका थिए। उनले लेखेका थिए– लोकतान्त्रिक व्यवस्थामा कानुनका लागि मानिस होइन, मानिसका लागि कानुन बनेको हुन्छ। त्यसैले फ्रान्सिसी दार्शनिक सान् सिमोनलाई उद्धरण गर्दै माक्र्सले पूर्णलोकतन्त्र हासिल हुँदा राजनीतिक इकाइका रूपमा राज्यको औचित्य समाप्त हुने र यसको अवसान हुने कुरा बताएका थिए। हेगेलको अध्यात्मवादी चिन्तनले राज्यको सही विश्लेषण गर्न नसक्ने कुरा बताउँदै माक्र्सले यसबाट सामाजिक घटनाको व्याख्या गर्दा धार्मिक अन्धविश्वास र काल्पनिक चिन्तनले प्रवेश पाउने र समग्र राज्य व्यवस्थालाई निरपेक्ष एवम् जडसूत्रवादी मार्गतर्फ डोर्‍याउने संकेत गरेका थिए। धर्मले दिने काल्पनिक सुखको प्रतिवाद भनेको त्यसको बदलामा वास्तविक सुखको चाहना हो। यसै प्रसङ्गमा माक्र्सले अफिमको दृष्टान्त दिँदै भनेका थिए, ‘धर्म उत्पीडितहरूको चित्कार हो, हृदयहीन दुनियाँको हृदय र निष्प्राण परिस्थितिको प्राण हो। धर्म मानिसका लागि अफिम हो।’  

उल्लिखित प्रसङ्गबाट अलग्याएर धर्मलाई बिसौं शताब्दीको परिप्रेक्ष्यमा हेर्दा पूरै अनर्थ भयो। सर्वप्रथम, माक्र्सले लेखेको समयमा आजको जमानामा जस्तो अफिम प्रतिबन्धित लागु पदार्थ थिएन। यसको प्रयोग मूलतः दुखाइ कम गर्ने औषधीका रूपमा गरिन्थ्यो। माक्र्सले धर्मलाई एक अवैध र हानिकारक अम्मली वस्तुका रूपमा चित्रण गरेका थिए भनेर अथ्र्याउनु सरासर गलत हुने छ। दोस्रो, अझ बढी महङ्खवपूर्ण पक्ष के छ भने माक्र्सले पुँजीवादी शोषण र उत्पीडनको उत्कर्षबाट अत्तालिएका श्रमजीवीहरूलाई हिंसात्मक प्रतिशोधले भन्दा धर्मले उनीहरूको हृदयलाई शान्ति दिन सक्ने भनेर यसलाई एक राहतको उपायका रूपमा देखाएका थिए। माक्र्स स्वयम् धर्ममा आस्था राख्दैनथे तर एक मानवतावादीका दृष्टिले उनले शोषण र उत्पीडनले ग्रस्त समाजमा पनि सम्भव भएसम्म हृदय र प्राणजस्ता मानवीय समवेदनाका तङ्खवहरूको सहारा लिन सकिन्छ भन्ने सन्देश दिएका थिए। माक्र्सका लागि मानवीय भावना सर्वोपरि थियो र उनको विचारमा श्रम नै मानिसको भावना, सिर्जनशीलता, संघर्ष र सफलताको द्योतक थियो। माक्र्सको धर्मको आलोचना त्यसले देखाएको काल्पनिक सुखभन्दा त्यस्तो सुखको नाममा खडा गरिएको परिस्थितिप्रति लक्षित थियो। किनभने उनी श्रममाथि खडा गरिएका सबै बन्धन र शोषणबाट मानवजातिको उन्मुक्ति चाहन्थे।  

माक्र्सको उक्तिको विभिन्न कोणबाट अपव्याख्या गरिए पनि उनी स्वयम् र उनका निकटतम अनुयायीहरूले समाजमा धर्मको सकारात्मक पक्षको उल्लेख र सराहना गर्दै आएका थिए। राज्यको अवसानबारे पहिलो अभिव्यक्ति वास्तवमा इसा मसिहले दिएका थिए। इसाको जीवनसम्बन्धी कतिपय ग्रन्थहरूमा उल्लेख गरिएअनुसार रोमन राज्य जुदाका न्यायाधिवक्ता पोन्तियस पिलातलाई आफ्नो मृत्युदण्डको फैसला हुनुअघि दिएको वयानमा उनले भनेका थिए, ‘जुनसुकै पनि सत्ता मानवमाथि गरिने हिंसाको साधन हो र एउटा यस्तो समय आउने छ, जब सिजर (जुलियस सिजर) या अरू कसैको शासन रहने छैन। मानवजाति सत्य र न्यायको राजमा प्रवेश गर्ने छ र कुनै राज्यसत्ताको जरुरत नै हुने छैन।’ इसाको उक्त भनाइको झन्डै दुई सहश्राब्दीपछि फ्रेडेरिख एंगेल्सले आफ्नो प्रसिद्ध रचना ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ मा राज्यको अवसानको आर्थिक र सामाजिक पृष्ठभूमिको व्याख्या गरे। उनले लेखेका थिए– समाजवादको विकास हुँदै गएपछि समाजले उत्पादनलाई उत्पादन कर्ताहरूको स्वतन्त्र र समान हैसियतका आधारमा नयाँ ढंगले व्यवस्थित गर्ने छ र अनुपयोगी बनेको राज्य संयन्त्रको स्थान सङ्ग्रहालयमा हुने छ। ‘इसाई धर्मको प्रारम्भको इतिहास’ शीर्षकको कृतिमा एंगेल्सले प्रारम्भमा इसाई धर्मको आन्दोलन आधुनिक मजदुर आन्दोलनसँग मिल्दोजुल्दो भएको बताएका थिए। उनले लेखेका थिए, ‘इसाई आन्दोलन पनि मजदुर आन्दोलनजस्तै उत्पीडित जनताको आवाज थियो। सुरुमा यो ती दास र दासमुक्तहरूको धर्मका रूपमा देखापरेको थियो, जो सबै हकअधिकारबाट वञ्चित थिए र रोमन सत्ताबाट अपहेलित थिए। फरक के मात्र थियो भने इसाई आन्दोलनले धर्ममा लागे मरणोपरान्त स्वर्गमा पुगेपछि जीवनका दुःख–कष्टबाट मुक्ति पाइने शिक्षा दिन्थ्यो भने मजदुर आन्दोलनले समाजवादी रूपान्तरणबाट यसै संसारमा मुक्ति सम्भव भएको कुरामा जोड दिन्थ्यो।’ माक्र्स र एंगेल्स भौतिकवादी दार्शनिक थिए, उनीहरू जगत्को विकासमा प्रकृति प्रधान र आत्मा सहायक भएको मान्दथे। नास्तिक थिए र धर्मको विषयमा उनीहरू विचारको हदसम्म मात्र प्रतिवाद गर्दथे। यी दुवैले कहिल्यै पनि धर्म र धार्मिक संरचनाको विनासलाई प्रश्रय दिने कुनै पनि अभिव्यक्ति दिएका थिएनन्। कुनै धर्मविरोधी आन्दोलनको आह्वान या समर्थन गरेका थिएनन्।  

तर बिसौं शताब्दीमा आइपुग्दा अवस्था फरक भयो र माक्र्सको धर्मसम्बन्धी धारणाको गलत व्याख्या र दुरूपयोग हुन थाल्यो। सन् १९१७ को बोल्सेभिक क्रान्तिपछि नास्तिक विचारलाई बलपूर्वक लागु गर्ने प्रयास भयो। सन् १९२५ मा सोभियत संघमा नास्तिकहरूको एक लडाकु दस्ताको गठन भयो, जसको मुख्य उद्देश्य देशभर नास्तिकतावादी प्रचारप्रसार गर्नु र कुनै पनि स्वरूपमा हुने धार्मिक गतिविधिलाई समाप्त पार्नु थियो। सन् १९३२ मा स्टालिनको निर्देशनमा सोभियत सरकारले ‘पञ्चवर्षीय नास्तिक योजना’ को घोषणा गर्‍यो। जसअनुसार सन् १९३७ सम्ममा सबैलाई नास्तिक बनाएर ईश्वरको नाम देशबाट सदाका लागि नामेट गर्नुपर्ने थियो। यस उद्देश्यले नास्तिकहरूको लडाकु दस्ता, कम्युनिस्ट युवा संघ (कोम्सोमोल) आदि संस्थाहरू परिचालन गरेर कैयन् धार्मिक संस्था, गिर्जाघर, मस्जिद, बौद्धगुम्बा र अनुष्ठान केन्द्रहरू ध्वस्त गरियो। धर्मगुरु र पुरोहितहरू गिरफ्तार गरी बन्दी बनाइए। नास्तिकता अभियान चरमोत्कर्षमा पुग्दा सन् १९३७ को एक वर्षको अवधिमा मात्र पचासी हजार इसाई पादरीहरूको गोली हानी हत्या गरियो। सन् १९२७–१९४१ को अवधिमा रूसी अर्थोडक्स गिर्जाहरूको संख्या झन्डै तीस हजारबाट घटेर जम्मा पाँचसय बाँकी रहेको पाइयो। यी सबै ज्यादतीका बाबजुद नास्तिकता अभियानप्रति जनसमर्थन न्युन भएको त्यसबेला प्रमाणित भयो, जब सन् १९३७ को जनगणनाको नतिजाले सोभियत संघमा धर्ममा आस्था राख्नेहरूको संख्या ५७ प्रतिशत भएको देखायो। ‘ईश्वरविहीन’ समाज बनाउने लक्ष्य धराशायी भयो। त्यसपछि नास्तिकता अभियान निष्कृय र निरर्थक हुँदै गयो र सन् १९४१ मा स्टालिनले नास्तिक लडाकु दस्ताको विघटन भएको घोषणा गरे। सन् १९४२ मा बन्द गरिएका गिर्जाघरहरू पुनः खुले र स्टालिन स्वयम्ले त्यस समय चलिरहेको दोस्रो विश्वयुद्धमा जर्मनहरूको आक्रमणबाट मारिएका सोभियत सिपाहीहरूको धार्मिक आस्थाअनुसारको अन्त्येष्टी सम्पन्न गर्न र घाइतेहरूको स्वाथ्य लाभका लागि प्रार्थना गर्न पुरोहितहरूलाई युद्ध क्षेत्रमा जान अनुरोध गरे। सोभियत संघमा पूर्ण धार्मिक स्वतन्त्रताको स्थापना भने राष्ट्रपति मिखाइल गोर्बाच्योभले ‘आस्था र धार्मिक संघ–संस्थाहरूको स्वतन्त्रता ऐन–१९९०’ लागु गरेपछि मात्र सम्भव भयो।  

सोभियत संघमा सन् १९३० को दशकमा असफल भइसकेको नास्तिकता अभियानको नक्कल सन् १९६० को दशकमा चीनले गर्‍यो। आधिकारिक रूपमा चीनमा सर्वहारा सांस्कृतिक क्रान्तिको घोषणा माओले सन् १९६६ मा गरेका भए पनि धार्मिक गतिविधि र त्यसका सञ्चालक संस्थाहरूको नियन्त्रण सन् १९४९ मा जनवादी गणतन्त्रको स्थापना लगत्तै सुरु भएको थियो। सन् १९५० देखि सन् १९७९ मा देंग सियायो पिङ्ग नेतृत्वमा नआउँदासम्म चीनमा सबै मन्दिर, मस्जिद, गिर्जाघर र गुम्बाहरू बन्द गरिएका थिए। नास्तिकता आन्दोलनका पक्षधरहरूले धार्मिक संस्थाहरूको विघटनका साथसाथै चीनका परम्परागत मान्यताको स्थानमा माओवादी विचारधाराको प्रभुत्व स्थापित गर्ने लक्ष्य राखेका थिए र यस कार्यमा समग्र चीन र खासगरी तिब्बतमा जरा गाडेको बौद्ध धर्मलाई एक प्रमुख बाधक मानेका थिए। सन् १९६६ देखि १९७६ सम्म दश वर्षको अवधिमा तिब्बतमा मात्रै ९० प्रतिशत बौद्ध गुम्बाहरू ध्वस्त गरिएको र छ लाख भिक्षुहरूको हत्या गरिएको अनुमान छ। चीनमा सांस्कृतिक क्रान्तिको दमनको दायरा सोभियत संघको भन्दा व्यापक थियो र त्यसले धर्मप्रति आस्था भएका मात्र होइन, बौद्धिक व्यक्तित्वहरूलाई पनि लक्ष्य गरेको थियो। सोभियत संघको नास्तिक लडाकु दस्ता जस्तै चीनले लाल दस्ता खडा गरेको थियो, जसलाई सांस्कृतिक क्रान्ति लागु गर्न खटाइएको थियो। उनीहरूको निशानामा विश्वविद्यालय र प्राज्ञिक क्षेत्र पनि परेको थियो। त्यसै दस्ताले चीनको क्षेप्यास्त्र निर्माण क्षेत्रका प्रख्यात वैज्ञानिक याओ तोङ बिनको कुटेर हत्या गरेपछि स्वयम् प्रधानमन्त्री चाउ एनलाईले विशेषज्ञहरूको विशेष सुरक्षाको आदेश दिएका थिए। सांस्कृतिक क्रान्तिका नाममा भएका अत्याचारले गर्दा यो अत्यन्त अलोकप्रिय भयो र समाजमा मात्र होइन, यसले सत्तारुढ कम्युनिस्ट पार्टीभित्रै फुट ल्यायो। चर्कंदो आन्तरिक द्वन्द्व, माओको निधन र कम्युनिस्ट सत्तावृत्तका ‘चार–चण्डाल’ गुटको पतनपछि सन् १९७६ मा सांस्कृतिक क्रान्तिको अवसान भयो। सन् १९८१ मा चिनिया कम्युनिस्ट पार्टीले एक दस्तावेज पारित गरी सांस्कृतिक क्रान्ति घातक भएको ठहर गर्दै त्यसबाट पार्टी र मुलुकले भारी नोक्सान ब्यहोर्नु परेको स्वीकार गर्‍यो। सांस्कृतिक क्रान्तिको अन्त्य भएको तीस वर्षपछि सन् २०१० मा सञ्चालन गरिएको एक सर्वेक्षणअनुसार चीनमा धर्ममा आस्था राख्नेहरूको संख्या साठी करोड अर्थात् कुल वयस्क जनसंख्याको ७० प्रतिशत भएको पाइयो। यसरी सोभियत संघमा जस्तै चीनमा पनि ‘ईश्वरविहीन’ समाज खडा गर्ने प्रयास असफल भयो।

चीनमा असफल भएको सांस्कृतिक क्रान्ति र राजनीतिक नमुना माओवादीहरूले अन्य देशमा लागु गर्ने प्रयास गरे। क्याम्बोडियामा चिनियाँ लाल दस्ताकै स्वरूपमा लाल खमेरको गठन भयो, जसले राज्यको नास्तिकतावादी नीति लागु गर्ने क्रममा ५० हजार बौद्ध भिक्षुहरूसमेत गरी झन्डै बिस लाखको नरसंहार गर्‍यो। क्याम्बोडियामा असफल भएपछि नेपालमा पनि कथित जनयुद्ध कालमा गठन गरिएको जनसरकारको माध्यमद्वारा सांस्कृतिक क्रान्तिको नमुना अभ्यास गरियो र नेपालको इतिहासकै सर्वाधिक ठूलो नरसंहार भयो। जसमा सत्र हजार नेपालीले ज्यान गुमाए। ‘जनसरकार’ प्रशासित क्षेत्रहरूमा चाडपर्वहरूको बलपूर्वक वहिष्कार, गौवध, मन्दिर या घरैमा भएका पूजा, प्रार्थना र श्राद्धहरूमाथि आक्रमण, शिक्षक मुक्तिनाथ अधिकारी र पण्डित नारायणप्रसाद पोख्रेलको विभत्स हत्या, महेन्द्र संस्कृत विश्वविद्यालयको आगजनी र त्यसबाट दुर्लभ एवम् प्राचीन ग्रन्थहरूको क्षति आदि घटना चिनियाँ सांस्कृतिक क्रान्तिकै नक्कलमा भएका थिए। अन्य देशमा जस्तै नेपालमा पनि बलपूर्वक नास्तिकता लाद्ने प्रयास अन्ततः असफल भयो। उनीहरूको वैचारिक पतनको प्रमाण केमा टड्कारै देखिन्छ भने शिक्षक मुक्तिनाथ अधिकारी र पण्डित नारायणप्रसाद पोख्रेलको हत्यामा जिम्मेवार माओवादी नेताहरू अहिले निधार ढाकिने गरी राताराता टीका लगाएर र घाँटीमा फूल–मालाको ठूलठूला भारी भिरेर त्यही संसदीय व्यवस्थाको चुनाव प्रचारमा निस्कन्छन्, जसको खिलाफमा उनीहरूले हतियार उठाएका थिए। घर या कुनै संरचना बनाउन साइत हेर्ने, पूजासहित शिलान्यास गर्ने, हरेक पार्टी बैठक र भेलाहरूमा कलस राख्ने, पानस बाल्ने र आसनग्रहण गराउनेजस्ता प्रवृत्ति राजतन्त्रमा भन्दा अहिले गणतन्त्रमा धेरै गुना बढेको छ। केका लागि जनयुद्धका ती ज्यादती भए र ती किन क्षम्य भए भनेर नेपाली समाज बारम्बार प्रश्न गरिरहेको छ।

इतिहासले स्पष्ट रूपमा के प्रमाणित गरिसकेको छ भने धर्मप्रति आस्था मानिसको वैयक्तिक स्वतन्त्रताको प्रश्न हो। सबैलाई नास्तिक बनाउने प्रयास पटकपटक असफल भएजस्तै सबैलाई आस्तिक बनाउने धार्मिक अतिवादीहरूको प्रयास पनि अमानवीय र निरर्थक देखिएको छ। यो लेख तयार गरिरहँदा इरानको प्रहरी हिरासतमा भएको बाइस वर्षीय युवती जिना अमिनीको हत्याको विरोधमा विश्वभरिका हजारौं–लाखौं महिलाहरू सडकमा उत्रेका चित्रहरू टिभीको पर्दामा आइरहेका छन्। उनलाई इस्लाम धर्मको मान्यताअनुसार पूरै कपाल ढाक्ने गरी हिजाब नलगाएको आरोपमा गिरफ्तार गरी प्रहरी चौकीमा लगेर कुटीकुटी मारेको विश्वास गरिएको छ। भारतमा यदाकदा हिन्दु कट्टरपन्थीहरूले गर्ने रथयात्रा र गुजरात घटनामा सयकडौं हिन्दु र मुस्लिम नागरिकको हत्या यस्तै अतिवादी सोचको परिणाम हो। धर्म–विरोधी र धर्म–कट्टरपन्थी दुवैले धर्मले दिन सक्ने राहत, हार्दिकता र सान्त्वनाको गहनतालाई मनन गर्ने चेष्टा गरेनन्, जसको पक्षमा माक्र्सको सन्देश लक्षित थियो। यसका विपरीत उनीहरूले धर्मलाई सामाजिक सौहार्दताभन्दा कटाक्ष, एक्यबद्धताभन्दा विभाजन र श्रम एवम् सिर्जनालाई प्रोत्साहित गर्नुभन्दा त्यसमा बाधा खडा गर्ने दिशामा प्रयोग गरे।  

माक्र्सवादी दर्शनको मुख्य ध्येय सामाजिक र आर्थिक उत्पीडनबाट श्रमजीवी जनताको मुक्ति थियो, जसलाई समग्र मानवजातिको विकास र सुख समृद्धिको अनिवार्य सर्त मानिएको थियो। माक्र्सले ‘ईश्वरविहीन’ समाजको होइन, त्यस्तो समाजको परिकल्पना गरेका थिए जहाँ मानिस आफ्नो भविष्यका लागि ईश्वरमा नभई आफैमा भर पर्न सकोस्। त्यस्तो अवस्थामा धर्मप्रति आस्था सामाजिक चिन्तनका लागि गौण विषय बनिसकेको हुन्छ। ‘धर्म मानिसका लागि अफिम हो’ भन्ने सन्देश माक्र्सले परिकल्पना गरेको समाजको चित्रण होइन। यो त त्यो समाजको चित्रण हा,े जसलाई उनी बदल्न चाहन्थे।

प्रकाशित: २९ आश्विन २०७९ ००:५९ शनिबार

कार्ल मार्क्स