विचार

बाइरोडको बाटोमा: विकल्पको बाटो

इन्द्रजात्राले काठमाडौँलाई तरंगित तुल्याउँछ। यो जात्रासँगै अन्य चाडबाड ताँती लागेर आउँछन्। यही दिन नेपाल एकीकरण अभियान काठमाडौँमा सम्पन्न भएको हो। गोर्खाली राजा पृथ्वीनारायण शाह १८२५ असोज १३ गते राति ३ बजे हनुमानढोकाको राजगद्दीमा बसेका थिए। काठमाडौँ विजयपछि कुमारीको आशीर्वाद लिएर उनी शासन गर्न थालेका हुन्।  

काठमाडौँ उपत्यकाको एकीकरणपछिका अढाइ सय वर्ष व्यतीत भइसकेका छन्। हनुमानढोकाले यो मुलुकको राजनीति परिवर्तनका अनेकन घटनाक्रमलाई हेरेको छ। राजाहरू परिवर्तन भएको देखेको छ। राजनीति फेरिएको साक्षी पनि हो यो ठाउँ। त्यही हनुमानढोका हो, जहाँ मैले पनि ज्ञानेन्द्र राजा भएको देख्ने मौका पाएँ।  

त्यो एउटा अन्योलपूर्ण समय थियो। राजालाई दाम चढाउन गएका राजनीतिक दलले नै ती राजालाई हटाए। संयोग पनि कस्तो भयो भने इन्द्रजात्राको दिन शुक्रबार बिहान बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको खबर यहाँ सबैले थाहा पाइसकेका थिए। यहाँ राजा त छैनन् तर धेरैले राजतन्त्रकालीन समयको फेरि सम्झना गरे।  

९६ वर्षको उमेरमा महारानी एलिजाबेथ द्वितीयको निधन हुँदा धेरैले फेरि राजतन्त्रकालीन समय सम्झना गर्नुको पनि अर्थ छ। एकातिर महारानीको निधन भयो, अर्कोतिर जेठा छोरा चाल्र्स नयाँ राजा पनि बनिसकेका छन्। राजतन्त्र भएका मुलुकमा भन्ने चलन छ, ‘राजाको निधन भयो, राजा अमर रहून् (द किङ इज डेड लङ लिभ द किङ)।’ अर्थात् राजाको निधन भए पनि राजाको निरन्तरता हुन्छ।  

हामीकहाँ राजतन्त्र नभए पनि हिजो राजाको सवारी इन्द्रजात्रा हेर्नका निम्ति हुन्थ्यो। अचेल राजाका ठाउँमा राष्ट्रपतिको आगमन हुन्छ। राष्ट्रपतिसँगै प्रधानमन्त्री, मन्त्री र संवैधानिक अंगका प्रमुखहरूको आगमन हुन्छ। जात्राले सर्वसाधारणलाई तरंगित तुल्याउँछ तर त्यो सांस्कृतिक पक्षसँग जहिल्यै सत्ता जोडिएको हुन्छ। वास्तवमा जात्रा, चाडपर्व, संस्कृति र संस्कारसँग राज्यसत्ता पनि सँगै आउँछ। सर्वसाधारण त्यहाँ रमाइलोका निम्ति आउँछन्। तरंगित हुन्छन्। बेलुका घर पुगेर तिनले जात्राका बारेमा बेलिबिस्तार लगाउँछन्। भोज खान्छन्।  

यसपटकको इन्द्रजात्रा एउटा भिन्न कारणले विशेष भएको छ। काठमाडौँका युवा राजनीतिक व्यक्ति बालेन्द्र शाह (बालेन) आउँदा हनुमानढोका फेरि एकपटक तरंगित भएको छ। समारोहस्थलमा उनको प्रवेश आफैँमा रोचक रह्यो। उनी पैदल हिँड्दै, मानिससँग हात मिलाउँदै र नमस्कार गर्दै अघि बढिरहेका थिए। त्यहीबेला चारैतिरबाट समवेत स्वर आइरहेको थियो– बालेन...बालेन...।  

वास्तवमा काठमाडौँका युवा मेयर बालेन र उपमेयर सुनिता डंगोलको आगमन कुनै नायकको आगमनभन्दा कम थिएन। कुनै बेला यहाँका मानिसले राजा/रानीको उस्तै गरी जय/जयकार गर्थे। त्यो देखाउनका निम्ति थियो। काठमाडौँका मेयरप्रति सर्वसाधारणले दर्शाएको यो उदात्त प्रेम आफैँमा परिवर्तन हुन लागेको राजनीतिप्रतिको आकर्षण पनि हो।  

समारोहमा उपस्थित अन्य व्यक्तित्वका तुलनामा बालेनको मर्यादाक्रम राज्यमन्त्रीसरहको मात्र हो। सर्वसाधारणले उनको नाम लिएर पुकारा गरिरहेको अवस्थाले उनको लोकप्रियता दर्शाइरहेको हो। उनीप्रति दर्शाएको यो प्रेम भनेको मुलुकका अन्य पदाधिकारीका निम्ति एउटा सन्देश र संकेत पनि हो। मुलुकमा नयाँ राजनीतिक नेतृत्वको पदार्पण भइरहेको सन्देश पनि हो।

हाम्रो राजनीतिक नेतृत्वले सर्वसाधारणसँग एकाकार हुन सिकेन। तिनीहरू सर्वसाधारणका अपेक्षाबाट पनि निकै टाढा पुगिसकेका छन्। जनताका छोराछोरीहरू जनताबाटै टाढा पुगे। बालेनले जस्तो गाडीबाट ओर्लिएर सर्वसाधारणको हात छुदै हिँड्ने हो भने जनताको आत पनि छुइने थियो। तर त्यस्तो गर्न तिनलाई अभिमानले दिएन।  

अहिलेको राजनीतिक नेतृत्व हिजो सर्वसाधारणकै घर/आँगनबाट हुर्किएको हो। कैयन् नेताहरूलाई सर्वसाधारणले नै आश्रय दिएका हुन्। तिनले आफ्नै भान्छामा ख्वाएका हुन्। राज्य प्रशासनको आँखा छलेर बचाएका पनि हुन्। आज तिनको बिगत धेरै टाढाको विषय भइसकेको छ। केही चरण काम गरेर नयाँ नेतृत्वलाई पार्टी र सरकार जिम्मा लगाएर हिँडेका भए आज पनि तिनको इज्जत भइरहने थियो। तर आर्यघाट जाने अघिल्लो दिनसम्म पनि सत्ता नछाड्ने व्यक्तिका रूपमा सर्वसाधारणले तिनलाई लिन थालिसकेका छन्।  

त्यसैले सर्वसाधारणले हनुमानढोकामा प्रकट गरेको ‘बालेन...बालेन’ भन्ने समवेत स्वर राजनीतिक परिवर्तनका निम्ति हो। दलहरूले आगामी निर्वाचनका निम्ति यस्तै प्रभावशाली उम्मेदवार नदिने हो भने परिणाम सुखद आउने छैन। स्थानीय तह निर्वाचनका बेला परिवर्तनका संकेत प्राप्त भइसकेको छ। दलहरूप्रतिको असन्तुष्टिका परिणाम हुन् बालेनहरू। त्यसैलाई महसुस गर्दै अहिले वैकल्पिक राजनीतिका निम्ति विभिन्न स्वतन्त्र व्यक्तिले प्रयास पनि गरिरहेका छन्।  

अहिलेको राजनीतिलाई नेतृत्व गरिरहेका नेताहरूले सोच्नेभन्दा भिन्न ढंगले समय अगाडि बढिरहेको छ। अहिले सबै कुराको विकल्प खोजी भइरहेको छ। आजको मानिससँग सञ्चारको विकल्प छ। स्वादका विकल्प छ। आजका मानिस सूचनाका कारण हिँजोभन्दा बढ्ता जान्ने र विश्लेषण गर्ने भइसकेका छन्। अरू केही हेर्नु पर्दैन, आफ्नाबारेमा सामाजिक सञ्जालमा आइरहेका प्रतिक्रिया मात्र हेरे पनि आमनागरिकको मनोभाव बुझ्न सकिन्छ।

राजनीतिक परिवर्तनको अजेन्डा अहिले सकिएको छ। समाजलाई बसौँ/बसौँ लाग्ने गरी परिवर्तन गर्न नसक्ने हो भने यसले राजनीतिलाई अहिलेकै अवस्थामा रहन दिँदैन। मानिसमा आज छटपटी छ। यही देशमा आफ्नो भविष्य बर्बाद भइसकेको छ। अब सन्तानको भविष्य बर्बाद गर्ने कि यहीँ परिवर्तनका निम्ति काम गर्ने भन्ने भइसकेको छ।  

अब फेरि कुनै क्रान्ति आवश्यक छैन भन्ने आभाष दिलाउने हो भने निरन्तर विकासतर्फ ध्यान दिनुपर्ने हुन्छ। इभोल्युसन (उद्भव) बाट समाजको परिवर्तन सम्भव भएन भने रिभ्योलुसन (क्रान्ति) हुन्छ। उद्भवबाटै सहज ढंगले अगाडि बढेमा क्रान्तिका प्रक्रिया त्यसैमा समेटिन्छन्। होइन भने आजको बेचैन समय मुलुकको राजनीतिका निम्ति सहज हुँदैन। सहज राजनीतिका निम्ति भावी नेतृत्व हस्तान्तरण सहज हुनु आवश्यक छ।  

हाम्रो समाजमा बा शब्द कति धेरै सम्मानित थियो। तर आजको राजनीतिले गर्दा ज्येष्ठ व्यक्तित्वप्रति असम्मान बढ्दो छ। ‘बाहरू तपाईँहरू छाडिदिनुहोस्’ भनेर मानिसले भन्न थालिसकेका छन्। बा पुस्ता अन्य मुलुकमा पनि क्रियाशील छ। त्यहाँ भने हामीकहाँ जस्तो भएको छैन। भारतकै प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उमेर भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन पनि ज्येष्ठ नागरिक हुन्। हामीकहाँ भने ज्येष्ठ नेताहरू अन्यत्रभन्दा बढ्ता आलोचित भइरहेका छन्।  

यसको कारण छ। इज्जत भनेको आर्जन गरिने कुरा हो। आफूलाई सम्मान चाहियो भनेर माग्ने वस्तु पनि होइन। त्यसैले सम्मान आर्जन गर्ने गरी काम गर्ने हो। अरू कसैलाई नहेरे पनि भक्तपुरका नेता नारायणमान विजुक्छे रोहितलाई अनुकरण गरे पनि पुग्छ। उनले आजभन्दा पाँच वर्षअगाडि नै निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरे। त्यसपछि उनले नयाँ पुस्तालाई अगाडि लगाएका छन्।  

बिजुक्छेकै पुस्ताका नेताहरू अझै सक्रिय छन्। आगामी निर्वाचनपछि फेरि प्रधानमन्त्री हुने सपना पनि देखिरहेका छन्। तर त्यसले अन्ततः पार्टीलाई घाटा गर्छ। नेताहरूको असम्मान हुन्छ। बालेन...बालेन... भनिरहेका व्यक्तिहरूले दलकै कुनै युवा नेतालाई त्यसैगरी पुकारा गर्न सक्छन्। तिनले रूपान्तरणका निम्ति आफूलाई सक्रिय तुल्याउन सक्छन्। राम्ररी खुट्टा सारेर हिँड्न नसक्ने व्यक्तिहरूले मुलुक हाँकेर देशलाई थला पारेको रूपमा अहिले बुझ्ने गरिएको छ।

त्यसैले बालेन पुस्तालाई देशको जिम्मा दिनुपर्ने परिस्थिति आइसकेको छ। मतदाताले ध्यानपूर्वक प्रतिनिधिसभा र प्रदेशसभाको नेतृत्व चयन गरे भने त्यो सम्भव छ। र, वातावरण त्यता गइरहेको छ। हनुमानढोकामा इन्द्रजात्राका क्रममा देखिएको उत्सुकता पक्कै पनि परिवर्तनप्रतिको चाहना हो। यो वैकल्पिक राजनीतिको खोजी पनि हो। मुख्य दलका नेताले आफ्नो विकल्प खोजिरहेका मानिसहरूलाई निराश नपार्ने गरी निर्णय गर्ने बेला भइसकेको छ।  

प्रकाशित: २६ भाद्र २०७९ ००:४० आइतबार

इन्द्रजात्रा